MENU

नयाँ पुस्ता

635x90

ट्याटुमा खोपिएको मन

किरण दहाल सोमवार, कार्तिक १३, २०७४

काठमाडौं भीमसेनस्थान बस्दै आएका अञ्जित राई (२३) को दुवै पाखुरामा ट्याटु छन् । प्रेम दर्शाउन उनले एकातिर आमाको र अर्कातिर बाबाको ‘स्केच’ खोपाएका हुन् । कमिजको बाहुला अलिकति माथि सुर्काएर उनले ट्याटु देखाउँदै भने, ‘बाआमाका लागि केही दिन सकिएन । उहाँहरूको ट्याटु खोपेर भए पनि सधैँ सँगै राख्न चाहन्छु ।’

उनी अब तिघ्रामा देवी सरस्वतीको ट्याटु खोप्ने योजना सुनाउँछन् । उनले हाँस्दै भने, ‘बूढो हुँदासम्म त ट्याटुले शरीर भरिन्छ होला ।’

काठमाडौं स्वयम्भू बस्ने नवीना श्रेष्ठ (२७) ले पहिलो पटक हातमा उड्दै गरेको चराको ट्याटु खोपिन् । अनि दुई वर्षपछि घाँटीमा पुतलीको आकारमा ट्याटु खोपाइन् । रगत आउने र असह्य पीडा सहनुपर्ने भएकाले पहिलो बनाएपछि अर्को नबनाउने कसमै खाइन् उनले ।

पुरानो बानेश्वर बस्ने प्रवेश भट्टराई (२४) को दाहिने र देब्रे दुवै हातभरि ट्याटु छन् । परबाट हेर्दा उनको हातमा भएको ट्याटुको आकार केको हो प्रस्ट बुझ्न सकिँदैन । ‘यो म मात्र बुझ्छु । अरूले नबुझे पनि केही फरक पर्दैन ।’ प्रस्टै देखिने गरी लगाएको टिसर्टको बाहुला अझै माथि सार्दै उनले भने, ‘यहाँ थुप्रै कुरा छन्, समय, भगवान् र मन परेको मान्छेको सम्झना ।’ उनले देब्रे हातमा ‘भैरव’को स्केच बनाएका छन् भने छातीमा भगवान् गणेशको फोटो बनाउने योजनामा छन् । साथीहरूको देखेर रहरमै उनले डेढ वर्षअघि पाखुरामा ‘ठूलो घडी’ बनाए । कारण , उनी समयको महत्व बुझ्न चाहन्छन् ।

कापीका पानामा चित्र उतारेझैं शहरी क्षेत्रमा शरीरका अंग–अंगमा ट्याटु कोर्ने यी त प्रतिनिधि युवा मात्र हुन् । जसले नेपाली समाज खुल्दै गएको स्पष्ट संकेत गरेको छ ।

शहरी क्षेत्रमा बाल्यकालदेखि नै ट्याटु बनाउने जमात बढ्दै छ। शहरी युवायुवतीमा फेसन नै बनेको छ, ट्याटु। कला, सुन्दरता, धार्मिक आस्था र प्रेम दर्शाउने ट्याटु पारखी बढ्दैछन्।

पहिले प्रेम, धार्मिक आस्था, बलियोपना देखाउन ट्याटु बनाइन्थ्यो । हिटलरको शासनकालमा ‘आस्विच’लगायत ‘कन्सन्ट्रेसन क्याम्प’हरूमा यहुदीहरूको पहिचानका लागि अंकको ट्याटु बनाइएको थियो । पछिल्लो समय मान्छेहरूले कला, सुन्दरता, धार्मिक, प्रेमजस्ता कुरा दर्शाउन ट्याटु खोपाउने गरेका छन् । नेपालमै पनि केही जनजाति (नेवार तामाङ र थारूलगायत) समुदायमा ट्याटु खोप्नुलाई संस्कृतिकै रूपमा लिने गरेको पाइन्छ । युवापुस्तामा पछिल्लो समय अत्यधिक ‘ट्याटु मोह’ देखिए पनि यो परम्परा नेपाली समाजमा सदियौंदेखि चल्दै आएको देखिन्छ ।

विश्वमा ट्याटुको प्रयोग कसले र कहिलेदेखि किन गर्‍यो भन्ने यकिन प्रमाण पाउन मुस्किल भए पनि केही समययता ट्याटु खोप्नुलाई फेसनकै रूपमा स्वीकारिएको छ । विशेषगरी शहरीया युवामाझ यस्तो संस्कृतिले जरो गाडेर बसेको छ । २० देखि ४० वर्ष उमेर समूहका मानिसले यसप्रति लगाव देखाउने गरेको बताउँछिन्, १० वर्षदेखि ट्याटु खोपाउँदै आएकी ट्याटु कलाकार सविता महर्जन । वसन्तपुरमा उनको ‘टीका झ्या’ नामको ट्याटु सेन्टर छ । जहाँ उनी दैनिक ट्याटु पारखीहरूका रहर खोपाइरहेकी हुन्छिन् । प्रायः दिनभरि व्यस्त उनी भन्छिन्, ‘कसैकसैलाई त भ्याउँदिनँ भनेर फर्काउनुपर्छ ।’ धेरैजसो युवायुवती प्रेमीप्रेमिकाको नाम खोपाउन आउँछन् ।’ नाम लेख्नेजस्ता साना ट्याटुहरू बनाउन आधाघण्टा जति समय लागे पनि ठूला ट्याटु बनाउन एक सातासम्म लाग्ने महर्जन बताउँछिन् । शुल्क भने सबैतिर एकैनासको हुँदैन । सानो ट्याटु बनाउँदाको शुल्क घण्टाको १५ सयभन्दा माथि र ठूलाको २५ सयसम्म लिने गरेको उनी बताउँछिन् । हालसम्म करिब सात हजार जनाले आफूसँग ट्याटु खोपाएको उनी बताउँछिन् । भन्छिन्, ‘पहिले केटाहरू मात्र आए पनि पछिल्लो समय भने केटीहरू पनि उत्तिकै आउने गरेका छन् ।’

ट्याटु खोप्न आउने धेरै तन्नेरीहरूले प्रेमीप्रेमिकाको नाम खोपाउने गरेको बताउँछन्, सोही ठाउँकै अर्का ट्याटु खोप्ने पेसा गर्दै आएका प्रल्हाद महर्जन । नाम लेख्न मात्र होइन पहिला लेखेका नामलाई छोपेर नयाँ ट्याटु बनाउन आउनेहरू पनि हुन्छन् । यो पछिल्लो समय बढेको प्रयोग हो । यसरी आउनेहरू अधिकांश किशोरावस्थाका रहेका उनी बताउँछन् । भन्छन्, ‘प्रेममा रहुन्जेल नाम लेख्न आउँछन्, छुटेपछि मेट्न आउँछन् ।’

ट्याटु खोप्नेहरू बढेसँगै विगत आठ वर्षदेखि अप्रिल महिनामा काठमाडौंमा ट्याटु महोत्सव नै आयोजना हुने गरेको छ । जसमा विभिन्न देशका ट्याटु कलाकारहरूको सहभागिता रहने गरेको छ ।

tatu1

पोखराका ट्याटु कलाकार मोहन गुरुङले साथीहरूसँग मिलेर पहिलोपटक राष्ट्रियस्तरको ट्याटु महोत्सव आयोजना गरेका थिए । सो महोत्सव दोस्रो पटकदेखि अन्तर्राष्ट्रियस्तरको बनेको थियो । गत वर्ष पनि विभिन्न देशका एक सय ५० भन्दा बढी कलाकारहरूको सहभागितामा काठमाडौंमा महोत्सव सम्पन्न भएको थियो ।

थरीथरीका ट्याटु

ट्याटु छालाको डर्मिस तहमा (छालाको दोस्रो तह) विभिन्न रङ छाडेर बनाइन्छ । स्थायी र अस्थायी दुवै रूपमा प्रयोग गरिने ट्याटुलाई विशेषतः तीन भागमा छुट्याएर हेर्ने गरिन्छ । पहिलो, सजावटका लागि (खास अर्थ हुँदैन), दोस्रो, बिम्बात्मक हुन्छ (प्रयोगकर्ताले मात्र बुझ्छ) र तेस्रो चित्राकिंत हुन्छ (विशेषगरी मान्छेहरूको स्केच बनाइन्छ) ।

ट्याटु खोपाउनेहरूको रुचि विभिन्न किसिमका हुने गर्छन् । भगवान्को चित्रदेखि नाम लेख्नेसम्मका हुन्छन् । विशेषतः केटाहरू ठूला र धर्मसँग सम्बन्धित ट्याटुप्रति मोह राख्छ्न भने केटीहरू साना चित्रहरू बनाउन खोज्ने प्रल्हाद बताउँछन् ।

कुनै महत्वपूर्ण कुराहरू सम्झनाका लागि मान्छेहरूले ट्याटु खोप्ने गरेको बताउँछन्, प्रवेश । सम्झनाका लागि मात्र हैन सुन्दरताका लागि ट्याटु खोप्नेहरू पनि उत्तिकै छन् । केटीहरू सुन्दरताका लागि सानो ट्याटु खोप्न आउने गरेको बताउँछिन् सविता । पुतली, चराको प्वाँख, फुल, नामलगायत ट्याटु खोप्ने धेरै हुन्छन् । सविता भन्छिन्, ‘हातमा सानो ट्याटु बनाउँदा राम्रो पनि देखिन्छ ।’

सानैमा सोख

कक्षा तीनमा पढ्दै गर्दा अञ्जितले हातमा आफ्नै नामको ट्याटु खोपे । अजित मात्रै होइन, सानैमा ट्याटु खोपाउनेहरू पछिल्लो समय उल्लेख्य मात्रामा छन् । आफ्नो पसलमा स्कुले विद्यार्थीसमेत ट्याटु खोपाउन आउने गरेको सुनाउँछिन्, सविता । धेरैलाई त कलिलै उमेरमा नखोप्न सल्लाह दिएर फर्काइदिने गरेको बताउँछिन् उनी । भन्छिन्, ‘हामीले बनाइदिँदैनौँ भनेर कोही त आमालाई लिएर आउँछन् ।’ ट्याटु सेन्टरहरूमा मान्छेको आवतजावत हेर्दा लाग्छ, ट्याटुप्रति नकारात्मक दृष्टिकोण राख्ने नेपाली समाजलाई उनीहरू चुनौती दिइरहेका छन् ।

Karisma-Manandhar

काठमाडौंलगायत शहरहरूमा पछिल्लो समय ट्याटु खोप्ने चलन ह्वात्तै बढेको छ । आफ्नो रहरअनुसार मान्छेहरू थरीथरीका ट्याटु बनाउँछन् । आफूले आदर्श मानेका मान्छेहरू र साथीभाइको सिको गर्दै ट्याटु बनाउनेहरू पनि धेरै छन् । प्रवेश भन्छन्, ‘साथीहरूको देखेरै मैले पहिलोपटक ट्याटु बनाएको थिएँ । एउटाले बनाउँछ, अर्काेले बनाउँछ । यसैगरी बढ्दै जाने त हुन् ।’ मान्छेहरू आफ्नो रहरअनुसार थरीथरीका ट्याटु खोपाउने गर्छन् । धेरैले यसलाई फेसनको रूपमा लिन्छन् भने केहीले सम्झनाका लागि खोपाउने गर्छन् । ६ वर्षदेखि गाबाहालमा ‘यालाइङ्क ट्याटु सेन्टर’ चलाइरहेका राजु बज्राचार्य भन्छन्, ‘टिनेजरहरूले यसलाई फेसनको रूपमा लिए पनि ‘म्याचुयर’हरू सम्झनाका लागि ट्याटु खोपाउँछन् ।’ यसलाई फेसनसँगै ‘एडिक्सन’को रूपमा पनि बुझ्छन् उनी । एउटा मात्र खोप्छु भन्नेहरूले शरीरभरी खोपाएका छन् ।

यालाइङ्कमा अहिले पाँच जना ट्याटु कलाकारहरू छन् । प्रायः सबै दिनभरि नै व्यस्त हुन्छन् । सानाठूला गरेर दैनिक लगभग १० जना मान्छेहरू ट्याटु बनाउन आउने गरेको बज्राचार्य बताउँछन् । यो संख्या ६ वर्षअघि पसल खोल्दै गर्दा उपस्थित हुनेहरूको अनुपातमा धेरै हो । राजु भन्छन्, ‘समाजको दृष्टिकोण फेरिँदै गएकाले मान्छेहरूले ट्याटु बनाउने रहर गरेका होलान् ।’

ट्याटु बनाउँदै गर्दा...

ट्याटु बनाउँदा थरीथरीका रङहरू ‘निडल’मार्फत् छालाभित्र पुर्‍याइन्छ । ट्याटु बनाउँदा बनाउँदै सहन नसकी छाडेर हिँडे पनि पछि पुनः पूरा गर्न आउनेहरू पनि धेरै हुने बताउँछिन्, सविता । पहिलोपटक खोप्न आउनेहरू प्रायः दुखेर कराउँछन् । तर पछि यसको लतै लाग्ने सम्म हुने गर्छ । ट्याटुको मात्र होइन, सुईको समेत लत लाग्ने बताउँछन् अर्का ट्याट् कलाकार राजु । भन्छन्, ‘शुरु शुरुमा ट्याटु बनाउँदा दुखे पनि पछि त्यो दुखाइ आनन्दमा परिणत हुने गर्छ ।’ ट्याटु बनाउँदा रातो, निलो, पहेँलो, कालो, हरियो विभिन्न रङको प्रयोग गरिन्छ । सबैभन्दा धेरै कालो रङ प्रयोग हुन्छ ।

ट्याटुका असरहरु

* घाउ तथा एलर्जी हुन सक्ने
* एउटै सुई धेरैले प्रयोग गर्दा एचआईभी तथा हेपाटाइटिस जस्ता रोग लाग्न सक्छन्
* ट्याटुको मसीमा भएका रसायनका कारण मेडिकल जाँच र ‘एमआरआई स्क्यान’ गर्दा समस्या देखिन सक्छ
* धनुष्टंकार रोगको सम्भावना धेरै हुन्छ
* छालामा खराबी आउन सक्छ
* केलोइड (घाउमा पलाउने तन्तु) हुने सम्भावन

ध्यान दिनुपर्ने कुराहरु

* ट्याटुमा लगाएको पट्टी २४ घण्टा नपुगी नखोल्ने
* ट्याटु वरिपरिको छालालाई सफा राख्ने
* मोइस्चराइजर’ धेरै पटक प्रयोग गर्ने
* एक सातासम्म ट्याटुलाई घामबाट टाढा राख्ने
* पूर्ण रूपमा निको नभएसम्म पौडी नखेल्ने
* ट्याटुमा टाँसिने लुगाहरू नलगाउने

ट्याटु पारखी सेलिब्रेटी

ट्याटु खोप्नेमा सर्वसाधारण मात्र छैनन्, विश्वका चर्चित फुटबल खेलाडी मेस्सी हुन् या नेमार, उनीहरूले आफ्नो शरीरभरि टाटु खोपेका छन्। फुटबलका हस्ती म्याराडोनाले त क्युवाली क्रान्तिका नायक मानिने चे ग्वेभाराकै ट्याटु खोपाएका छन्। फुटबल खेलाडी, नायिका, पोर्नस्टार जस्ता सेलिब्रिटीहरूमध्ये धेरैको शरीरमा ट्याटु देखिन्छ।

बलिउड नायक अक्षयकुमारदेखि रणवीर कपुर र नायिकाहरू दीपिका पादुकोणदेखि प्रियंका चोपडा समेतमा ट्याटु मोह देखिन्छ। त्यसो त नेपालकै नायक/नायिकाहरू समेत यस मामलामा पछि छैनन् । नायिकाहरू करिश्मा मानन्धर, सुष्मा कार्की, शुभेच्छा थापा र नायकहरू राजेश हमाल, सौगात मल्लदेखि युवापुस्तामाझ निकै  चर्चित अनमोल केसीले पनि ट्याटु खोपाएका छन्।

ट्याटुका रोचक तथ्य

* एउटा पूरा ट्याटु बनाउँदा ५० देखि तीन हजार पटकसम्म छाला खोपिन्छ ।
* अंग्रेजी भाषामा ‘ट्याटु’ शब्द गलत उच्चारण हुनेमा अग्रस्थानमै आउँछ ।
* ट्याटु हटाउन चाहनेमा तुलनात्मक रूपमा पुरुषभन्दा महिला बढी हुने गर्छन् ।
* अमेरिकामा मात्रै करिब २० हजार ट्याटु सेन्टर छन् ।
* सबैभन्दा धेरै ट्याटु बनाउने जर्ज पल म्याकलर्न हुन् । उनको पूरै शरीर ट्याटुले ढाकिएको छ ।
* अमेरिकीहरू एक वर्षमा करिब एक दशमलव ६ बिलियन डलर ट्याटु खोप्नमा खर्च गर्छन् ।

प्रतिकृया दिनुहोस