MENU

नयाँ पुस्ता

635x90

नयाँ पुस्‍ता : दृष्टि द्रष्‍टा

किरण दहाल सोमवार, आश्विन ३०, २०७४

अस्पतालको गेटबाट भित्र छिर्नेबित्तिकै लामो लाइन देखिन्छ । बस्नका लागि सुविधा होस् भनेर राखिएका कुुर्सीहरू खाली छैनन् । मान्छेहरूको ओहोरदोहोर बाक्लो छ, मानौँ सिनेमा हलमा भर्खरै ‘सो’ सकिएको छ । उनीहरू हातमा सानो कापी बोकेर स्कुल हिँडेका नानीहरूजस्तै यताउता गरिरहेछन् । टिकट काउन्टरअघि झुम्मिएका मान्छेहरूको आवाज परसम्म सुनिन्छ । एप्रोन लगाएका युवा डाक्टरहरू हतारमा छन् । छेउकै मूल सडकबाट अस्पतालतिर झर्नेहरूको संख्या उल्लेख्यमात्रा देखिन्छ । काठमाडौंको तिलगंगा आँखा अस्पतालको दृश्य हो, यो । झट्ट हेर्दा कुनै उत्सव भइरहेको हो कि भन्ने भान पर्छ । तर, यो अस्पताल भवनमा पस्ने कसैको अनुहारमा पनि खुशीका धर्साहरू देखिँदैनन् ।

तिलगंगा अस्पतालमै एमडी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्, रवीन्द्रसिंह ठकुरी । उनी अस्पतालमै बस्छन्, पढछन् र बिरामीको हेरचाह गर्छन् । पुराना र नयाँ गरेर दैनिक लगभग पाँच सयदेखि हजार जनासम्म आँखाका बिरामीहरू आउने उनको अनुमान छ । आँखाको सर्जरी गर्नेदेखि आँखा पाक्नेहरूसम्म आइपुग्छन् । उनले भने, ‘आँखाका लागि ठूलो अस्पताल भएकाले पनि मान्छेहरू धेरै आएका होलान् ।

बिरामीहरू दैनिक रूपमा हेर्नुपर्दा कहिलेकाहीँ दिक्कै लाग्ने अनुभव सुनाउँछन्, ठकुरीकै साथी कौशल पोखरेल । ‘पेसा नै यही भएपछि दिक्क मानेर पनि नहुने,’ कौशल भन्छन्, ‘बरु कसैलाई पनि रोग नै नलागिदिए हुन्थ्यो ।’ उनी वेलावेलामा सोच्छन्, बिरामीहरूलाई खुशी बनाएर घर पठाउने जिम्मा हाम्रो हो । त्यसपछि बिरामीको सेवामा मरिमेटेर लाग्छन् । लगातार ३६ घण्टासम्म बिरामीहरूसँग बिताएको अनुभव छ उनीसँग । अस्पतालमा रहँदा उनी निकै व्यस्त हुन्छन् । पढ्ने, बिरामी हेर्नेसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नैपर्‍यो । शनिबारचाहिँ जसरी पनि फुर्सद निकाल्छन् र साथीहरूसँग रमाइलो गर्छन् । बिरामीका आँखा जाँच्न छाडेर आफ्नै संसार नियाल्न थाल्छन् ।आँखामा सामान्य रोगहरू निको हुँदा पनि बिरामीहरू धेरै खुशी भएको देखेका छन्, पोखरेलले । भन्छन्, ‘डाक्टर भएर थोरै मान्छेहरूको मुहारमा भए पनि हाँसो ल्याउन चाहन्छु ।’

जिम्मेवारी बोक्दै

आँखा अस्पतालहरू चाहार्ने हो भने आँखाका बिरामीहरू न्यूनतम् संख्यामा छन् भन्न सकिने अवस्था छैन । एलर्जी, आँखा सुक्खा हुने, पाक्ने जस्ता समस्या लिएर पनि बिरामीहरू अस्पतालसम्म आइपुग्ने गरेको सुनाउँछन्, ठकुरी । नेपालजस्तो विकासोन्मुख मुलुकमा आँखाका बिरामीहरू धेरै हुने भएकाले बेलैमा राज्यले यसको समाधानतिर ध्यान दिनुपर्ने सुझाउँछन्, उनी । समस्या धेरै देखिएकैले आफू पनि आँखाको डाक्टर बन्न खोजेको बताउँछन्, उनी । ‘हामीले देशमा समस्या कहाँनेर छ भनेर पत्ता लगाउनुपर्छ । यो क्षेत्रमा धेरै समस्या देखेँ,’ उनले थपे, ‘आँखाको समस्या समाधान गर्नका लागि मेरो पनि भूमिका होस् ।’ उनी यो क्षेत्रमा लागेर बिरामीहरूलाई सहयोग गर्न चाहन्छन् । पछिल्लो समय आँखाको धेरै उपचार पद्धतिहरू पत्ता लागेकाले पहिलेभन्दा काम गर्न सजिलो भएको छ । कसैले पनि संसार हेर्नबाट वञ्चित हुन नपरोस् भन्ने चाहन्छन्, उनी ।

संसार हेर्ने दृष्टि नै नरहँदाको पीडा अनुमान गर्दै नेत्र चिकित्सकहरू नेत्रविहीनहरूलाई संसार देखाउन तल्लीन छन्।

संसार हेर्ने दृष्टि नै नरहँदाको पीडा अनुमान गर्छन्, पोखरेल । यसबाट अझै पनि धेरै नेपाली प्रभावित छन् । उनीहरूलाई हेरेर आफूहरूले यस क्षेत्रमा लागेको सुनाउँछन्, उनी । दैनिक लगभग ५० जनाजति बिरामीको आँखा जचाउँछन् । हरेक बिरामीको दुई पटक चेकजाँच गर्नुपर्छ । औषधि हाल्नुअघि र हालेपछि । आँखाजस्तो संवेदनशील अंगको जाँच गर्दा आफूहरूले धेरै ध्यान दिएर काम गर्नुपर्ने बताउँछन्, उनी । भन्छन्, ‘ध्यान नदिने हो भने सानो गल्तीले मान्छेको जिन्दगी नै बर्बाद हुन्छ ।’ आधिकारिक र विश्वसनीय भएकाले पनि तिलगंगा अस्पतालमा मान्छेहरूको उपस्थिति बाक्लो हुने गरेको बताउँछन्, उनी । मान्छेहरू बाक्लो रूपमा उपस्थित हुने भएकाले आफूहरू दिनरात खटिनुपरेको सुनाउँछन् । खटिनु परे पनि काममा दिक्क मानेका छैनन् । धेरै मान्छेहरूलाई जँचाएर निको पार्न सकियो भने आफूहरू खुशी हुने उनले बताए ।

आकर्षण

डा. सेवन्त श्रेष्ठ तिलगंगा आँखा अस्पतालमा एमडी दोस्रो वर्षमा अध्ययनरत छिन् । उनको आफ्नै आँखामा सामान्य समस्या छ । आँखामा समस्या हुँदाका अप्ठ्याराहरू बुझेकी छन्, उनले । त्यसैले त डाक्टर बनेर आँखामा देखिने तमाम समस्याहरू हल गर्न चाहन्छिन् । आँखा अस्पतालहरू थोरै हुनु र डाक्टर पनि कम हुदाँ यसको असर सर्वसाधारणहरूले भोग्नुपरेको छ । भन्छिन्, ‘आँखाको डाक्टर भएर धेरैलाई दृष्टि दिन नै यो क्षेत्रमा लागेको हुँ ।’ आँखा नदेख्ने मान्छेलाई संसार देखाउन पाउँदाको खुशी अरू क्षेत्रमा नभएको उनको तर्क छ । मान्छेको आँखामा सुन्दरता देखिन्छ कि रोग ? श्रेष्ठ भन्छिन्, ‘अचेल त सुन्दरताभन्दा पनि कसैसँग आँखा जुध्यो भने रोग छ कि भनेर सोच्ने गर्छु ।’ आफू कसैको आँखामा पनि रोगभन्दा पनि सुन्दरता खोज्ने बताउँछन्, पोखरेल ।

आम्दानीको हिसाबले भने यो पेसा त्यति धेरै आकर्षक नरहेको श्रेष्ठको बुझाइ छ । आम्दानीको कुरालाई छाड्ने हो भने आँखा डाक्टरहरूलाई अन्य डाक्टरहरूको तुलनामा ‘सेक्युरिटी’ रहेको ठकुरीको ठम्याइ छ । भन्छन्, ‘अरूतिर डाक्टरलाई कुटेको खबर सुनिन्छ । तर, यहाँ आजसम्म त्यस्तो भएको छैन ।’

बिरामी छेउमा उभिँदा...

तिलगंगा अस्पतालमा एमडी दोस्रो वर्षमा अध्ययन गरिरहेकी अर्की विद्यार्थी/डाक्टर हुन्, एलिना गौचन । बिहानै पढाइ र अस्पतालमा गर्नुपर्ने अभ्यासले उनलाई पनि प्रायः व्यस्त बनाउँछ ।

eyes-hospital---pm-visit--(6)

आफूहरूले दैनिक ३०–४० जनासम्म बिरामीलाई उपचार गर्नुपरेको सुनाउँछिन्, उनी । बिरामीहरू प्रायः चोटपटक लाग्नेदेखि मोतिविन्दु, जलविन्दु भएर आउँछन् । यतिमात्र हैन ठूल्ठूला अप्रेसन गर्नुपर्ने केसहरू पनि हुन्छन् ।

यस्ता बिरामीहरूलाई उनीहरू असल व्यवहार गर्छन् । तर, कोही कोही भनेको मान्दैनन् र गाली गर्नुपर्ने बाध्यता आइलाग्छ । बिरामी छेउमा उभिँदा उनीहरू निकै नै भावनात्मक बन्छन् । ‘कसैले लामो समयसम्म समस्या लिएर अस्पताल बस्नु नपरोस् भन्ने हाम्रो चाहना हो,’ गौचन भन्छिन्, ‘हाम्रो बाध्यता भए पनि बिरामीहरूले चाहिँ आँखाका रोगहरूसँग खेल्नु नपरोस् ।’

गौचनको मात्र हैन श्रेष्ठको पनि त्यही धारणा छ, लामो समयसम्म एउटै रोगले मान्छे थलिनु नपरोस् । यसका लागि बिरामीको छेउमा गएर आफूहरू सकेसम्म राम्रो व्यवहार गर्ने, उनीहरूको चित्त नदुखाउने कुरा नगरेको सुनाउँछिन्, उनी ।

आफूहरूको स–सानो व्यवहारले बिरामीहरूलाई पर्ने प्रभावबारे बुझेकी छिन्, उनले । त्यसैले त उनी बिरामीको आँखामा रोग हैन सुन्दरता खोजिरहेकी हुन्छिन् ।

बिरामीलाई निको बनाउँदाको सन्तुष्टी सम्झन्छन्, पोखरेल । एउटा बिरामीको वरिपरि लामो समय खर्च गरेर उसलाई तन्दुरुस्त बनाउँदाको क्षणले पोखरेललाई आनन्द दिन्छ । भन्छन्, ‘बिरामी छेउमा उभिँदा उनीहरूको पीडाले मलाई छुन्छ ।’

 

 

प्रतिकृया दिनुहोस