MENU

नयाँ पुस्ता

Annapurna635x90

रंगमञ्‍चमा रमाउँदै नयाँ पुस्ता

किरण दहाल शुक्रवार, भाद्र २३, २०७४

महावीर विश्वकर्मा चार वर्षदेखि नाट्य क्षेत्रमा क्रियाशील छन् । चितवन घर भई हाल ललितपुर बस्दै आएका विश्वकर्माको साहित्यप्रति झुकाव छ । त्यसैले नाटक मन नपर्ने कुरै भएन । उनी नाटकमै जिन्दगीको खुशी खोज्न हिँडे । अहिलेसम्म उनले पाँच वटा नाटकमा अभिनय गरिसकेका छन् । भन्छन्, ‘नाटकमार्फत् मेरो समुदायका कुरा प्रत्यक्ष रूपमा आममान्छेसँग राख्न सक्छु । असमानताविरुद्ध आवाज उठाउन नाटक गतिलो ठाउँ हो ।’उनलाई नाटकको प्रभाव कतिसम्म परेको छ भने, मोटरसाइकलमा यात्रा गर्दा पनि एक्लै बोलिरहन्छन् । साथीहरूसँग बोल्दासमेत उनको अभिनय झल्किन्छ । कमाइ नभए पनि आफू नाटकबाट अलग नहुने बताउँछन्, उनी । कमाइकै कुरामा उनले जोडे, ‘यतिका समय भयो नाटकमा लागेको, बाइकमा तेल हाल्ने पैसासमेत छैन ।’

मकवानपुर घर भई काठमाडौं बालाजु बस्ने सिमन खड्का ‘फ्रिलान्सर’को रूपमा विभिन्न थिएटरमा अभिनय गरिरहेका छन् । उनी नाटक हेर्न थिएटर धाइरहन्थे । त्यसैको प्रभाव उनले सर्वनाम थिएटरमा तीन महिना तालिम लिएर अभिनय गर्न थाले । चार वर्षदेखि सडक नाटकहरूमा अभिनय गरिरहेका छन् । थिएटरका ६ वटा नाटकमा उनको भूमिका छ । दुई वटा रेडियो नाटकमा पनि काम गरेका छन् । ‘नाटकमा दर्शकहरूसँग प्रत्यक्ष संवाद गर्न पाइन्छ । यो जीवन्त पनि हुन्छ,’ उनले अनुभव सुनाए । नाट्य क्षेत्रमा विश्वकर्मा र खड्काजस्तै युवाको उपस्थिति अहिले बाक्लिएको छ । ०६२÷६३ को परिवर्तनपछि नाटकमा युवा आकर्षण बढेको बताउँछन्, नाटककार अशेष मल्ल । भन्छन्, ‘अहिले युवापुस्ताको उपस्थिति धेरै देखिन्छ । सञ्चारको विकासले पनि यसलाई सहयोग पुर्‍यायो ।’

नाटक यात्रा

काठमाडौं, बौद्ध घर भएकी जिया लामाले थिएटरमा १० वटा नाटकमा अभिनय गरिसकिन् । यस्तै, थुप्रै सडक नाटकमासमेत अभिनय गरेकी छन् । स्नातक पढ्दादेखि रंगमञ्चमा प्रवेश गरेकी उनले त्रिविको कीर्तिपुर क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेकी छन् । बागबजारको पद्मकन्या क्याम्पसमा स्नातक तेस्रो वर्षमा उनले ‘रंगमञ्च’ विषय पढिन् । नाटक प्रवेशमा उनको यो नै पहिलो खुड्किलो थियो । रंगमञ्च विषय पढाउने शिक्षक थिए, सर्वनाम थिएटरका सञ्चालक अशेष मल्ल । मल्लबाट उनले पुस्तकका लाइनहरू मात्र पढिनन्, बिस्तारै–बिस्तारै अभिनय पनि सिक्न थालिन् ।

rangamancha.3

०७३ सालमा राष्ट्रिय नाचघर जमलमा नाटकको तालिम लिएपछि शुरु भयो उनको कलाजिन्दगी ।पढाइमा अब्बल भएकाले आफन्तले इज्जतिलो जागिर खाएर सुरक्षित जीवन बिताउन सल्लाह दिन्थे । बाआमाले पनि यस क्षेत्रमा नलाग्न नै सुझाएका थिए । तर, रहरहरू त्यत्तिकै कहाँ मर्छन् र ? लामाले आफ्नो भविष्य नाट्य क्षेत्रमै देख्न थालिसकेकी थिइन् । भन्छिन्, ‘म नाटकमा लाग्दा आफन्तले आलोचना गरे । पढन्ते मान्छे नचाहिँदो काममा लागि भन्थे । तर, मलाई मतलब थिएन ।’

अर्का नाट्य कलाकार विश्वकर्मा आफू संयोगले मात्र यो क्षेत्रमा आइपुगेको बताउँछन् । कुरो ०७० सालतिरको हो, उनी साथीको पुस्तक विमोचनमा सर्वनाम थिएटर पुगेका थिए । अलि चाँडै उपस्थित भएपछि थिएटर घुम्न थाले, त्यहाँका कर्मचारीलाई भेटे । नाटक पनि सिकाइन्छ भन्ने थाहा पाएपछि तत्कालै गोजीको पैसा जोरजाम पारेर फारम भरे ।विश्वकर्माले रोजेको नाट्यक्षेत्र परिवारलाई मन परेको छैन । जेठो छोरो भएकाले राम्रो जागिर खाओस् भन्ने परिवारको आशा थियो । त्यसैले घर पुग्दा अहिले पनि उनलाई छिमेकीको छोराले जागिर खाएर घडेरी किनिसक्यो, आफ्नो छोराको ताल यस्तो छ भन्दै परिवारले गिज्याउने गर्छन् ।

सबैको गन्तव्य सिनेमा

पछिल्लो समयका चर्चित कलाकारको विगत नाटक नै हो । दयाहाङ राई, सौगात मल्ल, दीया मास्के, अनुप बराल, विपिन कार्की, सिर्जना सुब्बाको पृष्ठभूूमि रंगमञ्च नै हो । त्यसैले रंगमञ्चलाई धेरैले सिनेमाको खुड्किलोका रूपमा लिने गरेको पाइन्छ । चलचित्र निर्माता बन्ने रहर छ, लामालाई पनि । भन्छिन्, ‘फिल्ममा इन्टरनेसनल प्रोजेक्ट’हरू सञ्चालन गर्न मन छ । म फिल्म क्षेत्रमा लाग्छु ।’सिनेमामा छाउने रहर त खड्कालाई पनि छ । नाटकमा मात्र अभिनय गरेर जीवन धान्न गाह्रो हुने भएकाले सिनेमातिर लाग्ने उनको लक्ष्य छ । रंगमञ्चले अभिनय निखार्ने र सिनेमामा काम गर्न सजिलो हुने बताउँछन्, उनी । ‘फिल्म र नाटकबीच धेरै ठूलो अन्तर छैन । एकले अर्कालाई सहयोग गर्छ ।

rangamancha.3.5

नाटक खेल्दै पछि फिल्ममा जान सकिन्छ,’ उनले भने । कालोपुल बस्दै आएका अर्की कलाकार लक्ष्मी बर्देवाले भने फिल्ममा अभिनय गर्ने अवसर पाएकी छन् । तीन वर्ष थिएटरमा काम गरेर अहिले सिनेमामा व्यस्त छिन्, उनी । सिनेमामा आउनु संयोग मात्र भएको उनले बताइन् । भन्छिन्, ‘फिल्ममै लाग्छु भनेर म नाटकमा आएको हैन । अवसर आएकोले मात्र खेलेको हुँ ।’ उनले अभिनय गरेका दुई सिनेमा प्रदर्शनमा आइसकेको छ । केहीको सुटिङ चल्दै छ । आफूजस्तै सिनेमामा भविष्य देखेर नाटकमा लाग्ने युवा पछिल्लो समय बढ्न थालेको उनले पनि अनुभव गरेकी छन् ।

अभिनय गर्दागर्दै...

प्रत्यक्ष दर्शकसामु अभिनय गर्नुपर्दा कहिलेकाहीँ अप्ठ्यारो महसुस हुने बताउँछन्, कलाकारहरू । अरू नै कोही मान्छे भएर जिउनु पर्दा गाह्रो हुने लामाको अनुभव छ । ‘पात्रअनुसार आफूलाई ढाल्नै गाह्रो हुन्छ,’ लामाले भनिन् ।लामाकोजस्तै अनुभव छ, विश्वकर्माको पनि । भन्छन्, ‘बाँचेको जिन्दगी एउटा हुन्छ, तर त्यहाँ फरक मान्छे भएर जिउनुपर्छ ।’ स्टेजमा हुँदाको समस्या यतिमात्र होइन । कहिलकाहीँ सँगैको साथीले बोल्नुपर्ने कुरा नबोलिदिँदा अलमलमा परिने बताउँछन्, उनी । कहिलेकाहीँ आफ्नो बोल्ने पालोमा अर्काे साथीले बोलिदिँदा कलाकारहरू झुक्किने सम्भावना देख्छन् । तर, उनलाई दर्शकसामु अभिनय गर्न कहिल्यै अप्ठ्यारो लागेन । पहिले पनि कार्यक्रमहरू चलाउने गरेकोले सहज भएको बताउँछन्, उनी ।

ह्याङओभर

एउटा नाटक पूरा गर्न कलाकारहरूले लामो समय बिताउनुपर्छ । पूर्वअभ्यासदेखि मञ्चमा प्रदर्शन गर्नुपर्ने बाध्यताले उनीहरूले अरू कुरा गर्न भ्याउँदैनन् । यसरी लामो समयसम्म दैनिक एउटै अभ्यास गरिरहँदा सामान्य जीवनमा पनि त्यसैको ‘ह्याङओभर’ रहने बताउँछिन्, लामा । भन्छिन्, ‘नाटक सकिएपछि केही समयसम्म त पहिलेको जस्तै व्यवहार गर्नै सकिँदैन । हरेक व्यवहारमा पात्रसँगै जोडिएर आउँदो रहेछ ।’उनलाई सबैभन्दा गाह्रो त ‘थिविया’ नाटक मञ्चन गर्दा भयो । त्यसमा ६० वर्षको वृद्ध महिला भएर अभिनय गर्नुपर्ने थियो ।

rangamancha

शुरुमा यसको अभ्यास गर्दा उनलाई जति गाह्रो भयो, त्योभन्दा बढी नाटक सकिएपछि । परिवार, साथीसँग बोल्दा पनि बूढीमान्छेझैं आवाज निस्किहाल्थ्यो । उनलाई लामो समयसम्म त्यसको धङधङीले छोडेन । नाटक अवधिभर लगाएको पोशाकमा माया बसिसकेको थियो । लामा भन्छिन्, ‘त्यो कस्ट्युम बुझाउनुपर्दा त म रोएँ नै । आफ्नै शरीरबाट केही छुटेजस्तो अनुभव हुँदै रहेछ ।’ नाटक सकिएपछिको ‘ह्याङओभर’ले सुप्रिया रानालाई पनि सताएको छ । केही समयअघि उनले सर्वनाम थिएटरमा ‘जिम्दा सपना’ नामक नाटकमा अभिनय गरिन् ।

खासगरी यो भाषा नेपालको पश्चिमी भेगमा बोलिन्छ । काभ्रेमा जन्मे /हुर्केकी रानाले लामो समयको मिहिनेतपछि मात्र यही ‘टोन’ मा कुरा गर्न सक्षम भइन् । नाटक रिहर्सल र मञ्चन हुँदासम्म त ठिकै थियो । जब उक्त नाटकको सम्पूर्ण क्रियाकलाप सकियो, तब रानालाई थाहा भयो, आफू त फरक बोल्ने भइसकेछु । फोनमा कुरा गर्दा कतिपयले त उनलाई चिन्दैनथे  । आफ्नो वास्तविक अवस्थामा फर्किन रानालाई धेरै समय लाग्यो । उनले अनुभव सुनाइन्, ‘परिवारमा त कुरै गर्न गाह्रो भइसकेको थियो । ‘क्यार्नी हो’, ‘त्याँडी’ जस्ता शब्द कुरा गर्दा हटाउनै गाह्रो भयो ।’

 

प्रतिकृया दिनुहोस