MENU

नयाँ पुस्ता

635x90

पेन्टिङमा प्रतिबिम्बित रहर

किरण दहाल शुक्रवार, भाद्र २३, २०७४

‘रङ पोतिएको क्यानभासको पेन्टिङले कसको मन नछोला र ? पछिल्लो समय युवापुस्तामा पेन्टिङप्रतिको आकर्षण बढ्दो छ । उनीहरू हातमा ब्रस बोकेर क्यानभासको भित्तामा थरीथरीका रङ पोत्न रमाउँछन् । मान्छेहरूको भावनालाई तस्बिरमा उतार्न रमाउँछन् । समाजका वास्तविकतालाई पेन्टिङमा प्रतिबिम्बित गराउने प्रयास गर्छन् । सिर्जनशीलतामा उनीहरू खुशी खोजिरहेका छन् । पहिलेको तुलनामा अहिले पेन्टिङ पढ्न आउने विद्यार्थीहरूको संख्या बढेको बताउँछन्, नेपाल ललितकला क्याम्पसका प्राध्यापक रमेश पोखरेल । भन्छन्, ‘अहिले यो क्षेत्रमा अवसर बढेकाले पेन्टिङ पढ्न आउने विद्यार्थीहरू पहिलेको तुलनामा बढी छन् ।’ पेन्टिङ अध्ययन गरिरहेका विद्यार्थीहरूको संख्या एक सय ५२ छ । युवापुस्तामा पेन्टिङप्रतिको आकर्षण बढेको कुरा कलाकार रोशन प्रधान पनि स्वीकार्छन् । भन्छन्, ‘पेन्टिङप्रतिको धारणा अहिले फेरिएको जस्तो लाग्छ । यसमा लाग्नेहरूको संख्या राम्रै छ । तर, उनीहरूमा आवश्यक योग्यता भने देखिँदैन । रहर भए पनि मिहिनेत छैन ।’

उत्तरमा शिक्षकको मुहार उतार्ने

काठमाडौं बालाजुकी लीसा गैरे (२४) सात कक्षा पढ्दै थिइन् । सामाजिक विषयको परीक्षा थियो । दिमागमा उत्तर हैन, स्केच घुम्न थाल्यो । उनले उत्तर नलेखेर विषय शिक्षकको अनुहार बनाइदिइन् । त्यो क्षण स्मरण गर्दा उनले हाँसो थाम्न सकिनन् । स्कुल पढ्दा पनि कापीमा स्केच बनाएर बस्थिन् । सानो सेतो इरेजर मान्छेका अनुहारले कालो हुने गरी भरिन्थ्यो । आफ्ना मात्र हो र ? सहपाठीका किताब र कापीमा उनले अनेक चित्र कोरिदिन्थिन् । भन्छिन्, ‘सरले होमवर्क जाँच्ने वेला चित्र देखेर साथीलाई झपार्नुहुन्थ्यो । उनीहरूले मलाई गाली गर्थे ।’

पाठ्यक्रमका विषयवस्तुभन्दा स्केचै बनाएर उनले थुप्रै कापी सक्थिन् । परिवारका सदस्य सुतिसकेपछि राति उठेर पनि थुप्रै पटक स्केच बनाएको उनको अनुभव छ । राति बत्ती बालेको देखेपछि आमाको गाली खानुपथ्र्यो त्यसपछि उनले नयाँ विकल्प ल्याइन्, ‘मैन बालेर चित्र बनाउने ।’ प्रायः स्केच बार्बीडल र मान्छेका अनुहारको हुन्थ्यो । फेसन टीभी धेरै हेर्ने भएकाले थरीथरी कपडा लगाएका मान्छेहरूको समेत स्केच बनाउन सिकिन् ।

उनको स्केच बनाउन थाल्दाको रोचक प्रसंग छ । पढाइ पहिलेदेखि खासै राम्रो थिएन । कमजोर विद्यार्थी भनेर शिक्षकहरूले पेन्टिङ प्रतिस्पर्धाहरूमा भाग गराउँदैनथे । भन्छिन्, ‘सरको व्यवहार मलाई नराम्रो लाग्थ्यो । राम्रो पेन्टिङ बनाएर सबैलाई देखाइदिन्छु भन्ने सोच्थेँ ।’सन् २०१४ देखि कपीको साटो उनले क्यानभासमा रङ पोत्न थालिन् । अहिले मान्छेहरूको ‘फिलिङ’ र सपनालाई क्यानभासमा उतार्छिन् । प्रायः पेन्टिङमा मान्छेको अनुहार देखिन्छन्, कहिलेकाहीँ उनकै सपना पनि भेटिन्छन् । पेन्टिङप्रतिको उनको रुचि कतिसम्म छ भने, कहिलेकाहीँ बाटोमा हिँडिरहँदा राम्रो मान्छे देखियो भने त्यहीँ उभिएर कापीमा उतारिदिऊँ जस्तो लाग्छ, उनलाई । ‘बाटोमा उभिएर बनाउन नमिल्ने, नत्र म बनाइदिन्थेँ,’ उनले भनिन् । ‘ब्ल्याक एन्ड ह्वाइट’ रङ मन परे पनि उनको प्रायः पेन्टिङमा नीलोको मात्रा धेरै भेटिन्छ ।

उनी भन्छिन्, ‘पेन्टिङका लागि पनि ‘मुड’ आउनुपर्छ । लगाव भएन भने राम्रो बन्दैन । मेरा धेरै पेन्टिङ आधामै टुंगिएका छन् ।’ पेन्टिङ बनाउनुभन्दा पहिले उनी के बनाउन खोजेको त्यसको स्केच तयार पार्छिन् र त्यसैलाई क्यानभासमा उतार्छिन् । उनले १२ कक्षाको परीक्षा दिएलगत्तै १५ हजारका दरले चार वटा पेन्टिङ बेचिन् । यो नै उनको पेन्टिङबाट पाएको पहिलो कमाइ थियो । ३–७ भदौमा ‘नेपाल आर्ट काउन्सिल’ बबरमहलमा उनले प्रदर्शनीमा राखेका नौ वटा पेन्टिङमध्ये तीन वटालाई प्रतिचित्र ६० हजारका दरले बिक्री गरिन् । ‘चित्र बिक्री हुँदा गर्वको महसुस हुन्छ,’ उनी भन्छिन्, ‘चित्रबाट पाउने मोलभन्दा कस्तो व्यक्तिले खरिद ग¥यो भन्ने कुराले झन् महत्व राख्छ ।’

कक्षामै शिक्षकको स्केच

काठमाडौं जोरपाटी बस्ने किशोर ज्योति (२८) को त पेन्टर बन्ने सपना पनि होइन । उनले जीवनमा के बन्ने भनेर कहिल्यै उद्देश्य राखेनन् । भन्छन्, ‘सपना देखेपछि त्योभन्दा बाहिरका जान्नुपर्ने कुराहरू छुट्छन् कि जस्तो लाग्छ । खोलाजसरी बगेर हिँड्नै सक्दैन मान्छे ।’कलाकारिताको उनको विगत कम रोमाञ्चक छैन । पढ्दा जहिल्यै अन्तिम बेन्चमा बस्थे । र, पढाइरहेका शिक्षकको स्केच बनाउँथे । पढाइभन्दा कापीको पानामा बन्दै गएको शिक्षकको मुहारले उनलाई आनन्द दिन्थ्यो । साथीहरू पनि आफ्नो चित्र बनाइदिन तछाडमछाडै गर्थे । उनी पनि खुशीसाथ साथीको मुहार दुरुस्तै उतारिन्थिे । उनको मान्छेको चित्र बनाउने मोह स्कुलदेखिकै हो । अहिले पनि उनको अधिकांश पेन्टिङमा मान्छेकै अनुहार भेटिन्छ ।


पेन्टिङमा लाग्नेहरूको संख्या राम्रै भए पनि आवश्यक योग्यता भने देखिँदैन। रहर छ मिहिनेत छैन। रोशन प्रधान पेन्टर/कलाकार

छोरो पेन्टर बनेको परिवारले भने रुचाएको छैन । ‘छिमेकीका छोराहरू विदेश गएका छन्, कोही डाक्टर बनेका भएको सुनाउनुहुन्छ । यसको अर्थ पेन्टिङतिर नलागे हुन्थ्यो भन्ने चाहना हो,’ उनी परिवारको सोचबारे भन्छन्, ‘हाम्रोजस्तो मध्यमवर्गीय परिवारमा ठूल्ठूला सपना देखिन्छ । राम्रो पैसा आउने जागिर खाओस् भन्ने चाहना हुन्छ ।’ उनी अहिले राम्रो पेन्टर बनिसकेका छन् । एउटै चित्र उनले एक लाख रुपैयाँसम्ममा बेचेका छन् । ३–७ भदौमा ‘नेपाल आर्ट काउन्सिल’ बबरमहलमा उनले प्रदर्शनीमा राखेका १० वटा पेन्टिङमध्ये पाँच वटा बिक्री भए । जसमा एउटाको मोल एक लाख, अर्को ६० हजार र तीन वटा ५० हजार रुपैयाँमा बिक्री भए । ‘यो प्रदर्शनीले झन् प्रेरणा थपेको छ,’ उनले खुसी व्यक्त गरे ।

पहिले पहिले उनी कुनै अभ्यास नगरी सीधै क्यानभासमा रङ पोत्थे । यसरी गर्दा लथालिंग हुने भएपछि हिजोआज क्यानभासमा पेन्टिङ गर्नुअघि त्यसका लागि कापीमा अभ्यास गर्छन् । ‘एउटै पेन्टिङ एक महिना पनि लगाउँछौँ,’ किशोरले थपे, ‘त्यसलाई समय समयमा हेरिरहन्छौँ र कमजोरी पत्ता लगाउँछौँ ।

‘नेपालको भिन्ची’ बन्ने सपना

पेन्टिङ मोह सुदिल श्रेष्ठ (१६) मा पनि कम छैन । कक्षामा शिक्षकले लिओनार्दो दा भिन्चीबारे पढाइरहँदा उनले ‘नेपालको भिन्ची बन्ने’ सपना देखे । उनको यो मोह अहिलेसम्म जिउँदोजाग्दो छ । स्कुलमा ‘पेन्टिङ’ विषय पढाइ हुन्थ्यो । उनले कोरेका स्केचको शिक्षकले पनि प्रशंसा गर्थे । उनी भन्छन्, ‘सरहरूको स्याबासीले पेन्टिङमा झनै रुचि बढ्यो ।’ उनी पनि पाठ्यपुस्तकका खाली ठाउँमा चित्र कोरेर ‘फोहोर’ बनाउँथे । फोहोर भनेर साथीहरू किताब पढ्नै मान्दैनथे । कहिलेकाहीँ पढ्नै छाडेर ‘पेन्टिङ रुम’मा रमाइरहेका भेटिन्थे ।

पेन्टिङ गर्दा खाली पानामा स्केच तयार पार्छन्, उनी । अनि मात्र क्यानभासमा उतार्छन् । भन्छन्, ‘साना साना कुराहरू पनि नछुटोस् भनेर ध्यान दिनुपर्छ ।’ पेन्टिङमा उनका लागि विशेष रङ नभए पनि ‘ब्ल्याक एन्ड ह्वाइट’ रङ अरूभन्दा अलि धेरै मन पराउँछन् । भन्छन्, ‘सादा कलरले मलाई कहिलेकाहीँ एकदमै प्रभावित पार्छ । यस्तो वेलामा यो दुनियाँ नै सादा छ कि जस्तो लाग्छ ।’एक पटक उनकी आमाले पेन्टिङ क्लास जानु पर्दैन भनेर गाली नै गरे । पेन्टिङ क्लास जानु पर्दैन भनेर आमाले गाली गरेको दिन उनी स्कुलै गएनन् । त्यसपछि बाध्य भएर परिवारले पेन्टिङ क्लास पठाउनुपरेको थियो । ‘मेरा लागि एकेडेमिक पढाइ जति महत्वपूर्ण पेन्टिङ पनि हो,’ श्रेष्ठले पेन्टिङमा आफ्नो लगाव देखाए । 

 

 

 

प्रतिकृया दिनुहोस