MENU

नयाँ पुस्ता

Annapurna635x90

नेपाल आइडलका हजार सपना

किरण दहाल शुक्रवार, भाद्र २, २०७४

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम चरणमा आइपुगेको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनबाट हरेक साताको बिहीबार र शुक्रबार प्रसारित गायनमा आधारित ‘रियालिटी सो’ हो, नेपाल आइडल । लुकेर रहेका गायन प्रतिभालाई स्टेजमा ल्याएर गाउन सक्ने र पहिचान दिन देशका प्रमुख शहर नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौं अडिसनबाट छनोट गरिएका एक सय ५१ जनाबाट सुजाता पाण्डे, प्रताप दास, सागर आलेमगर, सुरज थापा, निशान भट्टराई र बुद्ध लामा ‘टप सिक्स’ नेपाल आइडलको प्रतिस्पर्धामा छन् । उनीहरूका गायनयात्रा, अनुभव र अपेक्षा यस्ता छन् :

‘नेपाल आइडल’ का उत्कृष्ट ७ मध्ये एक प्रतियोगी बाहिरिनेवाला थियो । गाला राउन्डको यो तीव्र प्रतिस्पर्धा हेर्नेकै मुट कत्ति धड्किइसकेको हुन्थ्यो, भिड्नेको हाल के होला ! २७ साउनको यो रोमाञ्चक भिडन्तमा प्रमिला राई, सागर आलेमगर र प्रताप दासले गाए, ‘उकालीमा जाँदाजाँदै दाहिने पर्‍यो वर..।’ सांगीतिक माहोलको एकैछिनपछि प्रमिला राई नेपाल आइडलबाट बाहिरिएको घोषणा भयो । गाउन्जेल ठिकठाकै थिए । भरमार दर्शक झुमाएकी प्रमिलाको स्नेहमा दर्शकहरूको आँशु बग्न थालिसकेको थियो । मञ्चमै रहेका सागर र प्रताप त रुनै थालिसकेका थिए ।

आइडलका प्रतिस्पर्धी सुरज थापा भन्छन्, ‘लामो समय सँगै बस्दा हामी एकै परिवारझैं भइसकेका छौं । कोही पनि टाढा नहोस् भन्ने हाम्रो चाहना हुँदा पनि प्रत्येक साता एकजनाले छोडेर जाँदा आँखा रसाउँछ ।’ त्यसो त, एकपछि अर्को गर्दै प्रतिस्पर्धी बाहिरिँदा नेपाल आइडलका निर्णायकलाई पनि न्यास्रो लाग्छ । प्रतियोगितामा संगीतकारद्वय न्ह्यु बज्राचार्य र कालीप्रसाद बाँस्कोटा अनि गायिका इन्दिरा जोशी निर्णायक छन् । आशलाग्दा प्रतिभा प्रतियोगिताबाट बाहिरिँदा दुःख लाग्ने बताउँछन्, निर्णायक मण्डलका सदस्य बास्कोटा । तर, यसलाई प्रतिस्पर्धाको नियमको रूपमा मात्र बुझ्दा सहज हुने उनको भनाइ छ । ‘यो प्रतिस्पर्धा गायनमा मात्र होइन । यसको मुख्य लक्ष्य नेपाल आइडल बनाउने पनि हो,’ उनले भने, ‘सबैको प्रतिभा एकदमै उत्कृष्ट छ । खेलको नियमअनुसार मात्रै बाहिरिनु परेको हो ।’

परिवारजस्तै साथीहरू

नेपाल आइडलको अन्तिम छनोटका क्रममा हरेक साता एक जना बाहिरिन्छन् । त्यो क्षण, परिवारको एक सदस्य गुमाएको जस्तै अनुभव हुने बताउँछन्, सहभागी निशान भट्टराई । भन्छन्, ‘अनायासै आँशु आउँछ । तर, आफू एक स्टेप अगाडि बढेँ भन्ने कुराले चित्त बुझाउनुपर्छ ।’ बिदाइमा रुनेहरूमा निशान मात्रै पर्दैनन्, सागर आले मगरलाई त साथीहरूले रुन्चे भनेर जिस्काउन थालेका छन् । साथीसँग छुट्टिँदा उनको आँशु बगिहाल्छ । ‘यस्तो अवस्थामा म सम्हालिनै सक्दिनँ,’ उनले भने । आइडलका साथीलाई परिवारजस्तै ठान्छन्, प्रताप दास । ‘साथी बाहिरिएको घोषणा हुँदा ऊसँग बिताएका पलहरू सम्झना हुन थाल्छन् । र, आँशु आउँछ,’ उनले थपे, ‘अबका ‘पर्फमेन्स’मा ऊ मसँग हुँदैन, उसका गीतहरू सुन्न पाइँदैन, मेरो छेउमा अब ऊ बस्ने छैन, जस्ता कुराहरू सोचिन्छ । साँच्चै, त्यो क्षण पीडादायी हुन्छ ।’

idol3

नेपाल आइडलका निर्णायक बायाँबाट क्रमश : न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा ।

कठिनाइ छिचोल्दै

सुरजको संगीतप्रति सानैदेखि चाख थियो । त्यही संगीतकै कारण उनले जिन्दगीमा अनेक तनाव खेपे । एसएलसी पास हुने बित्तिकै आर्मी बनाउने बाबाको सपनाविपरीत गायक बन्न उनी भागेर काठमाडौं आए । भन्छन्, ‘त्यतिबेला भारतबाट बाबा आउने कुरा थियो । तर, उहाँभन्दा पहिले ममीसँगै पैसा मागेर म भागेँ ।’ काठमाडौँ आए पनि बस्ने ठाउँको टुंगो थिएन । नजिकका आफन्त पनि थिएनन् । उनलाई यो शहरले अलमलमा पारिदियो । कहिले साथीहरूको कोठामा बसे, कहिले टाढैकै भए पनि आफन्तकोमा । केही महिनापछि बाँच्नकै लागि उनी रिक्सामा चिजबल बोकेर बाटोबाटोमा बेच्दै हिँडे । झोलाभरि साबुन र सेम्पूहरू बोकेर अर्काको घरको ढोका ढक्ढक्याए । कपडा पसलमा भुइँ पुछ्नेदेखि सिसा पुछ्ने कामसमेत गरे । यसरी उनले अलिअलि पैसा कमाउन थाले । ‘घरबाट ममीले कहिलेकाहीँ पैसा पठाउनुहुन्थ्यो ।

त्यो पाँच दिन पनि पुग्दैनथ्यो । बाबा सधंै घर फर्की मात्रै भन्नुहन्थ्यो,’ उनले संगीतप्रति गरेका संघर्षका ती दिन सम्झे । आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा पढाउन नसकिने बाबा बताउँथे । तर, उनी आफैं पैसा कमाएर संगीत सिक्ने ध्याउन्नमा थिए । पछि उनले एफएममा गीत गाएवापत पुरस्कार जितेर एक वर्षका लागि सित्तैमा संगीत सिक्ने मौकासमेत पाए । बिहान कलेज जान्थे, दिउँसो काम गर्थे । राति मात्रै फुर्सद हुन्थ्यो । उनी संगीत सिक्न जाँदा कक्षाबाट सबै साथीहरू घर गइसकेका हुन्थे । ‘राति १० बजेसम्म म एक्लै रियाज गर्थे । अफिस बन्द भएपछि मात्र कोठामा फर्कन्थेँ,’ उनका साथीहरूले कहिलेकाहीँ भन्ने गर्थे, ‘तपार्इं सधंै एउटै पोशाकमा, राति किन आउनु हुन्छ ? ‘दिनभरि काम गर्नुपथ्र्याे, कोठमा जाने फुर्सद हुँदैनथ्यो,’ सुरजले उदास मुहारमा विगत सम्झिन खोजे । पछि उनले हार्मोनियम बजाउने कामसमेत पाए । यसले उनलाई सांगितिक क्षेत्रमा सम्बन्ध बढाउनसमेत सहयोग पुर्‍यायो । संगीत सिक्नकै लागि सुजाता पाण्डेले गरेको विद्रोह पनि कम छैन ।

उनी नेपाल आइडलको अन्तिम ६ मा पुग्न सफल एक मात्र महिला हुन् । संगीत सिक्नकै लागि उनले कैंयौं कठिनाइ भोगेकी छिन् । भन्छिन्, ‘पढेर ठूलो जागिर खाओस्, धेरै पैसा कमाओस् भन्ने परिवारको चाहना थियो । यो स्वभाविक पनि हो ।’ तर, उनको ध्याउन्न भने संगीततिरै थियो । घरमै बसेर गुनगुनाइ रहन्थिन् । यो कुरा लामो समयसम्म पनि उनको परिवारलाई थाहा भएन । पछि गाउँमा भएका कार्यक्रमहरूमा गीत गाउन थालिन् । उनको आमालाई छोरीले गीत गाउँदै हिँडेको मन पर्दैनथ्यो । बुबाले संगीत सिकाउने कुरा गर्दा आमाले धेरैपटक अस्वीकार गरेको बताउँछिन्, सुजाता । उनले भनिन्, ‘मलाई संगीतमा केही गर्छु जस्तो लाग्थ्यो, तर घरबाट सिक्न जान दिनुहुन्थेन ।

म एक्लैै बसेर रुन्थेँ । पढ्न बस्दा पनि किताबले मुख छोपेर धेरै पटक रोएकी छु । दिमाग नै अर्कैतिर भएपछि किताब हेरेर मात्र पढिँदोरहेनछ ।’ त्यसो त संगीत सिक्नकै लागि आमालाई फकाउने उनले अनेक प्रयास गरिन् । लुगा धुने, भाँडा माझ्ने र खाना बनाएर आमाको मन जित्न खोज्थिन् । आमा खुशी भएर संगीत कक्षामा जान पाइएला भन्ने उनको चाहना हुन्थ्यो । उनी रणनीतिमा सफल पनि भइन् । तर, कलेजको परीक्षाताका जहिल्यै संगीत कक्षा छोडेर पढाइमा ध्यान दिनुपथ्र्याे । यसरी संगीत क्लास छोड्ने र जाने चक्र लामो समयसम्म दोहोरिरह्यो । सुजाता सुनाउँछिन्, ‘मैले लामो समयसम्म संगीत सिक्न पाइनँ । त्यसैले तयारी पनि राम्रो भएन ।’

नेपाल आइडलसम्म

सुजातालाई संगीत सिक्न मात्र हैन नेपाल आइडलमा भाग लिन आउनसमेत गाह्रो परेको थियो । उनले आइडलबारे फेसबुकमार्फत् जानकारी पाएकी थिइन् । भाग लिन मन लागेको कुरा परिवारलाई भनिन् । तर, घरमा फेरि आमा नै बाधक बनिन् । ‘ममीको एकमात्र ध्यान मेरो पढाइमा थियो । उहाँ जहिल्यै मेरो पढाइ बिग्रन्छ भन्ने चिन्ता लिनुहुन्थ्यो,’ उनले भनिन् । इन्डियन आइडलमा जाने सपना बुनेकी सुजातालाई नेपाल आइडल खुल्नु खुशीको कुरा थियो । घरबाट बाहिर निस्कन नदिने आमाको कुराले उनलाई रिससमेत उठ्थ्यो । शुरुमा आफूले अडिसन मात्र दिने तर कार्यक्रममा भाग लिन काठमाडौं नजाने बाचा गरिन् । शुरु–शुरुमा पनि उनी विभिन्न कार्यक्रमका लागि अडिसन दिन्थिन्, तर, अन्तिमसम्म भाग लिन जान पाउँदिन थिन् । यस पटक पनि त्यही दोहोरिने उनलाई चिन्ता थियो । अडिसनमा नाम निस्किएपछि उनी चुप लागेर बसिनन् ।

idol

बुबासँग काठमाडौं जाने कुरामा जिद्धी गर्न थालिन् । उनको जिद्धीका अगाडि परिवारले हार खाए र उनलाई काठमाडौंसम्मको बाटो खोलिदिए । सुजाताले त्यसबेला परिवारसँग गरेको बाचा सम्झिइन्, ‘यो कार्यक्रममा भाग लिएपछि म अन्त कतै जाँदिनँ । संगीतमा मेरो यो अन्तिम सहभागिता हो भनेँ । बुबा त सकारात्मक नै हुनुहुथ्यो । तर, ममीलाई फकाउन मैले धेरै मिहिनेत गर्नुपर्‍यो ।’ परिवारलाई यो मेरो अन्तिम यात्रा हो भनी सम्झाए पनि संगीतयात्रा अब शुरु भएको ठान्छिन्, उनी । सागर आलेमगरले पनि नेपाल आइडल अडिसनको खबर फेसबुकमार्फत् नै थाहा पाएका थिए । साथीभाइले भाग लिन हौसाए । अडिसनमा जाँदा मान्छेको भीड देखेर आफू चुनिन्छु जस्तो नै लागेन, उनलाई । भन्छन्, ‘मलाई प्लेटफर्म चाहिएको थियो । राम्रो हो भने किन नजाने जस्तो भयो । सबैको मायाले ‘टप सिक्स’मा पुगेको छु ।’

आर्थिक अवस्था कमजोर भएकाले सागरको संगीतयात्रा पनि कष्टकर नै भयो । उनले भने, ‘घरको आर्थिक अवस्थाले संगीत सिक्ने माहोल कहिले पनि मिलेन । घरखर्च चलाउनै गाह्रो हुन्थ्यो । दाइहरूले एसएलसीपछि पढाइ छाडेका थिए । दाइकोभन्दा अलि सुविधा भयो र पढ्न पाएँ ।’ १२ कक्षाको परीक्षा दिएर बसेका उनले संगीत कक्षा भने लिन कहिल्यै पाएनन् । तर, उनको गीत गाउने रहरमा घरको साथ भने रहिरह्यो । ‘चितवन आइडल’, ‘नेपाली तारा’मासमेत उनले सहभागिता जनाइसकेका छन् । उनी नेपाल आइडललाई प्रतिभा प्रस्तुत गर्ने ‘गतिलो ठाउँ’का रूपमा व्याख्या गर्छन् ।

संगीत अर्थात् भविष्य

‘म संगीतबाट टाढिन सक्दिनँ । मलाई संगीतमा आफ्नो खुबी देखाउनका लागि नेपाल आइडल माध्यम थियो । यो मेरो गन्तव्य हैन, ’ जिन्दगीभर संगीतमा लाग्ने कुरालाई जोड दिँदै निशानले भने । परिवार पनि उनको संगीतप्रतिको रुचि देखेर खुशी छन् । स्कुले बेलादेखि नै उनले संगीत सिक्ने अवसर पाए । ‘प्लस टु’ सम्म मोरङमै पढेर काठमाडौं छिरेका निशान शंकरदेव क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययन गर्दैछन् । संगीत पनि सिक्दैछन् । उनलाई परिवारबाट कुनै काम गर्न कहिल्यै दबाब आएन । सानो छँदा उनी रेडियोमा बज्ने गीतहरू गुनगुनाइरहन्थे । कतै गीत बजेको सुने भने छेउमा गएर सँगैसँगै गाउँथे । पछिपछि त गाउँलेले उनलाई धेरथोर पैसा दिएरै गीत गाउन लगाउँथे । भन्छन्, ‘मलाई राम्राराम्रा गीत गाउन आउँथ्यो ।

पैसा आउने र चकलेट खान पाइने आशामा म गाउँलेहरूका अगाडि गीत गाइदिन्थेँ ।’ यस्तो वातावरणमा हुर्किएका निशान अब संगीतबाट टाढा हुन नसक्ने बताउँछन् । नेपाल आइडलले गायक हुने सपना देखाएको ठान्छन्, प्रताप । जिन्दगीमा जति पनि प्रयोगहरू संगीतमाथि नै गरिएकाले यसबाट अलग हुन नसक्ने उनले बताए । भन्छन्, ‘यतिका वर्ष संगीतमै खर्चिएको छु । मसँग विकल्प छैन । नेपाल आइडल भए÷नभए पनि म संगीतमै लाग्ने हो ।’ बुद्ध लामा संगीतलाई जिन्दगीको अभिन्न पाटोको रूपमा बुझ्छन् । दिदी पनि संगीततिर लागेकाले उनलाई यससम्बन्धी ज्ञान भयो । भन्छन्, ‘म दिदीसँगै बसेर गीतहरू गाउँथे । यो देखेर दिदीले मलाई संगीत सेन्टरमा भर्ना गरिदिनुभयो ।’ आफूले संगीतमा राम्रो गरेकै कारण अर्काे संगीत सेन्टरले उनलाई १ वर्षसम्म सित्तैमा संगीत सिकाइदियो ।

00_1

बुद्ध गीत गाउनकै लागि सभासमारोहमा जान्थे । पढाइका साथै संगीतलाई पनि अगाडि लैजान परिवारले उनलाई आग्रह गरेका छन् । अब आफूले पढाइका साथै संगीतलाई पनि सँगै लिएर जाने सोच बनाएका छन् । नेपाल आइडलमा भाग लिन आउनेहरू सबैले राम्रो गीत गाएको बताउँछन्, संगीतकार बाँस्कोटा । भन्छन्, ‘सबैसँग प्रतिभा छ, त्यो उहाँहरूले देखाइसक्नु भयो । बाहिरिनेहरूले पनि संगीत क्षेत्रमै लाग्नु भयो भने राम्रो गर्न सक्ने सम्भावना छ ।’

संगीतका लागि मरिहत्ते

लजालु स्वभावका सागर बोल्नसमेत लजाउँथे । एकपटक कक्षा ६ मा पढ्दा उनलाई सरले अगाडि आएर गीत गाउन भने । गीतमा लगाव भएका उनले एउटा गीत गाइदिए : ‘नजलाउ व्यर्थै छाती कसैको यादमा...।’ साथीहरूसामु गाएको पहिलो गीत हो यो, सागरको । त्यतिबेला साथीहरूको वाहवाही र शिक्षकको प्रंशसाले उनलाई गीत गाउन सक्छु भन्ने लाग्यो । यसपछि कार्यक्रमहरूमा गीत गाउँदै हिँड्न थाले । गाउँमा संगीतको माहोल नभएकाले उनी टाढाटाढासम्म नचिनेका कार्यक्रमहरूमा समेत पुग्थे । भन्छन्, ‘चिनेजानेको हुँदैन थियो तर पनि त्यहाँका आयोजकहरूसँग मलाई गीत गाउन दिनु भनेर अनुरोध गर्थेँ । कहिलेकाहीँ सुनाउन पाइए पनि धेरैले पछि दिउँला भन्दै टारिदिन्थे ।’ गीत सुनाउन नपाएर रुँदै फर्किएको अनुभव छ, उनीसँग । यस्तै विगत छ सुरजको पनि । उनी गीत गाउन र कार्यक्रममा भाग लिन कहाँमात्रै पुगेनन् ।

रेडियो, टीभी, स्टेज कार्यक्रमहरूमा उनको उपस्थिति हुन्थ्यो । नचिनेका ठाउँहरूमा पुग्थे । कुनै ठाउँमा उनको आवाज सुनिन्थ्यो, धेरैले अन्तिममा गाउन दिने आश्वासन दिएर टारिदिन्थे । उनी कार्यक्रम नसकिँदासम्म गाउन पाइने आशामा ढुकेर बस्थे । सानैमा बुबासँग भारत गएका सुरज १० वर्ष त्यतै बसे । बुबाले एउटा क्यासेट किनेका थिए, दिनभरि त्यसैमा गीत सुनेर बस्थे । यसरी नजानिँदो किसिमले संगीतप्रति आकर्षण बढेको थियो । सुजाताको पनि संगीतप्रतिको लगाव कम्ती चाख लाग्दो छैन । गाउँमा क्लबले कार्यक्रम आयोजना गरेको थियो । म पनि गाउँछु भनेर उनले आयोजकसँग आग्रह गरिन् । तर, चर्चित गायकहरू आएका र सानाले गाउन नहुने कुरा आयोजकले बताएपछि उनी रुन थालिन् । ‘पछि बाबाले भनिदिएपछि गीत गाउने मौका पाएँ । त्यतिबेला मलाई धेरैले पैसा दिएका थिए,’ उनले थपिन्, ‘एक जनाले मलाई चप्पल उपहार दिनुभएको थियो । मेरो पुरानो चप्पल त्यही कार्यक्रममा हरायो पनि ।’

 

 

प्रतिकृया दिनुहोस