MENU

नयाँ पुस्ता

Annapurna635x90

निर्देशक अनिल भन्‍छन् : ‘ खासमा बाजेजस्तै चर्चित हुन चाहन्थेँ’

किरण दहाल सोमवार, श्रावण ३०, २०७४

११ वर्षको हुँदासम्म टेलिभिजन नदेखेका अनिल बुढामगर (२५) ले निर्देशक बनौँला भनेर सोचेका पनि थिएनन् । १८ वर्षमै मगर भाषाको सिनेमा ‘लोम्बा’ बनाए । त्यसयता उनी सिनेमा निर्देशनमा अहोरात्र लागिपरेका छन् । रुकुम तक्सेरामा हुर्किएका अनिल गाउँको पढाइ सकेर कक्षा ६ मा भर्ना हुन दाङ आएका थिए । दाजु–भाउजूसँग बस्न थालेपछि मात्रै उनले फिल्म हेर्न पाए । ‘त्यसबेला चाइनिज मुभी खुब हेरेँ,’ उनले भने, ‘गाउँमा टीभीसमेत हेर्न नपाएकोले होला, दाङ झरिसकेपछि फिल्मको लतै लाग्यो ।’ उनको गाउँमा भने सिनेमा हेर्नुलाई राम्रो मानिँदैन थियो । आफ्नो गाउँलाई उनले व्यंग्य गरे, ‘विदेश जानुपरे मेरो गाउँमा ५० हजारसम्म ऋण दिन्छन्, तर फिल्म बनाउन पाँच रुपैयाँ पनि कसैले पत्याउँदैनन् ।’

आफ्ना बाजेबाट धेरै प्रभावित भएका थिए, उनी । गाउँका झैंझगडा मिलाएवापत बाजेलाई गाउँलेले जग्गा नै उपहार दिएका थिए । यस्तो आदरले उनलाई पनि बाजेजस्तै बन्ने रहर जाग्यो । तर, कसरी इज्जतिलो र चर्चित मान्छे बन्ने भन्ने उनलाई थाहा थिएन । भन्छन्, ‘खासमा म बाजेजस्तै चर्चित हुन चाहन्थेँ ।’ स्कुलमा एक दिन उनका गुरुले सबैलाई कथा लेखेर ल्याउन अह्राए ।

अरू साथीले जस्तै उनले पनि जानीनजानी एउटा कथा लेखिदिए । उनलाई अहिले के लेखेँ भन्ने राम्रो सम्झना छैन । धमिलोगरी सम्झन्छन्, ‘बाबु, आमा र छोराबीच सम्बन्धको कुरा थियो, त्यो । सधैँ जाँड खाएर आउने बाबुले आमालाई कुटेको र यस्तो दृश्य देखेको छोराले पछि आफ्नै बाबुलाई मारिदिन्छ ।’ उनको कथाको मजबुन यही हो । त्यतिबेला धेरै ज्ञान नभए पनि आफूले एउटा छोराको मनोविज्ञानलाई देखाउन खोजेको रहेछु भन्ने अहिले आएर अनुमान लगाउँछन् ।

sunil

सरले भोलिपल्ट कक्षामा भने, ‘अनिल बुढामगर को हो ?’ नयाँ विद्यार्थी अनिलका लागि सरको यो आवाज डरमर्नु भयो । उनलाई लाग्यो, हिजो बुझाएको कथा गल्ती भयो । उनी उठ्दै नउठी निहुरिएर बसिरहे । शिक्षकले केही नगर्ने बरु चिन्न मात्र खोजेको भनेपछि अन्तिम बेन्चबाट उठे । सरको एउटै ‘स्याबास्’ले उनको मुहार उज्यालियो । एसएलसी दिएर काठमाडौं जान सरले सुझाएपछि अनिललाई लाग्यो, ‘म पनि लेख्न सक्ने रहेछु ।

अब कथा लेख्छु ।’ काठमाडौं आएको केही समयमै अनिलले मगर भाषामै ‘पापी गाउँ’ उपन्यास प्रकाशन गरे । बुवाले उनलाई ब्रिटिस लाहुरे बनाउने प्रयास गरेका थिए । दाजु पनि लाहुरे नभएपछि बाबुको चाहना पूरा गर्न भर्नाका लागि फारम भरेर अभ्यास लागे । भन्छन्, ‘धेरै प्रयास गर्दा पनि मैले बुवाको रहर पूरा गर्न सकिनँ ।’ ब्रिटिस आर्मीमा नाम निकाल्न नसकेको भन्दै उनका बाबु त धेरै समयसम्म रिसाए नै । त्यसपछि अनिल बुवाको सपना त्यागेर सिनेमातिर लागे । नवीन सुब्बा, अनुप सुवेदीलगायतको ‘स्क्रिप्ट राइटिङ’ सेमिनारमा भाग लिने अवसर पाए ।

केही समयअघि उनले ‘पहिचानको खोजी’ नामको वृत्तचित्र बनाए । यस्तै, ‘गाउला’ उनको अर्काे वृत्तचित्र हो । ‘लोम्बा’ अमेरिकाको ‘नेपाल आदिवासी फिल्म फेस्टिभल, न्युयोर्क–२०१७’ को ६ वटा विधामा मनोनित भएको छ । सिनेमा रुकुमको लोम्बा संस्कृतिमा आधारित छ । सयौं भेडालाई नेतृत्व गर्ने लोम्बाको मृत्युपछि आइपर्ने संकटहरूलाई सिनेमामार्फत् देखाउने प्रयास गरिएको छ । उनले भने, ‘मगरहरूको संस्कृतिलाई सिनेमामार्फत् पर्दामा ल्याउने प्रयास गरेको छु ।’ लोम्बा बनाउँदा साथीहरूको असहयोगदेखि पैसाको अभाव जस्ता धेरै अप्ठेराहरू बेहोर्नुपरेको उनको अनुभव छ ।

यस्ता मौलिक सिनेमाहरूबाट एउटा खास समुदायको कठिनाइलाई बाहिर ल्याउन सजिलो हुने अनिलको भनाइ छ । र, आफ्नो समुदायको वास्तविकतालाई बाहिर ल्याउन नै मौलिक सिनेमा बनाउनतिर ध्यान गएको उनले बताए । यस्ता फिल्मबाट कमाइ कत्तिको हुन्छ ? अनिल भन्छन्, ‘विषयवस्तु राम्रो ल्याउन सकियो भने जस्तोसुकै फिल्मबाट पनि पैसा कमाउन सकिन्छ ।’ अहिले उनी ठूलो लगानीको सिनेमा बनाउन व्यस्त देखिन्छन् ।

 

प्रतिकृया दिनुहोस