MENU

नयाँ पुस्ता

635x90

तन्‍नेरीहरुको लाहुरे सपना

किरण दहाल मंगलवार, श्रावण २४, २०७४

सिंगापुर आर्मीका लागि बैरागी तामाङ (१९) दोस्रो पटकको तयारीमा व्यस्त छन् । गैरमुदी, दोलखाका उनी गत वर्ष नाम निकाल्न नसकेपछि अहिले शैक्षिकदेखि शारिरीक अभ्यासमा लागिपरेका हुन् । गोल्फुटार बस्दै आएका उनी अहिले बसुन्धारास्थित ‘बुल्स प्रि ब्रिटिस आर्मी एन्ड सिंगापुर पुलिस ट्रेनिङ सेन्टर’मा तयारी गरिरहेका छन् । ‘अहिले धेरै मिहिनेत गरिएको छ, नाम निस्किएला भन्नेमा आशा छ,’ उनी भन्छन् ।

तनहुँका अन्दीप अधिकारी (१८) पनि अहिले तामाङसँगै तयारी गरिरहेका छन्, तर ब्रिटिस आर्मीका लागि । बुवाले नेपाल आर्मीमा जागिर खाएकाले परिवारको चाहना मैले पनि सेनामामै जागिर खाओस् भन्ने रहेको उनले बताए । नेपालमा राम्रो अवसर कम भएकाले आफूले यतातिर प्रयास गरेको उनको भनाइ छ । हरेक वर्ष नेपालबाट दुई सय ४० ब्रिटिस सेना र ८० जना सिंगापुर पुलिसका लागि भर्ना हुन्छन् ।

त्यसका लागि अहिले काठमाडौं, पोखरा, धरानलगायत विभिन्न तालिम केन्द्रमा युवाहरूको भीड नै लाग्ने गरेको छ । बुल्स ट्रेनिङ सेन्टरका प्रशिक्षक राजाराम लामाका नख्खु र बसुन्धारामा गरी दुई ठाउँमा ट्रेनिङ सेन्टर छन् । जहाँ अहिले ४४ जनाले अभ्यास गरिरहेका छन् । अहिले दोस्रो चरणको छनोटका लागि अभ्यास गराइरहेको उनले बताए । ब्रिटिस र सिङ्गापुर आर्मीका लागि पहिलो चरणको छनोट गत १४ असारदेखि ६ साउनसम्म चलेको थियो ।

अवसरको खोजी

विदेशी लाहुरे बन्नका लागि तयार रहेकाहरूमध्ये धेरै तन्नेरीहरूको सपना हो, पैसा कमाउने रहर, सुरक्षित भविष्य, इज्जतिलो जीवन । ब्रिटिस, सिंगापुर सेनामा जानेहरूको मुख्य लक्ष्य पनि यिनै हुन् । नेपालमा राम्रो अवसर र उत्कुष्ट जीवनयान नहुने हुँदा सिंगापुर पुलिसमा भर्ना हुन खोजेको तामाङ बताउँछन् । भन्छन्, ‘एक्लो छोरो भएकाले पनि परिवारको जिम्मेवारी आफैमाथि छ । पैसा त जसरी पनि कमाउनै पर्‍यो । बाँसबारी बस्दै आएका खोटाङे युवा सुनिल राई पनि तामाङको कुरामा सहमत छन् । भन्छन् ‘त्यहाँ गएपछि आफू बुढो हुँदा पनि सुविधा उपलब्ध गराइन्छ ।

lahure

जसले भविष्य सुरक्षित हुन्छ ।’ नेपालमा सानो तहको जागिरका लागि पनि ‘सोर्स फोर्स’ लाग्ने र राम्रो ठाउँमा जागिर नपाइने भएकाले यसरी विदेशी सेनामा भर्ना हुनु धेरै नेपाली युवाको बाध्यता रहेको उनले बताए । तामाङ र राई त उदाहरण मात्रै हुन् । पैसा कमाउने, जीवनयापन सहज बनाउने तथा जीवनको उत्तराद्र्ध समय पनि राम्ररी बिताउने आसमा सिंगापुर तथा ब्रिटिस सेनामा भर्ना हुने युवाको संख्या हजारौं छ । लमजुङका उमिन गुरुङ (१८) भन्छन्, ‘हाम्रो देशमा पनि विदेशमा जस्तो सुविधा हुने भए अरूको देश किन जानुपथ्र्याे ?’ हाल बसुन्धरा बस्दै आएका गुरुङका बुवा पनि नेपाली सेनामै थिए । भन्छन्, ‘हाम्रो गाउँतिर उमेर छउन्जेल ‘लाहुर जाऊँ, पैसा कमाऊँ’ भन्ने नै हुन्छ ।’

lahure4

तयारीमा व्यस्त

जुनसुकै देशको सेनामा भाग लिन पनि शरीरको ‘फिटनेस’ पहिलो प्राथमिकता हो । झनै नेपालबाट यूके र सिंगापुर जानेहरूका लागि खासखास मापदण्ड बनाइएको छ । ब्रिटिस र सिंगापुर पुलिसका लागि १७ वर्ष ६ महिना पूरा भई २१ वर्ष ननाघेको हुनुपर्छ । यस्तै, उचाइ एक सय ५८ सेन्टिमिटर र तौल ५० किलो आवश्यक हुन्छ । ३१ इन्चसम्मको छाती हुनुपर्ने मापदण्ड छ । न्यूनतम एसएलसी पास हुनुपर्ने शैक्षिक मापदण्ड पनि छ । ‘धेरै मोटो र पातलो हुनु भएन । ज्यानलाई सेनामा भर्ना हुने गरि सन्तुलनमा राख्नुपर्छ,’ अनिल ठकुरी (२१) ले सेनामा भर्ना हुन शरीर नै प्राथमिक योग्यता रहेको कुरामा जोड दिए  । उनी बिहानै डेढ घण्डा जति दौडिन्छन् ।

जुनसुकै देशको सेनामा भाग लिन पनि शरीरको ‘फिटनेस’ पहिलो प्राथमिकता हो। झनै नेपालबाट युके र सिंगापुर जानेहरूका लागि खासखास मापदण्ड बनाइएको छ।

दिउँसो पनि शारिरीक र शैक्षिक अभ्यासमा व्यस्त हुन्छन् । पहिलो पटकको प्रयासमा नाम निकाल्न नसकेका उनी भन्छन्, ‘यो पटक मिहिनेत पनि पुगेको छ । नाम निस्कने कुरामा ढुक्क छु ।’ ठुकुरीको जस्तै तयारी राईको पनि छ । ‘खानामा एकदमै ध्यान दिनुपर्छ । अहिले मासिक लगभग १५/२० हजार रुपैयाँ त खानामै खर्च हुन्छ,’ उनले थपे, ‘चिल्लो, पिरो खानु भएन । मासु, गेडागुडी टन्न खानुपर्‍यो ।’ तालिमकेन्द्रले पनि यस्ता कुरामा ध्यानाकर्षित गराउँछ । सहभागीहरूलाई फिजिकल, एजुकेसन र मेन्टलजस्ता ज्ञानहरू भूतपूर्व आर्मी तथा दक्ष व्यक्तिबाट प्रशिक्षितसमेत गराइने गरिन्छ ।

lahure3

अहिले सहभागीहरूलाई शैक्षिक, मेडिकल, दौड, ह्याभिङ, कलर भिजनजस्ता कुरामा अभ्यास गराइरहेको प्रशिक्षक लामा बताउँछन् । भन्छन्, ‘अब दोस्रो चरण खुल्नै आँटेकाले अभ्यास पनि राम्रै गराइरहेका छौं ।’ यस्तै, तेस्रो प्रक्रियामा भने डोको बोकेर कुद्ने, ह्याभिङ मेडिकलजस्ता अभ्यासहरू गराउने उनको भनाइ छ । आफूले पहिलो पटक भाग लिँदा डोको बोकेर कुद्नेदेखि शारिरीक अभ्यास पनि पास गरिसकेको बताउँछन्, तामाङ । तर, नाम ननिस्किएपछि अहिले फेरि उनी तिनै अभ्यास दोहो¥याइरहेका छन् । भन्छन्, ‘नागार्जुनको हाइकिङ रुटमा डोको बोकेर कुदेको अहिले पनि याद छ । अब फेरि तिनै अभ्यास दोहोर्‍याउँदै छु ।

lahure6

माया त स्वदेशकै

‘स्वदेशको माया त विश्वको जुनसुकै ठाउँमा पुगे पनि लाग्छ । विदेश जाँदा आफ्नो देशलाई बिर्सिने भन्ने हुँदैन ।’ अधिकारीको शब्दमा नेपालप्रतिको माया झल्किन्थ्यो । भन्छन्, ‘हामीले नेपाल बिर्सिने हैन । बरु, गोर्खालीलाई विश्वभरि चिनाउनका लागि जान आँटेका हौँ ।’अहिले १२ कक्षाको जाँच दिएर बसेका अधिकारीको सानैदेखिको रहर हो, ब्रिटिस आर्मी बन्ने । त्यसमाथि घरपरिवारकै साथ पाएपछि उनले अन्तिम उमेरसम्म भाग लिने बताए । अहिले पनि गोर्खालीहरू उत्तिकै बलिया छन् भनेर विश्वलाई देखाउन चाहेको अधिकारीको भनाइ छ ।

lahure7

त्यसो त बाहिर जानेबित्तिकै नेपालको माया नमर्ने अधिकारीको कुरामा ठकुरी पनि सहमत छन् । नाम निस्केर गइयो भने पनि बेला–बेलामा आफ्नै देश आइरहने उनले बताए । भर्ना हुन पाउने अन्तिम उमेरमा टेकिरहँदा ठकुरीका लागि यो अन्तिम अवसर हो । त्यसैले उनको ढुकढुकी बढेको छ । यसरी युवा विदेशी सेनामा गइरहँदा नेपाललाई पर्ने घाटाका सम्बन्धमा प्रश्न राख्दा तामाङ आक्रोश पोख्छन्, ‘घाटा के कुरामा लाग्ने ? सधैँ राजनीतिक दलको कार्यकर्ता भएर हिँड्ने हामी ?’ लगत्तै नरम हुँदै भन्छन्, ‘उमेर छँदै आफ्नो जिन्दगीलाई उज्ज्वल बनाउन सकियो भने पो राम्रो ।’ यहाँको फूलबारीमा तन्नेरीहरूको ‘लाहुरे सपना’ कहिलेसम्म फुलिरहने हो कुन्नि ?

 

 

प्रतिकृया दिनुहोस