MENU

साहित्य/कला

635x90

भजनमण्डली

नवराज पराजुली आइतवार, कार्तिक १२, २०७४

आऊ न कृष्ण बस न हाम्रो मनैमा
नजाऊ कृष्ण छोडेर वृन्दा वनैमा...

हजुरआमाहरू, काकी, बडीआमाहरू, भाउजूहरूले मेरो गाउँमा गाउने यो भजनको कृष्ण ‘स्टार प्लस’ च्यानलमा हिन्दी बोल्ने कृष्ण हैनन्, यी कृष्णहरू आमाका ‘स्टार’ हुन् जो घरमा एक कोठा खुशी ‘प्लस’ गर्न आफू गाउँबाट ‘माइनस’ भएका छन् । यो भजनका कृष्णको पेटमा ‘सिक्स प्याक’ छैन, बरु यी कृष्णहरूको टाउकोमा खाली पेट भर्ने योजनाहरूको ‘प्याकेज’ छ । चुलोलाई न्यानोमा सुताएर हजुरआमाहरू, काकी, बडीआमाहरू, भाउजूहरू आ–आफ्नो कृष्णलाई ब्युँझाउन हरेक साता भेला हुन्छन् , अनि न्यास्रो रागमा गाउँछन् –

आउन कृष्ण बस न हाम्रो मनैमा
नजाऊ कृष्ण छोडेर वृन्दा वनैमा...

यो भजन सुनेर मेरो गाउँको हावामा यादहरू चप्पल नलगाई दौडिन्छन् हजुरआमाहरू, काकी, बडीआमाहरू, भाउजूहरूलाई एक्लै छोडेर वृन्दावन गएका कृष्णहरूको याद खाडीमा ५५ डिग्री सेल्सियसको गर्मीलाई मयुरपंखले हम्काएर खेदाइरहेका कृष्णहरूको याद काठमाडौं खाडीमा अरू कसैको औंलाले श्वास थिचिदिनाले बाँसुरीको प्वालमा ऐठन भइरहेका कृष्णहरूको याद धन्न भजनहरू छन् र आमाहरू जिउँदै छन् । धन्न गीतहरू छन, र छोराहरू जिउँदै छन् ।
भजन मण्डलीमा प्रसाद बनाएर उखुका चाना राखिएका छन् । घरको गुलियो भने घरमै छैन । प्रसाद बनाएर मेवाका टुक्रा राखिएका छन् । घर पोचिँदैछ । प्रसादसँगै पञ्चामृत राखिएको छ । घाँटीमा ‘भोलि बेचौंला’ भनेर पालेका रोगहरू छन् । झापा जिल्लाको सानो गाउँ मंगलबारेको भजन मण्डलीमा त्यो सबै छ, जो यो पूरै देशसँग छ ।

हजुरबाहरू छन् जो कृष्णसँग उमेर आस गर्दै गाउँछन । त्यो उमेर जो गन्न नभ्याई सिद्धियो । त्यो उमेर जो हलोको लुँडोमा अड्किएर सिद्धियो । हजुरआमाहरू छन् जसको शरीरलाई घामले कम र भान्साको आगोले बढी डढायो । साना केटाकेटीहरू छन् जो प्रसादमा कृष्ण खोज्दै ताली बजाउँछन् । युवा भजन मण्डलीमा छैनन्, यो देशसँग पनि छैनन् ।

यो देशका कुनै पनि गाउँको भजन मण्डलीमा त्यो सबै छ, जो यो पूरै देशसँग छ । भजन मण्डली गाउँ छोडेर शहर गएको गाउँ हो । भजन मण्डली देश छोडेर विदेश गएको देश हो ।

मेरो गाउँको भजन मण्डलीमा एउटा पुरानो ठूलो मादल छ, जसको धोद्रो आवाज खोक्दा खोक्दा घ्यार–घ्यार गरिरहेको घाँटीको जस्तो छ चुड्के तालमा वेला–वेला त्यो मादल दुखेको मुटु जस्तो सुनिन्छ । म त्यो मण्डलीमा मेरो प्रायः सबै कविताका मुटुको धड्कन सुन्छु । ‘च्याउ’ कविताबाट निस्किन्छिन् उही त्रिचालिस वर्षकी दिदी र आफूलाई कहिल्यै नछुने कृष्णलाई सम्झिँदै गाउँछिन् –

गाईले
वर्ष डेढ वर्षमा
बाटामा हिँडेका गोरुतिर फर्केर
बाँ बाँ गर्दै निरन्तर एक्लै कराइरहन्छे,
त्यो गाईले
एक बेतमा एकचोटि गाउने भोकको गीत
सबैभन्दा पैले मैले सुन्छु
त्यो म नै हुँ
जो मनैदेखि
कृष्णको भजन कीर्तनमा
तनमा भएको सबै ऊर्जा खर्चेर
शुरुदेखि अन्तिमसम्म एक्लै नाचिरहन्छे,
म नाचिरहँदा
मेरो शरीरबाट झरिरहने
पसिनाको हरेक थोपाले
वर्षौंदेखि कृष्णलाई यही भनिरहेका छन्–
हे कृष्ण !
केही छैन मसँग त्यस्तो
जसलाई हेरेर कसैले वाह ! गर्न सकोस्
र कोही रहेनछ यहाँ यस्तो
जो हिँड्ने जिउको लम्बाइ
र बस्ने जिउको चौडाइ नहेरी
विवाह गर्न सकोस् ...
‘रूख’ कविताबाट लौरो टेक्दै निस्कनुहुन्छ, सताशी वर्षको एक्लो हजुरबुबा, अनि
गाउनुहुन्छ –
नातिनातिनाहरू जतिखेरै खेलिरहेका हुन्छन्
उनीहरूले खेलेको कुनै पनि खेलले
हजुरबासँग खेलौं भन्दैन रैछ
मलाई मेरा केटाकेटीका केटाकेटीसँग
केटाकेटी बनेर खेल्न मन लाग्छ
मलाई
जवानहरूले जस्तै
भुटेको ठेट्ना मकै खान मन लाग्छ
छोराको गिजामा दाँत आउनुअघि
म ठेट्ना मकै चबाएर उसलाई खुवाउँथेँ
मेरा गिजाबाट दाँत गइसकेपछि
उसले ठेट्ना मकै चबाएर ख्वाइदिए हुन्थ्यो जस्तो लाग्छ
‘हेब्बी बड्डे’बाट आमाहरू निस्कनुहुन्छ, अनि व्यस्त भएको बहानामा आफ्नी आमालाई बिर्सिने सन्तानलाई भन्नुहुन्छ–

म छुजस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु
मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु...

केही डाँडाखोला, ताल झरना, केही दर्जन हिमालसँगको ‘सेल्फी’मा यो देश अटाउँदैन । एउटा जिउँदो देश साना गाउँहरूका साना भजन मण्डलीहरूमा पर्खिरहेको छ । यो देशको संसदलाई यो देशभरिका ती भजन मण्डलीहरूमा पुर्‍याउन पाए उनीहरूले त्यो देश बुज्थे जो अल्छी सरकारी प्रतिवेदनहरूमा भेटिन्न ।

तपाईं आउनुस् मेरो गाउँको भजन मण्डलीमा, जहाँ मेरी प्यारी थोती आमा र मेरा भरिलो मन भएका गाउँलेहरू भन्दै हुनेछन् –

धनुषा पोखरीको – जय !
पवित्र अर्जुनधाराको – जय !
इलामकी सानी पाथिभारा माताको – जय !
ताप्लेजुङकी ठूली पाथिभरा माताको – जय !
पशुपतिनाथको– जय !

 

प्रतिकृया दिनुहोस