MENU

साहित्य/कला

635x90

चपाइएका समय (संस्मरण)

ठाकुर बेलवासे आइतवार, आश्विन ८, २०७४

दुब्लो पातलो शरीर । जीर्ण क्लान्त लाग्ने अनुहार । दीर्घरोगले सताएको जस्तो । तर, सामान्तया निरोगी । धेरै नखुल्ने । थोरै संवादमा धेरै ऊर्जा भरिदिने । भेटेका स्रष्टाहरूमध्ये अलि भिन्न लागेको थियो, दौलतविक्रम विष्ट । २०५२ सालको मंसिर महिनाको कुनै साँझमा मैले उहाँलाई पहिलोपटक भेटेको थिएँ । भर्खरै उहाँको कृति ‘चपाइएका अनुहार’ पढेर सिध्याएको थिए । त्यसताका म रत्नराज्य क्याम्पसको विद्यार्थी थिएँ । त्यस वेला क्याम्पसमा हामीले ‘आरआर क्रियाशील समूह’ गठन गरेर साहित्यिक रचनात्मक काम गर्दै थियौँ । मेरा मित्र सुन्दर खनाल समूहका उपाध्यक्ष थिए । समूहमा रहेका साथीहरूमा साहित्यिक कृति पढ्नु र त्यसमाथि गफ चुट्नु होडबाजी जस्तै थियो ।

‘चपाइएका अनुहार’ पढ्दै गरेको मैले उपन्यासका पात्रहरूको सन्दर्भ उठान गर्दै साथीहरूबीच उपन्यास र उपन्यासकारबारे खुबै चर्चा गरिरहेको थिएँ । यही वेला कवि, गीतकार एवं चरा विज्ञ श्रीविक्रम राणाले मलाई विष्टको घरमा पुर्‍याउनुभयो । पहिलो भेट । सानो कायाको म । विष्टका लागि त्यति महत्वको पात्र बनिन । भेट र संवादको करिब एक घण्टा बितेपछि राणाले मलाई ‘कवि’ भनेर परिचय गराउनुभयो । यसपछि संवादमा मेरो पनि सहभागिता हुन थाल्यो । कविताबारे मेरो अन्तर्वार्ता नै चल्यो । कविताका सन्दर्भसँगै उहाँको उक्त उपन्यासबारे पनि चर्चा गर्दै रहेँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको फोटो टाँसेको डायरी बोकेर हिड्थेँ, त्यसवेला । उहाँसँग बस्दा पनि त्यही डायरी साथमा थियो । देवकोटाको फोटो प्रस्ट देखाउने मेरो मनसाय थियो ।

देवकोटाका कविता पढेको छ ? उहाँले प्रश्न गर्नुभयो । ‘मुनामदन’ र ‘वन’ कविताबारे फुर्तिसाथ चर्चा गरें । देवकोटाका निबन्ध धेरै राम्रा छन्, ती पनि पढ्नु है । पढेर मलाई भेट्नू । यो तपार्इंलाई होमवर्क । मैले भोलिपल्टै लक्ष्मी निबन्ध संग्रह खोजिहालेँ । साँझको त्यो विष्टसँगको भेट मेरा लागि असामान्य नै थियो । मानौँ मैले संसारै जिते । मनमा केही गर्व र केही उद्दण्डता सञ्चार भएको अनुभव त्यसवेला भएको थियो । त्यतिवेला पढिएका राम्रा लेखकहरूलाई भेट्नु र दोस्ती गर्नु ठूलो उपलब्धि जस्तो मानिन्थ्यो ।

'पहिलो भेट। सानो कायाको म। विष्टका लागि त्यति महत्तवको पात्र बनिन। भेट र संवादको करिब एक घण्टा बितेपछि राणाले मलाई ‘कवि’ भनेर परिचय गराउनुभयो।'

त्यो लेखक स्रष्टाहरूको सम्मानको कुरा पनि थियो । दौलतविक्रम विष्टको घरनजिकै मेरो डेरा थियो । म यतै बस्छु भनेपछि विष्टले हरेक साँझ आउने निम्तो गर्नुभयो । मीनभवनस्थित भूमिसुधार कार्यालयसँगै हाइटमा उहाँको घर थियो । सामान्य दुईतलाको घर । पहिलो पटक त्यो घरमा पुग्दा मलाई कतै मन्दिरमा पुगेजस्तो आनन्द आएको थियो । अहिले त्यो घरमा मान्छेको व्यापार गर्ने कम्पनी बस्छ । सुन्छु, त्यो घर विष्ट परिवारले बेचिसके ।

दौलत दाइसँग म निकै नजिक बनेँ । उहाँजस्तो विराट व्यक्तिसँग उठबस गर्न पाउनु मेरा लागि सौभाग्यको कुरा थियो । हरेक साँझ म उहाँको घरमा पुग्न थालेँ । उहाँको घरमा यसरी जानु मलाई सजिलो हुनुको कारण मेरो डेरा उहाँको घरनजिकै भएर पनि हो । म बेरोजगार थिएँ, अनि विद्यार्थी पनि । कवि बन्ने अनौठो तिर्खा ममा थियो । मैले लेखेका कविता बाचन गर्न लगाएर कविता भए÷नभएको सुझाव दिनुहुने भएकाले उहाँ मेरा लागि तिर्खा मेटाउने सागरजस्तै हुनुहुन्थ्यो । भेटको छोटो समयमै निकट बनेको थिएँ । भेटका केही महिनामै रत्नराज्य क्याम्पसमा भएको कविता प्रतियोगिताको प्रमुख अतिथि बनिदिन मैले आग्रह गरेँ । उहाँले कुनै कविलाई लान सल्लाह दिनुभयो । त्यसवेला उहाँको उचाइको अर्को व्यक्तिलाई क्याम्पसमा पु¥याउन सक्ने हैसियत थिएन । भोलिपल्ट रत्नराज्यका एक हुल साथीसँग उहाँको घरमै पुगेर उहाँलाई प्रमुख अतिथि बनाउन मनायौँ ।

कार्यक्रम भव्य भयो । उहाँले नेपाली कवितामाथि लामो बोल्नुभएको थियो । सँगै रहनुभएका श्रीविक्रम राणाले दौलत दाइको कवितामाथिको मन्तव्यबारे निकै प्रशंसा गर्नुभयो । त्यसै साँझ घर पुगेर दिउँसोको मन्तव्यको सन्दर्भ उठान के गरेको थिएँ, उहाँले त नेपाली कविता र कविका अनेकन् प्रवृत्ति बताउन थाल्नुभयो । यो कार्यक्रमपछिका हरेकजसो भेटमा उहाँसँग कविताका कुरा हुन थाले । ‘म पनि कवि नै हुँ भाइ,’ ठट्टाको शैलीमा उहाँले धेरै पटक भन्नुभयो । तर, मैले कविता लेखनको उहाँको रुचिबारे कहिल्यै शोधखोज गरिनँ । छोरा ओमविक्रम विष्ट नामी पप गायक । बाबुछोराको संवाद मैले खासै देखिनँ । दौलत दाइले पनि छोराबारे कहिल्यै मसँग चर्चा गर्नुभएन । मलाई भने निकै खसखस लाग्थ्यो, चर्चित बाबुछोराबीचको सम्बन्ध । संवाद र व्यावहार सामान्य परिवारभन्दा भिन्न पो हुन्छ कि । ममा कौतूहलता थियो ।

 'धेरै नखुल्ने। थोरै संवादमा धेरै ऊर्जा भरिदिने। भेटेका स्रष्टाहरूमध्ये अलि भिन्न लागेको थियो, दौलतविक्रम विष्ट।'

दौलत दाइले निकै ‘मोटिभेट’ गर्नुहुन्थ्यो । हातका औंला हत्केलामा मोल्न अह्राउनुहुन्थ्यो । कारण ‘विल पावर’ बढाउनु थियो । ‘कहिल्यै हरेस खानुहुँदैन है भाइ, मन अशान्त भयो भने विल पावरका लागि हत्केलामा औंला मोल्नु, यो सल्लाह उहाँले बारम्बार दिनुहुन्थ्यो । उहाँको सल्लाह आजसम्म पनि म शिरोपर गरिरहेको छु । कला, साहित्य, संगीत या यस्तै रचनात्मक कर्ममा जीवन बिताउने अधिक स्रष्टाको उत्तराद्र्ध जीवन त्यति सहज बितेको देखिँदैन । त्यो असहजताको शिकार दौलत दाइ पनि हुनुभयो । भाउजूको निधनपछि उहाँ निकै उदास देखिनुभयो । त्यो स्वभाविक पनि होला । तर, परिवारको रेखदेख राम्रो हुन सक्यो भने वियोगलाई बिर्सन्छ मान्छेले । दाइकोमा यसरी जाने म मात्रै थिइनँ, सायद । उहाँको एक दिनको कुराले मलाई आज पनि झस्काउँछ, ‘भाइ साहित्यिक संगति स्वार्थपूर्ण छ भन्ने लाग्छ– ‘तपाईंसँग सबै कुरा छन्, सबै साथमा छन् । केही छैन तपाईंसँग साथमा कोही छैन ।’ यो मन्त्रजस्तै सम्झनुस् है ।’

दौलत दाइको एउटै घटनाले मलाई सधैं पोलिरहन्छ । भाउजूको निधनको केही महिनापछि एक बिहान म दाइलाई भेट्न पुगेको थिएँ । झ्यालमा राखिएको पत्तीले दाइको हात काटेछ । रगत बगिरहेको थियो । मलाई देख्नासाथ दाइ रुन थाल्नुभयो । मैले एकछिन हात च्यापिदिएँ, अनि हयान्डपलास्ट लगाइदिएँ । लामो मौनता तोड्दै दाइले भन्नुभयो, ‘भाइ जिन्दगी जे सोचिन्छ, त्यो नहुने रहेछ । जिन्दगीप्रति कहिल्यै आग्रह नराख्नू है, यी यसरी दुःख पाइन्छ ।’ यो घटनापछि दाइलाई भेट्न जान मैले आँट गरिनँ । अलि दिनपछि भेट्न जाँदा मप्रति उहाँको गुनासो थियो । मान्छे गलेपछि त सबैले छाड्छन् । तपार्इं पनि टाढिनुभयो, भाइ । म मौनतामा स्तब्ध भएँ । अलिपछि त दाइ छोरीको घरमा बस्न थाल्नुभएछ । छोरीको घरमा उहाँसँगै पहिले पुगेको थिएँ । यस कारण उहाँलाई भेट्न जान मलाई सहजै थियो । यो वेला भने दाइले मलाई जीवनका अनेक अर्ती दिइरहनुभयो । हिँड्ने वेला ‘तपाईं व्यस्त हुनुहुन्छ, फुर्सद मिले मात्रै आउनुस् ।’ दाइले यसो भनिरहँदा जवाफका लागि मैले कुनै शब्द भेटिरहेको थिइनँ ।

 

प्रतिकृया दिनुहोस