MENU

साहित्य/कला

635x90

त्यो दशैं यो दशैं

नरेन्द्रजंग पिटर आइतवार, आश्विन ८, २०७४

दशैंका अनुभूति अनेक छन् । बाल्यकाल, युवावस्था, जनयुद्धकालीन र अभिभावकीय । समग्रमा फेरिँदै गएका दशंैका भिन्नाभिन्नै अनुभूति र अध्ययन विषय बने । बाल्यकालीन दशैं : कमेरोले पोतिएको घरले दशैंको साइत जनाउँथ्यो । लामकानेको देशबाट (तिब्बत) थाक्सेले (तिब्बती) हुलका हुल भेडाच्यांग्रा ल्याउँथे । त्यो हिमनदी जस्तो भएर हुक्सेबाट झर्दै रविओपीको उकालो चढ्दै ‘नेपाल’ लाग्थ्यो । पहाडी गाउँले, त्यसमा पनि ‘गरिब’ छोरो । ज्यादै धार्मिक थिएँ, नवदुर्गाको महाभक्त । चिच्याइचिच्याइ बाआमालाई धार्मिक ग्रन्थ सुनाउनुपर्ने, भाका हालेर सिलोक गाउँलेलाई । थर्काइन्थ्यो, पाखापखेरा । कमेराले टिलिक्क टल्काको हाम्रो घरमा भने दशैं चिची र नाना बनेर मात्र भित्रिन्थ्यो ।

नयाँ नाना, चाम्ला भात, च्युरा र चिची त चाडबाडै कुर्नैपर्ने । दशैंमा चचहुई... गर्दै पिङमा बताससँग बात मारिन्थे । रोटे, चर्खे, लिंगे पिङमा पालो कुर्नु औधी सकस् । चाडबाडमा पनि वस्तुभाउ ब्रत नबस्ने क्यार । तर, घाँस र सोतर दशैंलाई साँचेरै राखिने गरिन्थ्यो । भक्कुको राँगोको कोतमा बली र दौतरीसँगका भेट र रामरमितो जात्रा बन्थे । टीकाको दिन निधारभरि अक्षता, कानमा सिउरिने जमरा, खल्तीभरि दक्षिणा । फुर्केर साथीहरूलाई दक्षिणा र नयाँ लुगा देखाउनै हतारो । आफैं हे¥यो, आफैं मक्ख । पाहुनाहरूको भीड, टीका लाउन दौडादौड । संसारकै सबभन्दा धनी आफ्नै बाउ, सबभन्दा ठूली कथाकार आफ्नै आमा । अहो ! मेरो बालापनको प्यारो दशैं ।

खुशी बेचेर सुख किन्ने यो जमानामा ती अभाव र तनावबीचका चाडबाडका खुशी सम्झँदा ...। अरूको एक थोपा आँशु र एकथोपा रगत अंशमा नपार्ने हुक्सेली जेठालाई मैले मान्ने गरेका ३३ कोटी देवीदेउताले दया गरेनन्, तब तर्क खेल्न थाले । विश्वासभन्दा तर्कले जवाफ खोज्न थाल्यो । तब त दशैंकी नवदुर्गा पनि अराध्यदेवी मनमस्तिष्कबाट खस्कँदै गइन् । उमेर बढदै जाँदा दशैं भने धार्मिक नभै चाडबाडमा मात्रै खुम्चिँदै गयो । अर्थ फेरिँदै गए । भाकल, बली र आशिष पनि बोझ लाग्न थाल्यो । राजनीतिक आबद्धता र सक्रियतासँगै पर्वहरूका बहुआयामिक पक्ष के हुन् र त्यो जीवनलाई कसरी प्रभाव पार्छ भन्ने जिज्ञासा उठ्न थाले । पर्वका ऐतिहासिक पक्षले समाजमा पार्ने प्रभाव अध्ययनका तिर्सना बढ्दै गए । फिरन्ते जीवनमा कैयौं वर्ष सगोलमा चाडबाड मान्न पनि पाइएन । परिवारले भने धार्मिक र सांस्कृतिक दुवै रूपमा मनाउँदै गए ।

उनीहरूको खुशीमा मौका मिल्दा सहभागी बन्दै गइयो पनि । जनयुद्धकालीन समरयात्रामा भने दशंै मनाइएन । महाभौतिकवादी बन्ने होडै चल्यो । संसारै फेर्ने सपना थियो, तर के गर्ने ? चालचलन, मान्यता, विश्वासलाई हस्तक्षेपले मात्रै फेर्न सकिँदो रहेनछ । विचार फेर्न जति सजिलो, संस्कार र संस्कृति फेर्न भने औधी गाह्रो । शान्ति यात्रासँगै आदर्शका धरहरा एकाएक ढल्दै जाँदा चाडपर्वप्रति जनयुद्धकालीन मान्यता पनि ध्वस्त हुँदै गए । हाम्रा र आफन्तका अर्थ र मर्म फेरि अर्काे पटक फेरिए । पहिला टुटेका सम्बन्धहरू जोडिँदै जाँदा सामाजिक दबाब झेल्न सकिएन । जति उचाइबाट वस्तु खस्छ, त्यतिकै वेगमा गुल्ँिटदै जान्छ पनि । बजारलाई प्रतिकार गर्नुको बदला आत्मसात गर्ने होडबाजी पो माओवादीमा चल्दै गयो । मेरा दशंैहरू पनि यसैबाट अछुतो रहेनन् ।
मैले बुझेको दशैंको चर्चा गरौं । हरेक पर्वका ऐतिहासिकता भएरै कालान्तरमा धर्म र संस्कृतिको रूप लिन पुग्छ ।

'फिरन्ते युगबाट कृषियुगमा पुग्दासम्मका आदिआर्यका उत्सवहरू कृषि अर्थतन्त्रसँग जोडिएका हुन्थे। त्यसैले मनसुनको अन्त्य, बालीनाली भित्रिसकेका या खेतीबारीबाट फुर्सद पर्वयाम बने।'

दशैंलाई धार्मिक पर्वको रूपमा मात्रै नभएर यसका विविध पाटा–पक्ष छन् । पर्वसँग समाजको सांस्कृतिक, ऐतिहासिकता र आर्थिक सम्बन्ध जोडिएको मात्रै हुँँदैन, मनोविज्ञानको तस्बिर पनि खिचिएको हुन्छ । हाम्रो समाज कृषिमा आधारित भएकाले कृषिपात्रोे र मौसमी हावापानीले हाम्रा पर्व र उत्सवका तिथिमिति तय गर्थे । प्रकृतिसँगको पौंठेजोरी, द्वन्द्व र युद्ध, राजनीतिक गाथा र लोकमनोरञ्जनका सरोकार बन्दै पर्वहरूको निरन्तरताले कालान्तरमा धर्म बन्दै संस्कृतिमा फेरिँदै जान्छन् । विश्वासअनुसारको अर्थ लाग्दै जान्छ । पर्वको शुरुवाती कालको परिस्थिति, चेतनास्तर, सामाजिक द्वन्द्वको अवस्था, आर्थिक र सामाजिक सम्बन्ध, श्रमसँग सरोकार, युद्धका विजेता र पराजित शक्तिको रूपमा सुक्ष्म अध्ययनको आवश्यकता हुन्छ । कुनै पनि ऐतिहासिक घटनाले पर्वको रूप लिन लामो समयको सांस्कृतिक यात्रा पूरा गरेका हुन्छन् ।

कसैको देवता, कसैको राक्षस । जहिले पनि शक्तिले ‘चाकर’ खोज्छ । चाकरी बजाएर शक्ति हासिल गर्न सकिन्छ भन्ने चतुरेहरूले विभिन्न बली सदाकालमा दिँदै आएका छन् । धर्म र संस्कृति एउटै नभए पनि धर्म संस्कृतिको आडमा मात्र जिउन सक्छ । यस उपमहाद्वीपमा दशैं, दशहरा, बिजोया, आयुधपूजा नामक दशैं पर्व आर्य÷अनार्य सभ्यताबीचको टकराहट हो । रावण र महिषासुरसँगको युद्धगाथा नै आगन्तुक आर्यहरूको दशैं–महात्म्य हो । जित्ने देवता बने, हार्ने राक्षस । जित्नेको प्रसंशाको निरन्तरता सन्तान–दरसन्तान गर्ने नै भए । देवासुर संग्राम कुनै दैवीकालमा नभएर आर्यहरूको रैथाने अनार्यसँग भएका लौहयुगको युद्धकथा हो । महिषासुरलाई महामानव र देवता मान्ने अहिले पनि भारतमा असुरवंशीहरू प्रशस्तै छन् । नेपालमै पनि हुम्ला जिल्लाको श्रीनगर आसपासका माडिला र मदना क्षेत्रमा महिषासुरको पूजा गरिन्छ ।

फिरन्ते युगबाट कृषियुगमा पुग्दासम्मका आदिआर्यका उत्सवहरू कृषि अर्थतन्त्रसँग जोडिएका हुन्थे । त्यसैले मनसुनको अन्त्य, बालीनाली भित्रिसकेका या खेतीबारीबाट फुर्सद पर्वयाम बने । खोलानाला र बाढी÷पहिरो टरिसकेकोले यात्रा सुगम हुन्थ्यो । कालान्तरमा आर्थिक उत्पादनको सम्बन्ध फेरिँदै जाँदा र सूचना÷सञ्चारले अन्यन्त्रका आक्रमक संस्कृति झेल्न नसक्दा पर्वको अर्थशास्त्र कृषि पात्रोबाट बजार–संस्कृतिमा फेरिँदै गयो । पर्वका बजार–अर्थशास्त्र भनेको अरूभन्दा कसरी उम्दा र भिन्न देखिनुमा रहन्छ । दशैंका बम्पर उपहार, छुटका सामान, दिल र दिमाग छुने मनमोहक विज्ञापन ‘ऋण गरेर नि घ्यु पिउने’ मानसिकताले ‘आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइ’ पर्व–अर्थशास्त्र हो ।

दशैंको विचार–दर्शन भनेको बली चढाएर गरिने शक्ति उपासना हो । यसको साइनो सत्ता संस्कृतिसँग जोडिन्छ । हतियारमा साँध लगायो, युद्ध अभ्यास मनायो । सामन्ती युगका आर्य राजा÷महाराजाहरू दशंैमा युद्ध अभ्यास र युद्ध अभियान चलाउँथे । युद्धले नरबली त खान्छ नै । अझ तान्त्रिकहरूले ‘शक्ति पाउन’ कालरात्रिमा नरबली पनि दिन्थे । नरदेवी त्यही उदाहरण हो । शक्ति हत्याउन प्रत्यक्ष वा छद्मयुद्ध आवश्यक हुन्छ । कोत गारतमा बली दिएर, हतियार पूजा गरिनु भयातुर शक्तिशालीले हतियारमाथि स्वामित्व जनाउनु हो । भयको मनोविज्ञान नै शक्तिको उपासना हो । दशैंको सामाजिक उपहारमा खेती÷किसानीमा थाकेका किसानहरूलाई विश्रामयाम बनिदिन्छ ।

गरिबगुरुवाका बच्चाबच्चीलाई वर्षदिनको चिची र नाना बनेर आँउछ । सामाजिक सद्भाव बढाउने, भेटघाट, रासरौस, सगोलमा मीठोमसिनो खाने, विरक्तिएको भ्रमित आफन्तिलो मनको कालोमैलो धुने, नातासम्बन्धलाई अर्जाप्ने, विगतको कटुता भुलाएर नयाँ सम्बन्ध शुरु गर्ने मौका दशैं बनिदिन्छ । देशमा लाहुरे बन्दै विदेश भित्रिने र शहर–गाँउमा पस्ने, पुर्खौली थातथलो पुग्ने र मान्यजनको आशीर्वाद लिने अवसर बन्छ । उमेरमा यौवन साट्ने, साथसँगीसँग फेरि भेटघाट गर्ने, सम्बन्ध र भावनाको पर्वरूपी दशैं सामाजिक सद्भावको मञ्च पनि हो ।

अहिले प्रविधि र सञ्चारको व्यापकताले आस्था पनि प्रविधिमार्फत् बजार–आध्यात्म फैलाउँदै दशैंलाई ‘डिजिटल पर्व’ बनाउँदैछ । अझ जति मान्छे धनाढ्य वा शक्तिशाली बन्दै जान्छन्, सोही स्तर घट्ला भन्ने आतंकले आध्यात्मपथ पछ्याउँछ । जो जति शक्तिशाली छ, त्यतिकै धार्मिक र अन्धविश्वासी पनि हुन्छ । उनीहरू शक्ति उपसना गर्ने दशैं साइत कुर्छन् भने नवधनाढ्यलाई चाडबाड तुजुग देखाउने थलो बन्छ । अझ शिक्षित रुढीवादी त नमूनै बनिदिन्छन् ।  अन्त्यमाः दशैँ शक्तिशाली आर्यहरूको एउटा शक्ति उपासनाको पर्व थियो, त्यो कालान्तरमा धार्मिक चाडबाडको रूपमा विकाश हुँदै यस उपमहाद्वीपमा आर्य–संस्कृतिको अंग बनेर हिन्दुहरूको सबैभन्दा ठूलो चाड बन्न गयो ।


प्रतिकृया दिनुहोस