MENU

साहित्य/कला

635x90

एउटा जीवनीको पूर्वकथा

उज्ज्वल प्रसाईं आइतवार, आश्विन ८, २०७४

‘म लोक सेवा आयोग पास गरेर बनेको माक्र्सवादी होइन ।’ यस्तो जिरह नै खगेन्द्र संग्रौलाको अनौठो वैचारिक अवस्थिति हुन पुगेको छ । यद्यपि, यो अनौठोपन नै उनको सग्लो परिचय भने होइन । खासगरी उनको लेखनलाई केही वर्षदेखि पढिरहेको म जस्तो पाठकले उनीबारे धेरथोर मेरो जस्तै धारणा बनाएको हुँदो हो । माथिको वाक्य टेलिफोनमा भएको पहिलो संवादमा उनले मलाई भनेका थिए । यो आजभन्दा लगभग आठ वर्षअघिको कुरा हो । अपरिचितसँग फोनमा लामो संवाद नरुचाउने उनले फोन संवाद टुंग्याउने हेतु भने, ‘कुनै दिन चियाको चुस्की लिँदै लामो बात मार्नु पर्छ यार ।’फोन संवादको लगभग तीन वर्षपछि ‘द काठमान्डु पोस्ट्’का लागि अन्तर्वार्ताको मेसो मिलाएर म पुग्छु चाबाहिल, ‘जस्ताको छानो र आँगनमा आरुको रूख’ भएको घर । गेट खोल्न आइपुगेका संग्रौलालाई देखेपछि मस्तिष्क त प्रश्नहरूको यस्तो मेहेरोमा फँस्छ, उनले ‘वेल्कम’ भन्दा धन्यवाद भन्न पनि नसकेर अल्मलिन्छु । उनले लेख्ने स्तम्भहरू र सबै किताबका अनुहारहरू मस्तिष्कमा छापिन्छन् । गफ कहाँबाट शुरु गर्ने ? पहिल्यै आक्कलझुक्कल देखेको भए पनि, दोहोरो कुराकानी गर्ने मनसुवाले गरिएको त्यो नै मेरो पहिलो भेट थियो ।

मैले उवेला लेख्ने पुन्टे पुस्तक वार्ताको सानो घेरामा सीमित हुन चाहान्नथेँ । त्यसैले के सोधौँ, के नसोधौँको अलमलमा पर्दै गर्दा तीजमा पाकेका मिष्ठान्नको हरक आइरहेको तल्लो तलाको एउटा कोठाको कुर्सीमा बस्न अह्राउँछन्, उनी । ‘दूध चिनी सबै चल्छ हैन ?’ भनेर चिया पिउने अफर गरेपछि, उनका अम्मलहरूबारे हुने चर्चा सम्झन्छु । पहिले याक चुरोट, अहिले सूर्य चुरोट । पहिले लोकल ठर्रा, अहिले ब्रान्डेड ह्विस्की । पहिले कडा साम्यवादी वामपन्थीको संगत, अहिले माओवादीदेखि मलुवा वामपन्थीसँगको साँझे रमझम । पहिलो भेटको पहिलो प्रश्न नै तामसी बनाउनु उपयुक्त लागेन । त्यसैले सोझो सपाट र साधु प्रश्न गरेँ, अहिले के पढ्दै हुनुहुन्छ ?टेबलमा राखेको नेपाली बृहत शब्दकोष जत्तिकै मोटो किताब देखाउँदै उनले भने,‘यो हात्ती किताब पढ्दैछु र जति जति पाना पल्टाउँदै जान्छु उति उति म गल्दै जान्छु ।’

किताबको नाम हेर्छु, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य । मेरो सपाट प्रश्न त मैले सोचेजति कमजोर ठहरिएन । उनको उत्तरले संवादको पोयो राम्रैसँग फुकायो । अर्को प्रश्न गर्न नपाउँदै उनले थपे, ‘यो जनयुद्ध सम्बन्धि लेखिएका साहित्यिक कृतिका समिक्षाहरूको संग्रह हो । यहाँका सबै समिक्षक मलाई अमिन जस्ता लाग्छन्, ती एक एक वटा फीता बोकेर साहित्य नाँप्न उभिएका छन् । यहाँसम्म यो माक्र्सवादी, अलिकति उता पुगेपछि सम्सोधनवादी र त्यसभन्दा पर प्रतिक्रियावादी र अन्त चाहिँ भ्रष्टीकरणवादी भनेर पाण्डित्याईँ छाँट्छन् ।’

म गम्छु, जस्तो लेख्छन्, त्यस्तै बोल्दा रहेछन् यी बुढा । वा यस्तो चैँ हो, जस्तो बोल्छन्, त्यस्तै लेख्दा रहेछन् । जे होस्, उनले मसंग फोनमा कुरा हुँदा अधुरै राखेको प्रसंगलाई यही किताबसंग जोडेर यसरी प्रष्ट्याउन थाल्छन्,यी सबै समिक्षकले आफ्ना अघिल्तिर एउटा ठूलो पर्खाल उभ्याएका छन् । फराकिलो संसार त्यो पर्खाल बाहिर पर्छ । रमाइलो के भने, ती एकोहोरो भनिरहन्छन्, हाम्रो अन्तिम लक्ष्य भनेको त्यो बाहिर परेको संसार बदल्नु हो । उनका राजनीतिक टिप्पणीहरू नरुचाउने माओवादी इतरका उनका पाठकले उनलाई माओवादी पार्टीको बलियो समर्थक र लेखकका रुपमा उनले माओवादीको ‘प्रोपागाण्डा’ चलाएको आरोप लगाइरहेको बेला थियो त्यो ।

धेरैले अन्दाज गरेको भन्दा फरक ढंगले उनले माओवादी पार्टी आबद्ध लेखकहरूले गरेका साहित्य समालोचनाको आलोचना गरे । उनले भनेका अमिनहरूका नाम कल्पना गर्न थाल्छुः मोहन वैद्य, ऋषिराज बराल, दिनानाथ शर्मा, आदि । मैले किताब नहेरी नै त्यो अनुमान गरेको थिएँ । उनले अघि भनेका लोक सेवा आयोग पास गरेका माक्र्सवादीहरू यिनैलाई भनेका हुन् ?यत्ति कल्पना गर्न मलाई धेरै समय लागेको हुँदैन, चीयाको एक सर्को तानेर उनी हाँस्न थाल्छन् । अघिकै प्रसंगमा केही रमाइलो थपिने भो भनेर म कलमको टुप्पो नयाँ पानामा धस्छु । उनी भन्छन्, ‘अमीनहरूले जस्ता लेखनलाई प्रशंसाको माला भीराएका छन्, तीनको क्राफ्ट अत्यन्तै कमजोर छ । कलाका हिसाबले ती साहित्य नै होइनन् । तीनले जबर्जस्ति जखेका कुराले कुनै आर्टीस्टीक ट्रीटमेन्ट पाएका छैनन् ।’

संग्रौलासँग पछिल्लो समयको संगतपछि लाग्यो, ‘जोसुकै उनीसँग असहमत हुन सक्छन् तर नजरअन्दाज गर्न सक्दैनन्’ भने यी लेखकको जीवनी किन नलेखौँ ?

बामपन्थीहरू साहित्यका नाममा नारा लेख्छन् भन्ने आरोपलाई फेरि एक पटक पुष्टि गरेकै हुन् त भन्ने मेरो ठाडो प्रश्नमा उनको उत्तर सैद्धान्तिक बन्छ । धेरै माक्र्सवादी भनिने लेखकहरमा स्टालीनकालिन जडसुत्रता र माओको साँस्कृतिक क्रान्तिकालिन उग्रताको फ्युजन हुने गरेको उनको ठहर छ । जस्तो यही अघिल्तिर राखिएको पुस्तकमा पनि अति शुद्धताको आग्रह भेटिन्छ । जसलाई आलोचकहरू प्रोपागाण्डा गरेको आरोप लगाउँछन्, उनैले मेरा अघिल्तिर प्रोपागाण्डा र साहित्यको फरक छुट्याइरहेका थिए । आफूलाई माक्र्सवादी दाबी गर्ने लेखकहरूमा कीन यस्तो भयो होला ? उनले बुँदागत कारणहरू बताएका थिए । नम्बर १ः जीवनजगतलाई हेर्ने संकीर्ण दृष्टिकोण, २ः लेखनमा अलचिलोपना, ३ः भिन्न विचारधाराप्रति असम्मान ४ः विचारधारा र आइडियोलोजीको अत्यन्त साँघुरो र यान्त्रिक बुझाई ।

१२ बुँदे सम्झौता गरेर शान्ति प्रक्रियामा फर्केपछि माओवादीले मुलधारीकरण गर्न खोजेका प्रगतिशील एजेण्डाहरूलाई नजरअन्दाज गर्न नसकिने उनको तर्क थियो। एकदिन संग्रौलाकै लेखनका बारे कुरा हुँदै गर्दा एक नेताले मसँग भनेका थिए, ‘खगेन्द्र सर, के तपाईँसंग उत्तरहरू पनि छन् ? शीर्षकमा एउटा लेख लेख्नु पर्नेछ ।’ त्यस्तो लेख कतै छापिएको मैले दखेको छैन । तर, संग्रौला जस्ता लेखकले प्रश्न वा टिप्पणी मात्रै गर्ने तर कहिल्यै कुनै विकल्प नदिने आरोप लगाउनेहरू धेरै छन् । मौका मीलेका बेला उनीसंग उत्तरहरू छन् की छैनन्, परख्न मन लाग्यो र सोधेँ,उसो भए कस्तो हुनुपर्छ त अबको लेखनी ? एकछिन गमेर छोटो उत्तर दिए । अबको युगलाई माक्र्स, गान्धी, र फ्रायड पनि उतिकै चाहिन्छ होला ।

यी तीन नामहरूको जपना चाहिन्छ भनेको होइन । यीनले दिएका केही अमूल्य चीजहरूलाई आलोचनात्मक ढंगले बुझ्ने र तिनले दिएका पद्धतीहरूको प्रयोगवाट आफ्नो समाजको अध्ययन गर्ने । माक्र्सले मानव मनोविज्ञान माथि काम गर्नै भ्याएनन्, त्यो फ्रायड र उनीपछि मनोविज्ञानमा काम गर्नेहरूसंग छ । र, गान्धीको परिवर्तनको सिद्धान्तले अहिँसामा जोड् दिन्छ । यो तीन चीजको फ्युजनले शायद हामीलाई बढी मानविय बनाउँछ । लेख्नेहरूले पनि यतापट्टि सोच्नु पर्यो । विपि कोइरालालाई पढ्नै नसक्ने संकीर्ण वामपन्थको कुनै अर्थ छैन ।

अघि गरेकै कुरामा फेरि जोड दिएर भनेः तर, साहित्य भनेको कन्टेन्ट र थीम मात्रै होइन । त्यसलाई कसरी ट्रीट गरिन्छ भन्ने पनि उतिकै ठूलो महत्व हुन्छ । अभिव्यक्ति शील्पको चेतना प्रचुर हुनुपर्‍यो । उनीसँग केही अस्पष्ट र केही स्पष्ट उत्तरहरू थिए । लेखकहरू फर्मुला बेच्ने व्यापारी पनि त होइनन् । त्यसैले उत्तरमा सबै समस्या सुल्झाउने फर्मुलाहरू होइन बरु केही प्रश्नहरू नै थिए । यी बाहेक मेरो अन्तरवार्ताका लागि चाहिने केहि प्रश्नहरू गरेँ । औपचारिक अन्तरवार्ता सकेपछि भने मैले उनीमाथि केहि मुद्धाहरू दर्ज गरेँ । जस्तो, तपाईँको अखबारी लेखन खासगरि राजनीतिक टीप्पणी पढ्न अलि एकोहोरा भए,‘जुनकीरिको संगीत’पछि तपाईँले गतिलो साहित्य लेख्नु भएको छैन, तपाईँले पहिला केही राम्रा कृतिहरू अनुवाद गर्नुभएको थियो, अब त त्यो काम पनि धिमा भयो ।

अखबारी लेखन गर्नु समयको माग थियो भन्ने उनको दाबी थियो । नेपाली समाज ठूलो उथलपुथलबाट अघ बडीरहेको थियो । दैनीक सूचना र घटनामा टीप्पणीबाट समाजलाई ओरिएन्ट गर्नु आफ्नो जीम्मेवारी ठानेको उनले बताउँदै भने, ‘पछि गएर यो मेरो जागिर भयो । मेरो लेख्नु बाहेक अर्को कुनै काम छैन । आर्थीक उपार्जनका लागि पनि म लामो समय अखबारी लेखनमा लागेको हुँ ।’ दोश्रो मुद्धामा उनको वकपत्रको मजबुन यत्ति हो, ‘हो, मैले अखबारी लेखन र साहित्य लेखनमा सन्तुलन मीलाउन सकिनँ । एउटा धेरै गरेँ र अर्को लगभग गरिनँ ।’ मेरो तेश्रो प्रश्नको उत्तर पनि दोस्रैले पूरा गरेको ठानेर होला, उनी चुप्प लागे । मेरा प्रश्नको सानो पेरुंगोका लगभग १० प्रतिशत मात्रै प्रश्नहरू खर्च भएका थिए । अझै एक दुई घण्टा समय भइदिएको भए पनि हुन्थ्यो जस्तो लागेको थियो । यत्तिकैमा उनले चुरोट हातमा लिएर बाहिर बसेर गफ गर्न आग्रह गरे । यसैलाई संवाद छोट्याउनु पर्ने उनको आग्रह सम्झेर, म बाटो लागें ।

खगेन्द्र संग्रौलालाई चिन्ने धेरैका लागि उनी स्वयं एक अप्ठ्यारो प्रश्न हुन् । जस्तो, उनी आफूलाई माक्र्सवादी भन्छन् तर कहिल्यै संगठित नभएको दाबी गर्छन्, किन ? के उनी अराजक लेखक हु्न् ? अराजक हुन् भने त्यसको माक्र्सवादसँग के साइनो छ ? द्न्द्वकालभरि माओवादीको आलोचना गरे तर शान्ति प्रक्रियापछि माओवादीको जबर्जस्त समर्थन गरे, त्यो कसरी सम्भव भयो ? राजनीतिलाई नै समाजको मियो मान्ने उनले आफ्नो उपन्यास जुनकीरिको संगीतमा राजनीतिक शक्ति होइन बरु एनजीओलाई समाज परिवर्तनको संवाहक शक्तिका रुपमा स्थापित गर्न खोजे, के त्यो उनको विश्वदृष्टिकोणसँग मेल खाने कुरा हो ? वर्गीय प्रश्नलाई केन्द्रमा राखेर लेख्ने उनले पछिल्लो समयमा पहिचानको सवाललाई किन महत्वपूर्ण ठाने ?आरुको रुखलाई हेर्दै उनको आँगनबाट बाहिरिँदा मस्तिष्कमा उनीसँग सोध्नु पर्ने यि बाहेक अरु सयौं प्रश्नहरूले मेरो मस्तिष्क हुँडल्दै थियो ।

उनीसँगको पछिल्लो समयको बाक्लो संगतले बाँकी रहेका केही प्रश्नहरूका उत्तर फेला पर्दै गए । खासगरी ति उत्तरहरू उनको जन्म, हुर्काई, अध्ययन, संगत, उनको लेखनी, र उनको एक्टिभिज्ममा भेट्न सकिन्थ्यो । त्यसैले लाग्यो, ‘जोसुकै उनीसँग असहमत हुनसक्छन् तर नजरअन्दाज गर्न सक्दैनन्’ भने यी लेखकको जीवनी किन नलेखौं ?

 

 

प्रतिकृया दिनुहोस