MENU

साहित्य/कला

635x90

जहान बितेपछि आईबी सर (संस्मरण)

कृष्ण धरावासी आइतवार, आश्विन ८, २०७४

‘एकपल्ट आँखा बनाउँदा दश वर्षलाई पुग्छ अरे । अब दुई वर्ष त बाँच्नु छ, बित्थामा आठ वर्ष किन खेर फाल्नु भनी नबनाई बसेको छु,’ दुई वर्षअघि इन्द्रबहादुर राईलाई सिलिगुडीमा भेट्न जाँदा उहाँको आँखाबाट पानी बगिरहेको देखेर हामीले सोध्दा पाएको उत्तर थियो, यो । एक वर्षपछि पोहोर साल काठमाडौं तिलगंगामा उहाँले आँखा उपचार गरेको खबर रत्नमणि नेपालले भनेका थिए ।जीवनलाई हेर्ने सजिलो बुद्धिको आँखा छन्, आईबी राईसँग । उहाँले जन्मकथाबारे लेख्नु भएको छ, बालासन नदीको पुलमा गएर हेरे मेरो जन्म साल थाहा हुन्छ । सजिलो भन्नु कि अप्ठ्यारो यस्ता कुरालाई । तर, यी प्रत्येक वाक्यले लामो व्याख्या माग्छन् । छोटोमा धेरै भन्ने कलाले भरिएको वाक्य रचक हो, उहाँ ।

जब म उहाँलाई पढ्न थालेँ, वाक्यैपिच्छे अडिन थालेँं । कैयौंपल्ट अलिकति पढ्दै थन्क्याउँदै पनि जान्थेँ । फेरि निकाल्न मन लागिरहन्थ्यो । गणितको सूत्र रटे झैं पटक–पटक दोहो¥याउँदै पढ्दै गर्दा आफ्नै प्रकारको बुझाइको अभ्यास हुँदै गयो मलाई । बिस्तारै रुचि बढ्दै गयो र पढ्दै गएँ । धेरै साथीहरूले पढ्न थन्क्याइएका राई मेरो मुख्य पठन सामग्री हुँदै जानुभयो । सरलबाट जटिलतिर उक्लिँदै गए, मेरा पठन रोजाइहरू । तेस्रो आयाम र लीला मैले सँगसँगै पढ्दै गएँ र तिनको समानता र भेदहरू पनि खोज्दै गएँ । एक दिन लाग्यो मैले राईलाई बुझ्न सिकेँ । त्यस दिनदेखि उहाँले लेखेका जे पनि सजिला लाग्दै गए । प्रज्ञाप्रतिष्ठानको सम्पादन कक्षमा अविनाश श्रेष्ठले एउटा प्रकाशोन्मुख कथाको कम्प्युटर लिपि दिँदै भन्नुभो, कृष्णजी इन्द्रबहादुर राई सरको नयाँ कथा आएको छ, हेर्नोस् त । ‘झ्याल’ कथा थियो त्यो ।

पहिलो वाक्यले नै तान्यो । लेखिएको थियो, ‘आइपुग्यो कथामा’ । कहाँबाट कविता, निबन्ध, उपन्यास, नाटक हुँदै हिँडेको थियो होला, अब कथामा आइपुगेछ । शीर्ष झ्याल छ तर भित्र जंगल छ, पहाड छ, नदी छ, जनावर छन्, चरा बारुला केके छन् केके । ध्वनि, रंग, चित्र अनेक छन्, कथाभरि । शब्दहरू अनेकतिर पोखिएर, छरिएर, बटारिएर तरंगिएर संगीतमय र कर्कश हुँदै दुर्बोध्यताको खेल खेल्दछन् । पात्र घटना विषयवस्तु, सन्दर्भ, सन्देश अनेक अपेक्षा गरिन्छ, कथाभित्र । झ्याल कथा नकथाहरूको कथा, नपात्रहरूका पात्र, नविषयहरूको विषय भएको छ । नछापिँदै पढ्न पाएको त्यो कथा छापिएपछि पनि फेरि बुझ्न उत्तिकै समय लाग्यो । म राईलाई बुझ्छु भन्ने अहम् बोकेको पाठक तर फेरि मेरा दाँतमा ढुंगा लागे ।

साधारण किसिमले असाधारण विचार पस्किने आईबी सरको विशेषता मलाई खास लाग्छ। सभामा जब उहाँ उभिनुहुन्छ, स्रोताहरू आफ्ना मतहरूलाई केही क्षण स्थगन गरेर ध्यानमग्न हुन पुग्छन्।

‘बाघ’ कथा बुझ्न मलाई त्यस्तै गाह्रो परेको थियो । जुन दिन बुझेँ, त्यसपछि तीन दिन अरू कुनै कथा पढिनँ । एउटा दिनको सामान्यता, ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’, ‘खीर’ जस्ता सजिला कथा लेख्ने उनी ‘आँगनको घाममा लाटा’, ‘ऊ त्यसरी बाँचेको छ त्यसरी नै’, ‘ब्लाक आउट काजु बोदाम छोरा’ जस्ता अप्ठ्यारा कथा पनि लेखिएका छन् । ‘रातभरि हुरी चल्यो’, ‘हामी जस्तै मैनाकी आमा’, ‘जार भएकै एउटा कथा ’ जस्ता कथा कहाँ पढ्न पाउनु उहाँले नलेखेको भए ।इन्द्रबहादुर राई पहिला सर्जक हुन्, त्यसपछि सिद्धान्तकार । उहाँले आफ्नै लेखनसिद्धान्तहरू नबनाएको भए पनि बनिएका कुनै सिद्धान्तको घरको राम्रै आसनमा अडिन पाउनुहुँदो हो ।

शरीरको उमेरले जित्न नसकेको तरुणो बुद्धिको घाग मानिस हो उहाँ । सन १९९७ मा सिलिगुडीमा भएको साझा प्रकाशनको शाखा कार्यालयको उद्घाटनमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूसँग मेरो हात समातेर डुलाउँदै परिचय गराइदिएको क्षण म कहिल्यै भुल्न सक्दिनँ । वाद÷विवाद, संवाद सबैमा तानिँदै निरन्तर चिन्तनशील जीवन बाँची आइरहनुभएका राई हामी हरेक लेखकका लागि प्रेरणका स्रोत हुनुहुन्छ ।जहाँ जहिले भेटे पनि सधैं साहित्य र दर्शनका कुरा हुन्थे । सधैं नयाँ–नयाँ प्रयोग र लेखनका कुरा हुन्थे । उहाँबाट सधैं आफूले नसुनेका वा नपढेका कुरा सुन्न पाएर खुशी र अचम्म दुवै लाग्थ्यो । कसरी कहिले उहाँ ती कुराहरू पढ्नुहुन्छ होला ? आधुनिकभन्दा आधुनिक कुरा कहाँबाट थाहा पाउनुहुन्छ होला । केके धेरै पढिरहने ठानेर मनमनै अहम् भरिएको म जहिले पनि उहाँलाई भेटेपछि फेरि आफ्नै कदजस्तो होचो भएर फर्किन्थेँ ।

उहाँभित्रको त्यही ज्ञानको गहिराइले मलाई निरन्तर तानिरह्यो । मलाई कहिल्यै यस्तो लागेन कि अब आईबी राई बूढो हुनुभो । वर्षैपिच्छे शरीर बूढो हुँदै गए पनि बुद्धिले उहाँ कहिल्यै पुरानो हुनुभएन । सायद त्यही भएर मेरो सबैभन्दा घनिष्ठ बौद्धिक साथी उहाँ नै हुनुभयो । सामान्यतया हरेक वर्ष उहाँलाई भेट्न हामी कहिले दार्जिलिङ, कहिले सिलिगुडी पुगिरहन्थ्यौँ । झापामा कुनै ठीकठीकैको साहित्यिक कार्यक्रम आयोजना गर्ने बित्तिकै हामी उहाँलाई निम्तो गर्न दार्जिलिङ पुगिसक्थ्यौँ । अनि उहाँले पनि कहिल्यै हाम्रो निम्तोलाई अस्वीकार गर्नुभएन । २०४५ साल कात्तिकमा झापाको धुलाबारीमा आयोजित तेस्रो आयामको २५ वर्षे समारोहमा पहिलोपल्ट उहाँलाई भेटेदेखि र त्यस समारोहमा उहाँले दिएको प्रवचन सुनेदेखि नै म उहाँको बौेद्धिक व्यक्तित्वबाट प्रभावित भएको थिएँ र त्यो प्रभावले आजसम्म पनि घट्नुपरेको छैन ।

इन्द्रबहादुर राईलाई मैले कहिल्यै नयाँ कुरा सुनाउँन पाइनँ । आफूले के–के नयाँ कुरा चाल पाएर गयो, कुरो चलाउन खोज्यो, शुरु गरिनसक्दै ए अँ साँच्ची अचेल त यस्तो त छ त भनेर त्यस विषयमा लामो व्याख्या गर्न थालिहाल्ने ।दर्शनलाई जीवन र साहित्यमा यस तरिकाले ल्याउन सक्ने अरू कुनै मानिससँग मेरो प्रत्यक्ष संगत हुन सकेन । नेपाली भाषा साहित्यका क्षेत्रमा इन्द्रबहादुर राई जत्तिको अग्लो धुरी व्यक्ति जीवित रूपमा उहाँका अघि अरू कसैलाई उभ्याउन सकिँदैन ।साधारण किसिमले असाधारण विचार पस्किने उहाँको विशेषता मलाई खास लाग्छ । कुनै पनि सभामा जब उहाँ उभिनुहुन्छ, स्रोताहरू आफ्ना मतहरूलाई केही क्षण स्थगन गरेर ध्यानमग्न हुन पुग्छन् । ‘विपना कतिपय’ कथासंग्रहबाट ग्रन्थयात्रामा प्रवेश गर्नुभएका उहाँका डेढ दर्जनजति कृति सार्वजनिक भइसकेका छन् । जति कृति बजारमा आए तिनले पाठकमा विशेष अर्थ बोकेर आए ।

जहान बितेपछि मनमा कुरा खेलिबस्छ। बिहान चार बजेतिर यसो आँखा लाग्छ अनि त फेरि ब्युँझिहाल्छु।

कतै एक ठाउँमा पढेको थिएँ उहाँले लेख्नुभएको छ ‘मायादेवी थापा नभएकी भए म नहुने’ । यो वाक्यले बोक्ने प्रेम र गृहस्थीको सम्बन्धको हामी अर्थ लगाउन सक्छौँ । एउटा पुरुष कतिसम्म महिलामा निर्भर हुन्छ भन्ने यो उदाहरण हो । ६८ वर्षअघि २३ र १९ वर्षको उमेरमा भएको प्रेमविवाहले उहाँहरूलाई आदर्श चिन्तनको सुन्दर संसारमा सधैं डुलाइरह्यो । मैले उहाँलाई एक्लै परदेशमा कहिल्यै देखिनँ । गम्भीर प्रकृतिकी आमै बोद्धिकतामा आईबी राईकै पत्नी भन्न सुहाउने हुनुहुन्थ्यो । कहिलेकाहीँ उहाँसँग मात्र कुरा गर्दा मलाई यस्तो लागेको थियो ।मेरो जीवनको ३० वर्षको संगतमा मैले कहिल्यै राईले व्यक्तिगत वा पारिवारिक कुरा गरेको सुनिनँ । एक किसिमको निरपेक्षता देख्थेँ, उहाँमा । स्थितप्रज्ञ जस्तो लाग्थ्यो उहाँ । मेरो आमा बित्नुभो, सीताजी बित्नुभो । दुवैसँग उहाँको गहिरो चिनजान थियो ।

जहिले भेट्दा पनि आमालाई कस्तो छ ? बुहारीलाई कस्तो छ ? भनेर सोधिरहने तर, जब उहाँहरू बित्नुभो राई सरले त्यसलाई उस्तो शोकको रूपमा लिएजस्तो लागेन । मलाई लाग्छ मनभन्दा बुद्धि अघि लगाएर बाँचिरहेको हुनुहुन्छ, उहाँ यति लामो आयुसम्म ।सन् २०१६ को अगस्टमा ८६ वर्षको उमेरमा आमैको निधन भयो । ६८ वर्ष लामो जोडी टुटेको थियो । उमेर त शरीरको मात्र हुन्छ, मनको हुँदैन । पत्नीशोक भोगिसकेको मलाई उहाँ कस्तो मनस्थितिमा हुनुहोला भन्ने बुझ्न गाह्रो थिएन । गत हिउँदमा उहाँलाई भेट्न सुमन्त न्यौपाने र म दार्जिलिङ पुग्यौँ । सुमन्तले राईको ‘लीलालेखन’मा ‘बुद्धको शून्यवाद’ विषयमा विद्यावारिधिको काम गर्दै गरेकाले उनले धेरै जिज्ञासा बोकेका थिए । तर, यस पालि महले टन्न भरिएको चाकाजस्तो बुद्धिले भरिएको इन्द्रबहादुर हुनुहुन्न थियो लोचनगर दार्जिलिङमा । शोकलाई शक्तिमा बदलेर बौद्धिकताको युद्धमा हुनुहोला । यसपालि सांख्य दर्शन सुन्न पाइएला भन्ने सोचेको मैले उहाँलाई एउटा ९१ वर्षको बूढो मान्छे मात्र भेटेँ । बोली लर्बरिएको, खुट्टा धर्खरिएका, अनुहार सोहोरिएको, कान कमजोर, एउटा आँखाले बन्दै काम नगर्ने, स्मृति घट्दै गएको । उहाँ पनि अरू जस्तै सामान्य शोकग्रस्त मानिस हुनुभएको थियो । बुद्धिले साथ छोडेको र मनले शासन गरेको कमजोर पुरुष हुनुभएको थियो ।

छेउमा बसेर सोधेँ, ‘निद्रा कत्तिको लाग्छ ?’प्रश्न गरेको निकै बेरपछि भन्नुभो, ‘जहान बितेपछि मनमा कुरा खेलिबस्छ ।’ बिहान चार बजेतिर यसो आँखा लाग्छ अनि त फेरि ब्युँझिहाल्छु । मोतीविन्दुले ढाकिएका आँखामा निराशाको बादल झन् बाक्लो गरी पोतिएको थियो । भूगोलको पल्लै छेउमा पुगेको मैले फेरि उहाँलाई स–शरीर भेटूँला/नभेटूँला भन्ने कुराले भावुक बनेँ । बौद्धिकतासँग खेलेर कहिल्यै नअघाउने मान्छे एकाएक भावनाको जंगलमा पुग्नुभएको देखेँ । पत्नीवियोगको यो चोट खप्नुपर्छ भनेर मैले सम्झाउने ठाउँ थिएन । सम्झेँ, सतीदेवीको लास काँधमा बोकेर शिवजी किन हिँडे होलान् ।

 

 

प्रतिकृया दिनुहोस