MENU

साहित्य/कला

635x90

सादा भात रंगीन भात (निबन्‍ध )

विनोदविक्रम केसी आइतवार, आश्विन ८, २०७४

दुई–तीन महिनापछि संसार दोस्रो सहस्राब्दीमा टेक्दै थियो । र, म भात खाने बाटोको खोजीमा मकवानपुरका डाँडाकाँडा चहार्दै थिएँ । पुरानो सदरमुकाम भीमफेदी बजारबाट १०–१२ किलोमिटर उकालो हिँडेर पुगेको थिएँ, कोगटे गाउँमा । इच्छाराम थापामगरको घरमा काठमाडौंबाट प्रौढ शिक्षा (तथाकथित ज्ञानको दियालो) लिएर आएको एक जना सरका निम्ति भात पाक्दै थियो । त्यो सर मै थिएँ ।‘यो जीटीजेडको चामलमा घुनै बढी हुने के सर !’आफ्नो थालको भातको चपरीमा उत्तानो परेर चिरनिद्रामा लीन ५–६ थान घुनलाई म जसरी हेरिरहेको थिएँ, हँसिलो इच्छारामलाई साह्रै असहज लागेछ । उसले हाँसेर भन्यो, ‘सर, घुन त चोखो चिज हो ।’म जान्दथेँ, घुन चोखो जीव हो । अनि, गहुँसँगै पिसिएर यसले गर्ने आत्मबलिदानका उपर पनि मेरो सम्मान थियो । तर, म घुनवाला भात खान अभ्यस्त थिइनँ, जसरी इच्छारामको ६ जनाको परिवार थियो ।

‘कामका लागि खाद्यान्न कार्यक्रम’अन्तर्गत बाटो खन्ने काम गरेर गाउँलेले दशैंबाहेक अरू वेला पनि भातसँग भेटघाट गर्न थालेका थिए । यद्यपि, भेटघाट त्यति बाक्लोचाहिँ हुँदैनथ्यो । आफूले खनेको बाटो नापेर उनीहरू चामल थाप्थे । अब दिनेले घुनसहित दिन्थ्यो त दिन्थ्यो । जसको हात माथि हुन्छ, उसले जे दिए पनि लिनै पर्‍यो ।सन् १९९९ को भीमफेदी एनजीओहरूको ‘हब’ थियो । विकासे कार्यकर्ता, विकासविद्, ‘जेन्डर एक्सपर्ट’, जेटीए, कृषिवैज्ञानिकदेखि मजस्तो कुनै विज्ञता र सीप नभएको व्यक्तिसम्मलाई एनजीओहरूले जागिर दिएका थिए । पुरानो सदरमुकाम हुँदाको रौनक अलिकति फर्किएको थियो यहाँ । एनजीओकर्मीलाई भात खुवाउन तत्पर भात होटल बजारभरि थिए ।

हरेक एनजीओका आ–आफ्ना विकास सिद्धान्त र मोडल थिए । उनीहरूबीच प्रतिस्पर्धा पनि कडै थियो । कोही गाउँले (लक्षित समूह) लाई मकैको बीउ दिन्थ्यो, कोही फर्सीको बीउ । धेरैको विकास मोडल ‘माछा दिने होइन, माछा मार्न सिकाउने’मा आधारित थियो । डाँडापाखाका गाउँहरूमा सर्वत्र उपस्थित थियो, प्लान इन्टरनेसनल भन्ने आईएनजीओ । गाउँतिर जे कुरा पनि प्लानको भन्ने गरिन्थ्यो । ‘प्लानको काँक्रो’, ‘प्लानको फर्सी’, ‘प्लानको चुलो’, ‘प्लानको चर्पी’, ‘प्लानको तालिम’, ‘प्लानको बंगुर’, ‘प्लानको बाख्रा’...सबै प्लानका थिए, मानौँ गाउँलेका केही पनि थिएनन् । आँगनको झ्याङमा झुण्डिएको छ, रहरलाग्दो काँक्रो र गाउँले ‘मेरो काँक्रो’ भन्दैन, ‘प्लानको काँक्रो’ भन्छ । उता ‘प्लानको चर्पी’ छ र प्रयोजन विशिष्ट छ, दाउरा हार मिलाएर राख्ने । गाउँतिर रमाइलो तरिकाले विकास भइरहेको थियो । कम्तीमा, एनजीओका रिपोर्टमा । जे होस्, एउटा–एउटा भात खाने बाटो समातेर हिँडिरहेका थिए सबै । यत्ति हो, कसैले सादा भात खाइरहेको थियो, कसैले रंगीन भात ।

पहिलोचोटि ‘रंगीन भात’ भन्ने शब्दावली मैले एक जना भरियाको मुखबाट सुनेँ । २०५९ सालतिर म एक जना माडवारी खाद्यान्न व्यापारीकहाँ काम गर्थेँ । माडवारीहरूको परम्परागत लेखाप्रणाली हुन्छ । त्यसैअनुसार म खातापाता राख्ने काम गर्थेँ । त्यतिवेला कालिमाटी र कुलेश्वरमा भएका मारवाडीका अधिकांश पसलका स्टाफ काठमाडौंको दक्षिणी भेगका मान्छे हुन्थे । अहिले पनि म कम्तीमा दुई–तीन जनालाई जान्दछु, जोसँग प्रचलित बजार मूल्यअनुसार २०–२५ करोडको सम्पत्ति होला, तर उनीहरू मारवाडी व्यापारीकहाँ २०–२५ हजारको जागिर खाइरहेका छन् ।त्यतिवेला भरियालाई भात खुवाउने होटल थोरै हुन्थे । ‘स्टाफ भोजनालय’, ‘थकाली भान्साघर,’ अनि ‘नास्ता र खानाको राम्रो प्रबन्ध’ गर्ने होटलहरूले भरियालाई ढिम्किन पनि दिँदैनथे । वजन मजदुरले श्रम र पसिनाको झोंकमा कति थाल भात बुत्याइदिने हो ! यही भयले उनीहरू भरियालाई ‘निषेध’ गर्थे ।कुलेश्वरमा रहेको हाम्रो गोदामसँगै जोडिएको थियो, काइँलाको होटल ।

आफ्नो थालको भातको चपरीमा उत्तानो परेर चिरनिद्रामा लीन ५–६ थान घुनलाई म जसरी हेरिरहेको थिएँ, हँसिलो इच्छारामलाई साह्रै असहज लागेछ। उसले हाँसेर भन्यो, ‘सर, घुन त चोखो चिज हो।’

‘ल रंगीन भात ख्वाऊ त काइँला दाइ !’ एक जना भरियाले भनेको सुनेँ मैले । रंगीन भात भनेको मासु भात । मलाई बडो घत पर्‍यो । काइँलाको होटलमा राँगाको मासु र भात (मेरो स्मरणशक्ति धोकेबाज होइन भने) ३५ रुपैयाँमा पाइन्थ्यो । अन्त ५० रुपैयाँमा राम्रै भात पाइन्थ्यो । काइँलाले चामलको स्तरमा भनेजति सम्झौता गर्न पाउँथे । सफाइ र गुणस्तरमा सम्झौता नगर्नेहरूले ढिम्किनै नदिएर दोस्रो दर्जाको नागरिक तुल्याइदिएका भरियाहरूका निम्ति उनी तेस्रो दर्जाको ‘मन्सुली’ व्यवस्था गर्थे । दुई–तीन पटक मैले पनि उनको होटलमा भात खाएको छु । थालमा पिरोको आधिपत्य हुन्थ्यो । अरू त अरू दालमा पनि पिरो ! र, पिरोको दलदलबीचबाट एक जना ग्राहक कराउँथ्यो, ‘ओ काइँल्दाइ ! खै, ल्याउनु न एउटा खुर्सानी टोकम् ।’ प्रसंगवश सम्झिहालूँ, मैले पहिलो पटक ‘राइस किलर’ भन्ने शब्द पनि उनकै होटलमा सुनेको हुँ । ‘भातमारा’को अंग्रेजी अनुवाद !मासुभात नेपाली स्वाद परम्पराको उच्च मानक हो सायद ।

हाम्रा धेरै पर्व उत्सव मासुभात खाएरै मनाइन्छन् । मैले एक जना यस्ता मासुभातप्रेमीको संगत गर्ने मौका पाएको थिएँ कि उनी ताजा गुलाब देख्दा भन्थे, ‘मासुभात खाएजस्तो मज्जा आयो’, बाटोमा पैसा भेटिँदा भन्थे, ‘मासुभात खाएजस्तो मज्जा आयो’, भान्जा जन्मेको खबर पाउँदा भन्थे, ‘मासुभात खाएजस्तो मज्जा आयो ।’ नैकापतिरका ती मोटे दाइ (नाम बिर्सेँ) का निम्ति हरेक रोमाञ्च, हरेक आनन्द र हरेक मज्जा ‘मासुभात’ थियो ।हामी मारवाडीका कारिन्दा साथीहरूको वृत्तमा उनीबारे एउटा चुट्किला सुप्रसिद्ध थियो । जसअनुसार– मोटे दाइ एक दिन प्रेमिकालाई लिएर थानकोट पार्क घुम्न गए । एकान्त मिलाएर दुई जना बसे । प्रेमिकाले भनिन्, ‘केही रोमान्टिक कुरा गर न ।’ मोटे दाइले भने, ‘हामी बिहेको दिन मासुभात खाऊँला ।’ प्रेमिकाले दिक्क मानी, ‘रोमान्टिक भन्छु, मासुभातको कुरा गर्छ ।’ मोटे दाइले तुरुन्तै भने, ‘हामी बेडरुममा मासुभात खाऊँला ।’ प्रेमिकाले साह्रै नमज्जा मानी र भनी, ‘हाई क्लासको रोमान्टिक कुरा गर न ।’ मोटे दाइको मुखबाट फुस्क्यो, ‘हामी बेडरुममा नांगै भएर मासुभात खाऊँला ।’

उसो त मासुभात नेपाली प्रजातान्त्रिक आन्दोलनको पनि हिस्सै त नभनूँ, एउटा आयाम थियो । नपत्याए बीपी कोइरालाको आत्मवृत्तान्त हेर्नुहोला । तपाईंसँग गन्ने जाँगर छ भने गन्नु पनि होला । भोजनमा मासुभातको उल्लेख सहस्र ठाउँमा छन् । जेलमा मासु पाक्दा उमंग र हर्षको कत्रो वातावरण हुन्थ्यो भन्ने कुरा अरू प्रजातान्त्रिक योद्धाले पनि लेखेका छन् । माओवादी जनयुद्धमा पनि मासुभातको भिन्नै आयाम थियो । छापामार, लडाकु आदिका प्रकाशित डायरी पढ्नुस् । उनीहरूले मासुभातलाई कति प्रेमपूर्वक उल्लेख गरेका हुन्छन् !हरेक नेपाली राजनीतिक आन्दोलनको अभीष्ट (पाप बोल्नु हुन्न) जनतालाई मासुभात खुवाउनु हो । र, हरेक आन्दोलनपछि खास–खास समूहका खास–खास मान्छेले मात्रै मासुभात खान पाउँछन् । राणाकालीन निस्पट्ट अँध्यारो नेपाल, पञ्चायतकालीन अँध्यारो नेपाल र संवैधानिक राजतन्त्रकालीन अँध्यारो–अँध्यारो नेपाल त नेपालै भइहाले, गणतान्त्रिक उज्यालो नेपालमा समेत रंगीन भात शब्द जन्माउने ती भरियाको भागमा सादा भात पनि परेको छैन ।

गणतान्त्रिक आन्दोलनताकाको कुरा हो । ‘बेस्कन धान फल्ने फाँट जबर्जस्ती चर्चेर बसेको’ त्रिभुवन विश्वविद्यालय र कीर्तिपुरेहरूबीच जग्गाको क्षतिपूर्तिलाई लिएर लामो समयदेखि लफडा चलिरहेको थियो । त्रिविले लगाइराखेको पर्खाल बीचैमा रोकिदिएका थिए कीर्तिपुरेले । पुलिसलाई ढुंगा हानेपछि लखेट्दा हामी त्यही पर्खाल नाघेर त्रिविभित्र छिरेर तितरबितर हुन्थ्यौँ । एक दिन त्यसै गरी भाग्दा पुलिसले मेरो पिठ्यूँमा यसरी लट्ठी बजा¥यो कि मलाई लाग्यो, म दुई फ्याक भएँ, एउटा दायाँ जाँदैछ, अर्काे बायाँ । एक जना आन्दोलनकारीले मप्रति सहानुभूति देखाउँदै भने, ‘धेरै दिनदेखि भात खान नपाएको झोंकमा भाइलाई हान्यो डण्ठेले !’भात ‘पानीमा चामल पकाएर सितैसिता हुने गरी बनाइएको खाद्य वस्तु’ मात्रै होइन । ‘बिहान–बेलुकाको नियमित भोजन’ मात्रै होइन । शब्दकोशले भनेजति सरल कुरो होइन, भात ।

यस्तो हुन्थ्यो भने हरेक दिन १५ सय नेपाली भातको खोजीमा देश छोड्दैनथे ।भात जति–जति रंगीन हुँदै जान्छ, त्यति–त्यति जटिल हुँदै जान्छ र मान्छे उति–उति ठूलो हुँदै जान्छ । सानो मान्छे जीवनभर मूलतः सादा भात (र, कहिलेकाहीँ यसो रंगीन भात पनि) का लागि संघर्ष गर्छ । भातलाई बढीभन्दा बढी रंगीन बनाउने प्रयत्नमा मान्छे तस्कर बन्छ, भ्रष्ट कर्मचारी बन्छ, स्त्रीको दलाल बन्छ, चोर बन्छ, डाँका बन्छ ।तर, ती भरियाले कति निष्कपटतापूर्वक र कति मिठोसँग भनेका थिए, ‘रंगीन भात ख्वाऊ त काइँला दाइ !’

 

 

प्रतिकृया दिनुहोस