MENU

साहित्य/कला

635x90

हजारौँ ‘फिगर’ बोकेको मान्छे

किरण दहाल सोमवार, माघ १७, २०७३

पेन्टिङमार्फत् मान्छेका विविध भावभंगी बुझ्ने प्रयास गर्दै छन्, रोशन प्रधान । एउटै क्यानभासमा एउटै मान्छे फरक–फरक रूपमा देखाउन चाहन्छन् उनी । उनले माथि बनाएको पेन्टिङ त्यसको उदाहरण हो । यो पेन्टिङ सन् २०१४ मा तीन महिना लगाएर बनाइएको थियो । पेन्टिङमा तीन जना मान्छेलाई देखाइएको छ र ती तीन ‘फिगर’ एउटै मान्छेका हुन् । अगाडि देखिएको मान्छेलाई उनले कपडा लगाइदिएका छैनन् । कपाल पनि छैन । मान्छेको हातमा प्रायः रूखका आँख्लाहरू देख्न सकिन्छ ।

उनले पेन्टिङमा एउटै मान्छे तीन वटा देखाउनुको रहस्य यसरी खोले, ‘मान्छेहरूलाई सामान्य रूपमा हेर्दा त एउटै देखिन्छ तर उनीहरूको मोमेन्ट, बसाइ, सोचाइ र हेराइ फरक हुन्छ । एउटै मान्छेबाट धेरै फिगर निस्किराखेको हुन्छ ।’ एउटा मान्छेको शरीरबाट एक सेकेन्डमा हजारौँ फिगरको निर्माण हुने उनको भनाइ छ । उनले गर्ने पेन्टिङको खास मर्म पनि यही हो ।

क्यानभासमा देखिएको मान्छेको शरीरमा रूखका आँख्लाहरू पनि प्रशस्तै प्रयोग गरिएको छ । भोजपुरमा हुर्केका प्रधान सानोमा जंगल घुम्न मन पराउँथे । उनी अग्ला–अग्ला रूख हेरेर मख्ख पर्थे । अझ, रूखमा भएका आँख्लाले उनलाई प्रभावित गर्थे । भन्छन्, ‘कुनै पनि रूखमा कतै न कतै आँख्ला हुन्छन् । रूख वर्षौँदेखि एकै ठाउँमा बसिरहेको हुन्छ । विचरा !

उसले घाम पानी, हावा–हुन्डरी सबै सहेर बसेको हुन्छ । उसको ‘फिलिङ’ यस्तै आँख्लाका कुनाबाट निस्किन्छ । रूख बाहिर खस्रो हुन्छ तर भित्र चिल्लो । रूखको यस्तै अनुभूति मान्छेमा पनि प्रयोग गर्न खोजेको हुँ ।’ रूख बाहिरबाट हेर्दा नराम्रो देखिन्छ तर भित्र सुन्दर हुन्छ । तर, मान्छे बाहिर सुन्दर हुन्छन्, भित्र भने तनावमा बाँचेका हुन्छन् । भन्छन्, ‘रूख र मान्छे उस्तै हुन् ।

दुवैसँग गाह्रा, अप्ठ्यारा छन् । त्यसैले पनि त्यहाँ आँख्लाहरू बनाएका हुँ ।’ पेन्टिङमा देखाइएका मान्छे उनका साथी हुन् । मान्छेको फिगरलाई लिएर पेन्टिङ बनाइरहेका उनलाई आफ्नै साथीको मुहारले प्रभावित गर्‍यो र उनले उक्त फेस पेन्टिङमा प्रयोग गरे । उनलाई पेन्टिङमा मान्छेको कपाल मन पर्दैन । कपाल लगाएर पेन्टिङ गर्‍यो भने ‘मेकअप’ गरिदिएजस्तो लाग्छ ।

कपाल बनाउँदा प्राकृतिक रूपले मान्छे जस्तो छ, त्यस्तै नदेखिने उनले बताए । भन्छन्, ‘मैले पेन्टिङमा मान्छेलाई नांगै राखेको छु । यसो नगरेको भए मान्छेको प्राकृतिक रूप आउने थिएन । रूखलाई लुगा लगाइदिँदा के हुन्छ ?’उनले थांका र अहिलेका समसामयिक पेन्टिङलाई एकीकृत गर्ने प्रयास गरेका छन् । त्यसैले थांका पेन्टिङबाट ‘बादल’ सापट लिएका छन् ।

पछाडिको कालो र पहेँलोे रङले आकाशलाई प्रतिबिम्बित गर्ने उनी बताउँछन् । भन्छन्, ‘थांका पेन्टिङका बादल मैले पेन्टिङमा पनि प्रयोग गरेँ । बादल आफैैँ र यसले बनाएको आकार एकदमै मनपर्छ ।’ती बादलहरू एकै रङका छैनन् । मान्छेको दैनिक जीवन पनि यहाँ प्रस्तुत गरिएको बादल जस्तै फरक–फरक रङको भएको उनले प्रस्ट्याए । भन्छन्, ‘एउटा सामान्य मान्छेसँग पनि दुःखै दुःख वा सुखै सुख हुँदैन । यही सुख–दुःखसँग जोडिएर आउने घटनाहरूले मान्छेको जिन्दगी रंगीन बनाइदिन्छ । मान्छेको दैनिक जीवनलाई बादलमार्फत् प्रतिबिम्बित गर्न खोजेको हुँ ।’

तीनै मान्छेको टाउको पछाडि सेतो र गोलो आकारको वस्तु देखाइएको छ । उनले त्यसलाई चन्द्रमाको रूपमा प्रस्तुत गरेका छन् । हरेक मान्छेसँग ‘पावर’ हुने र जोकोही त्यसैबाट निर्देशित हुने उनको भनाइ छ । उनलाई सूर्यभन्दा चन्द्रमा मन पर्छ । भन्छन्, ‘यसको सुन्दरता बयान गर्न नसकिने खालको हुन्छ । राति हेर्‍यो भने अलि मधुरो किसिमको उज्यालो देखिन्छ । त्यसैले एउटा पावर र अर्काे सुन्दरताको रूपमा मैले चन्द्रमालाई यहाँ प्रस्तुत गरेको हुँ ।’
तल सर्प आकारमा फैलिएको ‘सल’ देख्न सकिन्छ ।

सललाई धार्मिक रूपले शुभ मानिन्छ । भन्छन्, ‘सल ओढाएपछि काम शुभ हुने मान्यता भएर होला थांका पेन्टिङमा सलको प्रयोग गरिन्छ । मैले पनि यहाँ शुभ वा राम्रोका लागि प्रयोग गरेको हुँ ।’ उनले कुनै पनि पेन्टिङ एकै दिनमा बनाएका छैनन् । क्यानभासमा रङ पोत्नु भन्दाअघि के बनाउने, कस्तो बनाउने भनेर एउटा ‘स्केच’ तयार पार्छन् ।

बनाएका पेन्टिङहरूको स्केच पनि उनले सुरक्षित राखेका छन् । त्यसपछि ब्रस लिएर दैनिक क्यानभास अगाडि उभिन्छन् । पेन्टिङसँग गफ गर्छन् । भन्छन्, ‘कहिलेकाहीँ, क्यानभासमा देखिने बिम्बहरूले नै मैले चाहेको भन्दा फरक रङ खोज्छन् र त्यसै अनुसार रङ पोत्छु ।’

 

प्रतिकृया दिनुहोस