MENU

साहित्य/कला

635x90

धर्म परिवर्तनको ‘स्वर्णिम’ काल

कमलबहादुर महत बुधवार, जेठ ३१, २०७४

पुस्तक : सफरिङ एन्ड होप: क्रिस्चियानिटी एन्ड एथिक्स अमोङ दी नेवार्स अफ भक्‍तपुर
लेखक : इयान गिब्सन
प्रकाशक: एकता पब्लिकेसन
पृष्ठ : २७९
मूल्य : रू. ४९५।–

इयान गिब्सनद्वारा लिखित ‘सफरिङ एन्ड होप’ पुस्तक उनको मानवशास्त्र विषयमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधिका लागि सन् २०१५ मा तयार पारिएको शोध हो । त्यसका लागि उनले भक्तपुरको नेवार समुदायलाई रोजेका थिए । खासगरी भक्तपुरस्थित तीन वटा गिर्जाघरमा आवबद्ध ‘विश्वासी’ र इसाई धर्मका स्थानीय अगुवाहरू उनको शोधका पात्र हुन् ।तीन वटा भागमा विभाजित पुस्तकमा उनले मानिसलाई दुःख, अभाव र बिरामी पर्दा इसाईहरूको संगतमा पुगेको, आफैंले अवसरका रूपमा त्यसलाई उपयोग गरेको र निरन्तर मिहिनेतपछि ‘विश्वासी’हरूले आफ्नो धर्ममा आबद्ध गराएका दृष्टान्त समेटेका छन् ।

भक्तपुरमा इसाई धर्म परिवर्तनका गतिविधि सूक्ष्म ढंगले केलाउने प्रयास गरेका छन्, गिब्सनले । रणजीत मल्लको पालामा क्यापुचिन पादरीहरूले पहिलो पटक भक्तपुरमा धर्म परिवर्तनको शुरुवात गराएको पुस्तकमा उल्लेख छ । र, हालको धर्मान्तरणका गतिविधि केलाउने जमर्को पनि गिब्सनको छ । २००७ सालको परिवर्तनपछि इसाईहरूका लागि नेपाल खुला भयो । शुरुमा कालिम्पोङबाट रोबर्ट कार्थकको समूह भक्तपुर प्रवेश गर्‍यो । तर, त्यहाँ टिक्न नसकेपछि डिल्लीबजार पुगेर डेरा जमायो (पृष्ठ ११०) । मिसनरीहरूको मुख्य लक्ष्यमा परे, नेवारभित्रका दलित समुदाय । पास्टर तीर्थबहादुर देवानका अनुसार ३२ वर्षको अवधि अर्थात् सन् १९८६ सम्म नेवारका ‘शुद्ध’ जातिलाई परिवर्तन गराउन मिसनरीहरू असफल रहे । देवान पूर्वी नेपालका थिए र युनाइटेड मिसन टु नेपाल (यूएमएन)मा आबद्ध थिए ।

यूएमएनद्वारा सञ्चालित अस्पताल नेपाल सरकारलाई हस्तान्तरण नगरुन्जेल अर्थात् सन् १९७०को दशकको मध्यसम्ममा भक्तपुर आसपास बस्ने तामाङ समुदायका करिब एक सय जनालाई इसाई बनाइसकेका थिए (पृष्ठ ११०–११) । पुस्तकमा गिब्सनले भक्तपुरको परम्परागत संरचना धरमराउनुको कारण पनि खोतलेका छन्, राष्ट्रिय/अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग एकीकृत हुनु र कम्युनिस्ट विचारधारासँग सम्पर्कमा आउनु । यी दुवै कारक तत्व भक्तपुर शहरको परम्परागत धारका लागि हानिकारक बनेको उनको विश्लेषण छ ।

पुस्तकको पृष्ठ २३–२४ अनुसार सांस्कृतिक संरचना धरमराएकै कारण भक्तपुरमा धर्मान्तरण फस्टाएको निष्कर्ष निकाल्न सकिन्छ । मानिसमा व्यक्तिवाद हाबी हुनु, परिवारलाई ‘हेरचाह’ गर्न छाड्नु र नैतिकता गुम्दै जानुलाई इसाई धर्म अपनाउनेतर्फ स्थानीय बासिन्दा आकर्षित हुनुका कारण बताएका छन् उनले । उदाहरणका लागि विष्णुप्रसादले इसाई धर्म अँगाल्नुमा उनको परिवार, धर्म (हिन्दु), पुजारी र उनले मान्दै आएका देवीदेवताले आफ्नो दुःखलाई यथेष्ट मात्रामा ‘हेरचाह’ गर्न सकेनन् (पृ १२६) । अध्येता गिब्सनले स्थानीय केदार श्रेष्ठलाई कसरी इसाई हुनुभयो भनेर प्रश्न गर्दा अस्पतालमा आएका ‘विश्वासी’ले पैसा, रगत, सवारी साधन जे चाहियो त्यही सहयोग गरेका कारण पुरानो धर्म छाडेको बताएका छन् (पृ १७२) ।

गिब्सनका अनुसार ०४६ सालको परिवर्तनलगत्तै संयोगवश ‘इस्टर’ परेको थियो । र, इसाईहरूले खुला रूपले धर्मपरिवर्तनलगायत गतिविधि गर्न पाउने भएकाले काठमाडौंमा महान् विजय दिवसका रूपमा सडकमा ओर्लेर खुशियाली मनाएको मिसनरी थोमस हेलले लेखेको उल्लेख गरेका छन् । सन् २०१३मा पाटनस्थित खेलमैदानको भेलामा सन् २०१४मा त्यतिबेलासम्म धर्मपरिवर्तन गरेको दोब्बर जनसंख्यालाई इसाई बनाउने प्रण गरिएको उनले उल्लेख गरेका छन् । धर्मान्तरण र राजनीतिक परिवर्तनबीच रहेको सम्बन्ध पनि केलाएका छन्, गिब्सनले ।

कतिसम्म भने हिन्दु देवी–देवताहरूलाई पुस्तकको धेरै ठाउँमा ‘सैतान’को उपमाबाट आरोपित गरेका छन्, गिब्सनले । जस्तो ः पास्टर केदारले भनेका छन्, ‘यो क्षेत्रमा धेरै मठ–मन्दिर भएकाले सैतानहरूले चर्चमा आउनै दिँदैनन् (पृ ११९) । यस्तै, गिर्जाघरमा पुरुषको तुलनामा महिलाको बढी सहभागिताको मुख्य कारण गिर्जाघरले ‘अप्ठ्यारो’मा परेका महिलालाई पैसालगायत सहयोग दिनु भएको उनको दाबी छ (पृष्ठ १४५) ।यस्तै, कम्युनिस्ट र इसाई धर्मबीच पनि उनले तादाम्यता देखाउने प्रयास गरेका छन्, ‘बुक अफ एक्ट्स’मा सम्पत्ति सबैसँग बराबर रहनुपर्छ, यो विश्वास गरिन्छ कि माक्र्सले कम्युनिजम आविष्कार गर्न यसैबाट प्रेरणा पाएका थिए ।

यस प्रसंगलाई बल दिन गिब्सनले दिनेश प्रधानांगको भनाइ उद्धृत गरेका छन्, जो विश्वासी हुन् र तत्कालीन एमाओवादीको निजामती कर्मचारी युनियनसँग आबद्ध छन् (पृ २४७) ।एक प्रसंगमा मिसनरी संगठनहरूलाई धर्मप्रचारको शंका लागेमा नेपाल सरकारले ०४६ सालअघि कडा कदम चाल्दै देशनिकाला गरेको उल्लेख गरेका छन् । जस्तो : सन् १९७८ मा समर इन्स्टिच्युट अफ लिंग्विस्टिकमा आबद्धहरूलाई देशनिकाला गरियो (पृष्ठ ९१) । खासमा समर इन्स्टिच्युट अफ लिंग्विस्टिकसँग आबद्धता भएका विदेशी वैज्ञानिकहरूले त्यतिबेला नेपालका विभिन्न भाषा सिकेर बाइबल रूपान्तरण गरेको पुस्तकमा उल्लेख छ ।

खम्पा विद्रोह र अमेरिकी जासुसी संस्था सीआईएसँग उनीहरूको साँठगाठ रहेको आरोपमा चीनको समेत अनुरोधमा नेपाल सरकारले देशनिकाला गरेको मानवशास्त्री स्वर्गीय सौभाग्य शाहको ‘दी गोस्पेल कम्स टु दी हिन्दु किङ्डम’ शीर्षक लेखमा उल्लेख छ (हिमाल, सेप्टेम्बर/अक्टोबर १९९३) ।यदि हालकै वृद्धिदर कायम रहने हो भने आगामी २० वर्षमा इसाई धर्मावलम्बीको संख्या नेपालमा बौद्ध र इस्लामलाई उछिन्दै दोस्रो ठूलो हुने बेलायती अध्येता डेभिड गेल्नरले ओले क्रिस्नरद्वारा लिखित पुस्तक ‘कल्चर एन्ड क्रिस्चियानिटी नेगोसिएटेड इन हिन्दु सोसाइटी’मा उल्लेख गरेका छन् । गिब्सनको विद्यावारिधि शोधका प्रमुख सुपरिवेक्षक पनि क्रिस्नर नै हुन् ।

२०४६ सालको परिवर्तनपछि इसाई धर्मप्रचार तथा ‘गरिब’ र ‘अप्ठ्यारो’मा परेका नेपालीलाई लक्षित गरी धर्म परिवर्तनका गतिविधि ह्वात्तै बढेको पाइन्छ । यो क्रम ६२/६३ को परिवर्तन र नेपाल धर्मनिरपेक्ष राज्य घोषणासँगै झन् बढेको पाइन्छ । १२ वैशाख ०७२ को महाभूकम्पको त्रासदीलाई त इसाईहरूले आफ्ना लागि अवसरका रूपमा लिएको पाइएको छ । त्यसयता धर्मान्तरणको रफ्तार तीव्र बनाउँदै भूकम्पपीडितलाई आफ्नो मुख्य ‘टार्गेट ग्रुप’ बनाएका छन् ।

खासगरी, धादिङ, मकवानपुर, नुवाकोटलगायत तामाङ, जनजाति र दलित समुदायका मानिसलाई आफ्नो जालोमा पार्दै गएका छन्, मिसनरीहरूले । गिब्सनको पुस्तकले पनि त्यसैमा जोड दिएको छ । सनातन धर्म जोखिममा रहेको उनले प्रस्तुत गरेका तथ्यहरूबाट स्पष्ट हुन्छ ।

 

 

प्रतिकृया दिनुहोस