MENU

साहित्य/कला

635x90

भेन्टिलेटर

हरिमाया भेटवाल आइतवार, माघ ९, २०७३


ईश्वर नै भेन्टिलेटर बनेको थियो । सास रहनुको एउटा मसिनु त्यान्द्रो शरीरमा अल्झाएर मुढो झैं लमतन्न थिए हेडसर । बाहिर बस्ने आफन्त र कुरुवाहरूले त अझै आश मारेका थिएनन् । ‘अब के हुन्छ डाक्टर साब ?’ ‘केस क्रिटिकल हुँदैछ, भेन्टिलेटरले प्राण निस्कन दिएको छैन । केस हाम्रो नियन्त्रणभन्दा बाहिर गइसक्यो ।’ ‘भन्नाले ?’

‘बिरामीको ‘ब्रेन डेथ’ भइसक्यो । अब कुनै ‘मिराकल’ भयो भने मात्र... ।’ जाँचमा उत्तर नआँउदा विद्यार्थी अन्योलमा परेझैं अन्योलमा थिए आफन्त ।
मलाई लाग्दै थियो– कुनै मिराकल होस् र हेडसरले आँखामा हेरेर भनून्, ‘म अझै पढाउन सक्छु तिमीहरूलाई ।’ ‘यी हेडसरले किताब पढाए होलान् कि जीवन ? यतिधेरै जीवन बुझेर पनि उनको जीवनमा किन डेरा जमाउन आयो होला नैराश्यता ?’म केही दिनदेखि सोचमग्न थिएँ । आखिर के कुराले बदलिएका होलान् हेडसर ?

१५ चैतका दिन । हिँड्दा–हिँड्दै हुरीबतास चलेपछि नजिकैको होटलभित्र छिरेँ सुत्त । हेडसर त्यही होटलको एउटा टेबलमा एक्लै बसेका थिए । ‘ए सर पनि ! कस्तो हुरी चल्यो उडाउलै जस्तो ।’ झस्किँदै उनले भने, ‘हो र ! म त अघि नै छिरेको । जीवनमा यस्ता आँधी कति आए कति ! कति पटक उडाएर बगरमा फाल्यो, कति पटक आगोमा हाल्यो । म त अहिले त्यही आगो निभाउन बसेको यहाँ ।’‘किन के भो र सर त्यस्तो ?’

उज्याला, शालीन हेडसर रातारात बदलिइरहेका थिए । उनी आगो निभाउन बसेको हभन्दै थिए । तर, मभित्र आगो बल्न सुरु गरेको थियो उनका कुराले ।
‘के थिएँ त्यो दिनमा, के भएँ यो दिनमा ! देखियो, भोगियो जिन्दगी । जीवनमा अब कुनै प्राप्तिको लोभ छैन मलाई । बस्, हिँड्दा–हिँड्दै यो परानले शरीर त्याग्न सकोस् । तर, अझै सासले धर्म छाडेको छैन ।’
सेताम्मे फुलेका हेडसर यसरी भावुक भएको देखेर मन तर्सियोे ।‘सर, यस्तो कुरा गर्न सुहाएन हजुरलाई,’ लगत्तै फर्कियो मेरो मुखबाट जवाफ । ‘इच्छा मृत्यु सम्भव हुन्थ्यो त म अहिले नै फुत्रुक्कै मरिदिन्थेँ ठाउँको ठाउँ,’ लामु सुस्केरा तानेर बोल्दै थिए हेडसर । ‘तर, हजुरले धेरै बाँच्नु पर्छ ।’ ‘केका लागि ?’ ‘रिसले फन्फनिएर रात्तिँदै गएजस्तो गर्ने सूर्यले पनि भोलिपल्ट उदाउनै पर्छ । संसारलाई उज्यालो दिन ।’‘म त मान्छे हुँ ।’

‘मान्छे त हामी हौं, जो अँध्यारोमा भौंतारिइरहन्छौं । तपाईं त सूर्य हो, हाम्रा लागि उज्यालो दिने ।’मेरा सामुन्नेको शालीन सूर्य, प्रकाशपुञ्ज, आज आफ्नै उज्यालोमा पोलिइरहेका थिए, अथाह छटपटीमा ।‘थाहा छ ! मेरो ठुली छोरी पनि सानुमा यसै भन्थी– तपाईं हुनुहुन्न भने घरमा घाम लाग्दैन । दिउँसै अध्याँरिन्छ । अहिले ऊ छैन यहाँ । उज्यालो खोज्न गए मेरा सन्तानहरू । घरबाट डेरा सरेर त्यो बिरानु देशमा । तर, मभित्र भने दुःख, रोग र आलस्यले डेरा जमाउन थालेका छन् । अघिल्लो साता साथी डक्टरकोमा गएको थिएँ, सबैकुरा बताएपछि उसले निद्राको औषधी खानुभन्दा सके एक पेग राम्रो रक्सी खाने सल्लाह दियो । खाएपछि म निदाउँछु पनि ।’

‘कति वर्ष हुनु भो सर ?’‘भएँ नि मर्ने बेलाको, साठ्ठी पुगेसी के काम यो बुढो मान्छेको ? बाँच्न त प्रेम गर्नेहरू हुनु पर्याे नि घरमा ! मेरो त घर पुग्दा घर मात्र हुन्छ, मान्छे हुँदैनन्,’ बोल्दा–बोल्दै मेरो अनुहार हेरे उनले । मैंले ‘म छु नि सर’ भन्न खै किन किन सकिनँ !‘साथी कति हुदाँ रै’छन् कति, बिद्यार्थी पनि कति–कति जीवनमा ! तर, पारिवारिक मामिलामा साथी र बिद्यार्थी काम लाग्दैनन् । आफ्नै छोराछोरी, आफ्नै बुढीले त छोड्छन्, अरूको के कुरा ?’ यति भनेर उनी अड्किए ।

‘गुरुआमा हुनुहुन्न र अहिले तपाईंसँग ?’‘मुटुमा छन् सबै । तर, घरमा कोही छैनन् ।’ ‘खाना कसले बनाउँछ त सरलाई ?’‘कहिले बाहिरै खान्छु, खान मन नलाग्दा यत्तिकै सुत्छु । भोकभन्दा सुर्ता धेर लाग्छ, अचेल । हिँड्दा–हिँड्दै पुक्लुक्कै भए त ठिकै थियो, अधकल्चो भएँ भने पो सारो ।’अमेरिका पुगेका परिवार सम्झेर एक्लै बा“च्नुको पीडाले भित्र–भित्रै सताएको रै’छ उनलाई । ‘सर पनि जानुभ’को थियो नि अमेरिका हैन र ?’

‘हो, गएको थिएँ । छोरीले बच्चा जन्मिएपछि बोलाएकी थिई । तर, उनीहरूको काम गर्ने पालेजस्ता भयौं हामी । घर र बच्चा जिम्मा लगाएर हिँड्थे । न आफन्त, न छिमेकी, न कतै एक्लै जान सक्नु ! ओहोऽऽऽ बन्दीजस्तो जीवन कसरी बिताउन सकिन्थ्यो र ? काम गर्ने मान्छे राख्न महंगो हुनाले बा–आमालाई बोलाउँदा रै’छन् छोराछोरीहरूले,’ बोल्दा बोल्दै लामु सास फेरे हेडसरले । ‘सरले राम्रै गर्नुभो नेपाल आएर !’

‘खै ! म आएँ, मेरी जीवनसाथी आउन सकिनन् । सायद मेरो मायाभन्दा छोरीको मायाले तान्यो उनलाई । बा गए पनि आमा बस्नु– भनी छोरीले पनि । मैंले कर गर्न सकिनँ । निक्कै सम्झिन्छु म उनीलाई,’ हेडसरका नियास्रिएका आँखा मेरा आँखामा ठोक्किए, तिर्खाएको बाछोले कुँडेमा हेरे जसरी । कुँडे आफैँ सरेर बाछो भएको ठाउँमा जान सक्दैन, बाछो बाँधिएको छ कुँडेसम्म आउन सक्दैन ।

गफ सकिएको थिएन तर हुरीबतास रोकियो । ‘ल म लागेँ । घरले मलाई कुरिरहेको छ । ल कुनै दिन फेरि भेटौँला,’ दाहिने हात उठाउँदै हेडसर निस्किए । प्रत्युत्तरमा मैंले दुवै हात जोडी रहेँ र कामना गरेँ, ‘सरको लामु आयु होस् ।’उहाँको आयुको कुरा त थाहा भएन, रात भने असाध्यै लामो लाग्यो मलाई । रातभर हेडसरलाई नै देखिरहेँ । यी तिनै हेडसर हुन्, जो प्रजातान्त्रिक आन्दोलनमा लामो समय जेल बस्दा नि हेरस खाएका थिएनन् । तर, आज रक्सी खाए ! आफैं रक्सी विरोधी मान्छे । मान्छेहरू भन्थे – अफ्ठेरोसँग जुध्न त हेम सरसँग सिक्नुपर्छ । जीवनले कसरी र कुन बेला कोल्टे फर्किन्छ, थाहै नहुने रहेछ ।

बीबीएसको रिजल्ट आउन केही दिन बाँकी थियो । घरकै काममा समय बितिरहेको थियो । आमा बारीमा फर्सीको विरुवा सार्दै हुनुहुन्थ्यो, म मकै रोप्न बारी खन्दै थिएँ । बिहानैदेखिको चर्को घामले शरीर गलाउँदै थियो, त्यसमाथि भक्तिले ल्याएको खबरले झन् गलायो । म कोदालो बारीमै छाडेर अस्पतालतिर लागेको थिएँ । हेडसरका केही आफन्त अस्पताल बाहिर थिए । उनीहरू उभिएको ठाउँनजिकै बूढो शिरीषमा चारैतिर कलिला मुना पलाएको थियो । शिरीषको बोट र हेडसर उस्तै लागे ।

यी मुनामा फूल फुल्छन् होला के अब ? समुद्रमा उठेका छाल समुद्रमा बिलाएजस्तै मभित्र उठेका छालले मलाई नै भिजाउँदै थियो । लाग्दै थियो– मुनाहरूले फूल नै फुलाउन नसके पनि रुख बाँचेको अनुभूति भने गराइरहोस्, सरलाई भेट्न पाइरहियोस् । मनको कामनाले डोरिँदै अस्पतालभित्र छिरेँ । ढोकाछेउ ठूलो झ्याल थियो, भित्र बिरामी देखिन्थ्यो । मैंले भित्र नियालेँ । हेडसरको नाकमा मसिनो पाइप हालिएको थियो, मुखबाट अक्सिजन दिइएको थियो ।

शरीरभरी पाइप नै पाइप थियो । मलाई रुन मन लाग्यो । ढोकाबाट फुत्त दुई डाक्टर निस्किए । एकले अर्कोलाई भन्दै थिए, ‘ही इज डेड ।’ उनीहरू गफ गर्दै छेलिए तर मेरो आँशुले बाटो धमिलियो । एकछिन हेडसरलाई हेरिरहेँ । कुद्दै भित्र गएर उठाउन मन लाग्यो तर भित्र पस्न सकिनँ । अस्पतालको चौरीमा निस्किएँ । हेडसरका आफन्तहरू छुट्टै झुण्डमा उभिएका थिए । म त्यही झुण्डमा मिसिन गएँ । झुण्डमा हेडसरकी छोरी र जीवनसाथी पनि देखेँ ।

कलेजी पेन्ट र टी–सर्टमा आधा कपाल छाडेकी सरकी छोरीको रिस आँखाबाट प्रष्टै देखिएको थियो । उनी भन्दै थिइन्, ‘त्यही भएर देश आउन मन लाग्दैन । मान्छे आइपुग्दा पनि एयरपोर्टमा लगेज आइपुगेको छैन पो भन्छ ! कस्तो टेन्सन ! कस्तो नालायक सरकार ! अब सबै सामान पाइन्छ कि पाइँदैन ? पोहोर साल एक जना कलाकारको सामान यत्तिकै पचाए । मेरो पनि भएजति सबै सामान त्यहीँ थियो ।’

मेरो छातीमा ४० किलोको ढक राखेझैं भयो । बुबा भित्र भेन्टिलेटरमा सास फेर्न छाडेका थिए, छोरीलाई भने ‘लगेज’को ‘टेन्सन’ थियो । खै प्रेम, खै संवेदना ? खै अनुहार हेर्ने रहर ? मनमा घृणाको भाव पैदा भो उनीप्रति । हेडसरले केही दिनअघि भनेको सम्झिएँ, ‘माथ्लो गराको पानी तल्लो गरामा झर्छ तर तल्लो गराको पानी माथ्लोमा जाँदैन । माया पनि त्यस्तै हो । बाबु–आमाले जतिसुकै माया दिए पनि छोराछोरीले पूरापूर फर्काउन सक्दैनन् ।’

सायद, उनले आफ्नी छोरीलाई पढेका थिए । र, त त्यसो भनेका थिए । सरको छोरीको कुरा सुनिरहन नसकेर त्यहाँबाट निस्कने सौच्दै थिएँ । उनकै आवाज सुनियो, ‘डाक्टर सा’ब, आज यो भेन्टिलेटर ननिकालौं । सारै टेन्सन छ लगेजको कुराले, भोलि फ्रेस भइन्छ अनि निकालौँला । आज निकालियो भने थुप्रै लन्ठा पूरा गर्न सकिँदैन । थाकिएको छ, अबेर पनि हुन लाग्यो ।’

छोरीले त्यसो भन्दा पनि आमा बोल्न सकिरहेकी थिइनन्, उनी खुट्टाको बुढी औँलाले माटो कोट्याउ“दै थिइन् । सायद भन्दै होलिन् मनमनै, ‘अब तिमी पनि माटो हुन्छौ, म पनि कुनै दिन माटो हुन्छु ।’‘डाक्टर सा’ब, एकचोटी हेर्न सक्छु म उनलाई ?’ प्रेम भरिएको आवाजले डाक्टरलाई अनुरोध गरेको स्वर कानैमा आयो गुरुआमाको मुखबाट । ‘सक्नुहुन्छ जानुहोस् ।’

छोरी अघि भर्खर कोही आफन्तले थमाइदिएको एनसेलको सिम अमेरिकी मोबाइलमा राखेर कस–कसलाई फोन गरिरहेकी थिइन् । तर, आमा–छोरीलाई छाडेर डाक्टरको पछि लागिन् । डाक्टर अघिअघि, गुरुआमा पछिपछि आईसीयूभित्र छिरे । म झ्यालबाहिर उभिएँ ।उनले हेडसरको दुवै गोडाका पैताला समाइन् र ढोगिन् । उनका आँखाबाट झरेको आँशु हेडसरको गोडामा तप–तप झरे । मैंले भेन्टिलेटर र हेडसर दुवैलाई नियालेँ । कतै सास फेरेको अझै देखिन्छ कि भनेर ! तर त्यो बेला न भेन्टिलेटर चलेको थियो, न त हेडसर चलमलाए । दुवै उस्तै निर्जीव ।

 

प्रतिकृया दिनुहोस