MENU

साहित्य/कला

dishhomeapp

०७३ ललितकलामय वर्ष

देवेन्द्र थुम्केली मंगलवार, बैशाख १९, २०७४

महाभूकम्पले कला क्षेत्रलाई थिलथिलो पारेको थियो । प्रदर्शनीका दृष्टिले ०७३ साललाई भने निकै सफल वर्ष मान्न सकिन्छ । काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा पौभा कलाकार समुन्द्रमान सिंहको चर्चित प्रदर्शनी भयो । उनले बनाएका करिब पाँच दर्जन कलाकृति दर्शकले अवलोकन गर्न पाए । कलाकार नरेन्द्रबहादुर श्रेष्ठको एकल मूर्ति प्रदर्शनी पनि चर्चा गर्न लायकको थियो । यस्तै, जरा फाउन्डेसनको आयोजनामा १० मुलुकका ३६ कलाकार सहभागी कला प्रदर्शनी रकार्यशालाको प्रभाव राम्रो रह्यो ।

मध्य कात्तिकमा ४० मुलुकका दुई सय १५ कलाकार सम्मिलित अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजित प्रदर्शनी, कार्यशाला र बहसले राजधानीलाई कलामय बनायो । चरा बनाउने कलाकारका रूपमा परिचित हीरालाल डंगोल र उनका चार सन्तानका चित्र प्रदर्शनी पनि काउन्सिलमै भयो । सिद्धार्थ आर्ट ग्यालरीमा ०७३ मा १२ वटा एकल प्रदर्शनी भए भने त्यति नै मात्रामा सामूहिक पनि । त्यसमध्ये अग्रज कलाकार श्यामलाल श्रेष्ठको एकल प्रदर्शनी चर्चा गर्न लायकको रह्यो ।

बौद्धस्थित तारागाउँ म्युजियममा पाँच वटा एकल तथा एक दर्जनजति सामूहिक प्रदर्शनी भएको निर्देशक रोशन मिश्र बताउ“छन् । उनका अनुसार तीमध्ये स्वर्गीय पुरन खड्काको एकल प्रदर्शनीले दर्शकको मन जित्यो । नयाँ शैलीमा काम गरेका पहिलो कलाकर राजमान सिंह चित्रकारले बनाएका काठमाडौं उपत्यकाका वास्तु संरचनासम्बन्धी चित्रका प्रतिकृतिको प्रदर्शनी पनि भयो, जसमा १८४०–४४ ताका उनले बनाएका दृश्यचित्र राखिएको थियो । पुल्चोकस्थित पार्क ग्यालरीमा पनि आधा दर्जनभन्दा बढी एकल र सामूहिक प्रदर्शनी भए ।

२०७३ सालमा भएका कला प्रदर्शनीहरूले एक वर्षअघिको महाभूकम्पको त्रासदी बिर्साउन महत्तवपूर्ण भूमिका निर्वाह गरे।

उक्त ग्यालरीद्वारा आयोजित पार्क आर्ट फेयर निकै सफल बन्यो । ६० भन्दा बढी स्वदेशी/विदेशी कलाकार त्यसमा सहभागी थिए । एरिना ताम्राकारको एकल प्रदर्शनी पनि राम्रो रह्यो । ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीले स्वदेशी/विदेशी गरी आधा दर्जनभन्दा बढी एकल प्रदर्शनी ग¥यो । लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा पाँच वटा एकल प्रदर्शनी भए । पाटनस्थित नेवाःछें र क्लासिक ग्यालरीमा पनि एकल र सामूहिक प्रदर्शनी भए । विकल्प आर्ट सेन्टरमा आवासीय कला परियोजना, प्रदर्शनी र कार्यशाला भए ।

नवलपरासी गैंडाकोटमा चार मुलुकका ३० कलाकार सहभागी अन्तर्राष्ट्रियस्तरको प्रकृति कला उत्सवको आयोजना भयो । त्यसको आयोजना कलावती आर्ट काउन्सिलले गरेको थियो । वन्यजन्तुपीडित उद्धार कोषले पनि प्रकृतिसम्बन्धी कार्यशाला र प्रदर्शनी गर्‍यो । पोखरा, धरान, झापा, चितवन र बुटवलमा पनि एकल र सामूहिक प्रदर्शनी भए । यस्तै, ११ चैतदेखि १७ दिन लामो ‘काठमाडौं ट्रिएनाले’ भयो । सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा काठमाडौं र ललितपुरमा रहेका प्रायः कलादीर्घामा भएको ट्रिएनालेले राजधानीलाई कलामय बनायो ।

‘दी सिटी’ शीर्षकमा २५ मुलुकका ६० भन्दा बढी कलाकार सहभागी भए । कलाकार र दर्शकलाई एक ठाउँमा ल्याउनका लागि ग्यालरीको महत्व हुने नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल बताउँछन् । कलाकार मुकेश श्रेष्ठको अनुभवमा कलाले सम्बन्ध जोड्नुका साथै सचेतना र जागरणको भावना मानिसमा पैदा गर्छ ।

 

प्रतिकृया दिनुहोस