MENU

साहित्य/कला

dishhomeapp

खस्कियो पुस्तक बजार

कृष्ण अविरल मंगलवार, बैशाख १२, २०७४

 २०७३ साल साहित्यिक पुस्तक बजारका लागि एकदमै निराशाजनक रह्यो । विगतमा सातामा सरदर १० नयाँ पुस्तक आउने गरेकामा गत वर्ष करिब १५ वटाका दरले बजारमा आए । तर, बजारलाई चलायमान बनाउने सवालमा अधिकांश पुस्तक असफल रहे । नयाँ प्रतिभा जन्माउने सवालमा पनि गत वर्ष खासै उत्साहजनक रहेन ।वर्षको अन्तिमतिर बजारमा आएको छत्रमानसिंह गुरुङको आत्मकथा ‘जनताको छोरो’ले वैशाखतिरको बजार तताएको थियो । रवीन्द्र भट्टराईको ‘सेयरबाट करोडपति’ले पनि आमपाठकमा पुस्तक ‘क्रेज’ जगाएकै हो ।

सुविन भट्टराईको उपन्यास ‘मनसुन’ले पनि दशैंअघि पुस्तक बजारलाई राम्रै गति दिएको थियो । कहिल्यै नेपाली पुस्तक नपढ्ने नयाँ पुस्तालाई बजारमा मज्जैले दौडाएको थियो । पत्रकार गोपाल खनालको ‘भू–राजनीति’ले पनि राजनीतिमा चासो राख्नेहरूलाई पुस्तक पसलमा जाने बनायो । तर, त्यसपछिका ६ महिनाको अवधिमा निस्केका अधिकांश पुस्तकले पाठकको मन जित्न सकेनन् । बरु, रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’, ०७२ को मदन पुरस्कार विजेता ‘ऐना’, बुद्धिसागरको ‘फिरफिरे’, घनश्याम खड्काको उपन्यास ‘निर्वाण’, डा. शंकरप्रसाद उप्रेतीको आत्मकथा ‘जीवन एक सपना’ बढी खोजिए ।

आत्मकथाको ओइरो

हाम्रो समाजको चरित्र कुरौटे हो । अर्थात्, अर्काका कुरामा चासो दिने । त्यही भएर होला आत्मकथाको बजार सबैभन्दा ठूलो छ । तर, गत वर्ष निस्केका लगभग सबैजसो आत्मकथाले पाठकलाई निरास बनाए । राजदरबारमा ३५ वर्ष काम गरेका रेवतीरमण खनालको ‘अनुभूति र अभिव्यक्ति’ र राजा त्रिभुवनका स्वकीय सचिव दयारामभक्त माथेमाको ‘अनुभव र अनुभूति’ किन्ने पाठकले ठगिएको महसुस गरे ।डा. बाबुराम भट्टराईमाथि अनिल थापाले लेखेको ‘अविराम बाबुराम’ले पाठकलाई राजनीतिबारे लेखिएका पुस्तकप्रति नै वितृष्णा उत्पन्न गराइदियो । डा. चित्रप्रसाद वाग्लेका बारेमा पारसप्रकाश नेपालले सम्पादन गरेको ‘डा. चित्र’ले पनि पाठकलाई खासै उत्साहित बनाउन सकेन ।

माओवादीका त्यागी नेता भक्तिप्रसाद पाण्डेको संघर्षमाथि लेखिएको ‘चाचा’ को शीर्षक नै पाठकले रुचाएनन् । दलाई लामाको ‘मेरो भूमि मेरा जनता’, पूर्वप्रशासक सूर्यवदना पण्डितको ‘अठोट’, पाइलट रतन लामिछानेको ‘आकाशको दुनियाँ’, पत्रकार दुर्गानाथ शर्माको ‘छाल’, राजेश्वर देवकोटाबारेको ‘विद्रोही’, अच्यूत कोइरालाले लेखेको ‘डोनाल्ड ट्रम्प’ आदिले पनि पाठकलाई खासै सन्तुष्ट बनाउन सकेनन् । बरु, वर्षको अन्तिमतिर निस्केको राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’ विवादित भइकन पनि खोजी गरिने पुस्तकमध्येमा दरियो ।

पत्रकार हरिहर विरहीको संस्मरण ‘आगो निभेको छैन’ बिक्रीमा औसत रह्यो । बेचिएर पनि समाजमा स्थापित भएकी सुनिता दनुवारको संघर्ष गाथा ‘आँशुको शक्ति’ भने स्तरीयताका बाबजुद आमपाठकको हातसम्म पुग्नबाट चुक्यो । अहिलेको पुस्ताले पढ्नैपर्ने पत्रकार पुरुषोत्तम दाहालको ‘मेरो पत्रकारिता’ ले पनि त्यही नियति बेहोर्‍यो ।

उपन्यासमा निराशा

बिक्रीमा नयाँ रेकर्ड बनाए पनि सुविन भट्टराईको ‘मनसुन’ले पाठकलाई निराश तुल्यायो । राज सरगमको ‘छाउघर’, पत्रकार देवप्रकाश त्रिपाठीको ‘महानिशा’, उमा सुवेदीको ‘इति’ बजारमा औसत रहे । चर्को हल्ला गरिएको कुमार नगरकोटीको ‘घाटमाण्डु’ले पनि प्रकाशक बुकहिललाई घाटा मात्रै लगायो । सशस्त्र द्वन्द्वप्रतिको तीव्र वितृष्णाका कारण होला, पत्रकार फूलमान वलको ‘काजोल खातुन’लाई बजारले चाहेन ।

हाम्रो समाजको चरित्र कुरौटे हो। अर्थात्, अर्काका कुरामा चासो दिने। त्यही भएर होला, आत्मकथाको बजार सबैभन्दा ठूलो छ।

पाका स्रष्टाहरूका कृति पनि गत वर्ष केही आए । प्रदीप नेपालले ‘आमाको मन’सहित दुई कृति बजारमा ल्याए । कथाकार विश्वम्भर चञ्चलले ‘धाँजो’मार्फत्् कथाकारितालाई निरन्तरता दिए । निबन्धकार इस्माली ‘श्रीको खोजी’मार्फत्् फेरि उदाए । किशोर नेपालको ‘राक्षसको गीत’, खगेन्द्र संग्रौलाको ‘उत्तरआधुनिक अन्तरेपथ’ र शरद पौडेलको ‘तपन’ ले भने पाठक र प्रकाशक दुवैलाई निराश बनाए । रत्न पुस्तकले बजारमा ल्याएको दामोदर पुडासैनी किशोरको ‘पर्खालभित्रको राजधानी’ पनि पाठकले खोजी गर्ने पुस्तक बन्न सकेन ।

केही नयाँ प्रतिभा

गत वर्ष दर्जनभन्दा बढीको संख्यामा नयाँ स्रष्टाका पुस्तक बजारमा देखापरे । तीमध्ये ‘आवरण’ उपन्यासकी जया ओझा, ‘क्रेजी लभ’ का देवराज भन्तना, ‘सिमल’ की सुष्मा खड्का, ‘प्रेमबिन्ती’ का सुमन ढकाल, ‘अवतरण’का रोमन ‘मानव’ औसत रहे । स्थापित कवि प्रोल्लास सिन्धुलीय पनि यसै वर्ष उपन्यासकारका रूपमा देखापरे । तर, ‘शून्यडिग्री’ उपन्यासले उनको कवित्वको साखमा प्रश्न उठाइदियो । नायिकासँगै उपन्यासकारको परिचय बनाउन आतुर विनिता बरालको ‘जुइनो’ले पनि पाठकलाई सन्तुष्ट बनाउन सकेन ।

वर्षको शुरुमा ‘तृष्णा’ उपन्यासमार्फत् उदाएका रविचन्द्र भट्टराईले राम्रो सम्भावना देखाए । ‘मौनता’ उपन्यास लिएर आएका चितवनका कवि सुमन घिमिरेले कथ्यमा नौलो प्रयोग गरे । कथासंग्रह ‘फुलानी’मार्फत् आख्यानकार बनेका नाट्यकर्मी खगेन्द्र लामिछाने, ‘मुदिर’ उपन्यासका स्रष्टा मीनराज वसन्त र ‘रोल्पा सुइना’ कथासंग्रहका नवीन विभास पनि उदीयमान प्रतिभामा दरिए । ‘अन्तरिक्षको धर्ती’ नामक छन्द कविता लिएर आएका सुदेश सत्याल र ‘सडक’ गजलसंग्रहका स्रष्टा कमल संघर्ष गत वर्ष उदाएका नवप्रतिभा हुन् ।

साहित्यइतरमा गुणवत्ता

साहित्यइतर विधाका पुस्तकमा भने गत वर्ष राम्रै लक्षण देखियो । केशव दाहालको ‘नेपाली राजनीतिको पुनर्गठन’, देवीप्रसाद सुवेदीको ‘वाल्मिकी र व्यास’, सिकाइ पद्धतिबारेको पत्रकार दामोदर न्यौपानेको ‘कर्म’, अर्का पत्रकार गजेन्द्र बुढाथोकीको ‘समकालीन नेपाली अर्थतन्त्र’, कृष्णप्रसाद सिग्द्यालको ‘नेपाल, छिमेक र विश्व’ आदि गत वर्ष निस्केका आ–आफ्नो विधाका राम्रा पुस्तक ठहरिए । माइलस्टोन प्रकाशनले निकालेको ‘नेपाल–भारत सम्बन्ध’ पनि स्तरीयमा दरियो ।

स्वदेश प्रकाशनले छापेको गोपीरमण उपाध्यायको ‘पूर्वीय भौतिकवाद’ पनि बौद्धिक पाठकबाट निकै रुचाइयो । अनुवादमा पनि गत वर्ष केही राम्रा पुस्तक आए । जोन हल्टको ‘असफल स्कुल’, राहुल सांस्कृत्यायनको ‘दर्शन दिग्दर्शन’, ढुण्डीराज कोइराला अनुदित ‘श्रीमद्भागवत रहस्य’, तिलकप्रसाद लुइँटेल अनुदित सत्यकेतु विद्यालंकारको उपन्यास ‘चाणक्य’ पाठकले राम्रै खोजी गरेका पुस्तकमा परे । यज्ञश अनुदित उदय प्रकाशको ‘नेलकटर’ भने बजारमा जम्न सकेन । प्रकाशन गृहहरूमध्ये नेपालय, फिनिक्स, ओरिएन्टल र लिपि बुक्स गत वर्ष अलि सुस्ताए ।

सांग्रिला र शिखा बुक्स कस्सिएरै अगाडि आए । लेखनाथ पौड्यालको ‘बुद्धिविनोद’, जगन्नाथ गुरागाईंको ‘गुणरत्नमाला’, पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’जस्ता ओझेल परेका पुराना पुस्तक पुनर्मुद्रण गर्दै मञ्जरी पब्लिकेसन अघि स¥यो । पाँचपोखरी प्रकाशनले आफूलाई जीवनी र कृषिबारेका पुस्तकमा केन्द्रित गर्‍यो । विद्यार्थी पुस्तकले धार्मिक किताबहरूको संख्या निकै बढायो । रत्न पुस्तकले गत वर्ष अलि गति लियो । पुरानो प्रकाशन संस्था साझाले गत वर्षदेखि बौरिने लक्षण देखायो । स्रष्टासँग पैसा लिएर छाप्ने नीति लिए पनि साझाले पाठकले खोजी गर्नेस्तरका पुस्तक भने बजारमा ल्याउन सकेन ।

अब्बल पुस्तक

गत वर्ष निस्केमध्येकै अब्बल कोटीको पुस्तक बन्यो, बागमती सफाइ अभियन्ता डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ । गरुड पुराणमाथि लेखिएको शारदा शर्माको उपन्यास ‘कम्पु’ राम्रै मानियो । वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक विषमताबारेको पत्रकार जनकराज सापकोटाको ‘कहर’ स्तरीय भइकन पनि प्रकाशकको कमजोरीका कारण खास बिक्न सकेन । नियात्रामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ले नयाँ रेकर्ड बनायो । कथामा राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा’को स्तरलाई उछिन्न सक्ने अरू गतिला कृति देखा परेनन् । ‘म स्त्री अर्थात् आइमाई’मार्फत् कवितामा सीमा आभासले एकलौटी बाजी मारिन् ।

 

 

प्रतिकृया दिनुहोस