MENU

साहित्य/कला

635x90

युवती र रक्सीप्रति नेपाली कलाकार कमजोर

विवश वस्ती बिहिवार, चैत्र १७, २०७३

नम्र, मृदुभाषी र अनुशासनप्रिय लाग्छन्, शक्तिवल्लभ । उनमा मौजुद यी गुणहरू उनका संगीत सिर्जनामा पनि सरेका छन् सायद । नेपाली गीत–संगीतलाई समृद्ध गोरेटोतिर तन्काउने सर्जकहरूका लहरमा पर्ने उनी यति अनुशासित छन्, घनिष्ठ सहपाठीहरू गायक रवीन शर्मा र नायक आकाश अधिकारीसमेत ‘युवती र रक्सी’ का कुरा उनीसामु राख्नै सक्दैनन् ।

खुलेरै भन्छन्, ‘युवती र रक्सीप्रति नेपाली कलाकारहरू कमजोर नै देखिन्छन् । त्यसमा अग्रज र नयाँ दुवै पुस्तामा उत्तिकै कमजोरी छन् । तर, मैले भने स्रष्टाहरू अनुशासित र नैतिकवान् हुनुपर्छ र समाजको नजरमा सदैव सम्मानित हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न चाहेँ ।’दोलखाको चरिकोट बजारमा नेवार समुदायमा जन्मिएका वल्लभले मदिरालाई ‘सगुन’ कै रूपमा पिउनुपथ्र्यो । त्यो उनको जातीय संस्कृतिकै एउटा अंग थियो । तर, अनुशासनलाई पहिलो श्रेणीमा राख्ने वल्लभले कलाकारहरूसँग बसेर कहिल्यै पिएनन् ।

भन्छन्, ‘मेरो अनुशासनप्रियतालाई सबै कलाकारले सम्मान गर्छन् ।’ व्यक्तिगत जीवनमा उनी जति अनुशासित छन्, सिर्जनाको संसारमा पनि त्यत्ति नै । गम्भीर, सुमधुर, उच्च कलाले भरिपूर्ण र मन–मस्तिष्कलाई एकै पटक झंकृत तुल्याउने संगीत सिर्जना गर्ने बल्लभले जीवनमा सिकेको कुरा हो, ‘समयलाई उचित व्यवस्थापन गर्नसक्ने र अनुशासनमा रहने मानिसले नै सफलताको शिखर चुम्छन् ।’

२०३२ सालमा दोलखाको भीम पब्लिक हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि ६ महिनासम्म जनकपुर र त्यसपछि पाटन क्याम्पसमा अर्थशास्त्र अध्ययन गरेका वल्लभ त्यतिबेलै ‘टेबल–गायक’ भने भइसकेका थिए । क्याम्पसमा टेबल ठटाएर गीत गाउँदा उनलाई साथीहरूले ‘गायक बन’ भनेर उकास्थे । ०३६ सालमा त्रिचन्द्र कलेजमा संगीत प्रतियोगिता हुँदा उनले संगीत भरेका तीन वटा गीतले प्रथम, द्वितीय र तृतीय गरी सबै पुरस्कार जितेपछि भने उनले गायनलाई भन्दा संगीत सिर्जनालाई पछ्याए ।

उनले धुन भरेका गीतहरूमा रवीन शर्मा, उमेश पाण्डे र पूर्णा थापाले पुरस्कार पाएका थिए त्यतिबेला । भन्छन्, ‘त्यसपछि मलाई संगीतमा केही गर्न सक्छु भन्ने लाग्यो र संगीत सिर्जनामा नै मैले आफूलाई तल्लीन तुल्याएँ ।’ रवीन शर्मा र वल्लभको जोडी यति जमेको थियो, ०४५ सालमा तत्कालीन श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषले आयोजना गरेको वातावरण गीत प्रतियोगितामा वल्लभको संगीत र शर्माको स्वरमा गम्किएको गीतले पहिलो स्थान पायो । उनी त्यसभन्दा दुई वर्षअघि नै कृषि विकास बैंकको अधिकृत भइसकेका थिए ।

गीतले पहिलो स्थान पाएपछि १५ हजार रुपैयाँसमेत हात पर्‍यो । भन्छन्, ‘त्यतिबेला १५ हजार ठूलो रकम थियो । जबकि, मेरो तलब १४ सय ७० रुपैयाँ थियो । एकै पटक उक्त रकम पाउनु हाम्रा लागि गर्वको कुरा थियो ।’ त्यस प्रतियोगितामा गोपाल योञ्जनले संगीतबद्ध गरेको गीतले दोस्रो स्थान पाएको थियो । अग्रजहरूलाई उछिनेर पहिलो पुरस्कार पाउँदा उनी पुलकित त भए नै, त्यसपछि भने प्रतियोगिताहरूमा सामेल हुने क्रमलाई पूरै टुटाए । त्यही गीतले उनलाई थाइल्यान्ड पनि घुमायो । एसिया–प्रशान्त क्षेत्रका देशहरूमा वातावरणसम्बन्धी गीत प्रतियोगितामा पहिलो हुनेहरूलाई थाइल्यान्ड निम्त्याइएको थियो ।

चरिकोट बजार, जहाँबाट बिहान उठ्नेबित्तिकै सौम्य र चहकिलो गौरीशंकर हिमाललाई आँखैमा टाँस्न सकिन्छ । गौरीशंकरको चिसो हावा र तामाकोशीको गुन्गुनाहट सुन्दै हुर्किएका वल्लभलाई घरमै भएका हार्मोनियम र तबलाले तान्थ्यो । भन्छन्, ‘मेरा बाजेहरू सा“झबिहान भजन गाउनुहुन्थ्यो । काका नारायणभक्त श्रेष्ठ त रेडियो नेपालको गायक नै हुनुहुन्थ्यो ।

घरपरिवार नै संगीतमय थियो । मलाई त्यही वातावरणले संगीतमा तान्यो ।’ काका र उनको जोडी यस्तो थियो कि त्यतिबेला गाउनका लागि महिला नपाइने भएकाले गाउँघर वा विद्यालयमा सांस्कृतिक कार्यक्रम हुँदा काकाले केटा र उनले केटीको स्वर दिन्थे । अझ, सुन्दर हिमाल र हरियालीपनले संगीतमा जम्न झनै उत्प्रेरित गथ्र्यो ।

भन्छन्, ‘मैले ग्रामीण भेगमा पाएको प्राकृतिक ऊर्जाले अहिलेसम्म पनि संगीत सिर्जनामा सहयोग पुर्‍याइरहेको छ ।’ लोक र शास्त्रीय संगीतको मिश्रणलाई आफ्नो सिर्जनाको स्रोत ठान्ने वल्लभले आधुनिक, चलचित्र, गजल जेजति विधामा संगीत दिएका छन्, ती सबैमा लोक र शास्त्रीय संगीतको ‘फ्युजन’ सन्निहित हुन्छन् । रेडियो नेपालले ‘प्रतिष्ठित संगीतकार’ मा श्रेणीबद्ध गरेका बल्लभको यात्रा ०४७ सालपछि भने अर्कै कुइनेटातिर मोडियो । त्यो थियो, चलचित्र संगीत–यात्रा । एक दिन निर्देशक यादव खरेलले उनलाई सम्झिए ।

आफूले निर्देशन गर्ने चलचित्र ‘आँधीबेहरी’ मा फरकखाले संगीत भर्ने मानिस खोजिरहेका खरेलले वल्लभलाई चार वटा गीत दिए । तर, चलचित्रको गीतमा संगीत भर्न मुम्बई जानुपथ्र्यो, त्यतिबेला । मुम्बईमै आश्रित थियो, नेपाली चलचित्र क्षेत्र । संगीत भर्न, डबिङ गर्न मुम्बई नै पुग्नुपथ्र्यो । चार वटा गीतमा संगीत दिएवापत उनले १० हजार रुपैयाँ पाए । भन्छन्, ‘पारिश्रमिक राम्रै पाएँ । तर, मलाई प्लेन चढाएर मुम्बईसम्म लगेर आउँदा र मुम्बईमा ८/१० दिन बस्दाको खर्च जोड्ने हो भने राम्रै पारिश्रमिक पाएको मान्नुपर्छ ।’

नेपाली गीत संगीतलाई समृद्ध गोरेटोतिर तन्काउने सर्जकहरुका लहरमा पर्ने अनुशानप्रिय संगीतकार शक्ति बल्लभले स्रष्टाहरु अनुशासित र नैतिकवान हुनुपर्छ र समाजको नजरमा सदैव सम्मानित हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न चाहे ।

भारतीय कलाकारहरू कविता कृष्णमूर्ति र साधना सरगमका साथै उदितनारायण झा र रवीन शर्माले ती चार गीतमा स्वर भरे । भन्छन्, ‘मेरो पहिलो मुम्बई यात्रा प्रभावपूर्ण रह्यो ।’ मुम्बई–यात्राले उनलाई अर्को फाइदा पनि दिलायो, भारतीय संगीत–संयोजक उत्तम सिंहले सिफारिस गरेपछि उनले अर्को चलचित्र ‘चोखो माया’ मा संगीत गर्ने अवसर पाए ।

त्यसपछि चलचित्रका गीतहरू रेकर्डिङ गर्ने क्रममा पटक–पटक मुम्बई पुगे उनी । ‘बम्बईमै बसेर संघर्ष गर’ उनको प्रतिभा देखेर भारतीय संगीत–संयोजकहरूले उनलाई उत्प्रेरित गर्थे, बेला–बेला । भन्छन्, ‘घरपरिवार आफैँले हेर्नुपर्ने र बैंकको जागिर भएकाले मैले मुम्बईमा रहेर स्ट्रगल गर्ने सपना कहिल्यै देखिनँ ।’ अचेल उनलाई एउटा कुराले औधि खुशी तुल्याउँछ ।

त्यो हो, चलचित्र संगीतमा मुम्बई आश्रित हुने स्थितिको अन्त्य हुनु । भन्छन्, ‘मुम्बईमा गएर चलचित्रका गीतहरू रेकर्डिङ गर्ने कुराको अन्त्य गर्न मैले पनि पहल गरेँ । गुणस्तरमा केही कमी भए पनि नेपालमै चलचित्रका गीतहरू रेकर्डिङ गर्नुपर्छ भनेँ । अब मुम्बई जाने कुरा अतीतको विषय भइसक्यो । हामी आफ्नै खुट्टामा उभिन सक्यौँ, यसलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्छ ।’ अढाई दर्जन चलचित्रमा संगीत दिइसकेका र सयौँ गीतलाई सुमधुर धुनले सजाइसकेका वल्लभले यति चर्चित गीतहरू जन्माए, चलचित्र ‘सिमाना’ का गीतहरूले त ‘चिनो’ को रेकर्डलाई समेत तोड्न पुगे ।

४० वटा एल्बममा संगीत दिइसकेका वल्लभले ‘उकाली ओराली गर्दै’, ‘सप्तरंगी फूलै फुल्यो’, ऐनै ऐनाको रहेछ’, ‘खोला वारि खोला पारि’, फूलको डाली डालीमा’, ‘सारंगी त रेटे पनि’ जस्ता चर्चित गीतमा आफ्नो सीप पोखेका छन् । तर, ०५५ सालतिर गजल–सम्राट गुलाम अलीलाई एउटा गीत गाउन लगाउँदाको रोचक अनुभव सँगालेका छन्, उनले । त्यतिबेला, नेपालको एउटा कन्सर्टमा गाउन पाकिस्तानबाट आएका थिए, अली । तर, नेपाली आयोजकसँग पारिश्रमिकमा कुरा नमिलेपछि अलीले गाउने मुड देखाएनन् । वल्लभ र गीतकार एस्पी कोइराला भने अली नेपाल आएको फाइदा उठाउँदै एउटा गीत गाउन लगाउन चाहन्थे ।

काठमाडौंकै एउटा स्टुडियोमा वल्लभ र कोइराला भेट्न पुगे, अलीलाई । र, गीत गाइदिन प्रस्ताव राखे । मुड बिगारेर बसिरहेका अलीले स्वीकृति दिँदै भने, ‘सुनाउनुस् न त ।’ गीत सुनाउन तम्सिहाले, वल्लभ । भन्छन्, ‘गजलको त्यत्रो ठूलो स्टारलाई गीत सुनाउन लाग्दा ममा कताकता डर पलाइरहेको थियो । तर, मैले सुनाएँ ।’ वल्लभले गाएको सुनेपछि अलीले भने, ‘तपार्इं यति मीठो गाउनुहुँदो रहेछ, आफैँचाहिँ किन गाउनु हुन्न ?’ केहीबेर कुराकानी भयो । अलीले पुनः गाउन लगाए र त्यो गीत उर्दूमा टिप्न थाले ।

तेस्रो पटक त गीत टिपेर उनी गाउन तयार नै भए । र, एक घण्टामै रेकर्ड भयो, ‘नहुँदामा एउटा पिर, भएपछि हजार पिर/माया भयो जिन्दगीमा वल्लो घाट न पल्लो तिर...।’तीन महिनाअघि मात्रै कृषि विकास बैंकको जोखिम व्यवस्थापन विभाग प्रमुखमा छँदा अवकाश पाएका वल्लभलाई बैंकर र संगीतकारको फरक–फरक भूमिका निर्वाह गर्न मुस्किल पथ्र्यो । भन्छन्, ‘बैंकिङ भनेको मस्तिष्कले काम गर्ने क्षेत्र हो र संगीत हृदयले । तर, मैले आफ्नो दिल र दिमाग दुवैलाई समायोजन गर्न सकेँ ।

म यी दुई फरक क्षेत्रबाट सन्तुष्ट छु ।’ धनगढी, भैरहवा र काठमाडौंको क्षेत्रीय प्रमुख रहँदा कतिपय मानिस उनीकहाँ बैंकिङ कारोवार गर्न आउँथे । उनीहरू नेमप्लेट पढ्दै आश्चर्य मान्थे, ‘ए, संगीतकार शक्ति वल्लभ तपाईं नै हो ?’ त्यसपछि भने ती मानिस उनलाई बैंकर नभई एक नामी स्रष्टाका रूपमा हेर्न थाल्थे । भन्छन्, ‘मलाई हेर्ने दृष्टिकोण नै अर्कै हुन्थ्यो ।’

त्यसो त, बैंकको जागिरेले आफूलाई सिर्जनाको धरातलमा रमाउन धेरै नै सहयोग पु¥याएको उनको अनुभव छ । भन्छन्, ‘तनाबमा हुँदा कुनै पनि सर्जकले सिर्जना गर्न सक्दैनन् । तर, म आर्थिक रूपले सुरक्षित भएको हुँदा कहिल्यै आर्थिक तनाबमा फसिनँ र त्यही कारण सिर्जना गर्न सकेँ । मेरा कतिपय साथी आर्थिक तनाबले गर्दा नै सिर्जनामा पछि परेका छन् ।’

हिमाली जिल्लाका भए पनि वल्लभले बिहे भने तराई अर्थात् सिरहाकी नेवार परिवारकै कन्यासँग गरे, ०४५ सालमा । विद्यालय वा कलेज पढ्दा कुनै युवतीको प्रेमजालमा नपरेका वल्लभले परिवारले भनेकै, रोजेकै केटीसँग बिहे गरे । उनका एक छोरा अमेरिकामा अध्ययन गर्दैछन् भने छोरीचाहिँ नेपालमै । हुन पनि, जागिर र संगीत सिर्जनामा उनी यति डुबे कि कुनै पनि सुन्दरी ठोक्किन आइपुगिनन्, जीवन–यात्रामा । सुर्तिजन्य पदार्थहरू अहिलेसम्म मुखमै नहालेका उनमा न त तास खेल्ने बानी छ, न त अरू फाल्तु कामहरूमा रुमल्लिने समय ।


हरेक बिहान सिर्जनामा रमाउने उनले ९० प्रतिशत संगीत त बिहानकै समयमा गरेका छन् । भन्छन्, ‘बिहानको समय ऊर्जावान् हुन्छ । बिहान संगीत गर्दा दिमाग सफा र शून्य पनि हुन्छ र त्यसले सिर्जनाका लागि सहयोग पुर्‍याउँछ ।’ नेपाली संगीतमा सम्भवतः पहिलो गजल एल्बम ‘गजल’ निकाल्ने वल्लभ आफूलाई धेरै सन्तुष्टि भने बालगीतमा संगीत गर्दा मिलेको अनुभव बताउँछन् । भन्छन्, ‘मैले मस्कुलर रोगबाट पीडित बालबालिकाहरूको सहयोगका निम्ति तीन वटा एल्बम निकालेँ । ती एल्बममा बालबालिकाकै स्वर छन् । बालगीतमा संगीत भर्दा जति आनन्द आउँछ, त्यति अरू गीतमा आउँदैन ।’

जीवनका ५८ जँघार तरिसकेका बल्लभले एउटा धोको भने कहिल्यै पूरा गर्न सक्दैनन् । ०४५ सालतिर उनले स्वरसम्राट नारायणगोपालको स्वरमा सजाउन एउटा गीत ठिक्क पारेका थिए । तर, लामो बिमारीले गर्दा नारायणगोपालले ‘रियाज’समेत गरेको त्यो गीत रेकर्ड हुन सकेन । बिरामीले थलिएर त्यसको केही वर्षपछि त नारायणगोपालको दुःखद् निधन भयो ।

उदास र भावशून्य अनुहार लगाउँदै वल्लभ भन्छन्, ‘नारायण दाइको स्वरमा एउटा गीत रेकर्ड गर्ने इच्छा थियो, त्यो अपूरै रह्यो ।’ स्वरसम्राटको स्वरमा आफूद्वारा संगीतबद्ध गीतलाई सजाउन नपाए पनि वल्लभले पछि भने उनका नाममा स्थापित दुई पुरस्कार प्राप्त गरे, नारायणगोपाल युवा संगीत र नारायणगोपाल राष्ट्रिय प्रतिभा पुरस्कार ।

 

 

प्रतिकृया दिनुहोस