MENU

साहित्य/कला

635x90

साहित्यमय पोखरा

केशवशरण लामिछाने, पोखरा बिहिवार, माघ २७, २०७३

थोत्रो भइसकेको एउटा भनाइ छ ‘साहित्य समाजको ऐना हो ।’ पोखरामा १४ देखि १७ माघसम्म भएको साहित्य महोत्सवमा सहभागी भएकाले भन्न सक्छन्, साहित्यिक कार्यक्रम पनि समाजको ऐना हो । नेपाल लिट्रेचर फेस्टिवल शीर्षकमा भएको महोत्सवमा कला/साहित्य अनि संगीतको जत्तिकै समसामयिक विषयमाथि थुप्रै सत्रमा छलफल चले ।

राजनीतिक अस्थिरताका बीच मूलधारमा चलिरहेको समृद्धिको बहस साहित्य महोत्सवको केन्द्रमै थियो ।१४ माघदेखि १७ सम्म फेवाताल किनारमा भएको महोत्सवको शुरुको सत्रमै ‘पोखराः अबको परिकल्पना’मा रहेर संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी र बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले समृद्धि र विकासका विषयमा कुराकानी गरे ।

चार दिनसम्म विकास र राजनीति बारेका ताता बहस भए । लोडसेडिङ अन्त्य गरेर चर्चित बनेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्वास्थ्य मन्त्री गगन थापाले देशको निराशाजनक माहोलमा चाँदीका घेरा बनेर आशा बाँडे । चीन र भारतको आर्थिक वृद्धि दोहोरो अंकमा गइरहेका बेला नेपालले पनि समृद्धिको बाटो समात्नुपर्ने अत्यावश्यकताकै कारण समृद्धि र विकासका बहस महोत्सवमा समेटिएको बुकवर्म फाउन्डेसनका निर्देशक अजित बराल बताउँछन् ।

महोत्सव उद्घाटनकै अवसरमा शिक्षाविद् केदारभक्त माथेमाको सम्भाषणले देशको परिस्थितिलाई प्राज्ञिक आँखाबाट देखायो । उद्घाटन गर्दै आख्यानकार ध्रुवचन्द्र गौतमले यस्ता महोत्सव विचार निर्माणको मझेरी हुने विचार व्यक्त गरे । हुन पनि त्यस्तै भएको बताउँछन् फेस्टिवललाई पोखरा ल्याउन पहल गरेका सभासद रवीन्द्र अधिकारी । भन्छन्, ‘पोखरामात्रै होइन समग्र देशकै विकास र समृद्धि अनि कला/साहित्यको विकाससहितको समृद्धिको बहस हुन सकेको छ ।’साहित्य महोत्सवले पोखराको पहिचानमा माछापुच्छ्रे, फेवातालसहित अर्काे रूप दिएको उनको धारणा छ ।

पर्यटन बोर्डका सीईओ दीपक जोशीको मत पनि यस्तै रहेको छ । भन्छन्, ‘पर्यटनका गन्तव्य भनेको जिब्रोको लागि, आँखाका लागि र किनमेलका लागि मात्रै हुन्छन् भन्ने होइन, दिमागका लागि पनि हुन्छन् भन्ने पोखरामा भएको लिट्रेचर फेस्टिभल एक उदाहरण भएको छ । पोखरामा नयाँ गन्तव्य थपिएको छ ।’

फेस्टिवलमा भारतीय चर्चित लेखकहरू उदय प्रकाश, रामचन्द्र गुहा र दुर्जय दत्ता आकर्षक पाहुना बने।

बुकवर्मले ६ वर्षयता बर्सेनि गर्दै आएको महोत्सवले नेपाली साहित्यमा प्रभाव देखाइसकेको बताउँछन् लेखक कुमार नगरकोटी । भन्छन्, ‘आजको भोलि नै यसको प्रभाव देखिने होइन, तर पठन संस्कृतिमा यसले धेरै योगदान पुर्‍याइसकेको छ ।’ उपन्यासकार राजन मुकारुङ पाठकसित प्रत्यक्ष साक्षात्कार गर्न पाएकोमा खुशी साट्छन् ।

‘साहित्यकारैबीच पनि अन्तरविमर्श भएको छ, साहित्यको श्रीवृद्धिमा महोत्सवले योगदान दिइरहेको उनी बताउँछन् ।’ महोत्सवका सहभागी दिनेश आचार्य राष्ट्रियस्तरमा चिनिएका साहित्यकार र विज्ञलाई आफ्नै ठाउँमा भेटेर अन्तक्र्रिया गर्न पाएकोमा दंग भए । फेस्टिवलमा भारतीय चर्चित लेखकहरू उदय प्रकाश, रामचन्द्र गुहा र दुर्जय दत्त आकर्षक पाहुना बने ।

गजल र कविता वाचनले मात्रै होइन मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रहसनका चास्नी पनि साहित्यानुरागीले चाखे । मिडिया अनुसन्धाता शेखर पराजुली महोत्सवका छोटा सत्रका छलफलले विषयबारे धेरथोर जानकारी दिन सकेको बताउँछन् । बुकवर्म फाउन्डेसनले नेपाल लिट्रेचर फेस्टिवलको पाँचौँ संस्करणदेखि राजधानीबाट दुई सय किलोमिटर परको पोखरा शहरसम्म सारेको हो ।

फाउन्डेसनका निर्देशक निरज भारीले अर्काे वर्ष पनि पोखरामै आयोजना गर्ने उद्घोष गरेका छन् । फाउन्डेसनलाई पोखरामा ¥यान्डम रिडर्स सोसाइटी अफ नेपालले साथ दिएको थियो । फाउन्डेसनका निर्देशक अजित बराल महोत्सवका छलफलबाट लेखक र पाठकलाई निखार्न योगदान पु¥याउन सकेको बताउँछन् ।



 

प्रतिकृया दिनुहोस