MENU

साहित्य/कला

635x90

लन्डन राम्सगेटको वैभव

कुमारी लामा आइतवार, माघ २३, २०७३

२२ जुलाई २०१३
एक्लै यात्रिनुको मजा बेग्लै छ । अपरिचितहरूका माझ पूर्ण अपरिचित भइरहन पाउनुको आनन्द सायदै देला जानपहिचानहरूको भीडले । यिनै अजनवीहरूको भीडमा मिसिने तम्साइ हो यो यात्रा । दक्षिणपूर्वी लन्डनको केन्ट काउन्टीमा अवस्थित कोस्टल टाउन, राम्सगेट । भर्खरै बिसाएकी छु तीनघण्टे कोच यात्राले अलिकति थाकेको ज्यान । द ओक होटल रुम नम्बर ३०१ ।

सानो तर सफा र चिटिक्क मिलाइएको कोठा । होटलको बसाइको रोमाञ्चकता छुट्टै छ । अर्काले मिलाइदिएको ओछ्यान, सफा गरिदिएको बाथरुम र झुन्ड्याइदिएको टावलसँगको केही दिने सामीप्य । उही पनि बसिदिन्छ लामै समयसम्म मनमा । अनलाइन बुकिङ गर्दा कल्पेकै थिइनँ यो होटल समुद्रबाट यति नजिक होला भनेर । मात्र दुई मिनेटको दूरीमा फैलिएको छ विशाल समुद्र । मन बहुत फुरुंग छ ।

राम्सगेटको बालुवा भएको समुद्री किनार टेक्दै छु । ब्राइटनको पेबल बिचभन्दा बिलकुल फरक महसुस हुन्छ । बालुवाको कोमल गुद्गुदी फैलँदै छ पाइतालामा । सेतो फिज बोकेका अनगिन्ती छालहरू निरन्तर नजिकिदै छन् किनारातिर र फेरि फर्कदै छन्, आफ्नै ठाउँमा । २४, २५ डिग्री तापक्रमको न्यानो दिनले उत्साहित पारेको छ, घामप्रेमीहरूलाई । समुद्री किनार भरिने क्रम जारी छ ।

रंगीचंगी स्विमसुटमा सजिएका केटाकेटीको एक झुण्ड मस्त छन्, भलिबल खेल्न । मेक्सिकन कार्निभलको झलक दिँदै छ, यो समुद्री किनारको कलरफुल चहलपहलले । टाइटानिक शैलीमा हात फिजाउँछु र लिन्छु गहिरो श्वास । मजाको तरंग फैलिन्छ शरीरभरि । त्यसमाथि यी छालहरूको निरन्तरको छुवाइले अलि बढी नै छोइएकी छु । बालुवामा नाम लेख्छु, कुमारी, समुद्रसँगको परिचयको सुरुवात । लाग्छ, अब उसले मलाई बिर्सने छैन । विगतलाई खोतल्दा राम्सगेटको ऐतिहासिक महत्वको कुरा थाहा लाग्छ ।

थोरै गमक्क पर्छु आफ्नै च्वाइसमा । द रोयल हार्वर राम्सगेट । यो लन्डनको एउटै मात्र रोयल हार्वर हो । राजा जर्ज चौधौँले सम्मान स्वरूप थपिदिएका हुन्, रोयल यस हार्वरको नाममा । गजब लाग्यो बुझ्दा । हामीले मान्छेलाई गर्ने अनरका कुरा सुन्छौँ तर ठाउँलाई पनि यसरी अनर गरिने रै’छ । कुरो अरू पनि उप्किदै छ यस ठाउँका बारे ।

यो समुद्री बन्दरगाह अठारौँ र उन्नाइसौँ शताब्दीमा मुख्य ग्यारिसन टाउनको रूपमा प्रयोग भएको रहेछ । यहीबाट दशौं हजारका संख्यामा सैनिकहरू विभिन्न युद्धमा पठाइएका रहेछन् । त्यति मात्र नभई दोस्रो विश्वयुद्धमा डनकर्कबाट रेस्क्यु गरिएका सैनिकहरूलाई यही पोर्ट मुख्य अवतरण केन्द्रको रूपमा प्रयोग गरिएकाले पनि यसको भिन्न महत्व रहेछ । आज पनि यही हार्वरबाट बेल्जियमका लागि फेरि सञ्चालनमा छन् । यो मेरा सामु फैलिएको विशाल समुद्र यी दुई देशलाई निरन्तर जोडिरहेछ ।

दिमागमा खेल्दै छ, जो राम्सगेटको ठ्याक्कै विपरीत दिशामा इङल्यान्डको दक्षिणपश्चिम भागमा पर्ने टाउन बाथ । बाथमा अठारौँ शताब्दीको जर्जियन आर्किटेक्चरको सुन्दर र आश्चर्यजनक भवनहरू छन् । यहाँ राम्सगेटमा पनि भिक्टोरियन र जर्जियन आर्किटेक्टचरका सुन्दर संरचनाहरू रहेछन् । इस्ट क्लिफमा अवस्थित विशाल भवनहरू नेल्सन क्रेसेन्ट र वेलिन्ङटन क्रेसेन्ट यसका सुन्दर उदाहरण हुन् ।

वेलिङटन क्रेसेन्टको अद्भुत संरचनालाई नियाल्दै गर्दा एक झड्का आश्चर्य उम्लिन्छ आँखामा । कारण यही भवनको अनगिन्ती ढोकाहरूमध्ये एउटामा भने एक परिचितको नाम छ । ढोका नम्बर ३ मा लेखिएको छ स्याम्युल टेलर कलिरिज (१७७२। १८३४) । यी सानदार कलाकर्मी यहाँ बसेका रहेछन् । यही मनोरम ठाउँमा रहेर सिर्जेका हुनन् अनेकन् कालजयी सृजना ।

हुन सक्छ कुब्ला खाँ या राइम अब दि एन्सियन्ट मरिनर यतैकतै अंकुराएको हो । अजनवी सहरमा टहलिरहँदा जब फुत्त टप्किन्छन् कोही चिनारु तब त गुल्जार हुन्छ मन । म समुद्री तट वरपरमै सीमित छु यतिखेरसम्म साँझको संकेत, पहेलिँदै पश्चिम सर्दै गरेको घाम । बिस्तारै पातलिँदै गरेको समुद्री किनार । दिनभरको समुद्री छालसँगको छुकछुक, पूरा हार्वरको घुमाइ, राम्सगेट मार्केटसँगको चिनजान, शरीर त थाक्ने नै भयो । तर के चिन्ता द ओक होटलको मुलायम बिस्तरा छँदै छ । उतै लम्कदै छन् पाइला ।

२३ जुलाई २०१३
बिहानीको राम्सगेट कोस्ट आँखैमा राखिरहुँ जस्तो । खुलेको आकाश, आँखाले भ्याइन्जेलको नीलो समुद्र, सिर्सिराइरहेको चुलबुले बिहानी बतास । स्वागतमा मुस्कुराइरहेको समुद्री किनारको बेल्जियन क्याफे । यात्रामा भेटिने यस्ता स–साना क्याफेहरूले छुट्टै महत्व राख्छ, कम्तीमा मेरा लागि । क्याफेमा कफी मात्र हैन विभिन्न पात्रहरू पनि भेटिन्छन् । त्यसमाथि यो पर्यटकीय राम्सगेटको क्याफेमा त विभिन्न देशका यायावरहरू पनि प्रशस्तै । अर्डर गर्छु ब्ल्याक अमेरिकानो र क्यारोट केट त्यही पनि क्रिमसहितको ।

यात्रामा अलिअलि मुख छाडेकै मजा । खानामा पनि स्वतन्त्रता चाहिन्छ कहिलेकाहीँ ।हिजोको भीडभाड समुद्री किनार यो बिहानीमा एक्लै छ । शान्त छालहरू पनि उत्ति छैन । अलिकति स्यान्डी बिच भए पनि फेरि समुद्रको अन्य भाग प्रिजब गरिएको छ बार लगाएर । समुद्री किनार राजमार्ग पनि हो । साथै मान्छे हिँड्ने फरक लेन पनि छ । म त्यही लेनबाट रमणीय समुद्री दृश्य हेर्दै अघि बढ्छु ।

अबको मेरो गन्तव्य वेस्ट क्लिफ । वास्तवमा राम्सगेट इस्ट र वेस्ट क्लिफ गरी दुई भागमा बाँडिएको रै’छ । इस्ट क्ल्फिको भव्य जर्जियन संरचनाहरू बिहानीको किरणमा टल्किरहेछ । वेस्ट क्लिफ भने अलि अलग्गै एक्लो एक्लो लाग्छ । अघ एकछिन स्यार्रर परेको पानी रोकिइसकेको छ । घामका मधुरा किरणहरू पानीमा छुँदाको आकर्षक दृश्य नियाल्दै अघि बढ्दै छु म । 

आज बिल्कुल हतार छैन । उता समुद्र किनारमा जस्तो भीडभाड नहुने रै’छ यता । एकाध मानिसहरू टहलिँदै छन् अनि कुनै कुनै ठाउँमा भने माछाको दाउमा बल्छी डुबाएर कुरिरहेका छन् । उनीहरू भने हेमिङवेको स्यान्डिआगो जति निराश हुनु पक्का नपर्ला (द ओल्ड म्यान एन्ड द सी) । राम्सगेटको मुख्य व्यवसायमा पर्यटन र फिसिङ नै हो ।

म आफ्नै तालमा टहलिँदै गर्दा कुकुर डुलाउँदै गरेकी एक महिला मेरै छेउबाट गुज्रन्छिन् । हाम्रा आँखा जुध्छन् र उनी अनायाशै मुस्कुराइदिन्छिन् । म पनि जवाफ मुस्कानले नै दिन्छु । परिचयको आवश्यकता नै नपर्ने रहेछ कतिपय परिस्थितिमा । सायद यो मौसम र मनोरम ठाउँको असर होला । राम्सगेट पोर्टबाट लगभग आधा घण्टा समुद्र किनारै किनार हिँडेपछि पुगेकी छु वेस्ट क्लिफ ।

पूरै सेतो चट्टान । यो सेतो भित्तामा समुद्री छालका डोबहरू प्रशस्तै छन् । पाँचवटा त निकै गहिरा प्वालहरू नै । छालहरूको निरन्तर हिर्काइको दाग । घाम, पानी, हुरी बतास र यी छालहरू सहेर बलियो र अडिग उभिएको छ यो चट्टान । म यहीबाट समुद्र र उसको छाल नियाल्छु फेरि एकपटक । हिजोदेखिको समुद्र सामीप्य आजसम्मको मात्रै न हो । हामी हिमालका देशका मानिस समुद्र भनेपछि उसै पनि हुरुक्कै । जे छैन त्यसैको चाह हुँदो रै’छ मान्छेलाई । वेस्ट क्लिफ पुग्ने बेलाबाटै सुरु हुन्छ सुरुङमार्ग ।

म देख्दै छु, बिलाउँदै र निस्कँदै गरेका गाडीहरू । कल्पन्छु आफ्नो देशमा पनि यस्ता सुरुङमार्गहरू भइदिए कति सहज हुन्थ्यो होला राजधानी र मोफसल जोडिन । अनि प्रत्येक बर्खामा पन्ध्रौं घण्टा राजमार्ग अवरोध झेलेर सिकिस्त हुनुपर्ने दिनहरू पनि सकिन्थे । अब राम्सगेट मेन पोर्टतिरको फिर्ती सवारी । अघि जस्तै आधा घण्टाको हिँडाइपछि पुग्छु मुख्य पोर्ट । फरक भइसकेको छ माहोल । म सहर नउठ्दै हिँडेकी थिए । यतिखेर भने मसँग मिसिन आइसकेका छन् अनगिन्ती मानिसहरू । देख्दै छु, समुद्री किनारमा बढ्दै गरेको भीड ।

म पोर्ट नजिकैको म्यारिटाइम म्युजियममा पस्छु । यो म्युजियम मुख्यगरी जहाजहरू र यही हार्वरको इतिहास बुझाउने संग्रहालय रहेछ । पुराना जहाजदेखि त्यसको इन्जिन, क्रु मेम्बरले प्रयोग गरेका भाँडाकुडा, कपडा आदि राम्रै संरक्षित छन् । प्रत्येक संग्रहालय इतिहास चिहाउने एक आँखिझ्याल हो । विगतको एक हिस्सालाई कति सहजै जीवन्त बनाइदिन सक्छ संग्रहालय । त्यसैले पनि कुनै ठाउँको घुमाइमा संग्रहालय एक प्रिय र नछुट्ने ठाउँ हो मेरा लागि ।

प्रतिकृया दिनुहोस