MENU

अन्तरवार्ता

635x90

बीपीसँग सहयोग लिएर ‘समीक्षा’ निकालेँ : मदनमणि दीक्षित

विवश वस्ती बुधवार, कार्तिक २२, २०७४

२०१४ सालदेखि पत्रकारिता थालेका मदनमणि दीक्षितले ३९ वर्षसम्म सक्रिय पत्रकारितामा आफूलाई भिजाए । उनको सम्पादनमा प्रकाशित ‘समीक्षा’ पञ्चायतकालभरि शासकहरूको बक्रदृष्टिमा परेको थियो । यो समाचारका साथै विचार र विश्लेषणयुक्त समाचारपत्रको श्रेणीमा दरिएको थियो । ‘समीक्षा’मा प्रकाशित सामग्रीहरूको आधारमा तत्कालीन प्रशासकले पटक–पटक बयान लिने र प्रतिबन्धसमेत लगाउने, प्रतिबन्ध फुकुवा गर्न दौडधुप गर्नुपर्नेजस्ता तीता यथार्थ झेलेका दीक्षित पछिल्लो समय भने वैदिक साहित्यको अध्ययन, अनुसन्धान र लेखनमा जुटे । ‘माधवी’ उपन्यासका स्रष्टा दीक्षितले वैदिक वाङमयमा आधारित तीन दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेका छन । ९५ वर्षीय दीर्घसाधक दीक्षितसँग विगत र अहिलेको पत्रकारिताका सन्दर्भमा विवश वस्तीले गरेको कुराकानीः

‘समीक्षा’ साप्ताहिकको प्रकाशन थाल्नुपूर्व तपाईं ‘हालखबर’को प्रधानसम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो । किन ‘हालखबर’ छाडेर ‘समीक्षा’ निकाल्न थाल्नुभयो ?

तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा जाँदा उहाँसँगै ‘हालखबर’बाट पनि पत्रकार जाने भन्ने टुंगो भयो । तर, चीन भ्रमणका लागि पत्रकार पठाउने सन्दर्भमा ‘हालखबर’ले आफ्नो पारिवारिक नातागोतालाई रोज्न पुग्यो । ‘हालखबर’को प्रधानसम्पादकको हैसियतले मैले आफू अपमानित भएको महसुस गरेँ । त्यसैले, सो पदमा रहन उपयुक्त ठानिनँ र राजीनामा दिएँ । सोबाहेक ‘समीक्षा’मा पूर्ण निजी विचार प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्यो र त्यसको प्रकाशन प्रारम्भ गरेँ ।

‘समीक्षा’को प्रकाशन विशुद्ध पत्रकारिता गर्ने उद्देश्यले शुरुवात भएको थियो कि तत्कालीन व्यवस्थाका कमजोर पक्षहरूलाई उधिनेर जनसमक्ष ल्याउने उद्देश्यले बढी प्रेरित थियो ?

विशुद्ध पत्रकारिता भनेको के हो, यसबारे मैले आजसम्म बुझेको छैन ।

तपाईं पहिला वामपन्थी राजनीतिप्रति निकट हुनुहुन्थ्यो । तर, ‘समीक्षा’ प्रकाशनका वेला वामपन्थी राजनीतिप्रति तपाईंको मोह टुटिसकेको थियो भनिन्छ । कारण के थियो ?

सन १९४७ देखि म कार्ल माक्र्स, भ्लादिमिर इल्यिच लेनिनको विचारबाट प्रभावित रहेँ र सन १९४८ मा मैले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएँ । तर, २०४१ सालमा मैले कम्युनिस्ट पार्टी छाडेँ । तर पनि आजसम्म कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवादमाथिको केही अंशमा अझैं  पनि विश्वास गर्छु ।

आफ्नो पत्रकारिताको जीवनकालमा तपार्इं तत्कालीन सोभियत संघप्रति झुकाव राख्नुहुन्थ्यो, हैन ?

त्यतिवेला सबैजसो देशका राजनीतिक पार्टीका बहुसंख्यक माक्र्सवादीहरू सोभियत संघप्रति आस्थावान थिए । २०१७ सालमा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले मलाई एक पत्रकारको हैसियतले सोभियत संघको मैत्रीपूर्ण भ्रमणमा पठाउनुभयो । मलगायत १७ जनाको संसदीय शिष्टमण्डल थियो ।

तत्कालीन समयमा कम्युनिस्टहरू रूस र चीन दुई धु्रवमा बाँडिएका थिए । तपाईं सोभियत धु्रवप्रति नजिकिनुको कारण के थियो ?

मैले कम्युनिस्ट पार्टीको सदस्यता लिँदा सोभियत संघप्रति ममा पूर्ण आस्था थियो । २०२१ सालदेखि रूस र चीनमा विभाजन भयो । त्यतिवेला विभाजन हुँदा चिनियाँ पक्षले ‘माओ त्सेतुङको विचार’ नामक पुस्तिकाको निकै प्रचार–प्रसार गरेकोे थियो । एउटा प्रचार कस्तो गरिएको थियो भने, एक पटक एउटी घोडी ब्याउन सकिन । ब्याउन नसकेर छटपटाएपछि चिनियाँ कम्युनिस्टहरूले माओको पुस्तकबाट दुइटा वाक्य ती घोडीलाई सुनाइदिए । त्यो वाक्य सुनेपछि घोडी सजिलै ब्याइन । मैले त्यस्तो चिन्तनलाई स्वीकार गर्न सकिनँ र सोभियत संघतिर मेरो झुकाव रहयो । र, सोभियत संघको विघटन हुनुभन्दा पहिलेसम्म मैले पार्टी समर्थक राजनीतिमा अडिग रहने प्रयत्न गरेँ ।

भनिन्छ, तत्कालीन समयमा कतिपय पत्रकारहरू दरबारको हण्डी खाएर पत्रकारिता गर्थे । तपाईंले पनि रूसी दूतावासको सहयोग लिएर ‘समीक्षा’ निकाल्नुहुन्थ्यो भन्ने गरिन्छ नि ?

तत्कालीन समयमा नेपालको पत्रकारिता क्षेत्रका सम्पादक र प्रकाशकहरू द्रव्यहीन व्यक्तिहरूमा गनिन्थे । पत्रिका प्रकाशनका निम्ति तिनीहरूले अन्य कसैबाट आर्थिक सहायता लिनुपथ्र्याे । ‘समीक्षा’ले शुरुका दिनहरूमा बीपी कोइरालासित आर्थिक सहायता लिनुपरेको थियो । पछि, बीपीले नै सूचना विभागमार्फत पत्रिकाहरूलाई विज्ञापन दिने प्रबन्ध मिलाउनुभएको थियो ।

त्यो समयमा गणेशमान सिंहले बीपीसँग मेराबारे कुरा लगाउनुभएको थियो । बीपीलाई गणेशमानले ‘रूसको ठूलो आर्थिक सहायताले मदनमणिले ग्रान्ड स्टुडियो चलाइरहेको छ’ भन्नुभएको सुनेँ । गणेशमानको त्यस्तो कुरालाई बीपीले हाँसेर उडाइदिनुभएको थियो ।

तर, मेराबारे अरूको दासत्वको आरोप लगाउनेहरू आजको तुलनात्मक समृद्ध नेपाली पत्रकारितामा पनि विदेशी पैसाको चलखेल चलिरहेको देखिएको छ । त्यस्ता केही नेपाली पत्रिकामा देशभक्तिको भावना हुनुभन्दा पनि तिनका प्रस्तुतिमा विदेशभक्ति प्रबल रहेको पाएको छु । तर, मैले ‘समीक्षा’ निकाल्दा न रूसीहरूबाट रकम लिएँ, न त उनीहरूले मलाई दिन नै आए ।

तपाईंले पत्रकारिता गर्नु हुँदा कत्तिको दबाब महसुस हुन्थ्यो । प्रायः दबाब कहाँबाट आउँथ्यो ?

‘समीक्षा’को प्रकाशनताका काठमाडौंको प्रमुख जिल्ला अधिकारीकहाँ गएर पटक–पटक बयान दिनुपरेको अनुभव छ । र, पटक–पटक प्रतिबन्धमा पनि पर्नुपरेको थियो । सीडीओकहाँ बयान दिनुभन्दा केही कम पटकचाहिँ अञ्चलाधीशको कार्यालयमा गएर बयान दिई प्रतिबन्धमा पर्नुपरेको तीतो अनुभव छ, मसँग ।

तर, आफै‌लाई सताउने शासकहरूप्रति पछिल्लो अवधिमा भने तपाईं केही लचिलो बन्नुभयो भन्ने गरिन्छ नि ?

पत्रकार र शासकहरूबीच न स्थायी शत्रुता हुन्छ, न स्थायी मित्रता रहन्छ ।

आजको पत्रकारितामा ‘पेड न्युज’को चर्चा हुने गर्छ । तपाईंको समयमा त्यस्तो ‘पेड न्युज’को चलन कत्तिको थियो ?

पेड न्युज कस्तो छ भन्ने आधारमा यो प्रश्नको जवाफ दिन सकिन्छ । आज पनि म देख्छु, केही विदेशी सरकारले आफ्नो राष्ट्रिय स्वाधीनताको दिवसमा भएका भाषण वा स्वाधीनता विवरणबारे पत्रपत्रिकालाई सामग्री पठाउने गर्छन । ती सामग्री छापिए भने सोवापत ती विदेशी सरकारले समाचारपत्रहरूलाई विज्ञापनसरह रकम भुक्तानी गर्छन ।

दरबारले ‘पेड न्युज’ लेख्न कत्तिको दबाब वा प्रोत्साहन गथ्र्यो ?

मैले त्यस्तो दबाब वा कुनै प्रोत्साहन ‘समीक्षा’ प्रकाशनको ३९ वर्षसम्म कहिल्यै अनुभव गरिनँ ।

तपाईंको दृष्टिकोणमा विचार र पत्रकारिता एकअर्काप्रति आश्रित हुनु अनिवार्य छ वा छैन ?

सबैले आफ्नो पत्रिका शुरु गर्दा निजात्मक विचारमाथि आश्रित रहनु अनिवार्य हुन्छ ।

मिडियाको बढदो प्रभावसँगै पछिल्लो समय सिर्जनाका अरू माध्यमहरू विस्तारै पाखा लाग्दै गइरहेको महसुस हुँदैन तपाईंलाई ?

देशको विकास र परिवर्तनमा जनभावना र समयानुकूल परिवर्तन हुँदै जाँदा त्यो एकअर्काप्रति आश्रित अनिवार्य रूपमा ठहरिन्छ । यसलाई संसारको कुनै पनि पत्रकार संगठनले इन्कार गर्दैन । हिजोभन्दा आज उच्चस्तरमा परिवर्तन हुनु नै विकास हुनु हो ।

तत्कालीन समयमा तपाईंले जुन सरोकार र मूल्यको पत्रकारिता गर्नुभयो, अहिले त्यस्तो सरोकार र मूल्य यथावत रहेको पाउनुहुन्छ ?

मैले सक्रिय पत्रकारिता गर्दाताका केही दशकका निम्ति देशले निर्दलीय व्यवस्था भोग्नुपर्‍यो । त्यसपछि मुलुकमा बहुदलीय व्यवस्था आयो । तर, बहुदलीय व्यवस्था आए पनि अयोग्य र अस्थिर नेतृत्वको राजनीतिक व्यवस्था भने अहिलेसम्म चलिरहेको छ । तर पनि वर्तमान पत्रकारिता जगतमा सरोकार र मूल्यमा भने आधारभूत परिवर्तन भएको देखिन्छ ।

परिवर्तित सन्दर्भमा नेपाली पत्रकारिता क्षेत्र कुन विन्दुमा उभिएको छ ?

नेपाली पत्रकारिता राजनीतिक नेतृत्वभन्दा आफू उभिनको निम्ति नयाँ र स्थायी स्थानको खोजी गर्नमा व्यस्त देखिन्छ । र, केही मिडियाले त्यस्तो ठाउँ फेला पारेको जस्तो मेरो अनुभव छ । वर्तमान सञ्चारमाध्यम एकदेशीयमा मात्र सीमित छैन, बहुदेशीय बन्न पुगेको छ । अतः विज्ञानको क्षेत्रमा विकास हुँदा पत्रकारितामा पनि हुँदै जान्छ ।

साहित्य लेखन, वैदिक चिन्तन र लेखन एवं पत्रकारिता सबै क्षेत्रमा जीवनका सबैजसो क्षणहरू लगानी गर्नुभयो । आज आएर जीवनमा के उपलब्धि प्राप्त गरेँजस्तो लाग्छ ?

यो प्रश्नको अन्तिम वाक्यमा महत्व छ । यता १०–१५ वर्षभित्रका मेरा ४०–४२ पुस्तक र पत्रिकाका लेखहरूले मेरा कलमका शब्दलाई निकै माथिल्लो दर्जामा राखेर प्रशंसा गरेका छन । ती वाक्यले पाएका प्रशंसाको लागि प्रशंसा गर्नेहरूलाई धन्यवाद दिन्छु । तथापि मेरो उपन्यास ‘माधवी’ले मदन पुरस्कार पाउनुबाहेक पुरस्कारदाताका नियमअन्तर्गत पर्ने भए तापनि मेरा अन्य लेखनी विधाले सम्बन्धित संस्थाबाट पुरस्कार पाएनन । यी सबै हुँदाहुँदै पनि म सम्मानभन्दा पुरस्कारलाई माथि राख्न चाहन्नँ । आज तपाईंले मसामु केही प्रश्न गर्नुभयो, यही नै मेरो ठूलो सम्मान होइन र यसलाई मैले रकमको नभएर लेखकीय उपलब्धि ठानेको छु ।

 

प्रतिकृया दिनुहोस