MENU

प्रदेश समाचार

Annapurna635x90

पहिरोले निम्‍त्याएकाे पीडा

भीमकुमार बाँस्कोटा, पाँचथर मंगलवार, भाद्र २७, २०७४

एक वर्षअघि घरदेखि दुई काल्ना मुन्तिरबाट विस्तार गरिएको सडकमा हर्न बजाउँदै गाडी गुड्दा फालेलुङ ३ ताङ्लेपा स्कुल टोलका विष्णुभक्त लावती (६०) गद्गद् थिए । आँगनै अगाडिबाट गाडी चढेर बजारसम्म जान र बजारका सामान गाडीबाट घरसम्म ल्याउन पाउँदा उनलाई आफ्नो गाउँ स्वर्गजस्तो लाग्थ्यो । तर, उनको त्यो खुशी वर्ष दिन नपुग्दै २६ साउन रातिदेखि परेको बर्षात्ले लुटिदियो । अर्को दिन सडकको दुई काल्नामाथि रहेको घरको भित्तादेखि पहिरो जान थाल्यो । लावतीको घर चर्किएर चिराचिरा पर्‍यो । उनले भागेर ज्यान जोगाए । हेर्दाहेर्दै घरबारी पहिरोमा परिणत भयो । बालीसहितको २० रोपनी जमिन पहिरोमा पुरियो । लावती भन्छन्, ‘सडकले मलाई घरको न घाटको बनायो । सडक चौडा बनाउन ब्याककटिङ गरिएको ठाँउबाट शुरु भएको पहिरोले मेरो शिरीखुरी सिध्याइदियो ।’

उनको त घरबारी मात्र पहिरोमा पर्‍यो । फालेलुङ १ चुक्पादिनका तिलोचन विक (८३) को त ज्यानै गयो । विकसहितका चार घरलाई पहिरोले पुर्‍यो । भिरालो जमिनमा स्काभेटर लगाएर जथाभावी सडक खनेकै कारण पहिरो गएको स्थानीयको जिकिर छ । ‘पहिरो जानुको मुख्य कारण सडक नै हो,’ माङ्लेबुङका स्थानीय युवक डम्बर जवेगू भन्छन्, ‘कहिल्यै पहिरो नगएको ठाँउमा सडक विस्तार गरिएपछि पहिरो गयो । पहिरोले गाउँमा विपत्ति ल्याएको छ । यो पीडा कहिल्यै निको हुने छैन ।’जोरपोखरी काउले मेमेड सडकखण्डको फालेलुङ ३ का ताङ्लेपा, विकटे, खोलाघारी र माङ्लेबुङमा गत वर्ष मात्रै स्काभेटर प्रयोग गरी सडक विस्तार गरिएको थियो । बलौटे माटो र पाखो जमिन भएको नयाँ सडक खण्डकै दर्जनौं ठाँउमा पहिरो गएको छ । भेलसहितको पहिरोले स्थानीय निवाखोला लघु जलविद्युत् आयोजनाका स्काभेटर अपरेटरविष्णुभक्त राई, उनकी छोरी गंगामाया तथा नातिनी प्रियालाई लग्यो  । गंगामायाबाहेक अरूको शव भेटिएको छैन । उनीहरू उक्त जलविद्युत् आयोजनाकै पावरहाउसमा बस्थे ।

सडक विस्तारका नाममा जथाभावी डोजर चलाउने कामलाई नरोक्ने हो भने भोलिको दिनमा विपत्तिा निम्तिने खतरा छ ।

गाउँमा गाडी गुड्ने भएपछि स्थानीयले विकासको नाममा सडकको विकल्प देखेनन् । सडक विस्तारमा कम्मर कसेर लागे । सडक विस्तारमा डोजर चलाइयोे । जताततै डोजर चलाएर पहाडका भिराला पाखाहरू चिराचिरा पारियो । केही महिनामै गाउँमा सडक पुगेपछि स्थानीयले व्यक्तिगत लगानीमा पनि सडक विस्तार गरे । आफ्नो घरसम्म सडक लैजान गाँउमा हुनेखानेको होडबाजी नै चल्यो । जसले गर्दा भिराला पाखाहरू चिराचिरा भए । भिरालो जमिनले वर्षात्को भार थेग्न नसक्दा सडकलाई नै आधार बनाएर पहिरो गयो । पहिरोले एक सय १३ परिवार विस्थापित भएका छन् । विस्थापितमध्ये ४१ घरपरिवार बुङ्सिङडाँडामा पाल टाँगेर बसेका छन् । विकेटेका ३९ घरपरिवार जलकन्या प्राथमिक विद्यालयमा बसिरहेका छन् । कोही आफन्तको शरणमा छन् । साउनदेखि जान थालेको पहिरो अरोकिएको छैन ।

tent

 पहिरोबाट विस्थापित भएकी माङ्लेबुङकी एक महिला दूधे बच्चा काखी च्यापेर पालमा बस्नुपर्दाको पीडा सुनाउँदै ।

१५ भदौको पहिरोले फालेलुङ वडा नं.५ को खेदोक र रमितेमा सात घर, ६ मा सात र ७ मा दुई परिवार विस्थापित भएका छन् । सयौं रोपनी अन्नबाली पहिरोमा परिणत भएको छ । आम्दानीको मुख्य स्रोत अलैंची, अम्रिसो र चिराइतो बालीमा क्षति पुगेको छ । पहाडी भेगमा तीव्र विकासका नाममा अन्धाधुन्ध डोजर प्रयोग गरी सडक विस्तार गरिँदैछ । अवैज्ञानिक रूपमा ग्रामीण सडकहरूको तीव्र विस्तार गरिएकै कारण भूकम्पले हल्लाएको भिरालो जमिनमा पहिरो गएको हो । ठूल्ठूला मेसिनहरू प्रयोग गरेर विस्तार गरिएको सडकलाई नै आधार बनाएर फालेलुङका विभिन्न वडामा पहिरो गएको छ । सडकको छेउ या भित्ताबाट गएको पहिरोले नै गाँउमा विपत्ति निम्त्याएको फालेलुङ ७ का वडाध्यक्ष शेरबहादुर केरुङ बताउँछन् । भन्छन्, ‘सडक खनिएको ठाउँमा पहिरो गएको छ ।

सडक खनिएको ठाउँमा पहिरो गएको छ। विकासको नाममा स्काभेटर प्रयोग गरी पहाड चिराचिरा पारियो। जथाभावी खनिएको सडकले विनास निम्त्यायो। शेरबहादुर केरुङ वडाध्यक्ष, फालेलुङ ७

विकास गर्ने नाममा डोजर प्रयोग गरी जथाभावी पहाडलाई चिराचिरा पारियो । जसका कारण सडकले विनास निम्त्यायो ।’उता फालेलुङ ५ को खेदोकको पूरै बस्तीमा धाँजा फाटेको छ । जसका कारण एक दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । अघिल्ला वर्षहरूमा नचर्किएका जमिनहरूमा सडक खनिएपछि धाँजा फाटेको हो । फालेलुङका अधिकांश बस्तीमा नयाँ सडक विस्तार गरिएको छ । यसरी विस्तार गरिएका सडकहरूमा नालीको व्यवस्था छैन । नालीको व्यवस्था नहुँदा वर्षात्मा सडकबाट जथाभावी भेल बग्ने गरेको छ । उक्त भेलले उचित निकास नपाउँदा बस्तीमा पहिरो गएको हो । सडकको विस्तारका नाममा जथाभावी डोजर चलाउने कामलाई नरोक्ने हो भने भोलिको दिनमा विपत्ति निम्तिने भन्दै स्थानीय चिन्तित छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस