MENU

प्रदेश समाचार

635x90

किन डुब्‍छ बर्सेनि इटहरी ?

हिमाल दाहाल, इटहरी सोमवार, भाद्र ५, २०७४

 

बर्सेनि डुबानको त्रासमा रहन्छ, इटहरी । पूर्वको व्यापारिक केन्द्र इटहरीको विकासको बाधक र बारम्बार दुःख दिइरहने कुनै कुरा छ भने त्यो हो, डुबान ।
विसं २०२० सालमा महेन्द्र राजमार्ग निर्माणका क्रममा बनाइएको नाला पुरिएका कारण ठूलो वर्षा हुनासाथ इटहरी चोक डुबानमा पर्छ । यस्तै, पूर्वतर्फबाट मुख्य बजार हुँदै गएको टेंग्रा खोलामा आएको बाढीका कारण पनि इटहरी डुब्ने गर्छ । यस पटकको डुबानको कारण पनि त्यही टेंग्रा खोलामा आएको बाढी भयो । जसका कारण करोडौंको क्षति भयो । घरको पहिलो तलासम्म पानी बगेको कारण पसल तथा उद्योगभित्रका विद्युतीय र मेसिनरी सामाग्री नष्ट भए । टेंग्रा खोलाको बाढीले बर्सेनि केही न केही वितण्डा गरेकै हुन्छ । तर, बाढी यस पटक अलि फरक र उग्र तरिकाले इटहरी पस्यो । खोलानाला मिचेर घर नबनाउन चेतावनी दिएका मेयर द्वारिकालाल चौधरीको आग्रहलाई यो बाढीले सही सावित गर्‍यो ।

जहाँ सार्वजनिक स्थान, खोला तथा कुलो मिचेर संरचना बनाइएका छन् । पार्टीका कार्यालयदेखि घरसम्म अनि व्यापारिक संरचनादेखि निजी विद्यालय र सहकारीसम्मले सार्वजनिक स्थान मिचेका छन् । टेंग्रा खोलासमेत मिचेर घर र रिसोर्ट बनाइएका छन् । पानीले निकास नपाउँदा इटहरी डुबानमा पर्ने गरेको छ । तर, डुबानको अर्को कारण हो, टेंग्रा खोलासँगै रहेको शेहरा खोला । शेहरा खोलाको मुहान महाभारत पर्वत हो । यसले पहाडदेखिका ढुंगा, गिटी तथा बालुवा बोकेर ल्याउँछ । वर्षामा खहरे बनेर उर्लिने यो खोला अन्य समयमा भने शान्त नै रहन्छ । इटहरीको सिरानमा रहेको चारकोशे झाडीमा यो खोला जमिनको सतहभन्दा चार फुटमाथि छ । खोलाको पानी वर्षायाममा डिलमाथिबाट बग्छ । त्यही पानी टेंग्रा खोलामा मिसिएपछि इटहरी डुबाउने गरी भेल पस्छ ।
शेहरा खोला बाँध्नको लागि पञ्चायतकालदेखि नै प्रयास हुँदै आएको थियो । तर, निकै कम मात्र सफलता हात लागेको छ । बीचमा टेंग्रा खोलालाई गहिरो र फराकिलो बनाएर बाढीलाई खोलामै सीमित गर्ने प्रयास पनि उपमहानगरपालिकाले ग¥यो । तर, दूरगामी भएन ।अहिले फेरि टेंग्रा र शेहराको प्रसंग सतहमा आएको छ । २७ असारको रातिदेखि आएको बाढीले मध्यरातमा इटहरी डुबायो । त्यही शेहरा खोला बुढी खोलामा मिसिँदा बुढीखोला किनारमा रहेका दुइटा सुकुम्बासी बस्तीका ६ जनाको ज्यान लियो भने अझै ६ जना हराइरहेका छन् । मर्ने र हराउनेमा बालबालिका बढी छन् । बाढी आउँदै गरेको थाहा पाए पनि पहिलाजस्तै खासै असर नगर्ने अनुमान गरेर घर छाड्न ढिलाइ गर्दा मानवीय क्षति बढी भयो । इटहरी नगरभरि ६ सय परिवारका तीन हजार मानिस विस्थापित भए । 

विस्थापित भनेर आउनेहरूको संख्या बढिरहेको छ। रञ्जु सिग्देलका अनुसार २९ साउनसम्म पाँच सय विस्थापित रहेको ठाउँमा अर्को दिन बढेर संख्या एक हजार पुगेको छ।

शेहरा खोला नियन्त्रणको चर्चा यतिखेर चलिरहेको छ । ३० साउनमा इटहरी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शेहरा नियन्त्रणको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । टेंग्रा खोलामा आएको बाढीले जिल्लाको इटहरीस्थित पूर्वी पृतना ब्यारेकअघिको कोशी राजमार्ग भत्काएको छ । यस्तै पूर्वपश्चिम राजमार्गस्थित गछिया खोलाको पुलको उत्तरतर्फ कटान भएपछि सवारी आवतजावतमा अवरोध उत्पन्न भएको छ । यसैगरी इटहरीदेखि भेडेटार जाने सडकसमेत धस्सिएको छ । ३१ साउन दिउँसोसम्म पनि इटहरीमा विद्युत् सेवा सुचारु हुन सकेको थिएन ।

विस्थापितको पहिचानमै समस्या

बाढीग्रस्त क्षेत्रबाट पीडितलाई उद्धार गरी विद्यालय तथा मन्दिरमा राखिएको छ । इटहरी उपमहानगरले विस्थापितहरूको राहतका लागि एकद्वार प्रणाली अपनाउने भने पनि त्यसअघि नै विभिन्न संघसंस्था र व्यक्तिले सहयोग शुरु गरिसकेका छन् । उता विस्थापित भनेर आउनेहरूको संख्या बढिरहेको खाद्यान्न वितरणमा संलग्नहरूले बताएका छन् । उद्योग वाणिज्य संघ इटहरीकी सदस्य रञ्जु सिग्देलका अनुसार २९ साउनसम्म पाँच सय विस्थापित रहेको ठाउँमा अर्को दिन विस्थापितको संख्या एक हजार पुगेको छ । उनका अनुसार राहत पाइने लोभमा विस्थापित बनेर आउनेहरूको भीड लागेको छ । यसले वास्तविक विस्थापितहरूले राहत नपाउने अवस्था आएको छ ।

ब्यारेजमा खतरा

६० वर्षअघि बनाइएको कोशी ब्यारेज भत्किने हल्लाले यो साता निकैलाई त्रसित बनायो । २ भदौ ०६५ मा कोशीको पूर्वी तटबन्ध फुटेर हजारौं नेपाली र भारतीय नागरिकको घर बगाएको तीतो अनुभव कोशीपीडितहरूसँग अझै छ । घरबारविहीन हुनुपरेको, रोग, भोगको शिकार हुनुपरेपछि एक वर्ष लामो समय उनीहरूले निकै कष्टका साथ बिताएका थिए । त्यस बेला भएको क्षतिपूर्ति पुर्नकै लागि जिल्लाको बाढी प्रभावित चार गाविसबाट मात्रै १० हजार बढी युवा विदेशिएका थिए । तटबन्ध भत्काएर आएको उक्त बाढीबाट श्रीपुर, हरिपुर र पश्चिम कुशाहाका ५० हजार बढी मानिस विस्थापित भएका थिए भने सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो ।

 

खोलानाला मिचेर घर नबनाउन चेतावनी दिएका इटहरीका मेयर द्वारिकालाल चौधरीको आग्रहलाई यो बाढीले सही सावित गर्‍यो।

पूर्वपश्चिम राजमार्ग नै बगाएपछि यातायातको लागि चतरामा फेरी राखेर सञ्चालनमा ल्याइएको थियो । अहिलेको बाढीले नेपालीहरूलाई त्यही कोशीको याद दिलायो । अझ ब्यारेजको ५६ मध्ये ३३ ढोका मात्र खोलिएको समाचारले त नेपाल र बाहिर बस्नेलाई समेत आक्रोशित बनायो । ब्यारेजको ढोका नखोल्दा बाढीले तटबन्ध र ब्यारेजमा सीधा दबाब पार्छ । यसले तटबन्ध भत्किने खतरा रहन्छ । यसैबीच मन्त्री मीनबहादुर विश्वकर्माले ब्यारेजका ढोका खोले भारतको विहार प्रदेश बगाउँछ भन्ने अभिव्यक्ति दिएपछि त झनैै आलोचना बढेको थियो ।

५० वर्ष भनिएको ब्यारेजको आयु ६० वर्ष नाघिसकेको छ । नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता भए पनि अधिक मात्रामा बालुवा थुप्रिएका कारण थोरै पानीले पनि ब्यारेज र तटबन्धमा बढी खतरा उत्पन्न गर्छ । त्यसैले ब्यारेजमा पानीको बहाव अलिकति बढी हुँदा पनि उच्च सावधानी अपनाउनुपर्ने हुन्छ । बालुवा थुप्रेपछि ब्यारेजको क्षमता घटेको छ । त्यसैले बढीभन्दा बढी ढोका खोलिएन भने ब्यारेजभित्र जम्मा भएको पानीकै कारण ब्यारेज फुट्न सक्छ ।यस्तै, कोशी ब्यारेजको केही किलोमिटर उत्तरसम्मको बालुवा हटाउने सम्भावनाको पनि खोजी हुनुपर्छ । ब्यारेजको उचित परीक्षण गर्दै आवश्यक मर्मत गर्नु आवश्यक छ । यो विषयमा भारत र नेपाल गम्भीर हुनु आवश्यक छ ।

 

 

प्रतिकृया दिनुहोस