MENU

प्रदेश समाचार

635x90

प्रदेश २ को चुनाव नतिजा आफ्नो पकडमा पार्न दलहरु तराई झरे

 क्रान्ति शाह, वीरगन्ज आइतवार, श्रावण २९, २०७४

अघिल्ला दुई चरणका स्थानीय तह चुनावको नतिजापछि अब दलहरूको ध्यान प्रदेश २ तिर छ । तेस्रो चरणको स्थानीय चुनावलाई आफ्नो पक्षमा पार्न सबै दल यस क्षेत्रका ८ जिल्लामा केन्द्रित भइसकेका छन् । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका एक सय २७ स्थानीय तहमा २ असोजमा हुने चुनावमा उनीहरूको आँखा छ । यसअघि दुई चरणको चुनावमा एमालेभन्दा ५० तह कम जितेको कांग्रेसले यहाँको चुनावलाई जीवनमरणकै सवाल बनाएको छ । १९ साउनमा जनकपुरको प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘यहाँ कांग्रेसले जसरी भए पनि चुनाव जित्नै पर्छ । किनभने, प्रदेश २ को चुनाव कांग्रेसका लागि जीवनमरणकै सवाल भएको छ ।’

यसअघिका दुवै चरणको चुनावमा दोस्रो स्थानमा झरेको कांग्रेस प्रदेश २ मा कम्तीमा सय सिट जितेर पुनः पहिलो पार्टी बन्ने दाउमा छ । त्यसका लागि कांग्रेसले साउन पहिलो सातादेखि नै चुनावी गतिविधि तीव्र पारिसकेको छ । प्रदेश २ को चुनावका लागि पार्टी संगठन लयमा फर्काउन कांग्रेसले यसपटक सरकारमा यहीँबाट तीन नेतालाई मन्त्री बनायो । बाराबाट फरमुल्लाह मन्सुर, धनुषाबाट रामकृष्ण यादव र महेन्द्र यादवलाई कांग्रेसले देउवा क्याबिनेटमा लग्यो । श्रम तथा रोजगारमन्त्री मन्सुर भन्छन्, ‘अहिलेसम्मको हाम्रो आँकडा कम्तीमा सय सिट (स्थानीय तह) जित्ने छ । योभन्दा कम जितेर हुँदैन ।’ प्रदेश २ को चुनावकै लागि भनेर कांग्रेसले काठमाडौंमा आठ जिल्लाका सभापति र केन्द्रीय सदस्यहरूको भेला आयोजना गरिसकेको छ । कांग्रेसले आठै जिल्लामा शीर्ष नेताहरू सहभागी हुनेगरी चुनावी सभा गर्ने निर्णय गरिसकेको छ ।

एमाले पनि साउन पहिलो सातादेखि नै प्रदेश २ मा खटिएको छ । ५५ देखि ६० स्थानीय तह जित्ने लक्ष्य लिएर हिँडेको एमालेले आठै जिल्लामा केन्द्रीय नेता खटाएको छ । पर्सामा एमाले महासचिव ईश्वर पोखरेल, बारामा उपमहासचिव विष्णु पौडेल, रौतहटमा उपमहासचिव घनश्याम भुसाल, सर्लाहीमा सचिव गोकर्ण विष्ट, महोत्तरीमा अर्का सचिव पृथ्वी सुब्बा गुरुङ, त्यसैगरी धनुषामा सचिव योगेश भट्टराई, सिरहामा सचिव प्रदीप ज्ञवाली र सप्तरीमा सचिव भीम आचार्य खटिएका छन् । एमाले प्रदेश २ का सहसंयोजक सांसद नागेन्द्र चौधरी भन्छन्, ‘५५–६० स्थानीय तह जित्ने रणनीतिसहित पार्टी खटिएको छ । विपक्षीहरूले यहाँ जतिसुकै भ्रम फैलाए पनि वास्तविकता अर्कै छ भन्ने सावित गर्न चाहन्छौँ ।’

यो प्रदेशलाई आफ्नो मुख्य आधार मान्दै आएको संघीय समाजवादी फोरमले चुनावी गतिविधि तीव्र पारिसकेको छ । कम्तीमा ६० स्थानीय तह जित्ने रणनीति फोरमको छ । केन्द्रीय नेताहरूको सहभागितामा जिल्लैपिच्छे दुईदिनको प्रशिक्षण दिने फोरमका तराई मधेश प्रदेश सचिव शेषनारायण यादव बताउँछन् । उनको जिकिर छ, ‘मधेशी हक अधिकारका लागि लड्ने पहिलो पार्टी हो फोरम, त्यसैले हामी अरूभन्दा बढी संख्यामा स्थानीय तह जित्छौँ ।’ प्रदेश २ मा बलियो जनाधार मानिएको राष्ट्रिय जनता पार्टीले भने २ असोजको चुनावमा भाग लिने निर्णय गरिसकेको छैन । राजपा केन्द्रीय पदाधिकारी बैठक र केन्द्रीय समितिमा चुनावमा जानेबारे नेताहरूको राय बाझिए पनि स्थानीय नेताहरू चुनावी तयारीमा जुटिसकेका छन् । आठै जिल्लामा राजपाले पार्टी प्रवेश कार्यक्रम, कार्यकर्ता भेला, बैठक राखिरहेको छ, जसको भित्री उद्देश्य चुनाव तयारी नै हो ।

सत्तासाझेदार माओवादीले पनि पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा बेहोरेको क्षति प्रदेश २ बाट पूर्ति गर्ने योजनासहित अगाडि बढेको छ । त्यही रणनीतिअनुसार चुनाव अवधिभर पार्टी केन्द्रीय कार्यालयसमेत प्रदेश २ बाटै सञ्चालन गर्ने निर्णय माओवादी केन्द्रले गरिसकेको छ । उसले पनि आठ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूलाई खटाइसकेको छ ।

मुख्य प्रतिस्पर्धी कांग्रेस !

रोचक कुरा त के छ भने प्रदेश २ को चुनावमा उत्रेका आकांक्षी दलहरूले कांग्रेसलाई आफ्नो मुख्य प्रतिस्पर्धी देखिरहेका छन् । एमाले, संघीय समाजवादी फोरम र माओवादीले प्रदेश २ को चुनावमा मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुने बताउँछन् । एमालेले प्रदेश २ को अधिकांश स्थानीय तहमा कांग्रेससँगै प्रतिस्पर्धा हुने आकलन गरेको छ । एमाले प्रदेश सहसंयोजक चौधरी भन्छन्, ‘६० प्रतिशत स्थानमा मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुन्छ, बाँकी ४० मा फोरम, राजपा र लोकतान्त्रिक फोरमसँग हुन सक्छ । त्यसैले यो प्रदेशमा पनि हाम्रो मुख्य प्रतिस्पर्धी कांग्र्रेस नै हो ।’

तेस्रो चरणको स्थानीय तह चुनाव नतिजा जसरी पनि आफ्नो पक्षमा पार्न दलहरु प्रदेश २ झरेका छन् ।

यस्तै, फोरमले पनि प्रदेश २ मा आफ्नो मुख्य प्रतिस्पर्धी दल कांग्रेस नै हुने विश्लेषण गरेको छ । ‘हुन त सबै स्थानमा फोरमको जनमत अन्य दलभन्दा बलियो नै छ,’ फोरमका प्रदेश सचिव यादव भन्छन्, ‘मुख्य प्रतिस्पर्धीको कुरा गर्ने हो भने प्रायः सबै तहमा हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ ।’ कांग्रेस नेताहरू भने आसन्न चुनावमा ठाउँपिच्छे अलग–अलग प्रतिस्पर्धी रहेको दाबी गर्छन् । मन्त्री मन्सुरका भनाइमा राजपाको चुनावी सहभागिताबारे निक्र्योल नै उसको राजनीतिक हैसियत किटान गर्ने मुख्य मानक हो ।

वीरगन्जमा विशेष नजर

प्रदेश २ को एकमात्रै महानगर वीरगन्जमा सबै दलको ध्यान केन्द्रित छ । यस आर्थिक राजधानीमा नेताहरूको जति प्राथमिकता छ, त्यसको तुलनामा अन्यत्र कमै छ । त्यसैले अघिल्ला दुई चुनावमा सबै प्रदेश गठबन्धन गर्दै हिँडेका दलहरू वीरगन्जमा भने एक्लाएक्लै शक्ति देखाउने दाउमा छन् । यसअघि अधिकांश ठाउँमा कांग्रेस र माओवादी केन्द्र, एमाले र राप्रपा, फोरम र नयाँ शक्तिले गठबन्धन बनाएका थिए । वीरगन्जमा भने कोही पनि गठबन्धन बनाउने पक्षमा छैनन् । कांग्रेस पर्साका सभापति अजय द्विवेदी भन्छन्, ‘डेढ महिना पहिले एमालेका साथीहरू गठबन्धन गरौँ भनेर आउनुभएको थियो, हामीले स्वीकारेनौँ । वीरगन्जमा कांग्रेस एक्लै लड्छ ।’ महानगरको मेयर पदका लागि कांग्रेसबाट द्विवेदी नै प्रमुख दाबेदार हुन् ।

माओवादी केन्द्र पर्साका निवर्तमान अध्यक्ष बाबुराम कौशिकले भने वीरगन्ज महानगरमा स्थानीय चुनावलक्षित गठबन्धन बनाउन आफ्नो दलले कांग्रेससँग छलफल गरिरहेको बताए । उनका अनुसार कांग्रेसलाई मेयर दिएर उपमेयर लिनेबारे छलफल चलिरहेको छ । उनी भन्छन्, ‘कांग्रेससँग गठबन्धनको कोशिस हो, ऊ सहमत भएन भने राजपासँग हामी संवाद गर्छौँ । नत्र एक्लै लड्छौँ ।’ माओवादीबाट रहबर अन्सारी मेयर पदका आकांक्षी हुन् । एमाले भने एक्लै होमिने तयारीमा छ ।

चुनावी सहकार्यका लागि अन्य दलसँग छलफल नगरिएको भन्दै पर्सा इन्चार्ज रामचन्द्र साह सुनाउँछन्, ‘वीरगन्जमा गठबन्धनको सम्भावना छैन । एमाले एक्लै लडेर जित्न सक्षम छ ।’ एमालेबाट मेयरमा नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी लड्ने पार्टी निर्णय यसअघि नै भइसकेको छ । नयाँशक्तिसँग चुनावी सहकार्य गर्दै आएको फोरम पनि एक्लै होमिने दाउमा छ । फोरम पर्साका अध्यक्ष प्रदीप यादवले कांग्रेस, एमाले, नयाँशक्ति र माओवादीबाहेक अरू दलसँग सहकार्य हुन सक्ने बताए । फोरमबाट उद्योगपति विजय सरावगी मेयर उठ्दैछन् ।


संविधान संशोधनबिना तेस्रो चरणको चुनावमा भाग नलिने भन्दै आएको राजपा वीरगन्जमा पनि जोडतोडले चुनावी तयारी गरिरहेको छ । राजपा पर्साका संयोजक पुरुषोत्तम लाल झाका अनुसार सरकार राजपाका केही माग सम्बोधन गर्नेमा पुगेको छ । उनी भन्छन्, ‘संशोधन नभए पनि केही माग सम्बोधन भए हामी आगामी चुनावमा भाग लिन्छौँ ।’ उनले केही दिनमै वीरगन्ज मेयर उम्मेदवारको अन्तिम टुंगो लगाउने बताए । राजपाबाट उनीसहित पूर्वमेयर विमल श्रीवास्तव, नेता राजेशमानसिंह मेयरको चर्चामा छन् ।

 

प्रतिकृया दिनुहोस