MENU

प्रदेश समाचार

635x90

पोखराको बस्‍ती जोखिममा

कृष्णमणि बराल, पोखरा सोमवार, आषाढ २६, २०७४

गहिरिएर बगेको सेती नदी डिल खस्दा यस साता पोखरामा खैलाबैला मच्चियो । १८ असारमा परेको भीषण वर्षाले सेती नदी किनार भत्किँदा तीन जनाले ज्यान गुमाए । दर्जनौं घर भत्किए । पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर ७ र १५ को सीमाक्षेत्र घारीपाटनस्थित नदी किनारको वरपरको क्षेत्र भित्रभित्रै जमिन खुकुलो भएर धाजा समेत फाटेको छ । नदी किनारको ठूलो ब्लक खस्ने अवस्थामा झुण्डिएको छ । कास्कीका सांसद तथा विकास समितका सभापति रवीन्द्र अधिकारी तथा अर्की सांसद बिन्दा रानाले संसद्मै यसबारे ध्यानाकर्षण समेत गरे । सेती नदी किनारको ५०/५० मिटर दायाँबायाँ जोखिम क्षेत्र हो । यो तथ्य थाहा हुँदा हुँदै महानगरपालिकाले जोखिम क्षेत्रमा मापदण्डविपरीत बनेका घरको रोकथामसमेत नगर्दा संकट अझ बढ्ने देखिन्छ ।

संकटमा गुफा

पोखरामा जमिन चिरा पर्नु, भासिनु नयाँ घटना भने होइन । ०७३ भदौ तेस्रो साता देशकै सबैभन्दा ठूलो र लामो पोखराको गुप्तेश्वर गुफाभित्र भूक्षय गयो । करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइ रहेको गुफा भित्रबाट पातले छाँगो देखिने स्थाननजिकै पहिले नै केही भाग चर्किएको थियो । सोही ठाउँमा भूक्षय गएपछि गुप्तेश्वर गुफा व्यवस्थापन समिति र स्थानीय झस्किए । गुप्तेश्वर गुफा भत्किँदा गुफा मात्र भत्किँदैनथ्यो । गुफासँगै त्यसवरपर बनेका एक सय ५० भन्दा बढी घरमा बस्ने स्थानीयको समेत भविष्य जोखिममा पर्ने भयो ।

त्यसकारण गुफा व्यवस्थापन समिति र स्थानीयको तत्कालै बैठक बस्यो । र, गुफा संरक्षणका लागि टनेल निर्माण प्रविधिअनुसार गुफाभित्र संरक्षणको काम गर्ने निणर्यमा पुग्यो, समिति । त्यही निर्णयअनुसार समितिले अहिले एक करोड सात लाखको लागतमा संरक्षणको काम थालेको छ । यसले तत्काल संकट टरेको छ । भूगोलविद् डा. कृष्ण केसीका अनुसार भूगर्भविद्हरूले डेढ दशकअघि दिएको सुझावलाई बेवास्ता गर्दा पोखराको वातावरणमा संकट निम्तिएको हो ।

खासगरी वर्षात्मा हुने यस्ता विपत्ले प्रत्येक वर्ष सेती किनार, गुफा वरपर, अर्मला र पोखराका अन्य कमजोर भू–बनोट भएका क्षेत्रका बासिन्दालाई समस्यामा पार्ने गरेको छ । वर्षा सकिएपछि फेरि यो तनाव सेलाएर जान्छ । बेला–बेलामा हुने यस्ता विपत् र आफू बसिरहेको स्थान उच्च जोखिममा रहेको थाहा पाएर पनि अन्यत्र जमिन नभएकोले बाध्य भएर यसै क्षेत्रमा बस्नुपरेको स्थानीय सुनाउँछन् । छोरेपाटनस्थित गुप्तेश्वर गुफामाथिको सिद्धार्थ राजमार्गमा ठूला गाडी गुड्दासमेत गुफा थर्किन्छ ।

pokhara2

नदीमा खसेको र धरापमा परेको पोखराको घारीपाटन स्थित सेती किनार क्षेत्र । तस्विरहरू : कृष्णमणि बराल

वर्षायाममा ठूलो पानी पर्दा र फेवातालबाट आएको पानी वर्षायाममा बढेर पाताले छाँगो (डेभिज फल) हुँदै गुफाभित्र पसेर भाइब्रेसन हुन्छ । यसले सधैं पाँच रेक्टर स्केलको भूकम्प आएझैं जमिन थर्कने स्थानीय नन्दलाल पौडेल सुनाउँछन् । सरकारले वैकल्पिक व्यवस्था गरे जोखिम बस्तीबाट आफूहरू सर्न तयार रहेको स्थानीय बताउँछन् ।

जोखिम क्षेत्र

खानी तथा भू–गर्भ विभाग र जिओसाइन्स अफ इन्स्टिच्युट जर्मनीको संयुक्त अध्ययन टोलीले सन् १९९८ मा जिओलोजिकल इन्जिनियरिङ म्याप अफ पोखरा भ्याली तयार पारेको थियो । जसको रिपोर्टअनुसार सेतीको दायाँबायाँ ५०÷५० मिटर क्षेत्रमा कुनै पनि गरुंगा संरचना निर्माण गर्न नपाइने गरी पोखरा महानगरपालिकाले मापदण्ड नै लागु गर्‍यो । यस्तै, गुप्तेश्वर गुफा, चमेरे गुफा र महेन्द्र गुफालगायत जोखिम क्षेत्रमा पनि यसरी नै ठाउँअनुसार अध्ययनले सुझाएको मापदण्ड कार्यान्वयन गर्न भनिए पनि लागु भएन ।

सो टोलीमा रहेर पोखराको भौगोलिक अवस्थाको अध्ययन गर्नुभएका शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीका पूर्वइन्जिनियर किसानसिंह गुरुङ भन्छन्, ‘रिपोर्ट तयार भएको दुई वर्षपछि सन् २००० मा विज्ञले दिएको सुझावअनुसारको मापदण्ड कायम गर्न नसक्दा पोखराका कमजोर क्षेत्रको बस्ती कहिले भीषण दुर्घटनामा पर्ने हो थाहा छैन ।’

सेती नदी र गुफा क्षेत्र उच्च जोखिममा भएकाले कुनै पनि बेला ‘कोल्याप्स’ हुन सक्ने अध्ययन टोलीको निस्ष्कर्ष छ । यसैले सेती नदी र गुप्तेश्वर गुफाको किनारदेखि दायाँबायाँ ७५/७५ मिटर क्षेत्रभित्र कुनै पनि संरचना बनाउन नहुने अध्ययन पछि टोलीले रिपोर्ट तयार पारेको इन्जिनियर गुरुङ बताउछन् । गुरुङका अनुसार पोखरा उपत्यकामा पाँच हजार वर्षपहिले नै अन्नपूर्ण हिमाल क्षेत्रमा भएका हिमतालहरू फुट्दा बाटोमा पर्ने गेग्रयान, ढुंगा, माटो सोहरेर नयाँ फर्मेसन बन्यो । यसरी थुपारेकोलाई घाचोक फर्मेसन भनिन्छ ।

kisansingh विज्ञले दिएको सुझाव अनुसार मापदण्ड कायम गर्न नसक्दा पोखराका कमजोर क्षेत्रको बस्ती कहिले भीषण दुर्घटनामा पर्ने हो थाहा छैन। किसानसिंह गुरुङ पूर्वइन्जिनियर

यही कमजोर फर्मेसनले पोखरालाई दुःख दिन्छ । सेती पश्चिम पहिले पुरिएर बनेको फर्मेसन पुरानो भएकाले जमिनभित्र रहेको चुना कमजोर भएर पानी जम्दा भित्रभित्रै जमिन भासिने समस्या आउँछ । पुरानो फर्मेसनको कारण पूर्वभन्दा पश्चिम क्षेत्रको जमिन बढी कमजोर रहेको गुरुङको भनाइ छ । पछिल्लो समयमा पोखरा महानगरपालिकाले गुफादेखि दुई सय मिटर वरपरको क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने गरि मापदण्ड लागु गरेको छ । तर घर निर्माण कार्य रोकिएको छैन । सेती नदीको किनारका कुनै क्षेत्रमा त स्थानीयको दबाबमा ५० मिटर मापदण्ड घटाएर पाँच मिटरसम्म उपमहानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले घटाएको छ ।

मापदण्ड कडाइका साथ लागु गर्नु त कहाँ हो कहाँ उल्टै मापदण्ड घटाएर जोखिम क्षेत्र नदी किनारमै घर बनाउने बाटो खुला गर्नु दुर्भाग्य भएको भूगोलविद डा. केसी बताउँछन् । पोखरा बजारको मध्यभाग भएर गहिरिएर बग्ने सेती नदीले भित्रभित्रै दायाँबायाँको भाग कटान गर्दै गएकाले जोखिम बढेको छ, तर स्थानीयले बेवास्ता गरी सेती नदीको गल्छीकै किनारमा जोखिम मोलेर घरहरू निमार्ण गरिरहेका छन् ।

केआईसिंह पुल, महेन्द्रपुल, पृथ्वीचोकको चाइना पुलदेखि ढुंगेसाँगुसम्मको क्षेत्रलाई अध्ययनले जोखिमयुक्त क्षेत्र भनेको थियो । तर, पनि अहिलेसम्म यसतर्फ कसैको ध्यान गएको छैन । हालै घारीपाटनस्थित सेतीमा गएको ब्लक फलजस्तै सन् २००६ मा पोखराको पृथ्वीचोकस्थित चाइनापुल रहेको क्षेत्रमा सेती नदीको दायाँबायाँ ब्लक फल भएको थियो । त्यतिबेला त्यस क्षेत्रमा बस्ती नभएकोले मानवीय र भौतिक क्षति भने भएन ।

निरीह महानगरपालिका

गुप्तेश्वर गुफा भित्रभित्रै भत्केर बस्ती र सिद्धार्थ राजमार्गसमेत जोखिममा रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्, तर पनि पोखरा महानगरपालिकाले गुफामाथि नै घर बन्ने क्रम रोक्न नसकेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल बताउँछन् । सरकारले ‘जोखिम क्षेत्र’ घोषण गरेको क्षेत्रमा बनेका बस्तीका स्थानीयलाई मुआब्जा दिएर तत्कालै सुरक्षित स्थानमा बस्ती बसाल्नुपर्नेमा उनको जोड छ ।

सेती नदी र गुफा क्षेत्र उच्च जोखिममा भएकाले कुनै पनि बेला कोल्याप्स हुन सक्ने अध्ययन टोलीको निष्कर्ष छ।

महानगरपालिकाले जोखिम क्षेत्रमा मात्र होइन, सार्वजनिक सम्पत्तिको संरक्षण, फेवाताललगायत नौ ताल, खोलामा भएको अतिक्रमण रोक्ने, ताल र नदीमा मिसाइएका ढलको उचित व्यवस्थापनलगायत सार्वजनिक महत्वका प्राकृतिक स्रोत साधनको संरक्षण गर्न सकेको छैन । पौडेलका अनुसार घुस लिएर मापदण्डविपरीत निर्माण कार्य गरिँदा जोखिम बढेको छ ।

पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले गुफा, सेती किनारलगायत जोखिम क्षेत्रमा मापदण्ड लागु गरे पनि नागरिकले अटेर गर्दा जोखिम बढेको स्वीकार्छन् । महानगरपालिका प्रमुख मानबहादुर जीसीले आफूहरू भर्खर निर्वाचित भएर आएकोले मापदण्डबारे बुझ्दै गरेको बताउँछन् । जोखिम क्षेत्रमा भएका बस्तीको उचित व्यवस्थापन र थप नयाँ संरचना बनाउन नदिने गरी कडाइका साथ मापदण्ड लागु गर्ने उनले सुनाए । तर, टनेल प्रविधिबाट गुप्तेश्वर गुफा संरक्षणका काम थाल्दासमेत निर्माण समिति र पोखरा महानगरपालिकाबीच समन्वय छैन ।

 

प्रतिकृया दिनुहोस