MENU

प्रदेश समाचार

635x90

घट्यो चुनावी रौनक

मनिका झा, जनकपुरधाम शुक्रवार, आषाढ १६, २०७४

१४ असारको निर्वाचनको लागि राजपाबाहेक सबै राजनीतिक दलहरूले प्रदेश नम्बर २ मा असार २ गते उम्मेदवारी मनोनयन दर्ता प्रक्रियाका लागिसमेत अन्तिम तयारी पूरा गरिसकेका थिए । प्रदेशका आठ जिल्ला (धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी) मा एक सय २७ स्थानीय तहमा निर्वाचनको तयारी पनि पूरा भइसकेको थियो । प्रदेशमा रहेका चार उपमहानगरपालिका (जनकपुर, वीरगञ्ज, जितपुर–सिमरा र कलैया) मा दलले कसलाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनाउँछन् भन्ने धेरेमा चासो थियो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको संविधान संशोधनको माग सम्बोधन नै नगरी सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा शंका र उपशंका थियो, २ नम्बर प्रदेशका मतदातामा । उनीहरू अन्योलमा थिए । एकै चरणमा हुने निर्वाचनलाई दोस्रो हुँदै तेस्रो चरणमा पु¥याएपछि भने प्रदेशका मतदाता र दलमा कतै आशा पलाएको छ त कतै निराशा छाएको देखिन्छ । २० वर्षपछि जनप्रतिनिधि चुन्ने अवसर एकपछि अर्को गर्दै पछाडि धकेलिएपछि सरकारको निर्णयबाट कतिले आफूलाई ‘अभागी’ ठानेका छन् त कति निर्णयलाई ‘जनभावनाविपरीत’ र कति दशैंको मुखमा निर्वाचनको मिति तोक्नुलाई ‘अदूरदर्शी निर्णय’ भनिरहेका छन् ।

धनुषामा प्रमुख राजनीतिक दलहरू कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले पनि जिल्लास्तरबाट आन्तरिक रूपमा उम्मेदवारको टुंगो लगाइसकेका थिए । उम्मेदवार चयन गर्न नपाउँदै सरकारले निर्वाचन सा¥यो । २० वर्षपछि जनप्रतिनिधि चुन्न पाएका मतदाता एकपछि अर्को गर्दै मिति सर्दा निर्वाचन नै अधुरो हुनेमा चिन्तित छन् । जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले दोस्रो चरणमा हुने भनिएको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताइन् । निर्वाचनको सरगर्मी बढेर खुलेआम नभएपनि भित्रभित्रै प्रचारप्रसारमा लागि सगेका र कतिपयले त निर्वाचनको लागि राम्रो खर्चसमेत गरिसकेको अवस्थामा निर्वाचन सार्नुले मतदाता र उम्मेदवारमा निराशा छाएको छ ।

निर्वाचनको मिति सारिँदा २ नम्बर प्रदेशका आठ जिल्लामा चुनावी माहोल घटेको छ। उम्मेदवारी दिन ठीक परेका दल र मतदान गर्न आतुर मतदातामा आशा र निराशा दुवै छ।

निर्वाचन तेस्रो चरणमा सारिँदा जनतामा एक प्रकारको शिथिलता उत्पन्न भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको दाबी छ । ‘जनताको उत्साह चरम उत्कर्षमा पुगेको थियो र एक्कासि निर्वाचन स्थगित गरिँदा मतदाता निरास भएका छन्,’ यादव भन्छन्, ‘हामीले लगभग उम्मेदवार छनोट गरिसकेका थियौँ । वडा, गाउँ र क्षेत्रहरूमा नेता/कार्यकर्ताहरू प्रचारप्रसारमा जुटिसकेका थिए । मिति सारिएपछि तीन महिनादेखि चुनावमा होमिएका कार्यकर्ताहरू घर फर्केका छन् ।’

महोत्तरीमा निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको थियो । आयोगले मतदाता शिक्षादेखि निर्वाचन सामग्रीहरूसमेत ल्याइसकेको थियो । निर्वाचन प्रमुख पशुपतिबाबु पुरीका अनुुसार १ असार बिहानसम्ममा एक हजार जनाको हाराहारीमा मनोनयन पत्र वितरण भइसकेको थियो । स्थानीय तहको निर्वाचन तेस्रो चरणमा धकेलिएपछि मतदातामा संशय पैदा भएको छ ।त्यसैगरी महोत्तरीमा पनि एमालेका उम्मेदवारहरू निश्चित भएर सार्वजनिक गर्न मात्र बाँकी थियो । बर्दिबास नगरप्रमुख पदका उम्मेदवार प्रस्तावित सुरेशबहादुर राउतले प्रदेश नम्बर २ को मात्रै चुनाव सर्नु दुर्भाग्य भएको बताए । ‘उम्मेदवार तय गरेर मनोनयपत्र पनि लिइसकेका थियौँ ।

निर्वाचन पर धकेलिँदा मिहिनेत र पैसा दुवै बेकार भयो,’ उनले गुनासो गरे । धनुषामा कांग्रेसले पनि उम्मेदवारहरूको टुंगो लगाइसकेको थियो । पार्टीका जिल्ला सचिव कोमलकान्त झा भने आन्दोलनरत पक्षलाई समेत निर्वाचनमा सहभागी गराउने अभिप्रायले मिति सारिएकाले प्रतिफल पनि राम्रो आउने दाबी गर्छन् । भन्छन्, ‘निर्वाचन सरेपछि सबै तयारी शिथिल भएको छ ।’माओवादी केन्द्र पनि उम्मेदवारी दर्ताका लागि तयारी अवस्थामा थियो । केन्द्रका धनुषा संयोजक झल्कु यादवले असन्तुष्ट पक्षहरूलाई निर्वाचनमा सहभागी नगराई चुनाव गरिँदा त्यसको परिणाम नकारात्मक आउने हुनाले मिति सारिनु पनि उचित रहेको तर्क गरे ।

संघीय समाजवादी फोरम नेपाल धनुषाका पूर्वअध्यक्ष तथा हाल प्रदेश नम्बर २ का सचिव शेषनारायण यादवले भने सरकारको निर्णयको आलोचना गरे । भन्छन्, ‘मधेशी जनताले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिहरूलाई गुमाउनका लागि राजपाले षड्यन्त्र गरेको र त्यसकै परिणामस्वरूप निर्वाचन सारिएको हो ।’ उनी सीमांकनलगायत मुद्दालाई ओझेलमा पारी राजपाले सत्तामा जान जनतालाई प्रतिनिधित्व हुनबाट वञ्चित गरेको आरोप लगाउँछन् । ‘सरकारको यो निर्णयले हामी अचम्मित छौँ । के आधारमा निर्वाचन सारियो ?’ बाराको कलैया उपमहानगरपालिका १३ का अमित यादवले भने ‘जसका लागि निर्वाचन सारियो । त्यही पार्टी निर्वाचनमा सहभागी छैन् । मधेशका जनता निर्वाचन खोजिरहेका थिए, तर सरकारले मधेशका जनताको भावनाविपरीत निर्णय गर्‍यो ।’ निर्वाचनको मिति नजिँकिदै गर्दा जिल्लामा चुनावी सरगर्मी निकै बढिसकेको थियो ।

निर्वाचनको विरोध गर्दै आएको राजपासहित सबै दल चुनावमा होमिएका थिए । राजपाले भित्री रूपमा चुनावी तयारी गरिरहेको थियो । पार्टी प्रवेश, राजनीतिक भेटघाटलगायत कार्यक्रमलाई तीव्र पारेको राजपाले बाहिर भने निर्वाचनको विरोध गरेजस्तो देखिन्थ्यो । ग्रामीण भेगमा राजपाबाट चुनाव लड्ने उम्मेदवारको लगभग टुंगोसमेत लागिसकेको थियो । पार्टीले आधिकारिक निर्णय नगरे पनि मौखिक आश्वासन पाएका सम्भावित उम्मेदवार भोट माग्दै जनतामाझ पुगेका देखिन्थे । पार्टीको केन्द्रीय तहबाट आउने निर्देशनलाई पालना गर्दै निर्वाचनको विरोध गरे जस्तो गर्ने राजपाका कार्यकर्ता भित्र भने चुनावी अभियानमा सक्रिय भएकाले पनि चुनावी सरगर्मी बढाउन थप मद्दत पुगेको थियो ।

राजपालाई सहभागी गराउने भन्दै प्रदेश नम्बर २ को मिति सार्ने निर्णयलाई सत्तारूढ दलका स्थानीय नेता/कार्यकर्तासमेत असन्तुष्ट छन्।

निर्वाचनको विकल्प नभएको बताउने राजपा रौतहटका संयोजक अजय गुप्ताले उम्मेदवारको टुंगो नलगाए पनि पार्टीले आफ्नो गतिविधिलाई अघि बढाइरहेको बताए । ‘पार्टी प्रवेश, राजनीतिक भेटघाट त नियमित प्रक्रिया हो, तर माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी हुन सक्दैन थियौँ,’ उनले भने ‘यसको अर्थ हामी निर्वाचनको विपक्षमा छौँ भन्ने होइन, निर्वाचन कुनै हालतमा हुनुपर्छ र निर्वाचनको विकल्प छैन, तर हाम्रो माग सम्बोधन हुनुप¥यो ।’ स्थानीय तह संख्या थप, संविधान संशोधनलगायत माग सम्बोधन गरेर २ असोजमा निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । राजपालाई सहभागी गराउने भन्दै प्रदेश नम्बर २ को मिति सार्ने निर्णयलाई सत्तारूढ दलका स्थानीय नेता/कार्यकर्तासमेत असन्तुष्ट छन् ।

बाराका कांग्रेस महासमिति सदस्य लोकेश सिंह निर्वाचन सार्ने निर्णयले स्थानीय तहमा निराशा थप्ने बताउँछन् । ‘स्थानीय जनता असन्तुष्ट छन् । निर्णयको चर्को विरोध गरिरहेका छन् । हामीले जवाफ दिन सकिरहेका छैनौँ,’ सिंहले भने, ‘सरकारको निर्णयपछि चुनावको रौनक पनि घटेको छ ।’ एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं पर्साका युवा नेता अरविन्द सिंहले सरकारको निर्णयले जनताको उत्साह घटेको बताए । ‘चुनाव सारिनुको खास कारण खुल्न सकेन । कसका लागि निर्वाचन सारियो ?,’ सिंहले भने ‘मधेशका जनताको चाहनाविपरीत निर्णयले चुनावी उत्साह निकै घटेको छ । जनताले सरकारलाई अब पत्याउन सकिरहेका छैनन् ।’

१४ असारको निर्वाचनका लागि राजपाबाहेक सबै दलले केही उपमहानगरबाहेक अन्य स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएर घरदैलो अभियान गरेका थिए । एमाले बाराका नेता डा. कृष्ण पौडेलले सबै दल निर्वाचनको पक्षमा रहेर जनताको घर–घरमा पुगेका बेला निर्वाचन सारिनु अन्यन्त दुःखद् रहेको टिप्पणी गरे । राजनीतिक, सामाजिक र आर्थिक रूपमा २ नम्बर प्रदेशलाई कमजोर पार्ने खेल भएको भन्दै डा. पौडेलले मिति अघि सारेर साउन महिनामै निर्वाचन गर्नुपर्ने बताए । ‘जनता स्थानीय सरकार निर्माण गर्न चाहन्छन्, विकास खोजिरहेका जनताको भावनालाई सम्मान गर्नुपर्छ’ पौडेलले भने ‘राजपाको नाममा निर्वाचन सार्ने खेल सत्तारूढ दलले गरेको छ, जुन अत्यन्त दुःखद् छ, त्यो मिति अघि सारेर निर्वाचन सक्नुपर्छ ।’ पौडेलले चुनावको मिति सारिएपछि चुनावी अभियानलाई पार्टीको आन्तरिक संगठानात्मक व्यवस्थापनमा रूपान्तरण गरेको बताए ।

 

 

 

प्रतिकृया दिनुहोस