MENU

प्रदेश समाचार

635x90

कर्णालीका महिला : मुहार फेरिने आशा

गोविन्द देवकोटा, जुम्ला सोमवार, जेठ २९, २०७४

काखमा रुँदै गरेको दुधे बालक र पिठ्युँमा गह्रौं भारी । कामको बोझले शरीरमा लगाएका सबै कपडा मैलो, अधबैंशमै चाउरिएको अनुहार । सधैंको थकानका कारण विश्रामको मौकाको पर्खाइमा मलिन अनुहार । केही वर्ष अघिसम्म कर्णालीका नारीहरूको पोट्रेट हो यो । अशिक्षा, गरिबी र कुसंस्कारबाट गाँजिएका यहाँका महिलाको जीवन निकै दर्दनाक थियो । एकछाकको भरमा दैनिक १६ घण्टासम्म काम गर्नुपर्ने भएकाले ४० वर्षको उमेरमै ६० वर्षको जस्तो अनुहार देखिन्थ्यो । समय फेरिँदैछ, दुर्गमको व्यापारिक नगर जुम्लामा मेयर बनेकी छन्, कान्तिका सेजुवाल । र, कर्णालीका महिलाले उनको विजयसँगै आफ्नो सास्ती घट्ने आशा गरेका छन् ।

त्यसो त, सेजुवालले कर्णालीको दुःख, त्यसमा पनि महिलाको बदलिँदो परिचयको प्रतिनिधित्व गरिसकेकी छिन् । चुलोचौका र खेतबारीमै सीमित महिलाहरूको नेतृत्व तहमा लम्किँदै गरेको उदाहरण बनेकी छिन्, उनी । राजनीतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा महिलाहरूको सक्रियता दिनप्रतिदिन बढ्दै गएको छ । सबैभन्दा धेरै कुसंस्कारले जेलिएको कर्णाली र त्यसको प्रभावबाट बन्धक बनेका यहाँका महिलाहरूले विस्तारै उक्त कुसंस्कारको जालो तोड्दै आएका छन् । ‘२/४ वर्षअघिसम्म हामी आफ्नो श्रीमान्को नाउँ भन्न जान्दैन्थ्यौँ,’ जुम्ला ताम्तीकी राजकली शाही भन्छिन्, ‘तर अहिले जिल्लाकै प्रमुख तहमा महिला नेतृत्व पुगेको छ, यो सबै महिला जागरणका लागि भएका विभिन्न प्रयासहरूका कारणले हो ।’

‘खाना बनाउनेदेखि घाँसदाउराको बोझले कहिल्यै फुर्सद भएन,’ शाही भन्छिन्, ‘गाउँमा केही कार्यक्रम भए पनि आइमाइलाई किन चाहियो भन्दै हामीलाई कहिल्यै जान दिएनन्, अनि कसरी हामीले नेतृत्वका कुरा थाहा पाउने ?’ तर, दोस्रो जनआन्दोलनपछि कर्णालीमा महिला जागरणमा सरकारी तथा गैरसरकारी निकायबाट धेरै प्रयास भए ।छोरी मान्छे घरबाहिर निस्कनु हुँदैन भन्ने मानसिकतालाई चिर्दै अहिले यस ठाउँका महिला सरकारी तथा गैरसरकारी निकायका क्षेत्रलगायत रोजगारीमा पनि फड्को मार्दैछन् । निजामती सेवाको प्रवेशमा लिइने हरेक परीक्षामा पुरुषभन्दा महिलाहरूको सहभागिता बढी हुने गरेको पाइएको छ । अहिले प्रत्येक कार्यालयमा २/३ जना महिला कर्मचारी देख्न सकिन्छ ।

चन्दननाथ नगरपालिकाले प्रमुख र उपप्रमुख दुई वटै पदमा सक्षम र योग्य महिला नेतृत्व पाएको छ। राजनीति पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यतालाई यसपटक कर्णालीवासीले नेतृत्व महिलाको हातमा सुम्पेर छन्।

लामो समयपछि कर्णालीबाट महिला नेतृत्वको शुरुवात भएको छ । चन्दननाथ नगरपालिकाले प्रमुख र उपप्रमुख दुइटै पदमा सक्षम र योग्य महिला नेतृत्व पाएको छ । राजनीति पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै यसपटक कर्णालीवासीले नेतृत्व महिलाको हातमा सुम्पेर छन् ।

प्रेरणाकी स्रोत कान्तिका

चन्दननाथ नगरपालिकाको मेयर पदमा महिला नेतृ कान्तिका सेजुवाल निर्वाचित भएसँगै महिलाहरूले पनि अवसर पाए प्रतिस्पर्धामा खरो उत्रिन सक्छन् भन्ने सन्देश फैलिएको छ । ‘मेरा लागि यो सानो चुनौती थिएन,’ कान्तिका भन्छिन्, ‘तर जनताको विश्वास र आफ्नो योग्यताका कारण मैले नेतृत्व लिन सफल भएँ ।’ उनी अहिले कर्णालीमात्रै होइन, पछि पारिएका र नेतृत्व तहमा आउन चाहने देशभरिका महिलाहरूका प्रेरणाको स्रोतका रूपमा उदाउन सफल भएकी छन् । विद्यार्थी राजनीतिमा लागे पनि पार्टीगत राजनीतिमा सक्रिय नभएकी कान्तिकाले आफ्नो पेसामा देखाएको कुशलताले नेतृत्व पाएको नगरवासी बताउँछन् । उनका श्रीमान् जिल्लाका प्रतिष्ठित राजनीतिज्ञ थिए ।

अचानक ४ फागुन ०७० मा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनामा श्रीमान् गुमाएपछि कान्तिकाले दुई वर्षअघि शिक्षण पेसाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा पाइला टेकिन् । कर्णालीमा व्याप्त छुई प्रथा निवारणका लागि कान्तिकाले द्वन्द्वकालमा नै अगुवाइ गरेकी थिइन् । यस्तै जातीय छुवाछुतले गाँजिएको ठाउँमा त्यसविरुद्धको आवाज उठाउने गैरदलित परिवारकी पहिलो महिला पनि हुन् । यसअघि उनले प्रधानाध्यापक भएर नेतृत्व लिएको विद्यालय राष्ट्रियस्तरमा नै तीन पटकसम्म उत्कृष्ट बनेकोले नगरमा पनि कुशल प्रशासकको रूपमा पहिचान बनाएकी थिइन् । सोही विश्वासका कारण उनलाई नेतृत्व दिइएको नगरवासीको भनाइ छ ।

समृद्ध नगरको अठोट

दुई वर्षअघि मात्रै स्थापना भएको सेजुवालले सम्हालेको नगरमा भौतिक पूर्वाधारको मात्रै नभई अन्य विकास निर्माणका कार्यले पनि पूर्णता पाएको छैन । सबैभन्दा ठूलो समस्याको रूपमा विद्युत् रहेको छ । सेजुवालले केही वर्षमै नगरलाई समृद्ध बनाउने अठोट गरेकी छन् । ‘यो नगरलाई देशकै आकर्षणको केन्द्रका रूपमा स्थापित गर्नेछु,’ उनले भनिन्, ‘महिलाको नेतृत्वले नै समृद्धिको बागडोर खोल्न सक्छ भन्ने सन्देश देशैभर पु¥याउने मेरो उद्देश्य हुनेछ ।’ पूर्वाधारको विकास भइनसकेकाले थुप्रै चुनौतीहरू समेत रहेको उनको भनाइ छ ।

स्मार्ट सिटी, हरियाली नगर, शैक्षिक तथा स्वास्थ्यको केन्द्रका रूपमा विकसित गर्ने उनका योजनाहरू छन् । आफू नगरपालिकाको जनप्रतिनिधि भए पनि समग्र कर्णाली र यहाँका महिलाको जीवनस्तर उकास्न हरदम प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । विभिन्न बहानामा महिलालाई पछि पार्ने र परिवारमै सीमित राख्ने सामाजिक कुरीति र कुसंस्कारलाई तोड्न सदैव लागिपरिरहने उनको योजना छ ।

कमजोर वर्गको प्रतिनिधित्व कम

संविधानले स्थानीय तहमा महिलालाई अनिवार्य ल्याउनुपर्ने प्रावधानका कारण यसपटकको स्थानीय तहको निर्वाचनले कर्णालीमा पनि महिला नेतृत्वको दैलो उघारेको छ । तर, नेतृत्वमा आउने प्रायः महिला हुनेखाने र सम्पन्न परिवारका प्रतिनिधि छन् । आर्थिक अवस्था कमजोर भएका र बिहान–बेलुका छाक टार्नकै लागि १६ घण्टासम्म काम गर्नुपर्ने महिलाहरूको समग्र राजनीतिक, सामाजिक नेतृत्वको सबल अभियानको निरन्तरताको अभाव छ । ‘दाउरा बिक्री नगरी गाँसको व्यवस्था हुँदैन,’ जुम्ला चन्दननाथकी रूपमती कुँवर भन्छिन्, ‘नेता भइकन हामीलाई के पुग्ने छ ।’ दैनिक कामको बोझले समान्य रोगको उपचारसम्म गर्न नपाउने महिलाहरूको जमात कर्णालीमा निकै ठूलो संख्यामा छ ।

 उदाउँदै गरेको महिला राजनीतिक नेतृत्व र बाहिरी संसारको मुहार देख्न नपाएका कर्णालीका ग्रामीण क्षेत्रका महिलाहरू बीचको फाटो तोड्नु आजको प्रमुख आवश्यकता।

‘रातदिन खेतबारीकै काम गर्नुपर्छ कतिबेला राजनीति र चेतनाको कुरा गर्नु ?,’ मुगु रारा छायाँनाथकी सिर्जना शाही भन्छिन्, ‘नेता हुने, भाषण गर्ने त धनी घरकाले हो, हामीलाई काम नगरी खान पुग्दैन ।’अहिले पनि कर्णालीका ७५ प्रतिशत महिला महिनावरी भएका बेला गोठमै बस्छन् । पोषणयुक्त खानाको अभाव र बालविवाहका कारण कर्णालीका ४० प्रतिशत महिलाहरूमा आङ खस्ने समस्या रहेको छ । सानै उमेरमा गरिने विवाह र गर्भवती अवस्थामा पनि भारी बोक्नुपर्ने बाध्यताका कारण अधिकांश महिलाको पाठेघर खस्ने समस्या रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अहिले पनि कर्णालीका महिलाहरूलाई चाडपर्व कतिबेला आउँछ र जान्छ भन्नेसम्म पनि हेक्का हुँदैन । बाह्रैमास मेलापात र दाउराघाँस गर्दैमा दैनिकी बित्छ । जसका कारण दीर्घरोग पालेर बस्नुपर्ने बाध्यता छ, उनीहरूसँग । ‘झिसमिसेमै चुलाचौको सकेपछि काममा निस्कन्छु । दिउँसो समय निकालेर खाना खान्छु । फेरि, बच्चा पिठ्युँमा बोकेर काममा निस्कन्छु ।’ हुम्ला सिमकोटकी कालिका सुनार भन्छिन्, ‘निरन्तरको काम र असन्तुलित खानपानले शरीर सुक्दै गएको छ, के गर्नु जति काम गरे पनि वर्षभरि खान पुग्दैन ।’ यस्ता समस्या पोख्ने कर्णालीका महिलाहरू प्रतिनिधि पात्र मात्रै हुन् ।

उदाउँदै गरेको महिला राजनीतिक नेतृत्व र बाहिरी संसारको मुहार देख्न नपाएका यहाँका महिलाहरूको समस्याको जालो तोड्नु आज अपरिहार्य बनेको छ । महिला अधिकारका नाममा खुलेका थुप्रै संस्थाहरूले तथ्यांक संकलन गर्नेबाहेक अन्य कुनै काम गर्न सकेका छैनन् । पछिल्लो समय छोरीलाई विद्यालयमा पठाउने प्रचलन बढे पनि त्यसअघिको पुस्ता अहिले पनि दुःखको खाडलबाट उस्कन सकेको छैन ।

एकता जरुरी

अब निर्वाचित महिला जनप्रतिनिधिहरूले स्थानीय तहको समृद्धिका साथै विकासको मूलप्रवाहमा आउन नसकेका महिलाहरूको सशक्तिकरणका लागि विशेष पहल थाल्नु आवश्यक छ । यसका लागि यहाँका महिला जनप्रतिनिधिहरूको एकताले कुसंस्कार र कुरीतिबाट महिलालाई मुक्त गराउन सकिने चन्दननाथका नगरप्रमुख सेजुवालको भनाइ छ । ‘अहिले जति पनि महिलाहरू नेतृत्वमा आएका छौँ, सबैको एकता र समन्वय हुनु जरुरी छ, किनकि, आफ्नो तहका प्रतिनिधि मात्रै नभएर हामी समग्र कर्णालीका पिछडिएका महिलाका प्रतिनिधि हौँ,’ उनले भनिन्, ‘पाँचवटै जिल्लाका प्रतिनिधिहरू मिलेर महिला सशक्तिकरणका लागि विशेष योजना बनाएर अगाडि बढ्नेछौँ ।’

तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढा पनि महिला जनप्रतिनिधिहरूले आ–आफ्नो तहमा उपलब्ध हुने सेवासुविधालाई महिलामैत्री बनाउँदै चेतनाका अभियानहरूलाई तीव्रता दिनुपर्ने बताउँछिन् । उनले यसअघि धेरै तालिम सेमिनार भए पनि प्रभावकारी हुन नसकेको भन्दै स्थानीय तहमा महिला नेतृत्व र महिलारक्षाका निमित्त नीतिगत कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

 

प्रतिकृया दिनुहोस