MENU

प्रदेश समाचार

635x90

स्थानीय निर्वाचन : प्रदेशमा चुनावी रन्को

लक्ष्मण पोखरेल/शिवराज भट्ट मंगलवार, जेठ २३, २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) एकातिर दोस्रो चरणको स्थानीय तह निर्वाचनको विरोधमा देखिन्छ भने अर्कातिर प्रदेश ५ का जिल्लामा चुनावी तालमेलको प्रयासमा देखिन्छ । बाहिर आन्दोलनको कुरा गरे पनि भित्रभित्रै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न सर्कुलर पठाएको छ । ३१ जेठको निर्धारित मिति १४ असारमा पुर्याउनुको खास कारण सोही पार्टीलाई निर्वाचनमा ल्याउने सरकारी प्रयास हो । फलस्वरूप राजपाले १७ जेठदेखि १९ सम्म गरेको मसाल जुलुस, नेपाल बन्दको कार्यक्रम फिर्ता लियो । तर, माग पूरा नभए उसले दोस्रो चरणको आन्दोलन थाल्ने बताएको छ ।

रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ र बाँकेमा राजपाको वर्चस्व भएका क्षेत्रमा झण्डासहितको चुनावी प्रचार छैन । तर, भित्री तयारी व्यापक छ । चुनावमा गइहाले मधेशी दलहरूबीच तालमेल हुने राजपा रूपन्देही संयोजक अजय बर्मा बताउँछन् । भन्छन्, ‘सिद्धार्थनगर नगरपालिकामा राजपा र फोरम नेपालबीच तालमेलमा उम्मेदवार चयन हुनेछ तर यो गठबन्धन चुनाव हुने शर्तमा मात्रै हो ।’ राजपाले निर्वाचनको विरोधमा विभिन्न कार्यक्रम गरिरहेको छ । सँगै बिनाझण्डा चुनावी प्रचारसमेत जारी राखेको छ । एक जिल्लास्तरका नेता भन्छन्, ‘छोटो समयमा चुनावमा जानुपर्ने भएकाले अहिलेदेखि नै तयारी थालेका छौँ, आन्दोलनका कारण खुलेर प्रचार गरिएको छैन ।’

कांग्रेस, एमाले र माओवादीको विपक्षमा चुनावी तालमेल गर्ने राजपाको तयारी छ । यद्यपि, आफ्नो बाहुल्यता रहेका स्थानीय तहमा एक्लै चुनाव लड्ने सोचमा पनि देखिन्छन्, उक्त दलका नेताहरू । निर्वाचनमा जाँदा फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमसँग तालमेल गरिने बर्माको भनाइ छ । रूपन्देहीको सिद्धार्थनगरमा राजपालाई फोरम नेपालले सघाउने करिब पक्का भएको छ । तिलोत्तमा नगरपालिकामा नयाँशक्ति र फोरमलाई राजपाले सघाउनेछ । रूपन्देहीका ६ वटा तहमा मोर्चाको प्रभाव छ ।

प्रदेश ५ का जिल्लामा मधेशकेन्द्रित दलहरू भित्रभित्रै चुनावी तयारीमा देखिन्छन्।

राजपाबाट टिकट नपाए स्वतन्त्र उम्मेदवार बन्ने तयारीसमेत देखिन्छ । मतदातामा चुनावी आतुरता झल्किन्छ । मतदाता शिक्षा कार्यक्रममा सहभागी वीरेन्द्र पाल भन्छन्, ‘हाम्रा कार्यक्रम बिनाअवरोध भइरहेका छन् ।’नवलपरासीका दुई स्थानीय तहमा राजपाले चुनावी तयारी गरेको छ । प्रतापपुर र त्रिवेणी सुस्ता गाउँपालिका राजपाको प्रभाव क्षेत्र मानिन्छन् । कपिलवस्तुमा पनि राजपाको बलियो पकड मानिन्छ । राजपा कपिलवस्तुका संयोजक कैलाश अग्रहरि भन्छन्, ‘केन्द्रको निर्णयबमोजिम आन्दोलनमा छौँ, चुनावमा जाने सहमति नहुँदासम्म तयारी हुँदैन ।’ जिल्लाका १० स्थानीय तहमध्ये सात वटालाई मधेशकेन्द्रित दलहरूले पकड क्षेत्र मान्दै आएका छन् । वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा चुनावी तयारी भइरहेको छ ।

मधेशी दलको वर्चस्व रहेका दाङका चार वटा क्षेत्रमा चुनावी प्रचार देखिएको छैन  । कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ता भेलामा जुटिरहेका छन् । दाङका १० तहमध्ये लमही र राजपुर नगरपालिका तथा गढवा र राप्ती गाउँपालिकामा चुनावी कमजोर देखिन्छ । बाँकेको नेपालगन्ज उपमहानगरसँगै तीन वटा गाउँपालिकामा मधेशकेन्द्रित दलहरूको प्रभाव छ । आठ तहमध्ये अधिकांशमा चुनावी माहोल तयार हुँदै गएको छ । मधेशकेन्द्रित दलहरू आफ्नो पकड क्षेत्रमा अन्य दलका जित्न नदिने रणनीतिमा देखिन्छन् ।

देउवाको क्षेत्रमै किचलो

प्रदेश ७ मा भने ठूला दलहरू ठूला शहर धनगढी र महेन्द्रनगरमा बढी केन्द्रित छन् । कैलालीको क्षेत्र नम्बर ६ बाट कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रो संविधानसभामा जितेका थिए । डडेलधुरामा पनि जितेपछि उनले यो क्षेत्र छाडे र उपचुनावमा पुष्करनाथ ओझा सांसद भए । सोही क्षेत्रमा स्थानीय तहको टिकट वितरणमा किचलो देखिएको छ । पार्टीले क्षेत्रीय कार्यसमितिहरूलाई दिएको उम्मेदवार छनोटको जिम्मेवारी उछिनेको बताउँदै धनगढी उपमहानगरको टिकट वितरणमा किचलो उत्पन्न भएको छ । क्षेत्रीय समितिले वडाध्यक्ष र सदस्यहरूको उम्मेदवारीको टुंगो लगाउनुअगावै सांसद ओझा र जिल्ला सभापति नरनारायण शाहले एकलौटी ढंगले निर्णय गरेको आरोप लागेको छ ।

क्षेत्रीय सभापति हरिश खड्का भन्छन्, ‘हामीले तीन दिन लगाएर धनगढीका १९ वटै वडाका अध्यक्ष र सदस्यहरूको टुंगो लगाएका थियौँ, जिल्ला समितिमा सिफारिस गर्नुअगावै सांसद ओझा र पार्टी सभापति शाहले एकलौटी गरे ।’ शाह र ओझाले कार्यकर्ताको भावनाविपरीत आफूनिकटस्थ व्यक्तिहरूलाई टिकट दिएको आरोप कार्यकर्ताले लगाएका छन् । क्षेत्रीय समितिलाई उछिनेर उम्मेदवारको नामावली रातारात सार्वजनिक भएपछि असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा १२ जेठदेखि तालाबन्दी गरेका छन् ।

हिमाली भेगका गाउँपालिकाका बासिन्दा यार्सा टिप्न लेकतिर उक्लेपछि उम्मेदवारहरू पनि उनीहरूकै पछिपछि लेकाली फाँटमा पुगेर भोट माग्न व्यस्त छन्।

धनगढी १ बाट वडाध्यक्षका दाबेदार कृष्ण कुँवरले सोही दिनदेखि आमरण अनशन थालेका छन् । उनको अवस्था बिगिँ्रदै गएपछि सेती अञ्चल अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । कांग्रेसमा टिकट वितरणमा अन्याय भएको बताउँदै धनगढी ३ को कार्यसमितिले पार्टी सभापतिलाई राजीनामा बुझाएको छ । जित्नेलाई भन्दा आफूनजिक र गुटका व्यक्तिलाई टिकट दिइएकाले राजीनामा बुझाइएको वडा ३ का सभापति दीपेन्द्र सिंह बताउँछन् । शाह र ओझाको मनपरीविरुद्ध क्षेत्रीय समितिका पदाधिकारी पार्टी सभापति देउवाको निवाससम्म पुगेका छन् । क्षेत्रीय समितिले शाह र ओझाले सार्वजनिक गरेकामध्ये ११ वटा वडाध्यक्षको नामावली हेरफेर गरेको छ ।

एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर ७ का ८८ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको बताएका छन् । ‘प्रदेश नम्बर ७ मा सबै उम्मेदवारको टुंगो लागिसकेको छ । हामीले तीव्रस्तरमा प्रचारप्रसार शुरु गरिसकेका छौँ ।’ एमाले प्रदेश नम्बर ७ का प्रदेशसचिव दिनेशचन्द्र सुवेदीले भने । माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टले अत्तरिया नगरपालिकामा आफ्नै भाइ गोकर्ण भट्टलाई मेयरको टिकट दिलाउन सफल भएका छन् । त्यसैले उनको प्रचारप्रसार तीव्र भएको छ । उता पहाडी क्षेत्रमा पनि चुनावको चहलपहल बढेको छ ।

प्रदेश ७ को दार्चुलामा हिमालनजिकका तीन गाउँपालिकाका अधिकांश मतदाता यार्सा टिप्न लेकतिर उक्लेका छन् । उम्मेदवारहरू पनि उनीहरूलाई पछ्याउँदै भोट माग्न लेकतिरै गएका छन् । व्यास, नौगाड र अपिहिमाल गाउँपालिका हिमालको फेदीमा पर्छन् । तीन वटै गाउँपालिकामा अहिले यार्सा टिप्ने चटारो छ ।
गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र छन्, १८ वर्षमाथिका अधिकांश लेकाली पाटनमा यार्सा टिप्न व्यस्त छन् । सोही कारण उम्मेदवारहरूलाई लेकतिरै पठाउनु परेको एमाले जिल्ला अध्यक्ष उदयसिंह बडाल बताउँछन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई मतदाताकै पछाडि लगाएको जिल्लासचिव हरकसिंह विष्ट बताउँछन् । लेकमा पुगिसकेका मतदातालाई निर्वाचनमा सहभागी गराउनसमेत चुनौती देखिएको छ । अपिहिमाल गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार धर्मानन्द मन्याल भने मतदाता भोट हाल्न आउने आशामा छन् ।

 

 

प्रतिकृया दिनुहोस