MENU

प्रदेश समाचार

635x90

दोस्रो चरणको चुनाव : सुरु भयो राजनीतिक सरगर्मी

टुडे संवाददाता आइतवार, जेठ ७, २०७४

प्रदेश १, २, ५ र ७ मा आगामी ३१ जेठमा स्थानीय तहको चुनाव तालिका बनाएको छ, निर्वाचन आयोगले । प्रदेश ३, ४ र ६ मा पहिलो चरणको निर्वाचन सफल भइसकेको छ । बाँकी चार वटा प्रदेशका मतदाता र उम्मेदवारमा पनि चुनावको व्यग्रता देखिन्छ । सम्भावित उम्मेदवारको चर्चा कायम रहँदा राजनीतिक दलहरू चुनावी अभियानमा होमिइसकेका छन् । तोकिएको मिति तलमाथि हुन सक्ने शंका कायमै छ । उम्मेदवारको टुंगो लगाइँदै निर्वाचनको घोषित मिति नजिकिँदै गर्दा मतदातामा मत हाल्ने पर्खाइ र राजनीतिक दलमा उम्मेदवार चयनदेखि निर्वाचन रणनीतिसम्मको चटारो थपिएको छ । प्रदेश १ मा मुख्य राजनीतिक दलले चुनावी तयारीलाई यसअघि नै अगाडि बढाएका थिए ।

आफ्नो पार्टी तीन प्रदेशको चुनावी नतिजाको पर्खाइ र अन्य प्रदेशमा तयारीमा होमिएको माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज गोपाल किराँती बताउँछन् । भन्छन्, ‘उम्मेदवार र तालमेलसम्बन्धी निर्णय पार्टीको स्थानीय तहले नै गर्ने हो, प्रदेशले त्यसलाई अनुमोदन मात्र गर्छ ।’ माओवादी केन्द्रका कार्यकर्ता र नेतृत्व यो प्रदेशमा निकै सक्रिय भएको, उम्मेदवारको विषयमा कुरो मिल्न नसके केन्द्रले ‘गाँठो फुकाइदिने’ किराँतीको भनाइ छ । पहिल्यै उम्मेदवार तय भइसकेका क्षेत्रमा निर्वाचनका गतिविधिलाई निरन्तरता दिइएको माओवादी केन्द्रका मोरङ जिल्ला इन्चार्ज गोपी अछामी बताउँछन् । ‘वडास्तरसम्म पुगेर हाम्रा उम्मेदवारले मत माग्ने काम गरिरहेका छन्,’ उनी भन्छन्, ‘जुन उत्साह पहिले थियो, अहिले पनि छ ।’

आफ्नो पार्टीले वडास्तरसम्म पुगेर चुनावी गतिविधि गरिरहेको एमाले प्रदेश १ का प्रवक्ता तथा केन्द्रीय सदस्य हिक्मत कार्की बताउँछन् । भन्छन्, ‘उम्मेदवारको नाममा धेरै ठाउँमा सहमति भइसकेको छ । तलबाटै सहमति गर्दै आउने रणनीतिअनुसार हामीले काम गरिरहेका छौँ ।’ उनका अनुसार १० जेठसम्म सबै उपमहानगर, नगर र गाउँपालिकाका उम्मेदवारको टुंगो लागिसक्ने छ ।

हुन त, राजनीतिक दलहरूले दोस्रो चरणको निर्वाचनको तयारी खुलेर नभए पनि गोप्य रूपमा गरिराखेका छन् तर हालसम्म मतदाता हालसम्म निर्वाचन हुने/नहुनेमा प्रस्ट हुन सकेका छैनन्।

कांग्रेसले पार्टी गतिविधिलाई तीव्रता दिँदै उम्मेदवार छनोटका लागि आएका नामहरूलाई सर्टलिस्ट गर्ने तयारी गरिहेको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरे बताउँछन् । केन्द्रीय सभापति शेरबहादुर देउवाको उपस्थितिमा झापामा प्रदेशस्तरीय बृहत भेला आयोजना गरेर स्थानीय चुनावमा होमिएको छ, उक्त पार्टी । दोस्रो चरणको निर्वाचनका लागि पनि भव्य तयारी गरिएको घिमिरेको भनाइ छ । उनी भन्छन्, ‘दोस्रो चरणमा चुनाव सारिए पनि पार्टीका गतिविधि रोकिएका छैनन् ।’

अन्योलमा मतदाता

तीन वटा प्रदेशमा मतदाताले जनप्रतिनिधि छानिसक्दा अन्य चार वटाका मतदाता भने अन्योलबाट बाहिर निस्किन सकेका छैनन् । प्रदेश २ का मतदातामा सबैभन्दा बढी अन्योल देखिन्छ । हुन त, राजनीतिक दलहरूले दोस्रो चरणको निर्वाचनको तयारी खुलेर नभए पनि गोप्य रूपमा गरिराखेका छन् । तर, हालसम्म जनतामाझ निर्वाचन हुन्छ वा हँुदैन भन्ने प्रस्ट हुन सकेको छैन । प्रदेश २ मा प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले र एमाओवादी केन्द्रका नेताहरूले जनकपुर क्षेत्रमा समेत खुलेर निर्वाचनलक्षित कार्यक्रमहरू अगाडि सारेका छैनन् । हालसम्म कुनै पनि पार्टीले आधिकारिक रूपमा मेयर, उपमेयर, वडाध्यक्ष वा अन्य साना पदका लागि उम्मेदवार सार्वजनिक गरेका छैनन् ।

३१ जेठका लागि तोकिएको चुनावमा वर्षा र बाढीले पनि कठिनाइ हुन सक्ने देखिन्छ । यदि निर्धारित दोस्रो चरणको निर्वाचन भएन भने त्यसले अकल्पनीय दुर्घटना निम्त्याउन सक्ने प्राध्यापक विजय दत्तको भनाइ छ । उनी भन्छन्, ‘जनता चुनावमा भाग लिन आतुर छन्, बाँकी चार वटा प्रदेशमा नभए त्यसले जनतामाझ अविश्वास पैदा गर्नेछ ।’ राजनीतिक दलहरूको अस्पष्ट विचारका कारण अहिलेसम्म यस प्रदेशका मतदाताले चुनावबारे केही बुझ्न नसकेको कांग्रेसकी महिला नेतृ सम्झना बर्मा बताउँछिन् । स्थानीय तहको निर्वाचन एउटा सुनौलो अवसर भएकाले कुनै पनि हालतमा जनताबाट यो अवसर खोसिनु नहुने उनको भनाइ छ ।

चुनावमा नजाने भनी मधेशका बासिन्दालाई आह्वान गरिरहेको उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल पहिलो चरणको निर्वाचनमा सहभागी भयो । त्यसबाट दोस्रो चरणको निर्वाचन हुने विश्वास मतदातामा पलाएको पाइन्छ । संविधान संशोधन नभए दोस्रो चरणको निर्वाचन हुन नदिने बताउँदै गैरराजनीतिक संगठनमा आबद्ध युवा समूहले समेत विरोध जनाउन थालेका छन् । युवाले गठन गरेको ‘नन–पोलिटिकल अर्गनाइजेसन’को आयोजनामा छलफल, अन्तत्र्रिmया र विरोधका कार्यक्रमहरू भइरहेका छन् । मधेशमा जारी आन्दोलनको मुद्दालाई सम्बोधनबिनै सरकारले निर्वाचन गरेर त्यहाँका बासिन्दालाई चिढ्याउन खोजेको मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र बताउँछन् ।

विरोधको कार्यक्रम शुरु भइसकेको उनको भनाइ छ । मधेशको माग सम्बोधनबिना कुनै पनि हालतमा स्थानीय निर्वाचन सम्भव नरहेको ‘परिवर्तनका लागि युवा’ नामक संगठनका संयोजक सुशील कर्णको ठम्याइ छ । जनकपुरमा मधेश अधिकार संघर्ष समिति (मास), नागरिक सरोकार समिति, मधेश नागरिक समाज, दशरथ युवा कमिटी, मधेश क्रान्ति संघर्ष समिति र परिवर्तनका लागि युवा नामक संगठनहरूले निर्वाचनको विरोधमा खुलेरै विरोध कार्यक्रमहरू गरिरहेका छन् ।

पहिलो चरणले जगायो आशा

छिमेकी प्रदेशहरूमा स्थानीय तहको निर्वाचन भइसकेपछि प्रदेश ५ अन्तर्गत बाँके राप्ती सोनारी गाउँपालिकाका झग्रु थारूमा आशा पलाएको छ । माओवादी केन्द्रले उनलाई राप्ती सोनारी गाउँपालिका ९ बिनौनाको वडाध्यक्षमा उमेदवारी घोषणा गरिदिएपछिको उत्साह बीचमा सेलाइसकेको थियो । तर, जब छिमेकी जिल्लाहरूमा निर्वाचन उत्साहजनक रूपमा भयो अनि फेरि हौसिएका छन् उनी । कुनै पनि हालतमा बाँकी चार वटा प्रदेशमा दोस्रो चरणको निर्वाचन हुनेमा थारू ढुक्क छन् । ‘हामीले त गाउँमा सारा चुनावी काम सकिसकेका छौँ, अब निर्वाचन नभए उपाए नै छैन,’ उनी भन्छन्, ‘अब पनि निर्वाचन भएन भने जनताले नै हामी नेता भइखाएकालाई लखेट्छन् ।’

 

उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल पहिलो चरणको निर्वाचनमा सहभागी भएकामा प्रदेश २ मा पनि निर्वाचन हुने आशा देखिन्छ। यद्यपि, अन्योलको बादल हटिसकेको छैन।

सोही ठाउँबाट कांग्रेसको टिकट पाउने लगभग निश्चित छ, बालकिसुन थारूको । ३१ वैशाखको चुनावका लागि मतदाताका घरघर कुद्न थालेका थिए, उनी । तर, यहाँ ३१ जेठमा निर्वाचन हुने भनियो । त्यसपछि केही खुम्चिएका उनी फेरि हौसिएका छन् । एमालेका उम्मेदवार इटवारी थारूको हौसला पनि फेरि बढेको छ । ‘अब त कसो चुनाव नहोला र,’ बालकिसुन भन्छन्, ‘अरू ठाउँमा हुने, हाम्रो मात्रै नहुने हुँदैन । चुनाव नभए सबै जना नेतालाई घेर्न जान्छौँ ।’

त्यही ठाउँका मतदाता भगवत थारूले ८४ वर्ष काटे पनि अहिलेसम्म स्थानीय चुनावमा भोट हाल्न पाएका छैनन् । अघिल्लो पटकको चुनावमा उनी बाहिर थिए । ‘त्यसबेला जवानी थियो, पैसा कमाउन लाहुर गएको थिएँ,’ उनी भन्छन्, ‘अब त बुढेसकाल लाग्यो, एक पटक गाउँका नेतालाई भोट हालेर मर्न मन छ ।’

उम्मेदवार नै अन्योलमा

एमालेले प्रदेश ७ मा आफ्ना उम्मेदवारको टुंगो लगाइसकेको छ । कांग्रेस र माओवादी केन्द्रलगायत दलले भने उम्मेदवार छनोटको काम अगाडि बढाएका छैनन् । निर्वाचन सरेको समयमा अन्य दलका गतिविधि केही समय स्थगित भएको थियो, एमालेले भने पहिलो चरणको निर्वाचनअगावै घरदैलो कार्यक्रम शुरु गरिसकेको थियो । छनोट भएका उम्मेदवारले आ–आफ्नो गाउँ/नगरमा घरदैलो कार्यक्रम तीव्र बनाएका छन् । ‘हरेक मतदाताको घर–आँगनसम्म हामी पुगिरहेका छौँ,’ भीमदत्त नगरपालिकाबाट एमालेका मेयरका उम्मेदवार सुरेन्द्र विष्ट भन्छन्, ‘निर्वाचन दोस्रो चरणमा हुने भएकाले पनि घरदैलो गर्ने पर्याप्त समय पाइयो ।’

टिकट पाउने निश्चित नभएपछि अरू दलका नेता भने प्रचारप्रसारमा लाग्न सकेका छैनन् । टिकट पाउने÷नपाउने निश्चित भइनसक्दा उनीहरू अन्योलमा छन् । बेदकोट नगरपालिकाको मेयरका सम्भावित उम्मेदवार तथा कांग्रेस नेता भोजराज बोहरा नाम टुंगो नलाग्दा प्रचार–प्रसारमा जुट्न असहज भएको बताउँछन् । भन्छन्, ‘समयमै उम्मेदवारको टुंगो लागे प्रचारप्रसार गर्न केही सहज हुने थियो ।’ माओवादी केन्द्रका नेता गोपाल रसाइलीका अनुसार पार्टीले अब केही दिनभित्रै उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसार तीव्र पार्नेछ । (कुमार लुइँटेल/विराटनगर, मनिका झा/ जनकपुर, गजेन्द्र बोहरा/नेपालगन्ज र बीपी अनमोल /महेन्द्रनगर)

 

प्रतिकृया दिनुहोस