MENU

प्रदेश समाचार

635x90

फालाफाल रोजगारी

केशवशरण लामिछाने आइतवार, माघ ९, २०७३

पोखरा : पोखरामा चल्तीको पत्रिका समाधान दैनिकको पृष्ठ २ एकैखाले विज्ञापनले लगभग भरिएको हुन्छ । वर्गीकृत डिस्प्लेअन्तर्गतका अधिकांश विज्ञापनका शीर्षक हुन्छन्, कामदार चाहियो वा आवश्यकता । सबैभन्दा धेरै खोजीचाहिँ होटेल र रेस्टुराँले गरेका हुन्छन् । मूलतः पर्यटकीय नगर पोखराका युवालाई त्यही क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सिर्जना हुन्छ ।

यस वर्ष मात्रै पर्यटन क्षेत्रमा चार हजारभन्दा बढी रोजगारी सिर्जना भएको रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान) पोखराका सचिव गणेश थापाको अनुमान छ । भन्छन्, ‘एउटा होटेलमा औसतमा २० र रेस्टुराँमा १० जनाले रोजागारी पाउने अनुमान गर्दा आउँदो वर्ष पनि त्यत्तिकै रोजगारी सिर्जना हुनेछ ।’ प्रदेश ४ को मुख्य मुकाम पोखरामा अहिले थपिएको त्यस्तो कुनै नौलो उद्योग र कलकारखाना छैन, होटेल र रेस्टुराँ भने बढेको बढ्यै छन् ।

क्षेत्रीय होटल संघ नेपाल (हान) पोखराका अध्यक्ष भरत पराजुलीका अनुसार अहिले चार सय होटेल र एक सयभन्दा बढी पर्यटकीय रेस्टुराँ छन् । अर्काे वर्षसम्ममा सञ्चालनमा आउने गरी बनिरहेका होटेलको संख्या दर्जनौं छ । पर्यटनमा कामदारको कमाइ पनि अन्तभन्दा राम्रो छ । त्यसमाथि, सेवा शुल्क र पर्यटकका टिप्सले आम्दानी बढ्छ । यद्यपि, लाखैै तलब दिन खोज्दा पनि भनेजस्तो जनशक्ति भेटिन्न । सरकारले प्रदेश ४ को विशेष आर्थिक क्षेत्र (सेज) गोरखामा बनाउने बताएको छ । सेज खुलेपछि त्यहाँ हजारौंलाई रोजगारी सिर्जना हुनेछ ।

प्रतिकृया दिनुहोस