MENU

स्वास्थ्य

635x90

योगले बदलिँदो जीवन

हिमाल दाहाल, इटहरी आइतवार, कार्तिक १२, २०७४

काठमाडौंका गोविन्दबाबु तिवारीले ४४ वर्ष बैंकिङ क्षेत्रमा बिताए । ६० वर्ष उमेर पुगेपछि उनले बैंक छाडे । धेरै उनका समकालीनहरू त्यसपछि कुनै वित्तीय संस्थाको सल्लाहकार बने, कतिले व्यवसाय गरे भने कतिले पढाएर समय बिताउन थाले । तर उनले भने अध्यात्म र ध्यानलाई रोजे ।

‘म आफ्नो जीवन सार्थकताको लागि ध्यान र साधनामा लागेको हुँ,’ सुनसरीको चतरास्थित रामानन्दचार्य सेवा पिठमा आयोजित साधना शिविरमा भेटिएका उनले भने, ‘म उचाइमा त पुगेँ, तर जीवन निरर्थक पाएपछि सार्थकताको खोजीमा भौंतारिएँ ।’

सानैदेखि अध्यात्ममा रुचि राख्ने तिवारीमा पहिलेदेखि नै दार्शनिक चेत थियो । बैंकको सीईओ भइसकेपछिको जीवनमा उनले किन अध्यात्म रोजे त ? ‘उचाइमा पुगेको मानिस फेरि त्यहीँ फर्किन्छ, त्यसैले उचाइभन्दा पनि जीवनको सार्थकता चाहिने हो,’ उनी कारण खोल्छन्, ‘त्यही कारण भौतिक संसारबाट अध्यात्मतर्फ जीवनलाई समर्पण गरेको हुँ ।’

कृष्णदासजी महाराजलाई भेटिसकेपछि आफ्नो रुचिअनुसार कुण्डलिनी योगमार्फत शक्तिपात भएको अनुभव सुनाए । सामान्य धोती र गञ्जीमा भेटिने उनी दैनिक ध्यान गर्छन् । कृष्णदासजी महाराजसँग विभिन्न ठाउँमा हुने शिविरहरूमा जान्छन् । उनकी श्रीमती र छोराछोरीहरू काठमाडौंमा बस्छन् । ‘हामी श्रीमान् श्रीमती नै ध्यान गर्छौं,’ उनले भने । तर उनी भने कार्यक्रम र शिविरतिर पनि हिँडिरहन्छन् ।

lekhanatha आध्यात्मिक विज्ञानले आत्मशान्ति हुन्छ, त्यसपछि समाज शान्ति हुँदै विश्व शान्तिको लागि सहयोग पुग्छ । लेखनाथ घिमिरे अध्यक्ष, विश्व आदर्श कलेज

तिवारीले साधनाको लागि दीक्षा लिएका सन्त कृष्णदासजी महाराज हुन्, जो आफैं पनि पटक पटक भू–समाधिमा बसेको भनेर चर्चामा आइरहन्छन् । पोखरामा नौ दिन र चतरामा आठ दिन उनी भू–समाधिमा बसेका थिए । चतरामा आयुर्वेद विश्वविद्यालय खोल्नुपर्ने अवधारणाका साथ सरकारसँग अनुरोध गरिरहेका कृष्णदासजीको भनाइमा समाधि साधनाको उन्नत अवस्था हो । निश्चित नियमहरूको पालना गरेर लाग्ने हो भने साधना र योगले मानिसको शरीर, मन र आत्मालाई फाइदा पुग्ने उनी बताउँछन् ।

नेपाल तथा भारतलगायत विश्वभरका विभिन्न सन्त, व्यापारी तथा नेताहरूसँग राम्रो सम्बन्ध रहेका कृष्णदासजी अन्य सन्तजस्तो शास्त्रका दर्शन मात्र छाँटेर बस्ने सन्त होइनन् । आयुर्वेद, योगाका पूर्ण ज्ञाता रहेका कृष्णदासजीले चतरामा केही समय नाडी छामेर रोग पत्ता लगाउते र रोग निदानको लागि आयुर्वेद र जडीबुटीको प्रयोगसमेत गरेका थिए । अहिले भने चतरामा आगन्तुकहरूका लागि आवाससमेतको ध्यान शिविरहरू सञ्चालन गर्ने गरिएको छ ।
कृष्णदासजीको यही कीर्ति सुनेर क्यानडा बस्ने डा. गोपाल दाहाल नजिक भए । तिवारीसँगै चतराको शिविरमा भेटिएका थिए, दाहाल । क्यानडामा उनी अनुसन्धानको काम गर्छन् । युनिभर्सिटी अफ ओटावाको फ्याकल्टी अफ मेडिसिनमा रिसर्च गर्ने उनी नेपाल सरकारलाई पनि स्वास्थ्यको क्षेत्रमा काम गर्न सहयोग गर्छन् ।

सोही क्रममा उनले योग र साधनाको फाइदा प्रत्यक्ष अनुभव गर्न साधना थालेको बताए । उनले योगा र साधनाको संगत गर्नुको कारण उनको रिसर्च हो । तर अब त उनी लगभग बानी पारिसके । ‘स्वास्थ्यको लागि पोषणलाई पछि पार्दै कसरतलाई पहिलो प्राथमिकता दिइएको पाइयो,’ उनले भने, ‘कसरतमा पनि योग र ध्यानप्रतिको आकर्षण देखियो ।’

उनले नीति बनाउनको लागि योगा र ध्यानको फाइदा र बेफाइदाबारे अध्ययन गर्न थालेको बताए । उनले योग र साधनाबाट लाभ पाएको बताए । महायोगी सिद्धबाबासँग बुझ्ने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरे । उनले योग र साधनालाई पुर्खाहरूले संरक्षण गरेको सम्पत्ति भएको बताए । उनको यो तेस्रो नेपाल भ्रमण हो । उनले योगलाई अमेरिका, क्यानडा, बेलायतमासमेत प्रचार गर्दै आएका छन् । ‘गुरुले चार सय वर्षअघि भित्र्याउनु भएको सिद्ध महायोगको परम्परालाई प्रबद्र्धन गर्दैछु,’ ओटावामा पाशुपत सिद्ध महायोग साधना केन्द्र खोलेको बताउँदै उनले भने, ‘तीसभन्दा बढी कार्यक्रम भसकेको छ ।’

ganesha_2 बुझेकाहरू पनि बुझ पचाउँछन। वरपर आर्थिक अवस्था न्यून भएकाहरू छन्, समय पनि दिन सक्दैनन्। गणेश सुब्बा अध्यक्ष, जगतगुरु रामानन्दचार्य सेवा पिठ

जीवनको सार्थकता खोज्ने र राम्रो स्वास्थ्यका खोजकर्ताहरू मात्र होइन, शान्तिको खोजी गर्नेहरूसमेत योग र साधनामा रुचि राख्छन् । इटहरीस्थित विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे योग र साधनाले समाजमा शान्ति कायम हुने बताउँछन् ।

‘६ वर्षअघि आध्यात्मिक विज्ञानको खोजीमा आइपुगेँ,’ उनी भन्छन्, ‘यसले आत्मशान्ति हुन्छ, त्यसपछि समाज शान्ति हुँदै विश्व शान्तिको लागि सहयोग पुग्छ ।’

उनका अनुसार योगाले विश्व सद्भाव कायम गर्छ । समाजको विभेदहरूलाई योगा र साधनाले वास्ता नगर्ने हुँदा समाज सुदृढ हुने उनीहरूको भनाइ छ । साधनाको महत्‍वलाई विभिन्न व्यक्तिहरूले विभिन्न तरिकाले व्याख्या गर्ने गरेका छन् । कतिलाई अध्यात्म र साधना जिज्ञासाको विषय हो भने कतिपयको लागि यो आनन्दको खोजीको माध्यम ।

मनमा उब्जेका अनेक प्रश्नको उत्तर पछ्याउँदै जाँदा नेपाल सरकारका निवृत्त सचिव विश्वप्रकाश पण्डितले पनि अध्यात्म र साधनाको बाटो रोजेका छन् । पण्डित भन्छन्, ‘१२ वर्षको हुँदा नै मध्यरातमा प्रश्न आउँथ्यो, तँ को होस् भनेर,’ तर उनले प्रश्नलाई पन्छाउँदै गए, भने, ‘अहिले बुझ्दा अघिल्लो जन्मदेखि नै अध्यात्ममा लागेको रहेछु, पछि साधनामा लागेपछि मैले यो कुरा थाहा पाएँ ।’

२० वर्षदेखि निरन्तर साधनामा रहेका उनले जीवनको लामो समय सरकारी सेवामा बिताए । उनले सरकारी सेवा छाड्दै गर्दा अन्तिम समयमा शिक्षा मन्त्रालयमा थिए । उनले जागिर खाँदा पनि घुस नखाने अठोट गरे । ‘दूधले नै नुहाएको मानिस हुँ म, मैले कहिल्यै घुस खाइनँ,’ साधना गरेपछि व्यक्तिको प्रवृत्तिमा पनि परिवर्तन आउने बताउँदै भने, ‘पहिलो, आत्मशान्ति, त्योसँगै आनन्द बढ्छ र तेस्रो, आन्तरिक वा बाह्य क्रियाशीलता रहीरहन्छ ।’ अहिले उनी र उनकी पत्नी दुवै साधना गर्छन् । जेठो छोरा पनि विपश्यना ध्यान शिविरमा बसिसकेका छन् । उनी अबको बाँकी जीवनमा ध्यान र साधनालाई जीवनको अंग बनाउने बताउँछन् ।

ध्यान र साधनाले मनलाई शान्त बनाउँछ । त्यागको भावना जगाउँछ । त्याग र शान्ति भएपछि समाजमा विकृति र हिंसा कम हुन्छ । तर चतराको आश्रमको वरिपरिका मानिसहरू ध्यान र साधनामा रुचि राख्दैनन् । ‘बुझेकाहरू पनि बुझ पचाउँछन्,’ कृष्णदासजीको आश्रम जगतगुरु रामानन्दचार्य सेवा पिठका अध्यक्ष तथा चतरावासी गणेश सुब्बा भन्छन्, ‘वरपर आर्थिक अवस्था न्यून भएकाहरू छन्, समय पनि दिन सक्दैनन् ।’

सुब्बा भने आश्रमको स्थापनाकाल अर्थात् ६४ सालदेखि नै संलग्न छन् । उनी शिविरहरूमा सहभागी हुनाको साथै व्यवस्थापनमा समेत खटिन्छन् । ७८ वर्षे सुब्बाको जीवन आश्रमकै सेरोफेरोमा घुम्छ ।

 

 

प्रतिकृया दिनुहोस