MENU

स्वास्थ्य

Annapurna635x90

डुबानक्षेत्रमा हेपाटाइटिसको जोखिम

दिनेश गौतम मंगलवार, भाद्र ६, २०७४

नौ महिनाकी गर्भवती बुहारीलाई सुत्केरी गराउने चिन्ताले रामजी राम (५५) लाई पिरोलेको छ । नाति–नातिनासहित १४ जनाको परिवार लिएर उनी स्थानीय जनता राष्ट्रिय प्राथमिक विद्यालयमा आश्रय लिएका छन् । कोबर्साइन १ सप्तरीका रामजी भन्छन्, ‘राति ओढ्न कपडा छैन । न पकाएर खान अन्न छ, न त दाउरा नै ।’ बाढीका कारण मुलुकका ११ जिल्लामा विस्थापित हुन पुगेका २१ हजारभन्दा बढीको स्वास्थ्य दिनहुँ बिग्रँदै गएको छ । ४९ हजार घर डुबानमा परेका छन् । चिउरा, दालमोठ, बिस्कुटका भरमा त्रिपालमा बसेर जीवन बिताउनु परेको छ । दूषित वातावरण एवं पानीका कारण केही सातापछि सरुवा रोगको महामारी फैलिने सम्भावना भएको चिकित्सकहरू बताउँछन् । बाढीका कारण पाँच लाखभन्दा बढी प्रभावित छन् ।

गर्भवती जोखिममा

शुद्ध पानी पिउन नपाएको एक साताभन्दा बढी भएको छ । दूषित पानीका कारण झाडापखालाले बालबालिका, महिला र वृद्धवृद्धालाई सताउन थालेको छ । सामान्यतया दिनमा तीन पटकभन्दा बढी पातलो दिसा लाग्नु झाडापखाला हो । वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ प्रा.डा. विधाननिधि पौडेल भन्छन्, ‘फोहर पानीका कारण फुड पोइजनिङ पनि हुन सक्छ । त्यस्तै, बान्ता हुने, झाडापखाला, आउँ मासी र हेपाटाइटिसले सताउने सम्भावना बढी छ ।’ शुद्ध पानीले नपखालेर काँचै खानेकुरा खाँदा रोगले पिरोल्ने सम्भावना झनै बढी हुन्छ । भाइरसका धमिलो पानी एवं दिसासँग प्रत्यक्ष सम्पर्क भएको दूषित पानी पिउँदा हेपाटाइटिस ‘ए’ र ‘इ’ हुन सक्छ । प्रा.डा. पौडेल भन्छन्, ‘गर्भवती महिला झन् बढी पीडित हुन सक्छन्, हेपाटाइटिस ‘इ’ बाट । यस्तो बेला आमाको ज्यान पनि जोखिममा पर्न सक्छ । गर्भ तुहिने समस्या हुन सक्छ ।’

शौचालयको व्यवस्था नभएकोले विस्थापितहरू खुला रूपमै शौच गर्दै आएका छन् । दूषित पानी एवं खानाको माध्यमबाट हेपाटाइटिस ‘ए’ र ‘इ’ सर्ने सम्भावना हुन्छ । दूषित पानी सेवन गरेपछि तुरुन्तै झाडापखाला हुन सक्छ । आँगनमा जमेको पानी सुकेलगत्तै एक÷डेढ महिनापछि हेपाटाइटिस ‘ए’ र ‘इ’ हुने जोखिम रहेको चिकित्सकहरू बताउँछन् । वीर अस्पताल इमरजेन्सी विभागका वरिष्ठ फिजिसियन प्रा.डा. सुशीलकुमार शाक्य भन्छन्, ‘पोषिलो खानेकुरा खानुपर्ने बेला सामान्य खाना पनि पाएका हुँदैनन् । विशेषगरी गर्भवती, वृद्धवृद्धा र बालबालिका जोखिममा छन् । यस्तो बेला खानेकुराप्रति रुचि हुँदैन ।’ केही सातापछि कुपोषण देखिन सक्छ ।

pr.bidhannidhi फोहर पानीका कारण फुड पोइजनिङ हुन सक्छ। यस्तै, बान्ता, झाडापखाला र आउँ मासी, हेपाटाइटिसले सताउने सम्भावना बढी छ। प्रा.डा. विधाननिधि पौडेल वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ

सरकार एवं दाताहरूले प्रदान गरेको प्याकेटको सुक्खा चिउरा, बिस्कुट, दालमोठ नै गर्भवती महिलाहरूको खान्की भएको छ । प्रा.डा.पौडेल भन्छन्, ‘पकाएको खानेकुरा खान पाएका छैनन् । सुक्खा खाना खानु र पकाएको खानुमा स्वास्थ्यका दृष्टिले धेरै नै फरक पार्छ । गर्भवतीले पोषिलो खान नपाउँदा महिलालाई मात्र होइन गर्भमा रहेको बच्चालाई पनि असर गर्छ ।’ हेपाटाइटिस ‘ए’ र ‘इ’ को लक्षणहरू उस्तै खालका हुन्छन् । हेपाटाइटिस ‘इ’ को मारमा सबैभन्दा बढी गर्भवती नै पर्छन् । हेपाटाइटिस ‘इ’ भएको बिरामीको दिसामा हुने भाइरसले रोग अन्यलाई सार्न सक्छ । ‘ए’ ‘इ’ क्रोनिक भए भने जटिल समस्या निम्तिन सक्न पौडेल बताउँछन् ।

संक्रामक रोगको विस्तार

आँगन एवं इनारको पानी सुक्दै गएपछि विभिन्न प्रकारको सरुवा रोग लाग्ने चिकित्सकहरू बताउँछन् । प्रा.डा. शाक्यका अनुसार रुघाखोकी, झाडापखाला, हैजा, टाइफाइड, फ्लुलगायत स्वासप्रश्वासजन्य रोग फैलिने जोखिम बढी छ । पानी नउमालेर पिउने, सफा पानीले नपखालेर फलफूल खाँदा टाइफाइडको सम्भावना हुन्छ । ज्वरो आउने, जीउ तथा पेट दुख्नेलगायत लक्षणका साथ टाइफाइडले सताउन सक्छ । खाना, पानी, फोहोर हात र स्वासप्रश्वासका माध्यमबाट सर्ने संक्रामक रोगले पिरोल्ने सम्भावना रहेको चिकित्सकहरूको भनाइ छ । प्रा.डा शाक्य भन्छन्, ‘पानी बहावको बेलामा इनार र शौचालयको दूषित पानी एकैठाउँमा बस्छ । केटाकेटीहरू खेल्नेक्रममा रोग सर्ने र फैलिने डर हुन्छ ।’ पानी तान्ने चापाकल, इनार दूषित भएका छन् ।  बाढी पहिरोमा परी तीन हजार सात सय ३१ पशु चौपाया मरेका छन् । सिनो खान झिंगा भन्किने, चील, गिद्ध घुम्दा यसले ल्याउने समस्या झन् बढी जोखिम छ । पानी सुक्ने बित्तिकै सर्प र बिच्छीले टोक्ने समस्या थपिन सक्ने चिकित्सकहरू बताउँछन् । पानी शुद्ध हुन नै धेरै दिन लाग्छ । पर्याप्त खानपानको अभावमा पनि रोगले आक्रमण गर्न सक्छ ।


dr.sarojprasad परिवारका सदस्य गुमाउनुपरेको पीडा धेरैलाई छ। यस्तोबेला शारीरिक मात्र नभई मनोसामाजिक पक्षलाई पनि ध्यान दिनु आवश्यक छ। प्रा.डा.सरोजप्रसाद ओझा वरिष्ठ मानसिक रोग विशेषज्ञ

शुरु शुरुमा रुघाखोकी लाग्ने, पातलो चौलानी पानीजस्तो दिसा आउने, बान्ता हुने, आँखा पहेंलो हुने, खान मन नलाग्नेजस्ता विभिन्न सरुवा रोगका लक्षण देखापर्ने चिकित्सकहरू बताउँछन् । यी लक्षणहरू बढ्दै गएर दीर्घरोगको रुप ग्रहण गर्न सक्छ । प्रा.डा. पौडेलका अनुसार, खाना देख्दा वाकवाकी लाग्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने रोगले तत्कालै च्याप्न सक्छ । राहतका रूपमा दिइएका खाद्यसामग्रीका भरमा जस्तो पाइन्छ, त्यही खाएर भोक मेटाउनुपर्ने बाध्यता पीडितहरूको छ ।  प्रा.डा. शाक्यका अनुसार, दूषित पानी र फोहोर खानेकुराले नै हैजा निम्त्याउन सक्छ । झाडापखालाका लक्षणजस्तै चौलानीजस्तै पखाला लाग्ने लक्षणहरू देखिन सक्छन् । पखाला रोकिएन भने जलवियोजन हुन सक्छ ।

आउँ पर्ने सम्भावना पनि उत्तिकै हुन्छ । ज्वरो आउने, टाउको, जीउ दुख्ने, पखाला लाग्ने, ज्वरो बढ्दै जाने जस्ता टाइफाइडका लक्षण देखिने प्राडा. शाक्य बताउँछन् । दूषित पानी र खानेकुराबाट सर्ने हेपाटाइटिस ‘ए’ र ‘इ’ को जोखिम पनि उत्तिकै छ । भाइरसबाट हुने हेपाटाइटिस वर्षात्को समयमा देखिन्छ । दिसाको माध्यमबाट सर्ने हेपाटाइटिस भए खानामा रुचि नहुने, वाकवाकी लाग्ने, दिसा तारन्तार हुने, दिसा तथा पिसाबमा पहेंलोपना हुने र क्रमशः शरीर नै पहेंलो हुन पुग्छ । जनावर मरेका कारण झाडापखालाले प्रकोपका रूपमा फैलिने सम्भावना छ ।

अहिले पानी बगिरहेका कारण लामखुट्टेको टोकाइको समस्या तत्काल देखा नपर्न सक्छ । तर, जब आकाशबाट पानी पर्न रोकियो र सतहमा पानी जम्मा भई स्थिर भएर बसिरह्यो भने लामखुट्टेको प्रकोप फैलिन सक्छ । विशालु किराको प्रकोप बढ्न सक्छ । टाइफाइड, इन्सेफ्लाइटिस मेनिन्जाइटिस हुन सक्छ । अर्कोतिर पर्याप्त खाना खान नपाउँदा शिशुहरूमा कुपोषण पनि हुन सक्छ । बच्चामा कुपोषण हुन सक्छ । फोहोर पानी पिउँदा निमोनिया हुन सक्छ, बालबालिकामा । लुतो, दादलगायत छालासम्बन्धी समस्या देखिन सक्छ ।

मनोसामाजिक परामर्श

सरकारले सामान्य प्राथमिक उपचारमा ध्यान दिइरहेको छ । मनोसामाजिक पक्षलाई भने बेवास्ता गरेको छ । बाढीमा परेर एक सय २३ जनाको ज्यान गएको छ । ३९ जना घाइते र ३५ जना अझै बेपत्ता छन् । शारीरिक स्वास्थ्यका साथै मनोसामाजिक पक्षलाई पनि आत्मसात गर्नुपर्ने सुझाव वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. सरोजप्रसाद ओझा बताउँछन् । भन्छन्, ‘परिवारका सदस्य गुमाउनुपरेको पीडा छ । बस्ती नै डुबानमा परेको अवस्था छ । यस्तो बेला शारीरिक मात्र नभई मनोसामाजिक पक्षलाई पनि ध्यान दिनु आवश्यक छ ।’ तत्काल शुद्ध पानीको व्यवस्था गर्नुपर्ने चुनौती रहेको छ । पानी फिल्टर गर्ने अवस्था नभए उमालेर पानी पिउनुपर्ने सुझाव चिकित्सकहरूको छ । खाना खाँदा हातभन्दा पनि चम्चाले नै खाँदा संक्रमणबाट जोगिन सकिन्छ । प्रा.डा. शाक्य भन्छन्, ‘वातावरण सफा सुग्घर गराउने र आफू पनि मुख छोपेर बस्नुपर्ने हुन्छ । अन्यथा सरुवा रोगको प्रकाप फैलिने
डर हुन्छ ।’

* सप्तरीबाट मनोहर पोखरेलको सहयोगमा



 

प्रतिकृया दिनुहोस