MENU

स्वास्थ्य

635x90

डरलाग्दो डिप्रेसन

अशेष अधिकारी आइतवार, श्रावण २२, २०७४

नेपाली युवा र्‍यापर यमबुद्धले हालै आत्महत्या गरे । कारण, डिप्रेसन बताइयो । त्यस्तै, हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई केही समयअघि डिप्रेसन भएको सार्वजनिक भयो । उनले औषधि सेवनबाट विस्तारै लाभ लिइरहेको बताए । यी दुई नेपाली कलाकारको स्वास्थ्य समस्यालाई मात्र आधार मान्दा आखिर डिप्रेसन के हो त ? भन्ने प्रश्न उठ्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका मानसिक रोग विभाग प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमानलाई उद्धृत गर्दै भन्छन्, ‘आगामी दशकभित्र डिप्रेसन विश्वकै दोस्रो प्रमुख स्वास्थ्य समस्या हुँदैछ । विस्तारै यसले प्रमुख रोगको स्थान बनाइरहेको छ ।’

डब्लुएचओका अनुसार विश्वका ४५ करोड मानिस कुनैे न कुनै प्रकारको डिप्रेसन’को शिकार भएका छन् । नेपालमा आठ लाखभन्दा बढी मानिस डिप्रेसनपीडित रहेको उनले बताए । डब्लूएचओले सन् २०१७ लाई डिप्रेसनविरुद्धको वर्षका रूपमा मनाइरहेको छ । जसको नारा ‘डिप्रेसन लेट्स टक’ भन्ने छ ।

के हो डिप्रेसन ?

‘मनमा उदासी हुने, एक्लै बस्न मन पराउने, आफूलाई एकदमै मनपर्ने कुरामा पनि मन नरमाउने, कुरा धेरै खेल्ने, मनमा अनेक तर्कना खेल्ने समस्या लगातार दुई साताभन्दा बढी भयो र नियमित काममा असर गर्न थाल्यो भने त्यो डिप्रेसन हो,’ डा. ओझा भन्छन्, ‘मानिसलाई निद्रा लाग्न छोड्छ, भोक लागेन, सुतेको बेलामा अचानक ब्यूँझिने, झर्किने तथा जीवनमा बाँच्नुको कुनै अर्थ नहुने सोच पलाउने, स–सानो कुरामा चिढिने हुन्छ ।’यसले मानिसमा विभिन्न स्तरमा भावनात्मक तथा शारीरिक समस्या बढाएर मानिसको काम गर्ने क्षमतामा ह्रास ल्याउँछ ।

diprestion1_1

‘डिप्रेसन’लाई ‘पागलपन’ भनेर बुझ्न नहुने ओझा बताउँछन् । भन्छन्, ‘समयमै समस्या पहिचान गरे निको हुने भएकाले यसबाट मुक्ति पाउन सकिन्छ ।’ उनका अनुसार डिप्रेसन तीन प्रकारका हुन्छन्, ‘वंशाणुगत, सामाजिक र मनोवैज्ञानिक ।’ नेपालीहरू सामाजिक र मनोवैज्ञानिक डिप्रेसनबाट धेरै पीडित छन् ।‘नेपालीमा सामाजिक कारणले डिप्रेसन बढिरहेको छ,’ ओझा भन्छन्, ‘२० देखि ४० वर्षको उमेर समूहमा बढी देखिने गरेको छ । विशेषगरी महिलालाई ज्यादा हुन्छ ।’ उनका अनुसार नेपालीको आत्महत्याका ७० प्रतिशत कारणमा डिप्रेसन नै प्रमुख रहेको छ । आत्महत्याको कमीका लागि पनि डिप्रेसनको समयमा उपचार गर्नुपर्ने देखिएको छ ।

डिप्रेसनको कारण सामाजिक

उदास हुने, खान मन नलाग्ने, तौल घट्ने, निद्रा नलाग्ने वा धेरै लाग्ने, थकान महसुस हुने, शरीरमा ऊर्जा नभएको जस्तो महसुस हुने, सोच्ने शक्तिमा कमी हुने, ध्यान केन्द्रित नहुने वा निर्णय शक्तिमा कमी आउने र जीवनदेखि नै विरक्त लाग्ने डिप्रेसनका मुख्य लक्षण हुन् । यस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सक वा मनोस्वस्थ्य विज्ञको सल्लाह लिएर डिप्रेसनको कारण र निदान पत्ता लगाउनुपर्ने ओझा बताउँछन् । नेपालीहरूमा मुख्य रूपमा सामाजिक कारणले ‘डिप्रेसन’ हुने गरेको छ ।

आर्थिक लेनदेन, घरायसी तथा भेदभाव डिप्रेसनको कारक हो । नेपाली सामाजिक संरचना र प्रक्रिया पछिल्लो समय जटिल र कठिन बन्दै गएको छ । मानिसका इच्छा र आकांक्षामा अस्वाभाविक परिवर्तन आएको जसलाई पूरा गर्न उस्तै कठिन छ । यसका लागि व्यक्तिले उच्च महत्वकांक्षालाई त्याग्नुपर्ने चिकित्सकको सुझाव छ । ‘मानिसमा उच्च महत्वकांक्षाका कारण सामाजिक समस्या थप जटिल बन्दै गएको र त्यसको दबाबले थप बोझिलो पार्दै गएको छ । जसको सीधा असर उसको मानसिक अवस्थामा परिरहेको छ,’ डा. ओझा भन्छन्, ‘मानिसले हैसियत र स्ट्रेन्थभन्दा बढीको महत्वाकांक्षा पालिरहेका छन्, जसले उनीहरूलाई तनाव दिने गरेको छ ।

तनावले शरीरका विभिन्न हार्मोनलाई प्रत्यक्ष प्रभाव पार्छ । अन्ततः मानिसलाई डिप्रेसनमा लैजान्छ ।’तनावले मुख्य रूपमा मानिसको एड्रिनलिन तथा कार्टिसोल हार्मोनलाई बढाउँछ । जसले डिप्रेसनमा लैजान्छ । यस्तै, व्यक्तिको पारिवारिक मनोवैज्ञानिक इतिहासले पनि डिप्रेसन पैदा गर्छ । वैदेशिक रोजगारीका कारण पनि देश र विदेशमा रहेकाहरूलाई पनि डिप्रेसनमा लैजाने काम गरिरहेको ओझा बताउँछन् ।

समाज र परिवारको डरले मानसिक समस्या भोगेका प्रायः व्यक्ति मानसिक रोग विशेषज्ञकहाँ नगई फिजिसियनसँग सल्लाह लिन पुग्छन् ।जुन ‘डिप्रेसन’को निदानमा एउटा बाधाको रूपमा देखापर्ने गरेको छ । फिजिसियनको सल्लाहबमोजिम मानसिक रोगकै औषधि खाए पनि रोग निको नहुने तर मानसिक रोग विशेषज्ञकहाँ गएर सल्लाह लिँदैमा रोगीको रूपमा हेर्ने सामाजिक मान्यताका कारण यो समस्या बढिरहेको छ । यस भ्रमबाट मुक्त हुनु जरूरी छ ।

यसरी हुन्छ निदान

काठमाडौं स्वयम्भूकी सीता लामा (३०) ले दोस्रो विवाह गरिन् । दोस्रो घरबार शुरुशुरुमा त राम्रै चलेको थियो । पहिलो श्रीमान्बाट जन्मेको उनको १० वर्र्षको छोरा थियो । छोराकै कारण दोस्रो पतिले गाली गलौज गर्न थाले । ‘पागल’ भन्दै मानसिक यातना दिन्थे । उनमा आत्महत्या गर्ने सोच पलायो । छोराको मायाकै कारण अप्रिय कदम चाल्न नसकेकी उनी साथीको सहयोगमा समयमै डा. ओझाको सम्पर्कमा पुगिन् । एक साताको अवधिमा उनको मानसिक स्वास्थ्यमा निकै सुधार आइसकेको डा.ओझा बताउँछन् ।

‘यो साधारण रोग हो भन्ने सबैमा भावना हुनु पर्‍यो । रोगीलाई अरू व्यक्तिले हेयका दृष्टिले हेर्ने क्रमलाई रोक्नुपर्छ । किनकि, यो पनि उपचार गर्नासाथ निको हुन्छ,’ ओझा भन्छन्, ‘यसको उपचार औषधि खाएर निको हुन्छ भने कतिपय अवस्थामा मनोपरामर्श (साइकोथेरापी)बाट नै काफी हुन्छ । यस्तै, तनाव रहेका व्यक्तिलाई परिवार र साथीभाइको सहयोग र कुरा गर्ने बानीले पनि रोक्न सकिन्छ । सबैभन्दा पहिलो कुरा भने डिप्रेसनमा जोकोही जान सक्छ तर रोग भनेर लुकाउनु हुन्न ।’

 

प्रतिकृया दिनुहोस