MENU

स्वास्थ्य

635x90

नेपालमा दमखोकीका बिरामीको संख्या बढ्दो

दिनेश गौतम मंगलवार, श्रावण १७, २०७४

केतपाईंलाई लामो समयसम्म खोकी लागिरहेको छ ? छातीबाट घ्याँरघ्याँर आवाज आउँछ ? यदि यस्तो लक्षण देखिएको छ भने दीर्घ रूपमा हुने दमखोकी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, सीओपीडी) ले सताएको हुन सक्छ । शुरुमा यस्तो लक्षण देखिँदा हेलचेक्र्याइँ गरेका गोविन्द उपाध्याय (७२) अहिले तनावको जिन्दगी बिताइरहेका छन् ।

भन्छन्, ‘बनारस पढ्दाखेरि विद्यार्थी जीवनमा चुरोट, हुक्का खुब तानियो । अहिले पो सास्ती पाइयो ।’ धुम्रपानका अम्मली, चुलोबाट निस्कने धुवाँमा रुमल्लिने गृहिणी मात्र होइन, काठमाडौंको प्रदूषित वातावरणमा बस्नेहरू पनि सीओपीडीको समस्याबाट पीडित छन् । फिजिसियन डा. निरज बमका अनुसार सीओपीडीको मुख्य कारक चुरोटको धुवाँ, कलकारखाना र अन्य धुलोको प्रदूषण हो । विद्युत् कटौती भएका बेला चलाइने जेनेरेटरका कारण आउने धुवाँले पनि नकारात्मक असर पुर्‍याउँछ । जेनेरेटरको धुवाँ श्वासप्रश्वासका क्रममा सिधै फोक्सोमा पुग्छ ।

के हो सीओपीडी

दीर्घ रूपमा हुने दमखोकीको रोग नै सीओपीडी हो । यसले फोक्सोको मांशपेशीलाई खुम्च्याउँछ । श्वासनलीमा व्यवधान उत्पन्न गर्छ । सास फेर्न अप्ठेरो महसुस हुन्छ । स्वाँस्वाँ हुन थाल्छ । छाती कस्सिएको महसुस हुन्छ । धुम्रपान गर्ने र धुवाँयुक्त वातावरणमा काम गर्ने व्यक्तिमा देखिने दमखोकी नै सीओपीडी हो । फिजिसियन डा. बमका अनुसार धेरै वर्षसम्म फोक्सो र श्वासनलीमा विशेषतः धुलो, धुवाँ पर्‍यो भने श्वासनलीका भित्ताहरू सुन्निन पुग्छन् । फलस्वरूप, श्वासनली स्थायी रूपमा साँघुरिन पुग्छ । र, श्वास प्रक्रियामा अवरोध हुन जान्छ । यस्तै, मधुमेह, मिर्गौला रोग, मुुटुरोगबाट अन्य बिरामी पीडित छन् भने झन् जटिल समस्या उत्पन्न हुन्छ । यस रोगले शरीरका सबै अंग जस्तै गिदी, मुटु, मिर्गौला, पेट, आन्द्रा, मांशपेशी, हाडजोर्नी, फोक्सोलगायत अन्य अंगमा पनि असर गर्छ ।

lung

नेपाललगायत विकासोन्मुख मुलुकमा धुम्रपान सेवन गर्नेहरूका कारण यस रोगबाट पीडित हुनेहरू बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकामा तीन वर्षअघि गरेको अध्ययनअनुसार त्रिवि शिक्षण अस्पताल, पाटन र ओम अस्पतालमा स्वासप्रश्वासका बिरामीहरूको संख्या उच्च रहेको थियो । जसमध्ये पहिलो नम्बरमा सीओपीडीका बिरामी थिए । परिषद्का सदस्य सचिव डा.कार्की भन्छन्, ‘घरबाहिरको धुँवाधुलोका कारण पनि सीओपीडीका बिरामी बढेका छन् । दमखोकीका बिरामीमध्ये २० प्रतिशतलाई घरबाहिरको धुवाँधुलोको असर भएको पाइएको छ ।’

विश्वभर हाल आठ करोडभन्दा बढी व्यक्ति यस रोगबाट पीडित छन् । सन् २०२० सम्ममा यो रोग मृत्युका कारकमध्ये हाल रहेको छैटौं स्थानबाट तेस्रोमा उक्लने अनुमान संगठनको छ । सिमेन्ट उद्योग, मिल, सडकमा काम गर्ने ट्राफिक प्रहरीमा पनि दमखोकी देखा पर्ने सम्भावना बढी हुने चिकित्सकहरूको भनाइ छ । जसलाई दमखोकी हुने पेसाका रूपमा लिने गरिन्छ । काम गर्नेबेला धुवाँ, धुलो नाक, मुखबाट फोक्सोसम्म पस्छ । अन्त्यमा दमखोकीको शुरुवात हुन्छ ।

शिशुमा असर

सीओपीडीमा विशेषतः धुम्रपान तथा घरबाट निस्कने धुवाँ कारक मानिन्छ । दाउरा वा गुइँठा बाल्दा निस्कने धुवाँले पनि यसखाले रोग लगाउन मुख्य भूमिका खेल्छ । सीओपीडी रोगसँगै विशेषतः क्रोनिक ब्रोङ्काइटिस र इमफाइसेमा भन्ने रोग पनि गाँसिएका हुन्छन् । दुई वर्ष लगातार तीन महिनासम्म तारन्तार खोकी लागेर बाक्लो खकार आइरहने लक्षण क्रोनिक ब्रोङ्काइटिस हो । स–साना श्वासनली स्थायी रूपमा कमजोर भई फुक्ने÷फुल्ने भएमा इम्फाइसेमा भएको लक्षणका रूपमा लिइने डा. बम बताउँछन् ।

dr.niraj-bamगर्भवती महिलाले पनि धुम्रपान गरिरहेमा गर्भमा बसेको शिशुको फोक्सो विकास हुन सक्दैन। फलस्वरूप, जन्मने बच्चामा सीओपीडी रोग देखिन सक्छ। डा. निरज बम, फिजिसियन

कोइला, सिलिका, म्यागनेसियमजस्ता धातुका उद्योगमा लामो समयसम्म काम गरी स्वदेश फर्किएका व्यक्ति पनि सीओपीडीबाट पीडित भएको पाइएको छ । डा. बम भन्छन्, ‘गर्भवती महिलाले पनि धुम्रपान गरिरहेमा गर्भमा बसेको शिशुको फोक्सो विकास हुन सक्दैन । फलस्वरूप, जन्मने बच्चामा सीओपीडी रोग देखिन सक्छ ।’ कम तौल भएको नवजात शिशुमा पनि यो रोग देखिन सक्छ । सानै उमेरमा फोक्सोको संक्रमण भइरहेमा पछि गएर सीओपीडी देखिन सक्छ । डा. बम भन्छन्, ‘धुवाँको असर नपरे पनि अल्फा वान एन्टिट्रिप्सिन डिफिसिएन्सी नामक इन्जाइमको कमी भएमा यो रोग कम उमेरमै पनि देखा पर्न सक्छ ।’

सीओपीडीमा विशेषगरी श्वासप्रश्वास नली स्थायी रूपमा साँघुरिन पुग्छ । सास लिँदा प्राकृतिक रूपमा फुल्ने, खुम्चने प्रक्रियामा अवरोध पुग्न गई फोक्सोभित्र पुग्ने अक्सिजनको मात्रामा नै कमी हुन जान्छ । जसले गर्दा बिरामीले नियमित श्वासप्रश्वास प्रक्रियामा बढी बल खर्च गर्नुपर्ने हुन्छ । अस्पताल पुगेका बिरामीमध्ये ४० वर्षभन्दा बढी उमेरका व्यक्तिहरू यस रोगबाट पीडित भएको पाइएको छ ।

treatment

यस रोगको परीक्षण गर्ने क्रममा क्षयरोग, क्रोनिक दम, ब्रोएङ्क्टासिस, फोक्सोको क्यान्सर, कन्जेस्टिभ कार्डियाक फेलर आदिलाई पनि ध्यानमा राख्नुपर्ने फिजिसियन डा. बमको भनाइ छ । यस्तै, धुम्रपान, चुलाकोे धुँवा, प्रदूषणलगायत स्थानमा लामो समयसम्म बसिरहने व्यक्तिमा पनि सीओपीडीको समस्या देखिन सक्छ ।

रोगको परीक्षण

रोगको पहिचान गर्न नियमित रगत परीक्षणको साथै छातीको एक्सरे गर्नुपर्ने हुन्छ । एक्सरेले क्षयरोग, फोक्सोको क्यान्सरका साथै अन्य रोगको पहिचानमा सहयोग पु¥याउँछ । सीओपीडीमा रक्तअल्पता वा पोलिसाइटोमिया (अक्सिजनको कमीले गर्दा शरीरमा राता कोषहरू बढ्ने) हुन सक्छ । नियमित खकार परीक्षणबाट फोक्सोको क्षयरोग वा अन्य संक्रमण पत्ता लगाउन सकिन्छ । छातीको एक्सरेमा अन्य रोगको शंका लागेमा फोक्सोको क्यान्सरको पहिचान पनि गर्नुपर्ने आवश्यकता पर्छ । यसका लागि चिकित्सकहरूले छातीको सिटिस्क्यानको सहारा लिन सक्छन् । डा. बमका अनुसार रोगको मुख्य पहिचान स्पाइरोमेट्री अर्थात् पल्मोनरी फङ्सन टेस्टबाट पनि गर्न सकिन्छ ।

रोगको उपचार

समयमै उपचार गरे सजिलै विरामीको जीवनयापन पनि सहज गराउन सकिने चिकित्सकहरू बताउँछन् । यद्यपि, सीओपीडी रोग पूर्णतः निर्मुल हुँदैन । तर, उपचारको माध्यमबाट यो रोग नियन्त्रण भई जीवनशैली सहज गराउन सकिन्छ  । यसका लागि बिरामीले सर्वप्रथम धुम्रपान त्याग गर्नुपर्छ । यस्तै, चिकित्सकको सल्लाहमा ब्रोङ्कोडाइलेटर औषधि सेवन गर्नु उपयुक्त हुन्छ । बिरामीले दमखोकीका निम्ति खाने चक्कीभन्दा मुखबाट तानेर फोक्सोमा पु¥याउने सुक्खा पाउडर (इनहेलर थेरापी) बढी उपयुक्त हुने चिकित्सकहरू बताउँछन् । बढी ज्वरो आउने वा खकार पहेंलो भई छातीमा संक्रमण देखिएमा तुरुन्तै चिकित्सकहाँ पुर्‍याउनु पर्छ । वार्षिक दिइने इनफ्लुएन्जा खोप र एक पटक दिइने निमोनिया खोपले छातीको संक्रमणबाट जोगाउन सहयोग पुग्छ ।

 

प्रतिकृया दिनुहोस