MENU

स्वास्थ्य

635x90

अधबैंसेलाई प्रोस्टेटको पिरलो

दिनेश गौतम बिहिवार, आषाढ २९, २०७४

पिसाबले च्यापेपछि राजन घिमिरे (५६) शौचालय त जान्छन्, तर केहीबेर बल गर्नुपर्छ । बल्लतल्ल तुरुक्क झरे पनि निखार्न भने समय लाग्छ । भन्छन्, ‘जति पटक पिसाब फेर्न गए पनि निखे्रजस्तो नै हुँदैन । पिसाब फेर्दा पनि कन्नु पर्छ ।’ मुत्रप्रणालीसम्बन्धी रोगका रूपमा लिइने प्रोस्टेट ग्रन्थीको समस्याले अधबैंसे राजनजस्ता पुरुषहरू पीडित छन् । जतिपटक पिसाब गरे पनि निख्रेको हुँदैन । पिसाबको वेग पनि विगतमा जस्तो टाढा पुग्दैन । पिसाब गरेको केही समयपछि नै पुनः पिसाब लागेर शौचालयमा जाऊँ–जाऊँ लाग्छ ।

वरिष्ठ युरोलोजिस्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्राडा. उत्तमकुमार शर्माका अनुसार प्रोस्टेट ग्रन्थीको वृद्धि भयो वा खुम्चियो भने मुत्रथैलीको मांसपेशीमा असर पर्छ । फलस्वरूप छिटोछिटो पिसाब फेर्न मन लाग्ने हुन्छ । कसैले त पिसाब रोक्न नसक्दा चुहाउनेसमेत गर्छन् । कतिपय बिरामीको राति सुतेको बेलामा समेत थाहा नपाइकनै पिसाब चुहिने समस्या हुन्छ ।

प्रोस्टेटको पीडा

सन्तान उत्पादन गर्न सहयोगी भूमिका खेल्ने प्रोस्टेटको समस्याले विशेषगरी अधबैंसेहरूलाई पिरोल्छ । ४० वर्ष पुगेपछि स्वभाविक रूपमा यो ग्रन्थी क्रमशः बढ्दै जान्छ । बढ्दो उमेरसँगै देखापर्ने समस्या हो, योे । वरिष्ठ युरोलोजिस्ट शर्माका अनुसार ४० वर्ष उमेर नाघेका पुरुषहरूलाई यस समस्याले सताउन शुरु गर्ने र ५५ वर्ष नाघेकाहरू अस्पताल आउने गरेको पाइएको छ । पुरुषहरूमा बढ्दो उमेरसँगै टेस्टोस्टेरोन हार्मोनको उत्पादनबाट समस्या आउँछ, यसले पनि प्रोस्टेटमा समस्या ल्याउँछ । यसको लक्षण वा समस्या भएको गुनासो गर्दै अस्पताल पुग्नेहरू भने ५० देखि ७० वर्ष समूहका व्यक्तिहरू हुने गरेको युरोलोजिस्टहरू बताउँछन् ।

शुरुका चरणमा छिटो–छिटो पिसाब फेरिरहनुपर्ने हुन्छ । पिसाब लागेपछि रोक्नसमेत धौ–धौ पर्छ । पिसाब फेर्दा पेट पोल्ने वा दुख्ने हुन सक्छ । रोगले च्याप्दै लग्यो भने पछि गएर पिसाब निखार्नै पनि लामो समय लाग्ने हुन्छ । पिसाबको धारा कमजोर र टाढा नपुगी वरवर आउँछ । वीर्य उत्पादन गर्न सहयोग गर्ने पुरुष ग्रन्थी नै प्रोस्टेट हो । ४० वर्ष नाघेका पुरुषहरूमा ग्रन्थीको कोषिकाको वृद्धि (हाइपरप्लेजिया) हुने सम्भावना २० प्रतिशत हुन्छ । डा. शर्माका अनुसार विशेषगरी ६० वर्ष नाघेका व्यक्तिहरूमा प्रोस्टेट ग्रन्थीमा कोषिकाको अति वृद्धि भएर समस्या हुने गरेको पाइएको छ ।’ कोषिकाको वृद्धि हुँदैमा उपचार गराइहाल्नु पर्दैन ।

health1

तर, मुत्रप्रणालीमा समस्या आयो भने नलजाई उपचार गराउनु पर्ने युरोलोजिस्टहरू सुझाउँछन् । कोषिकाको वृद्धिसँगै ग्रन्थी पनि बढ्यो भने मुत्रनली साँघुरिने हुन्छ, फलस्वरूप पिसाब फेर्दा समस्या हुन थाल्छ । पिसाब निखार्न सक्ने क्षमतामा कमी आउँछ । अन्ततः रोगले जटिल रूप धारण ग¥यो भने पिसाब नै बन्द हुने युरोलोजिस्ट डा. शर्माको कथन छ । पिसाबथैलीमा पिसाब जम्मा भइरह्यो भने संक्रमण हुन सक्ने सम्भावना रहन्छ । प्रोस्टेट ग्रन्थीको मात्रा वयस्कमा व्यक्तिपिच्छे धेरथोर हुन्छ ।

झट्ट हेर्दा यो ओखरजत्रो हुन्छ । सूक्ष्म मांशपेशी, ग्रन्थी र तन्तुले बनेको प्रोस्टेट ग्रन्थी २० देखि २५ ग्रामसम्मको हुन्छ । प्रोस्टेटको समस्या भएका बिरामीको भने औसतभन्दा दोब्बर वा त्योभन्दा बढी पनि हुन सक्छ । यो मुत्रथैलीको ठीक तलपट्टि बसेको हुन्छ । डा. शर्माका अनुसार कसैलाई धेरै ठूलो परिमाणमा रहेको प्रोस्टेटले दुःख दिएको हुँदैन भने कसैलाई सानो ग्रन्थी हुँदामा नै पिसाब फेर्न समस्या पार्छ । त्यसबाहेक प्रोस्टेटको क्यान्सर पनि हुन सक्ने डा. शर्मा बताउँछन् । सयममै उपचार नगर्ने हो भने प्रोस्टेट क्यान्सर हुने शर्माको भनाइ छ । प्रोस्टेटको अवरोधका काण युरिनरी ट्रयाक इनफेक्सन (यूटीआई) हुने गर्छ । अन्ततः मिर्गौला फेल हुने सम्भावना रहन्छ ।

औषधि सेवन

बिरामीको क्लिनिकल जाँच गरेपछि मात्र औषधि खानुपर्ने वा नपर्ने पत्ता लगाउन सकिन्छ । बिरामीको मलद्वारबाट औंला छिराएर पनि प्रोस्टेटको आकार थाहा पाउन सकिने युरोलोजिस्टहरू बताउँछन् । यो उमेर समूहका व्यक्तिले पिसाब फेर्ने क्रममा समस्या भएको अनुभव गरेमा सम्बन्धित विशेषज्ञ चिकित्सकको सुझावअनुसार शुरुमा रगत जाँच गराउनु उपयुक्त हुन्छ । रगतमा पीएसएको जाँच गर्नुपर्ने हुन सक्छ । प्रोस्टेट ग्रन्थीका साथै मुत्रथैलीमा संक्रमण भएको छ÷छैन पत्ता लगाएपछि बिरामीले भोग्नुपरेको पीडालाई ध्यान दिई उपचार शुरु गरिने डा. शर्मा बताउँछन् । निख्रिन नसकेको पिसाब मुत्रथैलीमा जम्मा भएर बसेको हुन्छ । पिसाब सहजसँग निष्कासन होस् भनेर औषधि सेवन गर्न सकिन्छ ।

शुरुका चरणमा छिटो–छिटो पिसाब फेरिरहनुपर्ने हुन्छ। पिसाब लागेपछि रोक्न समेत धौ–धौ पर्छ। पेट पोल्ने वा दुख्ने हुन सक्छ।

यस्तै, ग्रन्थीमा कोषिकाको वृद्धि रोक्न पनि औषधि सेवन गर्नुपर्ने हुन सक्छ । औषधि सेवनपछि पिसाब गर्दा पेट दुख्ने समस्या साम्य पार्न सहयोग पुग्छ । युरोलोजिस्टको सक्रिय निगरानीमा रहेर बिरामीले औषधि सेवन गर्नुपर्ने हुन्छ । यस्तै, पिसाबको वेग कति टाढासम्म पुग्छ भनेर पनि परीक्षण गर्नुपर्ने हुन सक्छ । समयमा उपचार गर्दा लामो समय आराम तथा जटिल स्वास्थ्य अवस्थाबाट बच्न सहयोग पुग्छ । समयमै गरिने उपचारले मिर्गौला र मुत्रथैलीलाई बचाउन मद्दत गर्छ ।

शल्यक्रियाको अवस्था

मुत्रथैलीमा पत्थरी पनि छ भने शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । डा. शर्माका अनुसार शरीरमा भएका मुत्रथैलीमा रहेको धेरै पिसाब निख्रिन पाएन र जम्मा भइरह्यो भने पनि शल्यक्रियाबाहेक अन्य विकल्प छैन । भन्छन्, ‘कसै–कसैलाई त पिसाब फेर्न थाल्दा रगत पनि देखापर्ने हुन सक्छ । पिसाब पूरै बन्दसमेत हुन सक्छ ।’ सुतेको बेला थाहा नपाउने गरी पिसाब चुहिने समस्या भएको र मिर्गौलाका साथै पिसाब बहने मुत्रबाहिनी नली फुलेको छ भने पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

शल्यक्रियापछि पिसाब फेर्दा अवरोध गर्ने प्रोस्टेट ग्रन्थीको भागलाई शल्यक्रिया गरेर निकालिन्छ । कतिपयमा शल्यक्रियापछि यौन दुर्बलता आउँछ भन्ने आशंका गरी शल्यक्रिया गर्न नै नरुचाउने हुन्छन् । डा. शर्माका अनुसार शल्यक्रियापछि यौनसम्पर्क गर्न सकिन्छ, तर वीर्य स्खलन भने हुँदैन । उपचार सेवामा भएको विकासका कारण शल्यक्रियापछि मुत्रथैलीमा नली राख्नु पर्दैन । शल्यक्रिया गरेको तीन/चार दिनमै घर जान सकिन्छ । तर, शल्यक्रियापछि पनि पिसाब फेर्दा समस्या देखियो भने थप केही जटिलता उत्पन्न भएको हुन सक्ने भएकोले सम्बन्धित युरोलोजिस्टको निगरानीमा रहनु आवश्यक हुन्छ ।

प्रोस्टेट रोगबाट बच्‍न यी उपायहरु अपनाउन सकिन्छ

जीवनशैली व्यवस्थापन

राति धेरै पानी एवं तरल पदार्थसेवन नगर्ने
पिसाब फेर्दा हतार नगर्ने
पिसाब फेर्न झण्झट नमान्ने
कब्जियत हुन नदिने
दैनिक शारिरीक व्यायाम गर्ने
धूम्रपान एवं मध्यपान नगर्ने
खानामा पिरो एवं मसलाको प्रयोग कम गर्ने
नियमित यौनसम्पर्क गर्ने
प्रर्याप्त पानी पिउने
म्याग्नेसियमयुक्‍त (काजु, पेस्ता, बदाम, ओखर) सेवन गर्ने

रोगका कारणहरू

टेस्टोस्टेरोन हर्मोनको सन्तुलनमा गडबडी
कोषिकाको वृद्धि
वंशाणुगत
रेडियोथेरापीको दुष्प्रभाव


रोगका लक्षणहरू

छिटो छिटो पिसाब लाग्ने
पिसाबको बेग घट्दै जाने
पिसाब ननिख्रेको महसुस हुने
पिसाब फेर्दा अवरोध हुने
पिसाब फेर्दा नाइटोमुनि दुख्ने
राति बारम्बार पिसाब फेर्नुपर्ने
पिसाब फेर्दा बीच–बीचमा रोकिने
पिसाब फेराैँ–फेराैँ लागिरहने
पिसाब चुहिने,पिसाब रोकिने

परीक्षण विधि

यूएसजी (अल्ट्रा सोनो ग्राम): प्रोस्टेटको आकार र पिसाबथैलीमा जम्मा भएको पिसाब हेर्न।
युरोफ्लोमेट्री: पिसाबको वेग पत्ताा लगाउन मेसिनमा पिसाब फेर्न लगाइन्छ।
पीएसए (प्रोस्टेट स्पेसिफिक एन्टिजिन): प्रोस्टेटभित्र क्यान्सर भएको छ/छैन पत्ताा लगाउन।
युरिन कल्चर: पिसाबमा संक्रमण छ/छैन पत्ताा लगाउन।
मिर्गौला जाँच: प्रोस्टेटका कारण मिर्गौलालाई असर गरेको छ/छैन पत्ताा लगाउन।
मोनोपोलार टीयूआरपी : पिसाब नलीबाट औजारको सहयोगमा बढेको प्रोस्टेट ग्रन्थी खुर्कने विधि।
बाइपोलार टीयूआरपी : मोनोपोलार विधिको एडभान्स रूप।
ओपन सर्जरी : पेटको तल्लो भाग चिरेर प्रोस्टेटको बढेको ग्रन्थी निकाल्ने विधि।
लेजर : पिसाब नलीबाट रेज पठाएर गरिने सर्जरी।
रोबोटिक प्रोस्टेक्टोमी : बिरामीको तल्लो पेटमा सानो प्वाल पारी गरिने शल्यक्रिया।

 

 

प्रतिकृया दिनुहोस