MENU

अर्थ/बाणिज्य

635x90

अन्डर इनभ्वाइसको बढ्दो जालो

श्रीधर खनाल मंगलवार, आश्विन ३, २०७४

११ भदौको बिहानै काठमाडौंंको व्यस्त सडक क्षेत्रपाटीबाट ८८ किलो सुन बदामद भयो । नेपाल–चीन सीमाको केरुङबाट १३ ठाउँमा सुरक्षा जाँचपार गरेर काठमाडौंं आएको सुनका मालिक भने अहिलेसम्म पक्राउ परेका छैनन् । अहिलेसम्म नेपालमा समातिएको सबैभन्दा ठूलो परिमाणको उक्त सुन पक्राउ परेको विषय सेलाउन नपाउँदै २१ भदौमा आपूर्ति मन्त्रालयको टोलीले दरबामार्गमा सञ्चालन भएका ब्रान्डेड पसलमा छापा मार्‍यो । छापाका क्रममा चार हजार ६ सयको जुत्तालाई २७ हजार रुपैयाँसम्म बेचिएको पाइयो । यी दुई घटना सामान्य रूपमा हेर्दा एक अर्काकाबीचमा सम्बन्ध राख्दैनन् । तर, पछिल्लो समयमा सुन र डलर तस्करीमा भएको वृद्धि र सस्तो मूल्यमा आएको सामान महँगोमा बेचिएको घटनाको आर्थिक रूपमा छुटाउन नसकिने अन्तरसम्बन्ध रहेको छ । सुन किन्न पैसा चाहिन्छ ।

ठूलो परिमाणमा सुन आयातका लागि ठूलै परिमाणमा पैसा चाहिन्छ । पैसाको व्यवस्थापनमा तस्करीको रकम सबैभन्दा ठूलो चुनौतीको विषय हुँदै आएको छ । यसलाई सहज बनाएका छन्, नेपालमा बसेर सामान आयात÷निर्यात गर्ने व्यवसायीहरूले । दरबारमार्गमा सस्तोमा किनेर महँगोमा बेचिएको भनेको जुत्ता वास्तवमा सस्तोमा भने आएको हैन । यत्ति मात्र हो, २७ हजार बजार मूल्य रहेको जुत्ताको बिजक मात्र एक हजार चार सय राखिएको हो ।अर्को शब्दमा नेपालमा आयात हुने मात्र होइन नेपालबाट भारत र चीन जाने सामानको अवस्था पनि यही छ । गत आर्थिक वर्षमा निर्यात भएको कार्पेटको उदाहरणले यो कुरा प्रस्ट देखाउँछ । गत आवमा नेपालबाट १८ हजार एक सय दुई रुपैयाँ प्रतिवर्ग मिटरमा कार्पेट अस्ट्रेलिया निर्यात भयो । नेपाली बजारमा करिब २० हजार प्रतिवर्ग मिटर मूल्य भएको कार्पेट प्रतिवर्ग मिटर दुई हजार ३३ रुपैयाँमा चीन निर्यात भयो ।

एउटै गुणस्तरको कार्पेट अस्ट्रेलिया र चीनमा निर्यात हुँदा मूल्यमा आएको अन्तर नै ‘अन्डर इन्भ्वाइस’ हो । अर्थात् बजार मूल्यभन्दा कमको बिजकमा सामान खरिद÷बिक्री गर्ने कामलाई अन्डर इन्भ्वाइस भनिन्छ । दरबारमार्गमा भेटिएका सामान यही तरिकाले आयात भएका हुन् भने चीन र भारत निर्यात भएका धेरैजसो वस्तुमा व्यापारीले यही तरिका प्रयोग गर्छन् । मूल्यभन्दा कममा बिजक बनेर एक देशबाट अर्को देशमा गएका सामानका लागि व्यवसायीले भने दुई तरिकाले पैसा भुक्तानी गर्छन् । पहिलो, उनीहरूको बिलमा भएकै आधारमा भुक्तानी हुन्छ । यसका लागि बंैकिङ च्यानलको प्रयोग गरिन्छ । बैंकबाट एलसी, टीटी वा डीडीको माध्यमबाट यस्तो भुक्तानी एउटा व्यवसायीको खाताबाट अर्को व्यवसायीकोमा जान्छ । बढी मात्रामा यस्तो भुक्तानी अमेरिकी डलरमा हुने गरेको छ ।

बिजकमा उल्लेख भएको मूल्यभन्दा बढी भएको वस्तुको मूल्य गैरकानुनी च्यानलबाट भुक्तानी हुन्छ । यस्तो भुक्तानीका लागि व्यापारीले हुन्डीको प्रयोग गर्दै आएका थिए । पछिल्लो समयमा भने तस्करीको पैसा यस्तो भुक्तानीमा प्रयोग हुन थालेको बताउँछन्, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल । भन्छन्, ‘ट्रेडमा गैरकानुनी पैसा घुम्न थाल्यो । प्रतीतपत्रबाट सामान आयात/निर्यात गर्ने व्यवस्थालाई कडाइका साथ लागू नगर्दासम्म यस्तो समस्या आइरहन्छ ।’

तस्कर ट्रान्जिट

रक्तचन्दन नेपालको उत्पादन होइन । भारतको जंगलमा पाइने रक्तचन्दनका कारण नेपालले डेढ दशकभन्दा बढी समय हैरानी खेप्यो । भारतबाट आएको रक्तचन्दनको गन्तव्य थियो, सिन्धुपाल्चोकको तातोपानी नाका । यो नाकाबाट तिब्बत पसेपछि रक्तचन्दन तस्करीको एउटा खेल सकिन्थ्यो । १२ वैशाख ०७२ को विनासकारी भूकम्पका कारण तातोपानी नाका बन्द भयो । यो नाका बन्द भएपछि रक्तचन्दन तस्करीको महŒवपूर्ण रुट पनि बन्द भयो । अहिले सरकारले यो नाका खुलाउन कूटनीतिक तवरबाट चिनियाँ अधिकारीहरूसँग पहल गरिरहेको छ ।रक्तचन्दनको तस्करीले नेपाललाई ट्रान्जिटको रूपमा विकास गरे । पछिल्लो समयमा चीनबाट सुन भारत लैजाने तस्करीको अर्को स्वर्गभूमि बनेको छ ।

रक्‍तचन्दनको तस्करीले नेपाललाई ट्रान्जिटको रूपमा विकास गरे। पछिल्लो समयमा चीनबाट सुन भारत लैजाने तस्करीको अर्को स्वर्गभूमि बनेको छ।

नेपालबाट चीनमा अवैध डलर पु¥याउने काम पनि हुँदै आएको छ । ०७३ माघमा तीन लाख अमेरिकी डलर र अन्य विदेशी मुद्रासहित झोेङ डौफाङ, झौ सिलियोन र झाओलियाङ फेङलाई प्रहरीले नागढुंगाबाट पक्राउ गर्‍यो । गल्छीबाट केरुङ हुँदै चीन जाने प्रयासमा उनीहरू थिए । चिनियाँमात्र हैन, रक्तचन्दनको गैरकानुनी व्यापारबाट उदाएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेललाई प्रहरीले खोजिरहेको छ । दुई साताअघि राजधानीको टोखा र जनकपुरबाट बरामद भएको १५ किलो सुन तस्करीको मालिक रहेका पौडेलले केरुङबाट ल्याएको सुन भारत पुर्‍याउँदै आएका थिए । जनकपुरको बाटो भएर भारत लैजाँदै गर्दा सुन पक्राउ भएको थियो । नेपालबाट जडीबुटी, अमेरिकी डलर, रक्तचन्दन र सुन मात्र हैन, वन्यजन्तुको ओखेटोपहारसमेत भारत र चीन तस्करी हुने गरेको छ । यस्ता तस्करीमा नेपालीमात्र हैन, तीन वटै देशका नागरिकहरूको संलग्नता भेटिन्छ ।

व्यापारबाट पैसा व्यवस्थापन

नेपालबाट डलर चीन गएन भने तस्करहरूले चीनबाट नेपालमा सामान पठाउन सक्दैनन् । अर्थात् गैरकानुनी रूपमा डलरको ओसारपसार पैसा व्यवस्थापनको पुरानो तरिका थियो । अहिले त्यो स्थान लिएको छ, व्यापारले । लागतभन्दा कम मूल्यमा कारोबार गर्दा वास्तविक मूल्य र बिलको मूल्यका बीचमा भएको अन्तरको पैसा व्यवसायीहरूले नेपालमै लिँदै आएका छन् । गत आवमा नेपालबाट एक लाख सात हजार ६ सय २२ वर्गमिटर कार्पेट चीन निर्यात भयो । प्रतिवर्गमिटर दुई हजार ३३ रुपैयाँमा निर्यात भएको कार्पेटको वास्तविक मूल्य १९ हजार रुपैयाँ वर्गमिटरभन्दा माथि रहेको छ । नेपालबाट चीन निर्यात भएको कार्पेटमा मात्रै प्रतिवर्गमिटर १६ हजार रुपैयाँभन्दा बढीको अन्डर इन्भ्वाइस भएको छ । चीन निर्यात भएको सबै कार्पेटलाई आधार मान्दा एक अर्ब ७२ करोड रुपैयाँ कार्पेट अन्डर इन्भ्वाइस भएको छ ।

नेपाल कार्पेट निर्यात संघका अध्यक्ष रामबहादुर गुरुङ चीन जाने एक वर्गमिटर कार्पेटको मूल्य एक सय २० देखि एक सय ५० अमेरिकी डलर पर्ने बताए । भन्छन्, ‘पछिल्लो पाँच वर्षमा चीनबाट राम्रो माग आएको छ । मूल्यमा प्रतिस्पर्धा भए पनि १२ देखि १३ हजार रुपैयाँ प्रतिवर्गमिटरको जोडी कार्पेट हामीले पठाउँदै आएका छौँ ।’कार्पेट मात्र हैन, चीन निर्यात हुने यार्सागुम्बाको अवस्था पनि उस्तै छ । चिनियाँ व्यापारीहरूले नगदमा यार्सा किनेर आफंै लैजाने गरेका छन् । नेपालमा प्रतिकिलो २० लाखको हाराहारीमा किनिने यार्सा ९२ हजार पाँच सय रुपैयाँ मूल्य देखाएर निर्यात गरिएको भन्सार विभागको अभिलेखले देखाउँछ । नेपालबाट चीनमा झ्याउ, यार्सागुम्बा, वनलसुन, रुद्राक्ष र बोधिचित्तलगायत जडीबुटी राम्रो परिमाणमा जाने गरेका छन् ।नेपाल हब्स एन्ड हर्बल्स एसोसियसनका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपालबाट चीन जाने जडीबुटी पनि अन्डर इन्भ्वाइस भएर जाने गरेको बताए । उनले भने, ‘चीन सरकारले लगाएको भन्सार महसुल महँगो भएकाले उनीहरूले मूल्य घटाएको कागज बनाएर सामान लैजान्छन् ।

भारतीय व्यापारीजस्तै पैसा बोकेर उनीहरूले पनि सामान किन्न थालेका छन् ।’यार्सागुम्बाको मूल्य महँगो भएका कारण पनि चिनियाँ व्यापारीहरूले झोलामा पैसा बोकेर सामान किन्न थालेका हुन् । यार्सागुम्बाबाट शुरु भएको यस्तो तरिकाले ट्रेड अहिले अरू क्षेत्रमा समेत बढ्दै गएको व्यवसायीहरू बताउँछन् । नेपालमा किनिएको यार्सागुम्बा कागज मिलाएर विमानस्थलको बाटो हुँदै चीन पुग्ने गरेको छ । ‘बीचमा भन्सारले गैरकानुनी तरिकाले काम भयो भनेर रोकेको थियो,’ अध्यक्ष घिमिरेले भने, ‘अहिले भने विमानस्थलबाट लगेजमा राखेर लैजान थालिएको छ ।’ नेपालबाट कम मूल्यमा चीन पुगेका सामानमा प्रतीतपत्रको मूल्यभन्दा बढीको भुक्तानी नेपाली व्यवसायीहरूले नेपालमा लिन्छन् ।

चीन पुगेपछि उक्त सामान वास्तविक मूल्यमा बेच्दा कागजमा देखाएको मूल्यभन्दा बढी आउँछ । यसरी आएको पैसा गैरकानुनी बाटो भएर नेपाल आउने गरेको छ । सामान आयात हुँदा पनि यही प्रक्रिया लागू हुन्छ । नेपाल र चीनबीचमा बढ्दै अन्डर इन्भ्वाइसबाट सामान आदानप्रदान गर्ने प्रचलनले गैरकानुनी काममा पनि वृद्धि हुँदै गएको पूर्वडीआईजी मल्लले बताए । उनले भने, त्यहाँ थुप्रिएको पैसा खर्च भएपछि यताबाट पैसा उता जानुपर्छ । चीनमा नेपालबाट डलर जानुको कारण पनि यही हो ।

 

 

प्रतिकृया दिनुहोस