MENU

अर्थ/बाणिज्य

635x90

औद्योगिक हब बन्दै दोलखा

सुवास योञ्‍जन, चरिकोट सोमवार, भाद्र २६, २०७४

दश वर्षअघिसम्म सुनसान दोलखामा पछिल्लो समय साना–ठूला उद्योगहरू चल्ने क्रमले तीव्रता पाएको छ । घरजग्गामा मात्र आँखा लगाउँदै आएका लगानीकर्ताहरू उद्योगमा लगानी गर्न थालेका छन् । ०६२/६३ को जनआन्दोलनपछि सदरमुकाम चरिकोटमा जनघनत्व बढेको छ । उद्योगका लागि उपयुक्त वातावरण हुँदाहुँदै पनि ठूला लगानीकर्ताहरू जिल्ला भित्रिएका थिएनन् । तर, स्वदेशी लगानीमै बन्ने सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको निर्माण थालेसँगै लगानीकर्ताहरू धमाधम दोलखा भित्रिएका छन् ।

शुरुमा पर्यटन उद्योगअन्तर्गत होटल व्यवसाय मात्र सञ्चालन हुँदै आएको दोलखामा बिस्तारै अन्य उद्योग पनि खुल्न लागेका छन् । लगानीकर्ताहरूका लागि दोलखा उर्वरभूमिको रूपमा रहेको उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको भनाइ छ । विषेशगरी लामोसाँघु–जिरी सडकखण्डको स्तरउन्नति भई डबल लेन बन्नु र तराईसँग सीधा सडकमार्ग जोडिएका कारण लगानीकर्ताहरू जिल्ला भित्रिन लागेको अध्यक्ष कार्की बताउँछन् । जिल्लामा नियमित विद्युत् आपूर्ति हुने भएकाले पनि लगानीका लागि राम्रो वातावरण बनेको । अबको एक दशकमा दोलखालाई औद्योगिक जिल्लाको रूपमा चिनिने अध्यक्ष कार्कीको तर्क छ ।

प्लाई र पाइप उद्योग

जिल्लामा दिव्य प्लाई उद्योग र दोलखा भिमेश्वर मल्टिट्रेडिङ कम्पनी गरी दुई ठूला उद्योगहरू हालै सुरु भएका छन् । १५ करोडको लगानीमा सञ्चालित प्लाई उद्योगलाई जिल्लाकै पहिलो र ठूलो उद्योगका रूपमा लिइन्छ । सञ्चालक रामकृष्ण केसीका अनुसार उद्योगका लागि जिल्लामै पर्याप्त कच्चापदार्थ छन् । उद्योगमा सयभन्दा बढीले रोजगारी पाएका छन् । प्लाई उद्योग सञ्चालनमा आएपछि काठजन्य अन्य साना उद्योग पनि प्रशस्त खुलेका छन् । वार्षिक ६० देखि ७० हजार क्युफिट काठ उद्योगले खपत गर्ने गरे पनि लक्ष्यअनुसार उत्पादन गर्न सकेको छैन ।

सञ्चालकका अनुसार वार्षिक १२ करोडभन्दा बढीको उत्पादन गर्ने लक्ष्य लिइए पनि हालसम्म करिब १० करोड रुपैयाँको मात्र प्लाई उत्पादन हुन सकेको छ । उत्पादित प्लाईमध्ये ६० प्रतिशत राजधानीमा, ३० प्रतिशत दोलखा र रामेछापमा, तथा बाँकी पोखरालगायत बाहिरी क्षेत्रमा जाने गरेको छ । हाल जिल्लामा दुई दर्जन बढी सहमिल र पाँच दर्जनभन्दा बढी फर्निचर उद्योग चलिरहेका छन् । यस्तै, फोहोरलाई मोहोरमा बदल्ने उद्देश्यका साथ दुई युवाले सञ्चालनमा ल्याएको पाइप उद्योगमा हाल प्रत्यक्ष २० जनाले रोजगारी पाइरहेका छन् ।

करिब तीन करोडको लगानीमा सञ्चालित उद्योगमा अप्रत्यक्ष रूपमा एक सय बढीले रोजगारी पाएका छन् । व्यवस्थापनको चुनौतीको रूपमा रहेको प्लास्टिकलाई प्रशोधन गरी नगदमा बदल्ने उद्देश्यका साथ पाइप उद्योग सञ्चालनमा ल्याइएको सञ्चालक सुरेश उप्रेतीको भनाइ छ । हाल सो उद्योगबाट १६ एमएमदेखि आठ इन्चसम्मको पोली पाइप उत्पादन हुँदै आएको छ । आवश्यक कच्चा पदार्थमध्ये ७० प्रतिशत जिल्लाकै प्रयोग गर्ने सोच आफूहरूले लिएको र सबै गाउँमा प्लास्टिक संकलनका लागि अनुरोध गरिएको उप्रेती बताउँछन् ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीको समेत लगानी रहेको सो उद्योगबाट मासिक १५ टन पाइप उत्पादन गर्ने र २७ महिनाभित्र लगानी उठाइसक्ने सञ्चालकहरूको लक्ष्य छ । पाइप उद्योगसँगै जिल्लाका कच्चा पदार्थलाई सदुपयोग गरी सञ्चालन गर्न सकिने अन्य उद्योगहरूको विषयमा पनि आफूहरूले छलफल गरिरहेको सञ्चालक कार्कीको भनाइ छ । उनका अनुसार पाइपको माग राजधानीलगायत बाहिरी जिल्लाबाट पनि उत्तिकै आइरहेको छ ।

चम्किँदै होटल

दोलखामा पछिल्लो समय होटल व्यवसाय चम्किँदै छ । होटल ह्वाइट हाउसका सञ्चालक किशोर नेपालीका अनुसार विषेशगरी धार्मिक पर्यटक बढी आउने भएकोले पनि होटल व्यवसाय फस्टाउँदै गएको हो । जिल्लामा प्रमुख धार्मिक स्थल भिमेश्वर, कालिञ्चोक, च्छोरोल्पा हिमताल, माथिल्लो तामाकोशी आयोजना, शैलुङ र जिरीलगायत पर्यटकीय स्थल छन् । विषेशगरी हिउँ खेल्न आउने पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । यस्ता ठाउँमा होटल व्यवसाय राम्ररी फस्टाउन सक्छ ।

sundarतराईसँग सीधा सडकमार्ग जोडिएसँगै लगानीकर्ताहरू जिल्लामा भित्रिन थालेका छन्। लगानीकर्ताहरूको लागि दोलखा उर्वरभूमिको बनेको बनेको छ। सुन्दर कार्की अध्यक्ष, उद्योग वाणिज्य संघ, दोलखा

क्षेत्रीय होटल संघ दोलखाका सदस्यसमेत रहेका नेपाली भन्छन्, ‘पर्यटकको आगमनमा वृद्धि भएसँगै व्यावसायीले होटलको पनि स्तरोन्नति गर्ने गरेका छन् ।’ क्षेत्रीय होटल संघको तथ्यांकअनुसार चरिकोटमा मात्र ५० बढी होटलहरू रहेको र दुई सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै, जिल्लाभर दुई सयभन्दा बढी होटल सञ्चालनमा रहेको र एक हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

पर्यटन उद्योगको राम्रो सम्भावना बोकेको दोलखामा कालिञ्चोक केबलकार निर्माण भइरहेको छ । कालिञ्चोक दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको केबलकार यही असोजभित्र सञ्चालनमा आउने तयारीमा रहेको सञ्चालक बालकृष्ण शिवाकोटीले जानकारी दिए । लगानीबोर्डका सदस्यसमेत रहेका शिवाकोटीले नै जिल्लामा उद्योग भित्र्याएका थिए । उनले केबलकारबाट कालिञ्चोकको मनोरम दृश्य देखिनुका साथै हिमाललाई नजिकबाट नियाल्न सकिने बताए ।

मनकामना र चन्द्रागिरिझैं कालिञ्चोक केबलकारले पनि सफलता पाउनेमा सञ्चालकहरू विश्वस्त छन् । केबलकार निर्माणसँगै जिल्लामा स्टार होटलहरू सञ्चालन हुने र त्यसबाट अन्य उद्योग पनि भित्रिने सञ्चालक शिवाकोटीको बुझाइ छ ।जिल्लामा औद्योगिक क्षेत्रको लागि उपर्युक्त स्थान घोषणा गरी सरकारले आवश्यक पूर्वधार निर्माण गरिदिए ठूला लगानीकर्ता भित्र्याउन सहज हुने उद्योग वाणिज्य सघंका कार्यकारी सदस्य सुदर्शन कार्कीको भनाइ छ ।

हाइड्रोले समृद्धि

जिल्लालाई हाइड्रो हबको रूपमा पनि लिइएको छ । हाल चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् निर्माणाधीन अवस्थामा छ । यस्तै, २५ मेगावाटको सिंगटीखोला, ११ मेगावाटको तल्लोखारे खोला, पाँच मेगावाटको घट्टेखोलाको काम अन्तिम चरणमा पुगेको छ । यीबाहेक नर्वेली कम्पनी स्टाटक्राफ्टले चार वर्षअघि नै विस्तृत अध्ययन पूरा गरेको ६ सय ५० मेगावाटको तामाकोशी तेस्रोको काम पनि शुरु हुने देखिएको छ । तामाकोशीमा एक चिनियाँ कम्पनीले स्थलगत निरीक्षण शुरु गरेको छ ।

त्यसैगरी जाइकाले पनि स्थलगत निरीक्षण गरिसकेको छ । उता ४८ मेगावाटको खिम्ती–२ को काम शुरु भएको छ भने खिम्ती खोलामा हिमालयन ऊर्जा कम्पनीले १२ र सात मेगावाटको दुई आयोजनाको काम तीव्र रूपमा अघि बढाएको छ । खिम्ती खोलामा नै पाँच सय मेगावाटको ठोसे खिम्तीको समेत अध्ययन भएको छ । माथिल्लो तामाकोशीकै टेलरेसबाट निस्केको पानी प्रयोग गरेर निकाल्ने ८७ मेगावाटको तामाकोशी पाँचौको अध्ययन पनि पूरा भएको छ । चीन सीमानजिक ५२ मेगावाटको माथिल्लो लाप्चे खोलामा पनि पीपीए सम्पन्न भई स्थलगत क्याम्प राखेर काम शुरु गरिएको छ ।

दोलखामा ६० मेगावाटको खिम्ती–१, १० मेगावाटको सिप्रिङ, तीन दशमलव ५२ मेगावाटको चर्नावती, दुई दशमलव चार मेगावाटको जिरीसिक्री र एक मेगावाटको कुथलीबुखरी आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । जिरी खोलामा पाँच सय किलोवाटको आयोजना पनि पूरा हुन लागेको छ । तर, यस वर्ष कुनै पनि हाइड्रोपावरबाट विद्युत् उत्पादन भने हुने छैन । जिल्ला कृषिजन्य उत्पादनमा पनि अगाडि छ । दोलखाबाट वार्षिक करोडांैको आलु, किवी र अलैंची निर्यात हुन्छ । आलु भण्डारण केन्द्र स्थापना गरी त्यसबाट बन्ने चिप्सलगायत परिकार बनाउन सके करोडौं आम्दानी गर्न सकिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख नारायण श्रेष्ठ बताउँछन् ।

 

 

 

प्रतिकृया दिनुहोस