MENU

अर्थ/बाणिज्य

Annapurna635x90

प्रदेश छ काे पहिलाे प्राथिमकतामा जडीबुटी

ललितबहादुर बुढा, सुर्खेत सोमवार, भाद्र १९, २०७४

प्र देश नम्बर ६ अन्तर्गतका जनप्रतिनिधिहरू वीरेन्द्रनगरमा भेला भए, गत असार पहिलो साता । उनीहरूले प्रदेश समृद्धिको बहस नै चलाए । यो प्रदेशमा रहेका नगर र गाउँपालिका प्रमुख र उपप्रमुखहरूको भेलाले प्रदेश समृद्धिका लागि भन्दै सुर्खेत घोषणापत्र जारी गर्‍यो । उक्त घोषणापत्रमा भनिएको छ, ‘प्रदेशको समग्र अर्थतन्त्र थेग्ने मेरुदण्ड जडीबुटी हो, प्रदेश समृद्धिका लागि जडीबुटीलाई पहिलो प्राथमिकता दिन हामी प्रतिबद्ध छौँ ।’ सीमांकन वेला विवादित बनेको प्रदेश ६ मा यतिवेला समृद्धिको बहस उचाइमा पुगेको छ । यहाँका नवनिर्वाचित जनप्रतिनिधि मात्र होइन, दल, निजी क्षेत्र र सरकारी निकायलेसमेत प्रदेशको आर्थिक समृद्धिबारे आ–आफ्ना योजना सार्वजनिक गरिरहेका छन् । दुई दिनसम्म बहस गरेपछि यस प्रदेशका प्रतिनिधिहरूले साझा निष्कर्ष निकाले । साथै, जडीबुटीको उत्पादन र बजारीकरणमा लगानी गर्ने घोषणासमेत गरे । जडीबुटीको प्रशोधन र संकलनका लागि सामूहिक प्रयास गर्दै प्रदेशको अर्थतन्त्रलाई निर्भर बनाउनेमा उनीहरू एकमत भए ।

साढे सात सय प्रकारका जडीबुटी

यस प्रदेशमा साढे सात सय प्रकारका जडीबुटी पाइन्छन् । विषेशगरी कर्णालीका जिल्लामा बहुमूल्य जडीबुटीको भण्डारै छ । कर्णालीमा बहुमूल्य यार्सागुम्बा, जटामसी, चिराइतो, सतुवा र रातो च्याउ पाइन्छ । अहिले पनि यार्सागुम्बाबाटै व्यापारीले करोडौं आम्दानी गरिरहेका छन् । प्रदेशका अन्य जिल्लामा पनि टिमुर, तेजपात, काउलो, चिउरी र रिठ्ठालगायत जडीबुटी उत्पादन हुन्छ । तर, आवश्यक प्रशोधन र संकलनको अभावमा अहिले केवल कच्चा पदार्थको रूपमा सस्तो मूल्यमा विदेश निर्यात भइरहेको छ । जडीबुटीको व्यवसायिक उत्पादन, प्रशोधन र बिक्री वितरण गर्न सके प्रदेशको समग्र अर्थतन्त्रलाई जडीबुटीले नै थेग्न सक्छ ।

विकट भौगोलिक विकटता, पछौटेपन र आर्थिक रूपमा कमजोर भए पनि यो प्रदेश प्राकृतिक स्रोतमा उर्वर छ । नेपाल जडीबुटी व्यवसायी संघ सुर्खेतका महासचिव मोतिप्रसाद शर्मा भन्छन्, ‘सुर्खेतबाट मात्र बर्सेनि तीन अर्बको जडीबुटी निर्यात हुन्छ, यो केवल कच्चा पदार्थको मात्र हो । यसलाई जिल्लामै प्रशोधन गर्न सके मोल थप बढ्नेछ, उत्पादनको सम्भावना पनि उच्च छ ।’ प्रशोधनको अभावमा सस्तोमा जडीबुटी विदेश निर्यात भइरहेको भन्दै उनले राज्यले नै अब लगानी गर्नुपर्ने बताए, ‘आम्दानीको अरू उपाय छैन, हामीसँग भन्सार संकलन हुने नाका पनि छैन ।’ जंगलमा अहिले खेर गइरहेको र सस्तोमा निर्यात भइरहेको यही जडीबुटीले नै आर्थिक विकासमा टेवा पुग्ने उनको विश्वास छ ।

jatibuti

जिल्ला वन कार्यालय सुर्खेतकाअनुसार सुर्खेतबाट मात्र वार्षिक चार करोडको टिमुर निर्यात हुने गरेको छ । यस्तै, काउलो, चिउरी र तेजपात पनि निर्यात भइरहेको छ । यसलाई व्यवसायिक बनाउन सके रोजगारीका लागि कसैले पनि भौतारिनुपर्ने अवस्था नआउने जिल्ला वन अधिकृत हेमराज विस्ट बताउँछन् । भन्छन्, ‘हामीसँग योजना मात्र हुनुपर्‍यो, अभाव झेल्नुपर्ने अवस्था नै छैन । अरू प्रदेशको तुलनामा यहाँ प्राकृतिक स्रोत बढी छ, यसको सदुपयोग गरे समृद्धि सम्भव छ ।’ पर्यटन र जडीबुटीबाटै भोलिका दिनमा प्रदेशले आयआर्जन गर्न सक्ने पर्याप्त सम्भावना रहेको भन्दै उनले प्रदेशको अर्थतन्त्र नै जडीबुटीले थेग्ने बताए । यसका लागि आफूहरूले सामुदायिक वनलाई जडीबुटीको संरक्षणमा आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी भन्छन्, ‘प्रदेशलाई कसरी आर्थिक रूपमा सबल बनाउने ? भन्ने चिन्ता होइन, अब त्यसका लागि गुरुयोजना बनाउन आवश्यक छ ।

हामीसँग भएका अथाह जडीबुटीबाटै समग्र प्रदेशको अर्थतन्त्रलाई थेग्न सक्छ ।’ खेर गइरहेका जडीबुटीलाई प्रशोधन र पुनःउत्पादन गर्न सके यो प्रदेश देशकै आर्थिक रूपमा सबल प्रदेश हुने उनको दाबी छ । ‘हामी आजसम्म सुनको सिरानी हालेर, नुनको खोजीमा दौडिरहेका छौँ’ उनले भने, ‘एउटा गतिलो प्रशोधन केन्द्र आवश्यक छ, कच्चा पदार्थको रूपमा मात्र निर्यात गरेर आम्दानी हुँदैन । आफैले प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउन सके प्रदेशको अर्थतन्त्र दरिलो हुनेछ ।’ जडीबुटीले नै रोजगारी सिर्जना गर्ने र आर्थिक विकासमा टेवा पुग्ने उनको विश्वास छ ।

प्रशोधनका लागि पूर्वाधार

जडीबुटीको सम्भावनालाई मध्यनजर गर्दै सुर्खेतमा जडीबुटी प्रशोधन र संकलनसम्बन्धी आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया पनि शुरु भएको छ । सरकारी निजी साझेदारी अवधारणाअन्तर्गत वीरेन्द्रनगरस्थित काँक्रेविहारनजिक चार करोडको लागतमा जडीबुटी संकलन केन्द्र निर्माण भइरहेको छ । अन्तिम चरणमा पुगेको यो केन्द्रलाई यही वर्षभित्र सञ्चालन गर्ने तयारी पनि भइरहेको छ । यस्तै, यसअघि नै वीरेन्द्रनगरमा जडीबुटी प्रशोधन केन्द्रको शिलान्यास भइसकेको छ । दुई करोडको लागतमा निर्माण हुने प्रशोधन केन्द्रको निर्माण कार्य यस आर्थिक वर्षमै शुरु हुँदैछ । केन्द्रको शिलान्यास भएसँगै अब यस क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको प्रशोधन सुर्खेतमै हुनेछ । यसले कच्चा पदार्थको रूपमा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता टर्ने व्यवसायीहरूले अपेक्षा गरेका छन् ।

प्रदेश ६ का जनप्रतिनिधिले हालैको भेलामा एकै स्वरमा घोषणा गरे, ‘प्रदेशको समग्र अर्थतन्त्र थेग्ने मेरुदण्ड जडीबुटी हो, यसलाई पहिलो प्राथमिकता दिन हामी प्रतिबद्घ छौँ।

तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले वीरेन्द्रनगरमा यसअघि नै प्रशोधन केन्द्रको शिलान्यास गरेका थिए । निर्माणको आवश्यक प्रक्रिया पनि अघि बढेको छ । यस्तै, सुर्खेतमै अत्याधुनिक शीतभण्डार निर्माणको काम पनि शुरु भएको छ । यस क्षेत्रको जडीबुटीको सम्भावनालाई हेरेर १७ करोडमा शीत भण्डार निर्मांणको काम शुरु भएको हो । बजार मूल्य नपाउँदा खेर जाने बहुमूल्य जडीबुटीलाई अब भण्डारण गरेर राख्न सकिनेछ । जडीबुटीको प्रशोधन तथा संकलनका लागि आवश्यक पूर्वाधार निर्माणले पनि धेरै आस पलाएको छ ।

दलहरूको प्राथमिकता

यस प्रदेशबाट वार्षिक अर्बौंको जडीबुटी निर्यात भइरहेको छ । तर, सरकारी तवरबाट आवश्यक नीति नहुँदा सस्तोमा निर्यात भइरहेको छ । यसलाई सरकारबाटै आवश्यक नीति बनाएर उत्पादन तथा बिक्रीमा जोड दिन सके राजस्व बढ्ने देखिन्छ । अर्कोतर्फ व्यवसायिक उत्पादन र कारोबार शुरु भएमा स्थानीयले रोजगारी पाउनेछन् । यही सम्भावना देखेका यहाँका राजनीतिक दलले पनि जडीबुटीलाई नै प्रदेश समृद्धिको मेरुदण्ड मानेका छन् । एमाले र माओवादी केन्द्रले प्रदेश समृद्धिको खाका सार्वजनिक गर्दै जडीबुटी उत्पादनलाई प्राथमिकता दिएका छन् । दुवै पार्टीका प्रदेश कमिटीले प्रदेश समृद्धिको घोषणापत्रमार्फत् जडीबुटी उत्पादन, संकलन र प्रशोधनका लागि पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

यस्तै कांग्रेसले पनि प्रदेश ६ को पहिलो आर्थिक विकासको आधार जडीबुटी नै भएको बताएको छ । अर्कोतर्फ सरकारी उच्च अधिकारीहरू पनि भ्रमणको क्रममा आउँदा कर्णालीको जडीबुटीले नै प्रदेशको अर्थतन्त्रलाई सबल बनाउने बताउने गरेका छन् । त्यसका लागि केन्द्र सरकारले पनि आवश्यक लगानी गर्न प्रतिबद्धता गर्नुपर्ने उनीहरूको भनाइ छ । दलहरू आफ्नो प्रतिबद्धतामा इमानदार भए जडीबुटी नै प्रदेश समृद्धिको मेरुदण्ड बन्ने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी बताउँछन् ।

प्रतिकृया दिनुहोस