MENU

अर्थ/बाणिज्य

635x90

बाढीले मात्रै ३७ अर्बकाे क्षति

मेनुका कार्की/राजु बास्कोटा शुक्रवार, भाद्र ९, २०७४

२६ साउनको रातिदेखि आएको वर्षाले महोत्तरी बलवाका ५६ वर्षीय नरेश यादवको २५ कठ्ठामा लगाएको धान बाली सखाप भयो । रोपाइँको समयमा पानी नपर्दा यादवले पानी तानेर रोपाइँ गर्न मात्रै १८ हजार रुपैयाँ खर्चेका थिए । रातु खोलामा आएको बाढीले उनको पूरै धानखेत बगरमा परिणत भयो । बाढीसँगै आएको बालुवाले धानका बोटसमेत पुरिदियो । भोलिपल्ट बिहान नरेश धानखेत पुगे । खेत डुबेको देखेर मुर्छा परे । ‘किसानको ज्यान बाढीले लियो । एक त पानी परेन । रोपेको धान पनि खोलाले डुबाइदियो,’ उनले भने, ‘हाम्रो मुख्य आम्दानीको स्रोत यही थियो । त्यो पनि खत्तम भयो । अब परिवार कसरी पाल्ने ?’ व्यावसायिक कुखुरापालनमा जमेका रौतहट सोनरियाका किसान शिवशंकर यादव बाढीका कारण घर न घाटका भएका छन् ।

बैंकबाट ६६ लाख ऋण लिएर तीन वर्षअघि शुरु गरेको कुखुरा फर्म बाढीले बगायो । फर्ममा ६० लाख रुपैयाँबराबरको क्षति भयो । शिवशंकर भन्छन्, ‘म त डुबेँ हजुर । तीन बिघा जग्गा बैंकमा छ । कुखुरा जति बाढीले खायो, अब बैंकको ऋण कसरी तिर्नू ?’ बारामा सञ्चालित माछा सुपरजोन बाढीले बगायो । माछा बगाउँदा मात्रै ५० करोडको क्षति भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोन सञ्चालन गरिएको थियो । त्यहाँका सात सय मेट्रिक टन माछा बगेर हराए । परियोजना इकाइ सिम्रौनगढ बाराका अनुसार वर्षाका कारण बाढीले सात सय हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरी भत्काएको छ । वर्षाका कारण नेपाली अर्थतन्त्रमा करिब ३७ अर्ब ३१ करोड ८८ लाखको असर पर्ने प्रारम्भिक अनुमान छ ।

कृषिबाली, पशुधन, सिँचाइ, सडक, पुल गरी तराई र पहाडी क्षेत्रमा उक्त क्षति भएको हो । सोमध्ये कृषि तथा पशुधनको मृत्यु तथा उत्पादन नष्ट भई १६ अर्ब ५९ करोडको क्षति भएको छ । पशुधनमा मात्र १० अर्ब १७ करोड ८८ लाख क्षति भएको पशुपछी मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बताए । ‘२ भदौसम्म प्राप्त विवरण अनुसार बाढीका कारण पशुधनको मृत्यु तथा पशुजन्य सामाग्री नष्ट भई एक अर्ब ३७ करोड ७८ लाख रुपैयाँ क्षति भएकोे छ । बाढीका कारण सबैभन्दा बढी कुखुरापालन व्यवसायमा क्षति भएको छ । एक लाख सात हजार ७६ वटा कुखुरा नष्ट भएको छ । 

बाढीका कारण सुनसरी–मोरङ सिँचाइ आयोजनामा ७० करोडको क्षति पुगेको छ। कोशी पम्प सिँचाइ आयोजनामा ९० करोड, कमला नहरमा करिब १३ करोडको क्षति भएको छ। 

पशुजन्य उत्पादनतर्फ दुई अर्ब ५० करोड १० लाख र पशुजन्य सामग्रीमा एक अर्ब ३७ करोड गरी कुल तीन अर्ब ८७ करोड रुपैयाँ प्रत्यक्ष क्षति भएको छ । साथै विभिन्न पशुजन्य उत्पादनमा पर्ने असरलाई अनुमान गर्दा क्षति ६ अर्ब ३० करोड रुपैयाँ पुग्ने पौडेलको अनुमान छ । पशुजन्य उत्पादनमध्ये दूधमा प्रत्यक्ष दुई अर्ब ४० करोड क्षति भएको छ । अप्रत्यक्ष रूपमा चार अर्ब ८० करोड बराबरको क्षति भएको छ । अण्डा उत्पादनमा मात्रै प्रत्यक्ष रूपमा १० करोड १० लाख रुपैयाँको क्षति भएको छ । यस वर्ष आएको वर्षाको कारण कृषि तथा पशुधनमा १६ अर्ब ५९ करोड क्षति भएको छ । कृषकहरूले गत वर्ष आठ अर्ब ४५ करोडको कृषि तथा पशुधनको बिमा गराएका छन् ।

कृषिमा आठ अर्ब ६४ करोड क्षति

बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएकोे छ । अविरल वर्षाका कारण आएको बाढीले तराईका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी शुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले बताए । ‘बाढीका कारण तराईमा रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ । रोपाइँ भएको बाँकी २० प्रतिशत क्षेत्रफल पनि थप डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ,’ उनले भने । प्रारम्भिक तथ्यांकअनुसार पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पूर्वका उक्त जिल्लामा मात्र १४ करोडको तरकारी नष्ट भएको छ भने घरमा सञ्चित गरी राखिएको १२ करोड मूल्यबराबरको खाद्यान्न नष्ट भएको छ ।

बाढीका कारण तराईमा धान, तरकारी, फलफूल र माछातर्फ ठूलो क्षति भएकोे छ । बाढीका कारण तीन अर्ब ४२ करोड ३० लाखको धान, गहुँ, मकैजस्ता खाद्यान्न बाली नष्ट भएका छन् । दुई अर्ब ९६ करोडको तरकारी, ८० करोडको माछा, तीन करोडको ६१ लाखको फलफूल, ३४ करोडको मसलालगायत बालीमा क्षति भएको छ । घरमा भएको दाल, चामल, तरकारीलगायत खाद्यान्न पनि बाढीले बगाउँदा सर्वसाधारण खाद्य असुरक्षामा परेका छन् । विभिन्न व्यवसायहरू नष्ट हुँदा रोजगारी गुम्ने, गरिबी बढ्ने र जसको कारण आपराधिक क्रियाकलाप जस्तो चोरी डकैतीजस्ता क्रियाकलाप बढ्ने जानकारहरूले बताएका छन् । बाढीका कारण फैलिन सक्ने विभिन्न प्रकारका रोगको प्रकोपलाई नियन्त्रण गर्न प्राविधिक टोली परिचालन गरिएको सचिव पोखरेलले बताए । सरकारले सात प्रदेशमा सात वटा सुपरजोन कार्यक्रम लागू गरेका प्रदेशमध्ये बारा जिल्ला माछापालनका लागि सुपरजोन मानिएको छ ।

लगातारको वर्षाका कारण आएको बाढीले व्यावसायिक माछापालनमा ३२ करोड ५० लाख मूल्यबराबरको क्षति भएको छ । यसैगरी बाराको कोल्वी नगरपालिका अन्तर्गत पोखरीमा बाढी पस्दा दुई हजार पाँच सय मेट्रिकटन माछा बगायो । जसबाट करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी बाढीले माछा ह्याचरी बगाउँदा ५० करोड र फिगर साइजको माछा बगाउँदा ३० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय बाराको तथ्यांक छ ।

सिँचाइतर्फ साढे १४ अर्बको क्षति

सिँचाइ मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार सिँचाइ विभाग र जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा १४ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण सिँचाइ विभागअन्तर्गतका १२ जिल्लाका २० वटा परियोजनामा क्षति पुगेको छ भने जल उत्पन्न प्रकोपतर्फ २२ जिल्लामा ४० वटा आयोजनामा क्षति पुगेको मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । सिँचाइतर्फ दुई अर्ब ५० करोड र प्रकोपतर्फ १२ अर्बको क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।बाढीका कारण सुनसरी–मोरङ सिँचाइ आयोजनामा ७० करोडको क्षति पुगेको छ । कोशी पम्प सिँचाइ आयोजनामा ९० करोड, कमला नहरमा करिब १३ करोडको क्षति भएको छ ।

मन्त्रालयका अनुसार जल उत्पन्न प्रकोपतर्फ दाङका विभिन्न ११ स्थानमा बबई, राप्ती तथा अन्य साना खोलाले दुई अर्ब तीन करोडको क्षति पु¥याएको छ । नवलपरासीको आठ स्थानमा एक अर्ब २० करोड, बर्दियाका तीन स्थानमा एक अर्ब दुई करोड, झापाका २५ स्थानमा एक अर्ब नौ करोड, सप्तरीको २३ स्थानमा एक अर्ब ३४ करोडको क्षति पुगेको छ ।

सडकमा चार अर्बको क्षति

प्राकृतिक विपत्तिले गत दुई सातामा मात्रै सडक तथा पुलमा गरी करिब चार अर्बको क्षति भएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता दयाकान्त झाले क्षतिको विवरण संकलन भइरहेकोले हालसम्म प्राप्त विवरण र तथ्यांकका आधारमा सडक तथा पुलमा करिब चार अर्ब रुपैयाँको क्षति भएको बताए । विभागका अनुसार, क्षतिमध्ये पुलमा करिब २२ करोड र बाँकी राष्ट्रिय राजमार्गका सडक र विभागअन्तर्गतका स्थानीय सडकमा भएको छ । पुल विभाग प्रमुख अर्जुनजंघ थापाका अनुसार, विभिन्न सडक तथा पुलमा भएको यस्तो क्षति सरकारी निकायले बेहोर्नुपर्ने मात्रै करिब २० करोड रुपैयाँ रहेको अनुमान गरिएको छ । बाँकी दुई करोड रुपैयाँको क्षति भने ठेकेदारको लापरबाहीले भत्किएको अनुमान गरिएको छ ।

graph1

बाढी तथा पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको सडकमा पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, घोराही–तुलसीपुर, धरान–धनकुटा र अन्य स्थानीय सडकका केही भाग छन् । सडकसँगै पुलमा भएको क्षतिले पनि पूर्वाधारमा क्षति बढेको विभागले जानकारी दिएको छ । सडक तथा पुलको लागि अनुमान गरिएको उक्त चार अर्बभन्दा बढी बजेटको व्यवस्थापन नभएसम्म सडक पूर्वाधारको पुनर्निर्माण नहुने सडक विभागको भनाइ छ । विभागले अनुमान गरेको यो रकम तत्काल व्यवस्था गर्नुपर्ने भएकोले पनि अर्थ मन्त्रालयसमक्ष अनुरोध गरिएको छ । विभागसँग हरेक वर्षायाममा मर्मत गर्ने सीमिति बजेटबाहेक अतिरिक्त रकम नहुने भएकोले सडक तथा पुल निर्माणमा सरकारी बजेटको भर पर्नुपर्ने हुन्छ ।

तर, अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको अवस्थामा तल्कालै मर्मत गर्न सकिने पनि विभागको भनाइ छ । विभागले भने डाइभर्सन तथा अन्य विकल्पबाट अस्थायी रूपमै भए पनि यातायात सुचारु गरिरहेको छ । स्थानीय कृषि सडक निर्माण विकास विभाग (डोलिडार) अन्र्तगतका सडक तथा यसका पुलमा पनि बाढी तथा पहिरोले क्षति पुर्‍याएको छ । यी सडक राष्ट्रिय राजमार्गअन्तर्गत नपर्ने र सम्बन्धित स्थानीय तहबाटै तथ्यांक संकलन गर्नुपर्ने विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले बताए । उनले पनि डोलिडारअन्तर्गतका सडक तथा पुलमा भएको क्षति एक करोड पुग्ने बताए ।

मर्मतमा रकम अभाव

सडक विभागअन्तर्गगत सडक मर्मत महाशाखा हुने गरको भए पनि रकम अभावका कारण मर्मतमा समस्या हुने गरेको छ । सरकारले सडक बोर्डमार्फत् सडक मर्मत तथा सुधारका निम्ति रकम संकलन गर्ने गरेको भए पनि यो निकायसँगै पर्याप्त रकम नहुँदा मर्मतमा बर्सेनि रकम अभाव हुने गरेको सडक विभागअन्तर्गतको मर्मत महाशाखाले बताएको छ । विभागमा हुने आकस्मिक सडक मर्मतको रकम नियमित बजेटबाटै विनियोजन गरेर सीमित मात्रामा राखिने गरिएको छ । यस्तो रकम वर्षायाममा हुने सामान्य मर्मतमै सकिने भएकोले पनि बर्सेनि ठूला सडक मर्मत गर्न र खर्च बढी हुने सडकको मर्मत गर्न अर्थ मन्त्रालयललाई नै गुहार्नुपर्ने बाध्यता रहेको झाको बुझाइ छ ।

कहाँ भयो बढी क्षति

वर्षात्को कारण तराई–पहाडको लाइफलाइनका विभिन्न पाँच वटा सडकका २८ स्थानमा क्षति पुगेको सडक विभागको तथ्यांकमै उल्लेख छ । उक्त तथ्यांकअनुसार बाढीका कारण सामान्यदेखि विशेष मर्मत गरेर सेवा सञ्चालन गर्नुपर्ने राष्ट्रिय राजमार्गका विभन्न सडकखण्डका पुल तथा कल्भर्टमा देखिएको समस्यालाई आधार बनाएको पनि विभागको
भनाइ छ ।

* बर्दियाको बबई नदीको पुलमा भएको क्षति सबैभन्दा ठूलो रकमको क्षति हो । यसका साथै काकडभित्ता–इटहरी सडकखण्डमा एक, इटहरी–ढल्केबरमा सात, ढल्केबर–हेटाैँडामा १६, हेटौंडा–बुटवलमा र बुटवल कोहलपुरमा ३–३ वटा गरी पाँचवटा सडकका २८ स्थानमा यस्तो समस्या छ ।

* महोत्तरीको रातु पुल ३० सेमि धसिएको छ । यो पुल तत्काल मर्मत गर्नुपर्ने गरी क्षति भएको छ ।

* इटहरी–ढल्केबर सडकखण्डमा सडक माथिबाटै बाढी पसेकोेले क्षति भएको छ । यो सडकको धनगढी–बरियारपट्टी खण्डको ६० मिटर सडक बाढीले बगाएको छ ।

* ढल्केबर–हेटौंडा खण्डको जंघाखोलाको पुलमा समस्या छ । यही सडकमा पर्ने जुझौरा पुल ६० सेमि धस्सिएको छ ।

* हेटाैँडा–बुटवल र बुटवल–कोहलपुर खण्डमा पनि ३/३ स्थानमा पुल तथा सडकको समस्या छ, जसले यातायात सञ्चालनमा अवरोध पुगेको छ ।

 

प्रतिकृया दिनुहोस