MENU

अर्थ/बाणिज्य

Annapurna635x90

कसरी भयो बैंकमा नाफा

श्रीधर खनाल मंगलवार, भाद्र ६, २०७४

नबिल बैंकले गत आर्थिक वर्षमा ८१ करोड बढी नाफा कमायो । आव ०७३/७४ मा नबिलले तीन अर्ब ६२ करोड रुपैयाँ नाफा गरेको छ । आव ०७२/७३ मा नबिलको नाफा दुई अर्ब ८१ करोड रुपैयाँ थियो ।नबिल मात्र होइन, वित्तीय विवरण सार्वजनिक भएका सबैजसो बैंकहरूको नाफा अघिल्लो आवको तुलनामा यस आवमा बढेको देखिन्छ । उच्च नाफा कमाउनेमा निजी क्षेत्रका बैंकमात्र नभई सरकारी क्षेत्रका बैंकसमेत छन् । कृषि विकास बैंकले गत आवमा दुई अर्ब ७७ करोड नाफा कमायो । यो अघिल्लो आवको तुलनामा ३१ करोडले बढी हो ।नबिल र कृषि मात्र होइन ‘क’ वर्गका सबैजसो वाणिज्य बैंकहरूको नाफा बढेको छ । अघिल्लो आवको तुलनामा सबैजसो बैंकले आव ०७३/७४ मा उच्च नाफा कमाएका छन् । गत आवको पहिलो पाँच महिनाबाहेक बैंकिङ क्षेत्रमा तरलताको अभाव कायमै रह्यो । तरलताको अभावमा लगानी प्रभावित भयो ।

राष्ट्रबैंकले पहिलो तीन महिनामा बैंकिङ क्षेत्रले सबैभन्दा बढी लगानी गरेको अटो क्षेत्रमा लागानी नीति नै कडा बनायो । बैंकले माघमा मौद्रिक नीतिको समीक्षा गर्दै अटो लोनको सीमा बढाएको थियो । बैंकले सार्वजनिक गरेको गत आवको पहिलो पाँच महिनाको देशको वर्तमान स्थितिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३० दशमलव चार प्रतिशतले बढेको छ ।

ओभरड्राफ्ट, हायर पर्चेज, घरजग्गा तथा सेयरको धितोमा उल्लेख्य कर्जा बढेको छ । यस्तो अवस्थामा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्फ उन्मुख हुन सक्छ ।’ बैंकले कर्जा दिएकै कारण गाडीको आयात निकै बढेको थियो । गत आवको मंसिर मसान्तसम्म ३७ अर्ब रुपैयाँको गाडी आयात भएको थियो । पाँच महिनामा गाडीमा मात्रै २६ अर्ब कर्जा प्रवाह भयो । आवको पहिलो पाँच महिनापछि बैंकिङ क्षेत्रलाई त्यति सहज भएन ।

dependra.khatri गत आर्थिक वर्षमा लगानी योग्य तरलताको अभाव भयो भनेर बैंकहरूले हात खुम्चाएर बसे। अहिले आएर हेर्दा नाफा ४० प्रतिशतभन्दा माथि छ। कहाँबाट आयो त्यो नाफा? दीपेन्द्रबहादुर क्षत्री पूर्वगभर्नर

तरलता अभावका कारण कर्जा प्रवाहमा शिथिलता आयो । तरलताको अभाव भए पनि बैंकिङ क्षेत्रले बढी ब्याजमा बचत तान्ने प्रयास गरे । मुद्दती निक्षेपमा १४ प्रतिशतभन्दा माथि ब्याज दिएका बैंकहरूले कर्जाको ब्याज पनि बढाउँदै लगे । जसले गर्दा निजी क्षेत्र पहिलो निशानामा पर्‍यो । बैंकिङ क्षेत्रले असहज परिस्थितिको सामाना गरेका कारण धेरैको आकलन यसको असर नाफामा पर्छ भन्ने थियो । साउन लागेपछि बैंकिङ क्षेत्रले सार्वजनिक गरेको वित्तीय विवरणले नाफा घट्ने धेरैको आकलनलाई समेत अनुमानमा मात्र सीमित गर्‍यो ।

समस्याको फाइदाः

माघ ०७३ को अन्तिम साता स्ट्यान्डर्ड चार्टर्ड बैंकले सात प्रतिशतमा घर कर्जा घोषणा गर्‍यो । २५ वर्षसम्मका लागि उक्त योजना घोषणा गर्दा बजारमा तरलताको अभाव बढ्दै थियो । एक चरणमा बैंकिङ क्षेत्रले संथागत बचतकर्तालाई राम्रो ब्याज दिएर तरलता व्यवस्थापनको प्रयास थालेका थिए । तरलता अभावसँगै बैंकर्स संघको बैठकले आठ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेको थियो । यस्तो निर्णयको बाबजुद मेगा बैंकले साढे आठ प्रतिशत ब्याजमा नागरिक लगानी कोषको निक्षेप लिएको थियो ।

बचत खाताको ब्याज र बैंकले लिने ब्याजको बीचमा रहेको १० प्रतिशतभन्दा बढीको अन्तरका कारण बैंक तथा वित्ताीय संस्थाहरूले उच्च नाफा कमाएका छन्।

त्यतिबेला मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह संघका उपाध्यक्ष थिए ।घर कर्जा घोषणा गरेको एक साता नबित्दै स्ट्यान्डर्ड चार्टर्ड बैंकलेले गरेको १२ प्रतिशतभन्दा बढी ब्याज नदिने भन्ने संघको पछिल्लो निर्णय स्ट्यान्डर्डले तोड्यो । उक्त बैंकले १२ दशमलव ७६ प्रतिशतमा नेपाल विद्युत् प्राधिकरणको बचत लियो । त्यसपछि संथागत बचतकर्ताहरूले महँगो ब्याज खोज्न थाले । जसले गर्दा उनीहरूलाई फकाउन अरू बैंकहरूले समेत बचतको ब्याज बढाउँदै लगे । राष्ट्रबैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ०७४ को जेठ मसान्तसम्म नेपालको बैंकिङ क्षेत्रमा २२ खर्ब ९२ अर्ब रुपैयाँ बचत छ । यो बचतमध्ये १२ खर्ब ४९ अर्ब व्यक्तिको हो ।

बचतमध्ये तीन खर्ब ३५ अर्ब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र बिमा कम्पनीहरूको हो । यसका अलावा विद्युत् प्राधिकरण नेपाली सेनालगायत सरकारी संस्थाको दुई खर्ब १२ अर्ब बैंकमा रहेको छ । बैंकिङ क्षेत्रमा सर्वसाधारणको ५४ दशमलव ४९ प्रतिशत बचत रहेको छ । तरलता अभाव भएको समयमा बैंकिङ क्षेत्रले सर्वसाधारणको बचतलाई वास्ता गर्दैन । महँगो ब्याजमा संस्थागत बचत खोज्ने प्रवृत्तिले सर्वसाधारणको ठूलो बचत बैंकका लागि महत्वको क्षेत्रभित्र पर्दैन । यस पटक पनि तरलताको अभाव हुँदा विद्युत् प्राधिकरण, सञ्चय कोष, लगानी कोष, सेनाको कल्याणकारी कोष, बिमा संस्थानलगायत संगठित बचतकर्ताहरूले महँगो ब्याजमा पैसा जम्मा गरेर फाइदा लिए ।

पैसा धेरै हुनेसँग बढी मोलमोलाइ गर्नु परे पनि बढी पैसा आउने सम्भावना पनि उत्तिकै हुन्छ, डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष कृष्णराज लामिछाने भन्छन, ‘संस्थागत बचतकर्ताले बढी सुविधा खोज्छन् । पैसा नभएको अवस्थामा उनीहरूलाई सुविधा दिएरै भएर पनि बचत ल्याउँदा राहत हुन्छ ।’ व्यक्तिले मात्र प्रयोगमा ल्याउने बचत खातामा १३ खर्ब सात अर्ब रुपैयाँ बचत रहेको छ । यस्तो खातामा अहिले बैंकिङ क्षेत्रले ६ प्रतिशतको हाराहारीमा ब्याज दिँदै आएका छन् । तरलताको अभावसँगै बैंकिङ क्षेत्रले नयाँ मुद्दती निक्षेपमा ब्याज बढाए ।


बैंकिङ क्षेत्रमा सर्वसाधारणको ५४ दशमलव ४९ प्रतिशत बचत रहेको छ। तरलता अभाव भएको समयमा बैंकिङ क्षेत्रले सर्वसाधारणको बचतलाई वास्ता गर्दैन।

बचतको ब्याज भने चैतको अन्तिम साताबाट मात्रै बढ्यो । मुद्दती निक्षेपमा ब्याज बढाएर तरलता व्यवस्थापनको प्रयास असफल भएपछि बैंकहरूले बचतको ब्याज बढाएका थिए । कर्जाको ब्याज १६ प्रतिशतभन्दा माथि पुगिसक्दा बचतको ब्याज दुई प्रतिशतको हाराहारी थियो । अर्थात् बैंकमा भएको ५० प्रतिशतभन्दा बढी बचतबाट बैंकहरूले ६ महिनामा १४ प्रतिशत भन्दा बढी नाफा कमाएका थिए । जबकि, बचत कर्जाको ब्याजदर पाँच प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्रबैंकको निर्देशनसमेत बैंकिङ क्षेत्रले लत्याएको थियो ।

मुद्दती खातामा रहेको नौ खर्ब ६४ अर्बमध्ये गैरबैंकिङ वित्तीय संस्थाको तीन खर्ब ३५ अर्ब रुपैयाँ हो । संस्थानको दुई खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । यसका साथै सहकारीको एक खर्ब ८६ अर्ब रुपैयाँ छ । बैंकिङ क्षेत्रमा तरलता अभावको ठूलो पैसा होल्ड गरेर बस्ने यस्ता संस्थाहरूको भाउ बढ्छ । जसले गर्दा फाइदा पनि उनैले पाउँछन् । राष्ट्रबैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री बैंकहरूको ध्यान जसरी भए पनि नाफा कमाउनुमा केन्द्रित रहेको बताउँछन् । भन्छन्, ‘गत आर्थिक वर्षमा लगानीयोग्य तरलताको अभाव भयो भनेर बैंकहरूले हात खुम्चाएर बसे ।

अहिले आएर हेर्दा नाफा ४० प्रतिशतभन्दा माथि छ । कहाँबाट आयो त्यो नाफा ? लगानी गर्न पैसा नहुने, तर नाफाचाहिँ बढिरहने संसारमा यस्तो कहाँ हुन्छ ? बचतमा सस्तो ब्याज दिने र महँगोमा लगाएर नाफा कमाउने बैंकहरूको प्रवृत्ति छ । यस्तो प्रवृत्तिमा सुधार नभएसम्म सर्वसाधारणले बैंकमा बचत गर्ने भनेको सुरक्षाका लागि मात्र हो । प्रतिफल आउछ भनेर होइन ।’

सरकारीले सोच्नुपर्छ

Suraj-Vaidya2_1

सुरज वैद्य, पूर्वअध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

लगानीयोग्य तरलताको अभाव भयो भनेर बैंकहरूले रातारात ब्याज बढाए । ब्याजको पहिलो मारमा ऋणीहरू परे । अहिले बैंकबाट ऋण लिएर काम गर्ने भनेको निजी क्षेत्रले हो । यसले आफूसँग भएको सम्पूर्ण सम्पत्ति बैंकमा राखेको छ । भएको नगद लगानी गरेको छ । चल÷अचल दुवै सम्पत्ति उसले व्यवसायमा लगाएको छ । यो सबै केही राम्रो गर्न सकिन्छ भन्ने सोचले गरेको हो ।निजी क्षेत्रले लगानी, उद्योग सञ्चालन र रोजगार सिर्जना गरेको छ । सरकारलाई करका साथै बैंकलाई ब्याज पनि बुझाएको छ ।

यी सबै काम गर्नु नेपालमा अपराधजस्तै भएको छ । बैंक र सरकारले निजी क्षेत्रलाई पेल्छ । राजस्व दिनु समयमा ब्याज तिर्नु अपराध हो र ? तरलताको अभाव भएको भन्दै ब्याज बढाएका बैंकहरूको नाफा निकै बढेको छ । ब्याज बढाउन एक सेकेन्ड पनि नसोच्ने बैंकहरूले तरलता सहज भएपछि घटाउने विषयमा भने आनाकानी गर्दै आएका छन् । सरकारले यो विषयमा अनुगमन गर्नु आवश्यक छ । तरलताको अभावका कारण असहज स्थिति भयो भनिएको अवस्थामा यति धेरै नाफा कसरी आयो ?

यो विषय पनि सरकारी क्षेत्रबाट अनुसन्धान गरिनुपर्छ । ठूला ऋणीको कुरा बैंकले पनि केही मात्र भए पनि सुन्छ होला । हाम्रो देशमा ठूला ऋणीको संख्या खासै ठूलो छैन । साना किसान व्यवसायी बढी छन् । कतिले विदेशमा कमाएको पैसा लगानी गरेर व्यवसाय थालेका छन् । उनीहरूले आफूसँग भएको सम्पूर्ण सम्पत्ति व्यवसायमा लगानी गरेका छन्, जसले गर्दा उनीहरू अहिले सबैभन्दा बढी मारमा परेका छन् । उनीहरूको कुरा कसले सुनिदिने ? बैंकले उनीहरूको कुरा सुन्दैन । सरकारको ध्यान यतातिर जानु जरुरी छ । यसो नभए मुलुकमा केही गर्न सकिँदैन भन्ने निराशा अझ बढेर जानेछ ।

बैंक साहुजी भए

baburam
बाबुराम हुमागार्इं, महासचिव उपभोत्ता हित संरक्षण मञ्च 

अहिलेका बैंक बैंक होइनन् । उनीहरू साहुजी भएका छन् । हामी बैंकमा पैसा राख्छौँ । हाम्रो पैसाको ब्याजदर घटाउँदा खबर पनि गर्नु नपर्ने व्यवस्था छ । ऋणीको ब्याज बढाउँदा पनि सोध्नु नपर्ने अवस्था छ । यो अन्यायपूर्ण व्यवहार हो । अर्कोतर्फ महिना नमर्दै ब्याज तिर्नुपर्छ । त्यही पैसा मुद्दतीमा राखे बैंकले महिनामा पैसा नदिँदा पनि हुन्छ । सेवा दिन्छु भनेर व्यवसाय गरेकाले यस्तो अन्याय गर्न मिल्दैन । यस्तो अन्याए साहुजीले मात्र गर्दछन् । अर्कोतर्फ मानिसको आवश्यकतालाई बैंकहरूले फाइदाको बाटो बनाएका छन् ।

उनीहरूले कर्जा दिँदा विभिन्न कागजमा सही गराउँछन् । मानिसलाई पैसा चाहिएको हुन्छ, उसले कागजतिर ध्यान दिँदैन । मसिना अक्षरमा लेखिएका कतिपय कागजपत्र पढ्न पनि सकिँदैन । त्यसमा हस्ताक्षर गराउँदा उनीहरूले सबै कुरा लेख्छन् । पैसा पाइन्छ भनेर हामीले हस्ताक्षर गर्छाैँ । करार गरेको विषयमा पछि बोल्न सक्ने अवस्था आउँदैन । बैंकले गरेको असमान व्यवहार मात्र होइन अत्यधिक मुनाफाविरुद्ध पनि आवाज उठाउन ढिला भइसकेको छ । यसका लागि कानुनी उपचारको विकल्प छैन । हामी कानुनी उपचार खोज्छौँ ।

 

 

प्रतिकृया दिनुहोस