MENU

अर्थ/बाणिज्य

Annapurna635x90

परनिर्भरताको पराकाष्ठा

श्रीधर खनाल मंगलवार, श्रावण १७, २०७४

बेच्नेभन्दा किन्ने सामानको सूची बढी भयो भने के हुन्छ ? सर्वसाधारणले सजिलै जवाफ दिन सक्छन्, ‘भएको पैसाले पुग्दैन ।’ अर्को शब्दमा बेच्ने सामानभन्दा किन्ने सामान बढी भएपछि व्यक्ति वा घरको अर्थतन्त्र बिग्रन सक्छ । आम्दानीको सबैजसो हिस्सा सामान किन्ने काममा प्रयोग हुन्छ । जसले गर्दा बचत हुनै सक्दैन । एउटा व्यक्तिको जीवनमा लागु हुने किनबेचको यो फर्मुला देशमा पनि लागु हुन्छ । अर्थात् बेच्नेभन्दा खरिद गर्ने सामान बढी भयो भने देशको पैसा बाहिरिन्छ । जसले विकास निर्माणका कामहरू प्रभावित हुँदै जान्छन् । अर्को अर्थमा निर्यातभन्दा आयात बढी हुनु भनेको देशमा उद्योगधन्दाहरू फस्टाउने वातावरणको कमी हुनु हो ।

अर्थशास्त्री केशव आचार्य सागदेखि खसीसम्म, तेलदेखि मसालासम्म अर्काको भर पर्नुपर्ने भएकाले पैसा नेपालमा नअडिने बताउँछन् । भन्छन्, ‘सबै कुरा आयातमा निर्भर भएपछि देश परनिर्भर बन्दै गएको छ । नेपालले आत्मनिर्भर भयौं भनेका सबैजसो क्षेत्रमा कच्चा पदार्थ विदेशबाटै आउने हो । कुखुराको मासुमा आत्मनिर्भर भयाैँ, दानाको कच्चा पदार्थ पूरै विदेशबाट आउँछ । जसले घुमिफिरी पैसा विदेश जान छोडेको छैन ।’ सियोदेखि प्लेनसम्म अर्काको भर पर्ने नेपालको पुरानो प्रचलनमा अहिलेसम्म कुनै सुधार आएको छैन ।

बरु, किन्ने सामानहरूको सूची बढेको छ । बेच्ने सामानहरूको संख्या घटेको छ । किनबेचमा आएको असन्तुलनका कारण चालु खाता ऋणात्मक हुँदै गएको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७३/७४ को पहिलो १० महिनाको तथ्यांकअनुसार चालु खाता सात अर्ब ५७ करोड रुपैयाँले घाटामा छ । अघिल्लो आवको वैशाख मसान्तसम्म चालु खाता एक सय ३४ अर्ब ३० करोड रुपैयाँले बचत थियो ।आयातभन्दा निर्यात बढेकाले ०७३ वैशाख मसान्तसम्ममा एक सय ६६ अर्ब ९३ करोड बचतमा रहेको शोधानान्तर घटेर ०७४ वैशाख मसान्तमा ५३ अर्ब ८४ करोडमा झर्‍यो । आव ०७३÷७४ को पहिलो महिनादेखि शोधानान्तर बचत निरन्तर ओरालो लाग्दै गएको छ । आयातमुखी अर्थतन्त्रको विकास हुँदै जाँदा दैनिक उपभोग्य सबैजसो सामान विदेशबाट आउने गरेको छ ।

keshavसबै कुरा आयातमा निर्भर भएपछि देश परनिर्भर बन्दै गएको छ। नेपालले आत्मनिर्भर भयौं भनेका सबैजसो क्षेत्रमा कच्चा पदार्थ विदेशबाटै आउने हो। जसले घुमिफिरी पैसा विदेश जान छोडेको छैन। केशव आचार्यअर्थशाश्त्री

गत आवमा मुलुकमा एक सय ४६ देशबाट सामान आयात भएको देखिन्छ । यही अवधिमा नेपालबाट एक सय १६ देशमा मात्र सामान गएको छ । नेपालले व्यापार गरेकामध्ये एक सय ३० देशबाट निर्यातभन्दा आयात बढी भएको छ । अर्थात् नेपालले व्यापार गरेकामध्ये १४ देशमा मात्र व्यापार नाफामा रहेको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्रै पाँच खर्ब ९९ अर्बको व्यापार घाटा रहेको देखिन्छ । अर्को छिमेकी मुलुक चीनसँग मुलुलले एक खर्ब २८ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ । रमाइलो पक्ष के छ भने सात समुन्द्र पार रहेको अमेरिकासँग भने नेपालको व्यापार नाफामा छ । नेपालले यस अवधिमा आयातभन्दा ४९ करोड ६९ लाख रुपैयाँ बढीको सामान अमेरिका निर्यात गरेको छ । भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंकासँग समेत नेपालको व्यापार घाटा बेहोर्दै आएको छ । आव ०७३/७४ मा नेपालले २४ हजार नौ सय ५३ थरीका सामानहरू खरिद गरेको छ । अघिल्लो आवमा २२ हजार आठ सय २६ थरीका सामान नेपाल आएको देखिन्छ ।

बिनाहिसाबको खरिद

बढ्दो आयातका कारण के खरिद गर्नेभन्दा पनि के खरिद गर्दैनौं भन्ने अवस्था सिर्जना भएको छ । लत्ताकपडादेखि सबैजसो घरायसी सामान आयात हुँदै आएको छ । गत आवमा भारतबाट मात्रै एक अर्ब ९३ करोड रुपैयाँको तीन लाख २७ हजार वटा खसीबोका आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।कुखुरामा आत्मनिर्भर भएको भनिए पनि यो अवधिमा भारत, चीन र फ्रान्सबाट मासु नेपाल भित्रिएको छ । अस्ट्रेलियाबाट भेडाको मासु नेपाल आउँछ । यसका साथै बँगुर, भैंसी, खरायो, हाँस, टर्कीलगायतको मासुमा नेपाल परनिर्भर हुँदै गएको देखिन्छ । गत आवमा दुई अर्ब २६ करोड रुपैयाँको पाँच लाख १२ हजार जिउँदा जनावर मासुका लागि आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

आव ०७२÷०७३ मा १९ करोड ३९ लाख केजी आलु भित्रिएको थियो । यो परिमाण पछिल्लो आवमा झनै बढेको देखिन्छ । आव ०७३/७४ मा भारत, भुटान, बंगलादेश र दक्षिण कोरियाबाट २२ करोड केजी आलु नेपाल भित्रिएको छ । यस अवधिमा आलु खरिदमा मात्रै चार अर्ब ७२ करोड रुपैयाँ विदेशिएको छ । वर्षमा तीन करोड ६१ लाख किलो फ्रोजन आलु चीन तथा भारतबाट नेपाल आएको तथ्यांकले देखाउँछ । प्याजमा पनि नेपालको अवस्था आलुमा भन्दा फरक छैन । चीन र भारतबाट तीन अर्ब ९७ करोड रुपैयाँको प्याज नेपालमा भित्रिएको छ ।

तरकारी आयातमा मात्र वार्षिक ११ अर्ब १२ करोड विदेश जाने गरेको छ । यस्तै, चिया र कफीमा पनि नेपालको अवस्था उस्तै छ । नेपालबाट वार्षिक ७४ हजार किलो कफी विदेश जाने गरेको छ । अमेरिका र क्यानडामात्र नभई धेरैजसो युरोपेली बजारमा समेत नेपाली कफीको उल्लेख्य माग रहेको छ । यसरी हाम्रो उत्पादन विदेश गए पनि वार्षिक ९० हजार किलो कफी भने पुनः स्देशी बजारमा विदेशबाट आयात हुने गरेको छ । बजार नपाएर बेला–बेलामा समस्या भोग्दै आएको अदुवासमेत नेपालमा आयात हुँदै आएको छ । फलफूलमा समेत आत्मनिर्भर हुन नसकेको मुलुकले दुई करोड ३३ लाख किलो केरा नेपाल भित्र्याएको छ । प्रतिकिलो १६ रूपैयाँमा भित्रिने केराबाट सरकारले प्रतिकिलो ९८ पैसा भन्सार उठाउने गरेको छ । केरा मात्र नभई स्याउ, आँप, लिची, भुइँकटहरलगायत फलफूल विदेशबाटै आउने गरेका छन् ।

नेपालमा प्रशस्त मात्रामा खेती गर्न सकिने सम्भावना भएको आरुसमेत विदेशबाट आएको देखिन्छ ।डाँडाकाँडामा प्रशस्त पाइने टिमुरसमेत भारतबाट ४१ हजार किलो आएको छ । वार्षिक १२ लाख २० हजार किलो टिमुरको पाउडर नेपाल भित्रिने गरेको छ । नेपालबाट तीन हजार दुई सय किलो टिमुर पाउडर भारत र फ्रान्स गएको तथ्यांकमा देखिन्छ । भन्सारबाट भित्रिएका सामानको विवरण हेर्दा एक नेपालीले दैनिक प्रयोग गर्ने प्रायः सामान या त विदेशी छन्, या त ती सामानका कच्चा पदार्थ विदेशबाट आएका छन् । मकैसमेत विदेशबाट आउने गरेको छ । ३८ करोड ९७ किलो मकैको दाना विदेशबाट आयात भएको छ । जसले गर्दा १० अर्ब ६३ करोड रुपैयाँ विदेशिएको छ ।

pr-.madanउत्पादन वृद्धि नभएर सबैकुरा आयातमा निर्भर हुने अवस्था आएको छ। यसले देशलाई ‘बनाना रिपब्लिक’को स्थितिमा लैजान्छ।प्रा. मदनकुमार दाहाल अर्थशास्त्री

गहुँ र चामलको अवस्था पनि मकैभन्दा फरक छैन । नेपालमा भारतबाट मात्र होइन, अमेरिकाबाट समेत चामल आयात भएको देखिन्छ । पहाडका कान्लामा सजिलै उत्पादन गर्न सकिने जुनेलोदेखि कोदोसम्म विदेशबाट आयात हुँदै आएको छ । बढ्दो आयातका कारण हाम्रा रैथाने उत्पादनले बजार नपाउने अवस्था सिर्जना भएको देखिन्छ । अर्कोतर्फ आयातमा भएको वृद्धिले भुक्तानी सन्तुलनसमेत खलबलिन थालेको देखिन्छ । तेलको प्रयोजनका लागि भटमास, तोरी र सूर्यमुखीका दाना विदेशबाटै आउँछन् । नेपालमा पानीको प्रशस्त सम्भावना रहेको भए पनि चीन, भारत, बेलायत, फ्रान्स, मलेसिया, थाइल्यान्डलगायत देशबाट एक करोड ३३ लाख रुपैयाँको तीन लाख १३ हजार लिटर पानी आयात भएको छ । यसका अलावा नेपालमै बनाउन सकिने आइस क्युवहरूसमेत विदेशीको भर पर्दै आएको तथ्यांकले देखाउँछ ।

नेपालमै उत्पादन भए पनि जर्मन र इन्डोनेसियमा बनेको तीन करोड ८६ लाख खिल्ली चुरोट नेपाल भित्रिएको छ । चुरोट निर्माणका लागि आवश्यक कच्चा पदार्थको रूपमा रहेको सूर्तीसमेत ७२ लाख किलो नेपाल आएको देखिन्छ । औषधिका सबैजसो कच्चापदार्थ विदेशबाट आउने गरेको छ । हामीले सामान्य रूपमा लिने गरेको दाँत भर्ने सिमेन्टसमेत वार्षिक २१ हजार किलो खपत हुँदै आएको देखिन्छ ।औद्योगिक उत्पादन मात्र होइन, तिनका कच्चा पदार्थमा समेत मुलुक आत्मनिर्भर हुन सकेको छैन । छड, सिमेन्ट, जस्तालगायत निर्माण सामग्री पनि विदेशबाट आयात हुने गरेको छ । सामान मगाउँदा वा कच्चा पदार्थ जे मगाउँदा पनि परनिर्भरता कम हुने सम्भावना देखिँदैन । सामान्यभन्दा सामान्य दैनिक प्रयोगका सामानमा समेत बढ्दो परनिर्भरताले विकासका अवसरहरू विस्तारै कम हुँदै जान थालेको देखिन्छ ।

सबैको बजार नेपाल

केही वर्ष अघिदेखि बंगलादेशी बहुराष्ट्रिय कम्पनी प्रानले सन् २०१३ बाट नेपालमा आफ्ना उत्पादन बेच्न थाल्यो । उसका उत्पादनले नेपाली बजारमा राम्रो अवसर पाएपछि काठमाडौंको मूलपानीमा हिमाली फुड्स प्रालिको नाममा कारखाना सञ्चालनमा ल्यायो । काठमाडौंको कारखानाले नधानेपछि प्रानले हालै बाराको सिमरामा नयाँ उद्योग सञ्चालनमा ल्याएको छ । प्रानमात्र होइन, बाबा रामदेवको पतञ्जलीले पनि नेपालमा उद्योग स्थापना गरेर कारोबार
थालेको छ । पतञ्जलीका उत्पादनका लागि भारतपछि नेपाल राम्रो बजार भएको बताइन्छ । नेपालको उद्योगमा साबुन, तेल, सर्फलगायत दैनिक उपभोग्य सामान उत्पादन हुँदै आएको छ । प्रान र पतञ्जली पछिल्ला उदाहरण मात्रै हुन् ।

नेपालमा सबैखाले उत्पादनले राम्रो बजार पाउँदै गर्दा धेरैको ध्यान नेपाली बजारमा पर्न थालेको छ । युरोप अमेरिकाजस्ता विकसित देशमा तीन हजार डलर प्रतिकिलोको हाराहारी पर्ने ‘ट्रुफल’समेत नेपालमा बिक्दै आएको देखिन्छ । नेपालमा चीन र भारतबाट ट्रुफल आयात भएको देखिन्छ । चीनबाट आउँदा प्रतिकिलो एक सय ७१ रुपैयाँ मूल्य राखिएको यो भारतबाट ६२ रुपैयाँ किलोमा आयात भएको देखिन्छ । कुनैबेला नेपालमा प्रशस्त मात्रामा फल्ने आलससमेत अहिले अमेरिकाबाट आउन थालेको छ । अमेरिका र युक्रेनबाट वार्षिक दुई लाख ९८ हजार किलो आलस नेपाल भित्रिन्छ ।यस्तै वार्षिक ५० लाख किलो ग्लुकोज नेपाली बजारमा आइपुग्छ ।

चीन, फ्रान्स र भारतमा बनेका ग्लुकोज नेपाली बजारमा पाइने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यसका साथै वर्षमा १२ लाख २९ हजार किलो चुइँगम नेपालीहरूले चबाएर सक्ने गरेका छन् । अर्जेटिना, कोरिया, भारत चीन, बेलायतलगायत विकसित देशबाट चुइँगम नेपाली बजारसम्म आइपुग्छ ।
भारत र चीनका लागि मात्र नेपाल आकर्षण बजार होइन कहिल्यै नाम नसुनिएका कतिपय देशहरूका लागि समेत आकर्षक बजारका रूपमा रहँदै आएको छ । पाराग्वेबाट वार्षिक ६० लाख किलोको हाराहारीमा सोयाबिन आउने गरेको छ । जबकि, नेपालबाट पाराग्वेसम्म कुनै सामान जाने गरेको छैन । जसले गर्दा नेपालले दुई अर्ब १३ करोड रुपैयाँ घाटाको व्यापार गर्दै आएको छ ।

 purusotamप्रशस्त सामान आयात भएकाले राम्रो सामान उत्पादन गर्न सके नेपालमै बिक्छ भन्ने सोचले पनि कतिपय लगानीकर्ता आएका छन्। पुरुषोत्तम नेपाल प्रवक्ता, उद्योग मन्त्रालयका

यस्तै, बोलिभियाबाट पनि नेपालले वार्षिक ४० लाख किलो भटमास आयात गर्छ ।अफ्रिकी मुलुक घानामा बनेका महिला र बच्चाका कपडाको बजार नेपालमा राम्रो रहेको छ । घानाबाट वार्षिक १५ करोडको हाराहारीमा यस्ता सामान नेपाल आउने गरेको देखिन्छ । तान्जिनियाबाट नेपालले गहँु आयात गर्छ भने बदलामा नेपालबाट तान्जानियामा पनि केही पनि निर्यात हुने गरेको छैन । स्लोभानियाबाट कपाल सजावटका सामान नेपाल आउने गरेका छन् । यस मुलुकमा पनि नेपालले अहिलेसम्म केही सामान निर्यात गर्न सकेको छैन ।

नेपालमा मलेसियाको सर्जिकल ग्लोबस बिक्छ । नेपाललाई एक सय ३६ मुलुकहरूले राम्रो बजारको रूपमा विकास गर्दै लगेको देखिन्छ । सामान्य रूपमा लिइने स्याम्पूमात्र एक अर्बभन्दा बढी नेपालमा खपत हुन्छ । लिपिस्टिक, गाजलजस्ता सामान्य खालका सस्ता सौन्दर्य प्रशोधनका सामानसमेत नेपालमा राम्रो बजार रहेको छ । प्रायः सबै मुलुकका सामान पाइने नेपालले झिनो मात्रामा आफ्ना सामान निर्यात गर्न सकेको देखिन्छ । जसले व्यापार घाटा निरन्तर बढ्दै गएको छ ।

चीन र भारतमा बनेका दुई लाख १० हजार किलो टुथपिक्स नेपाली बजारमा भित्रिने गरेको छ । यसरी हेर्दा नेपाली बजारमा नबिक्ने सामान विरलै भेटिन्छ । यस हिसाबले नेपाल अन्तर्राष्ट्रिय उत्पादनको बजारमा परिणत हुँदै गएको छ । जसका कारण नेपाली अर्थतन्त्र विस्तारै ट्रेडिङ हबको रूपमा विकास हुन थालेको देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी भन्छन्, ‘भुक्तानी असन्तुलन बढेकोमा सरकारलाई वास्ता छैन । जसले जे मगाए पनि सरकारले नमगाऊ भन्दैन । यस्तो अवस्थामा उद्योग खोलेर उत्पादन गर्नुभन्दा सामान मगाएर बेच्दा फाइदा हुन्छ । अहिले धेरै व्यवसायीहरूले त्यही बाटो अपनाएको छन् ।

आयातको तथ्यांकलाई विश्लेषण गर्दा नेपालको हरेक क्षेत्रमा विकास भएको देखिन्छ । सर्वसाधारणको पहुँचसम्म पुग्न नसकेको गल्फ खेलका लागिसमेत वार्षिक ३८ हजार गल्फ बल बिक्ने गरेको देखिन्छ । वार्षिक अर्बौंको कारोबार रहेको खेलकुद क्षेत्रको भने सोचेजस्तो विकास हुन सकेको छैन । नेपालमा बढ्दो बजारका कारण आँखा लगाउने विदेशी कम्पनीको संख्या भने पछिल्लो समयमा बढेको देखिन्छ । खासगरी चिनियाँ कम्पनीहरू नेपालमा लगानी विस्तारका लागि आतुर छन् । उनीहरूको चासो नेपालमा लगानी सुरक्षाको विषयमा बढी केन्द्रित छ । भारत, अमेरिका, बंगलादेशलगायत मुलुकबाट पनि लगानीका लागि नेपाल आउन चाहने व्यवसायीको संख्या बढ्दो छ ।

आव ०७३÷७४ मा उद्योग विभागमा वैदेशिक लगानीका पाँच सय आठ उद्योग दर्ता भए । जसमा एक खर्ब ६२ अर्ब रुपैयाँ लगानी हुने उद्योग विभागले जनाएको छ । अघिल्लो आवमा विभागमा चार सय नौ उद्योग मात्र दर्ता भएकामा एक सय २५ उत्पादन क्षेत्रमा काम गर्ने छन् । वस्तु तथा सेवा उत्पादन गर्ने सोचका साथ अघिल्लो आवमा भने एक सय ३५ उद्योग दर्ता भएका थिए । उत्पादन, पर्यटन, ऊर्जा लगायत क्षेत्रमा विदेशी लगानीका उद्योगहरू बढ्नुले पनि नेपाल क्रमशः अन्तर्राष्ट्रियस्तरमा राम्रो बजार भएको सन्देश जानु हो ।

उद्योग मन्त्रालयका प्रवक्ता पुरुषोत्तम नेपाल आयात बढेसँगै मुलुकमा बजार छ भन्ने सन्देश गएको बताउँछन् । भन्छन्, ‘उत्पादन कम भएका कारण आयात बढेको हो । लोडसेडिङगको अन्त्यपछि उत्पादन बढ्न थालेको छ । प्रशस्त सामान आयात भएकाले राम्रो सामान उत्पादन गर्न सके नेपालमै बिक्छ भन्ने सोचले पनि कतिपय लगानीकर्ता आएका छन् । अर्कोतर्फ सरकारले स्वदेशमै बनेको सामान १०/१५ प्रतिशतसम्म महँगो भए पनि किन्ने भनेको छ । सरकारको यस्तो निर्णयका कारण समेत नेपालमा उद्योग स्थापना गर्ने सोच बनाएकाहरूलाई उत्साहित बनाएको छ ।

मूल्यमै गोलमाल

बजारमूल्य तीन सय रुपैयाँ किलोभन्दा माथि रहेको किवी २८ रुपैयाँ प्रतिकिलोको कागजी मूल्यमा नेपाल भित्रिन्छ । त्यसबाट सरकारले प्रतिकिलो एक रुपैयाँ ३७ पैसा मात्र राजस्व पाउँछ । सामान्य उपभोक्ताले दैनिक प्रयोगमा आउने यस्ता सामानको बजारमूल्य र भन्सारबाट आयात गर्दाको मूल्यबीच रहेको अन्तरले नेपाल आउने सामान वास्तविक मूल्यभन्दा कम देखाएर नेपाल भित्र्‍याउने गरिएको देखिन्छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनबाट समेत भन्सारबाटै हार्मोनिक कोड फरक पारेर राजस्व छल्ने गरेको देखिन्छ ।

नेपाली बजारमा २४ हजारभन्दा बढी प्रकारका विदेशबाट आयात भएका सामान बिक्दै आएका छन्। बढ्दो विदेशी सामानका कारण नेपाली अर्थतन्त्रमा संकटका बाछिटाहरू देखिन थालेका छन्।

‘विभिन्न भन्सार कार्यालयहरूको सामान जाँचपास गर्दा आर्थिक ऐन, २०७१ को अनुसूची १ र भन्सार दरबन्दी पुस्तिकामा संकेत नम्बरअनुसार जाँचपास गर्नुपर्ने व्यवस्था छ,’ प्रतिवदेन भन्छ, ‘प्रज्ञापनपत्र परीक्षण गर्दा फरक संकेतनम्बर तथा दरबन्दी लगाई कम राजस्व असुल भएको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटगनर, वीरगन्ज र सुक्खा बन्दरगाहामा यस्तो काम हुँदै आएको प्रतिवेदनले देखाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ट्रान्समिसन उपकरणमा फरक दरबन्दी राखी पाँच प्रतिशत महशुल र मूल्य अभिवृद्धि कर (भ्याट) लिएको पाइएको छ । ट्रान्समिसन दरबन्दीमा १५ प्रतिशत अन्तःशुल्क लाग्ने भएकाले थप दुई करोड ३२ लाख रुपैयाँ असुल उपर गर्नुपर्ने देखिएको छ ।

विराटनगर भन्सार कार्यालयबाट घुम्ती क्रेनको दरबन्दीबमोजिम १० प्रतिशत र भ्याट असुल गर्नुपर्नेमा पाँच प्रतिशत महशुल लगाएर ७६ लाख रुपैयाँ कम राजस्व उठेको छ । बट्टाको टिनमा २० प्रतिशत महशुल र भ्याट असुल्नुपर्नेमा १५ प्रतिशत महशुल र भ्याटमार्फत् मालवस्तु जाँचपास गर्दा ५९ लाख कम असुल भएको छ । रिडक्सटन गियर बक्समा १५ प्रतिशत महशुल लाग्नेमा फरक दरबन्दी लगाएर पाँच प्रतिशतमा जाँचपास गरेको देखिन्छ । धुलोदूधमा २० प्रतिशत महशुल र भ्याट असुल गर्नुपर्नेमा १० प्रतिशत महशुल र भ्याट जाँच गरी मालवस्तु छुटाइएको छ । फिल्टर प्लान्ट पैठारीमा भन्सार महशुल १० प्रतिशत र अन्तःशुल्क पाँच प्रतिशत लाग्छ ।

विराटनगर, वीरगन्ज सुक्खा बन्दरगाह र भैरहवा भन्सार कार्यालयबाट फरक दरबन्दी मालवस्तुको जाँचपास भई ५ प्रतिशत अन्तःशुल्क छुट दिँदा तीन करोड ११ लाख रुपैयाँ राजस्व कम असुलेको प्रतिवेदनले देखाएको छ । टेलिभिजन पार्टपुर्जामा फरक दरबन्दी देखाई भन्सार महशुल फिर्ता लिँदा १३ करोड ५२ लाख रुपैयाँ राजस्व गुमेको प्रतिवेदनले जनाएको छ ।

डलर बेचेर भारु किन्दै

राष्ट्रबैंकले एक सय भारतीय रुपैयाँको विनिमय दर एक सय ६० नेपाली रुपैयाँ कायम गरेको छ । भारतसँग बढ्दो व्यापार घाटाका कारण एक सय ६० भन्दा बढीमा भारतीय रुपैयाँ कारोबार हुन थालेको छ । सीमा क्षेत्र मात्र होइन राजधानीको कालीमाटी, कुलेश्वरजस्ता भारतीय रुपैयाँ बढी कारोबार हुने क्षेत्रमा सय भारुको एक सय ६५ रुपैयाँ सम्ममा कारोबार हुँदै आएको छ । यताबाट जानेभन्दा आउने सामानको परिमाण बढी भएकाले राष्ट्रबैंकले अमेरिकी डलरमा भारु किन्दै आएको छ ।

राष्ट्रबंैकले आव ०७३/७४ को पहिलो १० महिनामा तीन अर्ब ३८ करोड अमेरिकी डलर र ११ करोड युरो बेचेर तीन सय ७२ अर्ब २२ करोड भारु किनेको छ । अघिल्लो आवको यसै अवधिमा दुई अर्ब ८० करोड अमेरिकी डलर र ११ करोड युरो बेचेर तीन सय आठ अर्ब ४४ करोड भारु किनेको थियो । केही वर्ष अघिसम्म नेपालले भारु धेरै भएर प्लेन चार्टर गरी भारतीय रिजर्भ बैंकमा जम्मा गर्न लैजान्थ्यो । ६५ वर्षभन्दा बढीको योजनाबद्ध विकासको प्रयास असफल भएकाले आर्थिक वृद्धिदर प्रभावित भएको हो, अर्थशास्त्री प्रा. मदनकुमार दाहाल भन्छन्, ‘उत्पादन वृद्धि नभएर सबैकुरा आयातमा निर्भर हुने अवस्था आएको छ । यसले देशलाई ‘बनाना रिपब्लिक’को स्थितिमा लैजान्छ ।

आफ्नो उत्पादन नभएका कारण आयात धान्नका लागि मात्रै विप्रेषणको ५३ प्रतिशत डलर भारतीय रिजर्भ बैँकलाई बेच्छौं ।’क्यारेबियन मुलुकहरूसँग केरा मात्र बेच्ने कुरा छ । केराबाहेक सबै कुरा उनीहरूले आयात गर्छन् । आम्दानीको सबैजसो हिस्सा आयातमा खर्च हुने भएकाले यस्ता मुलुकले विकास गर्न सकेका छैनन् । गणतन्त्र आएपछि विकास हुन्छ भन्ने उनीहरूको सोच विस्तारै बनाना रिपब्लिकमा परिणत हुँदै गएको छ । अर्थशास्त्री प्रा. दाहाल भन्छन्, ‘अर्थतन्त्र बेवारिसे भयो, आम्दानीभन्दा खर्च बढी भएपछि अर्थात् आम्दानीका सबैजसो हिस्सा खर्चिएपछि मानिस मात्र होइन देश पनि टाट पल्टिन्छ । अहिले हामी त्यही अवस्थामा पुगेका छौँ ।



 



 

प्रतिकृया दिनुहोस