MENU

अर्थ/बाणिज्य

635x90

मानसरोवरले चम्काएको व्यापार

गजेन्द्र बोहरा, नेपालगन्ज मंगलवार, आषाढ २७, २०७४

असारको गर्मीले नेपालगन्ज हपहपी तातिएको छ । बाहिर मात्र होइन, यहाँका होटल कल्पतरुलगायत अन्य होटलमा अहिले ग्राहकको लर्को छ । भीड व्यवस्थापन गर्न होटल व्यवस्थापकलाई हम्मेहम्मे हुन थालेको छ । मौसम मात्र होइन, व्यापारले गर्दा यस क्षेत्रका होटल सञ्चालकहरू पनि अहिले निकै तातिएका छन् । नेपालगन्जमा रहेका धेरैजसो होटलमा व्यापार औसत हुने गरेको छ । तर, यतिबेला उनीहरूको व्यापार निकै उचालिएको छ । त्यसको कारण हो, मानसरोवर यात्रीले नेपालगन्ज नाकाको प्रयोग गर्नु ।

भारतीय तीर्थयात्रीहरू मानसरोवर जानका लागि नेपालगन्जको बाटो प्रयोग गर्दै आएका छन् । मे महिनादेखि सेप्टेम्बरसम्म भारतीय तीर्थयात्रीहरू मानसरोबरको यात्रामा निस्किन्छन् । यो सिजनले यहाँका होटलहरूलाई वर्षभरिको ‘बिजनेस’ दिने गरेको छ । सबैजसो होटेलहरूमा तीर्थयात्री नै ‘प्याक’ हुन थालेपछि यहाँका ठूला होटलहरूलाई आफ्ना नियमित तथा अन्य पाहुनाहरूलाई ‘म्यानेज’ गर्नसमेत धौधौ भइरहेको छ ।

‘हामीले म्यानेज त गरिहेका छौँ, अघिल्लो वर्षको तुलनामा यसपालि यात्रुहरू भारतबाट धेरै आए, होटल कल्पतरुका जनरल म्यानेजर सरोज चन्द भन्छन् ‘सबैजसो होटलहरूको बिजनेस अहिले मानसरोवर यात्रुले धान्दैछन् ।’ नेपालगन्जका चल्तीका होटलहरू कल्पतरु, सिद्धार्थ, सिग्नेट, सिटी प्यालेस, बाटिका, स्नेहालगायत होटलहरूमा अहिले भारतीय तीर्थयात्रीको चाप देख्न सकिन्छ ।

मानसरोवर यात्रा

भगवान् शिव र पार्वतीका भक्तहरूका लागि कैलाश–मानसरोवर निकै पवित्र धार्मिकस्थल हो । खासगरी कैलाश पर्वत (पहाड) हो भने, मानसरोवर धार्मिक ताल  । हिन्दु र बौद्धले यसलाई आफ्नो धर्ममा निकै पवित्र महत्वको ‘धाम’ मान्छन् । समुद्र सतहदेखि करिब चार हजार पाँच सय ९० मिटरको उचाइमा मानसरोवर रहेको छ । यही तालको उत्तरतिर कैलाश पर्वत छ भने पश्चिममा राक्षस ताल छ । कैलाश पर्वतमा साक्षात भगवान् शिवपार्वती विराजमान भएको पौराणिक मान्यता छ । गत वर्ष यही सिजनमा यो रुटबाट करिब १० हजारभन्दा बढी भारतीय तीर्थयात्रीहरू मानसरोवर पुगेका थिए । अहिले यात्रुको चाप धेरै बढेको छ । र, दोब्बर मात्रामा यात्रीहरू पुग्ने अनुमान गरिएको छ ।

manasarovar2

खासगरी तातोपानी र रसुवा नाका भूकम्पले गर्दा बन्द भएपछि मानसरोवर जान नेपालगन्ज–सिमकोट–हिल्साको रुट प्रयोगमा ल्याउन थालियो । अहिले यो मार्गमा भारतीय यात्रीहरू थेगिनसक्नु छ । भारतको उत्तरप्रदेश सरकारले मानसरोवर यात्रामा जाने तीर्थयात्रीहरूलाई ५० हजारदेखि एक लाखसम्म अनुदान दिन थालेको छ । योगी आदित्यनाथले मुख्यमन्त्री पद सम्हालेपछि उत्तर प्रदेश सरकारले मानसरोवर तीर्थयात्रीका लागि अनुदान रकम दिन थालेको हो । यो अनुदान रकमले त्यहाँ जाने तीर्थालुहरू अझै बढेका छन् ।

मानसरोवर चीन प्रशासित तिब्बत क्षेत्रमा पर्छ । मानसरोवर पुग्ने सबैभन्दा छोटो र सस्तो नाका भनेको तातोपानी र केरुङ नाका हो । नेपालमा भूकम्पपछि चीनले यात्राका लागि यो नाका अझै खुलाएको छैन, जसले गर्दा यात्रीहरूको मानसरोवर रुट बनेको छ ‘काठमाडौं–नेपालगन्ज–सिमकोट ।’ भारतबाट काठमाडौं र नेपालगन्ज र हुम्लाको सिमकोटसम्म पूरै हवाइ रुट हो । सिमकोटबाट पनि हिल्सासम्म हेलिकोप्टरबाट जाने व्यवस्था छ । त्यसका लागि सिमकोट एयरपोर्टमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको हुन्छ, यो सिजनभरि ।

धेरैजसो भारतीयहरू हवाइयात्रामार्फत् काठमाडौं हुँदै नेपालगन्ज भएर सिमकोटसम्म पुग्छन् भने कोही सीधै नेपालगन्ज आइपुग्छन् । र, यहाँबाट जहाज कुरेर सिमकोट जान्छन् । यही सिजन सबै एयरलाइन्सहरूको पनि ‘बिजनेस आवर’ हो । नेपालगन्ज विमानस्थलमा अहिले सिमकोट उड्न सक्ने सबै जहाजहरू देख्न सकिन्छ । सबै एयरलाइन्सले आफ्ना जहाजहरू नेपालगन्ज विमानस्थलमै राखेका छन् । शुरुमा मानसरोवरका लागि तातोपानी नाका खुबै चल्तीको थियो । त्यसतर्फ जान यो नाका सबैभन्दा सजिलो र सस्तो पनि मानिन्छ । तर, भूकम्पपछि अहिले यो रुट बन्द छ । यो नाकाबाट मानसरोवर पुग्नका लागि पूरै प्याकेजमा एक लाख २० हजार रुपैयाँ प्रति यात्रीले खर्चिनुपर्ने थियो ।

मेदेखि सेप्टेम्बरसम्म भारतीय तीर्थयात्रीको मानसरोवर यात्राले नेपालगन्जका होटेलहरूलाई वर्षभरिको ‘बिजनेस’ दिन्छ।

अहिले रुट बदलिएपछि त्यसको खर्च करिब दोब्बर भएको छ । चल्तीमा नआएको केरुङ नाकालाई विकल्पका रूपमा प्रयोग गरिन्छ । तर, आधिकारिक रूपमा चीनले यो नाका प्रयोगमा ल्याएको छैन । अहिले केही चिनियाँ यही मार्ग भएर नेपाल आउने गरेको भए पनि यो चल्तीको नाका होइन । तर, यो पनि मानसरोवर निस्किनका लागि सजिलो रुट मानिन्छ । यी सबैको विकल्पमा काठमाडौंबाट सीधै ल्हासा भएर कैलाश पर्वत टेक्न सकिन्छ । तर, यो सबैभन्दा महँगो यात्रा हो । जहाजबाट सीधै काठमाडौं–ल्हासा पुग्न सकिन्छ ।

त्यहाँबाट चीनको सिगात्से–पयाङ हुँदै, सडकमार्गबाट कैलाश पर्वतसम्म पुग्न सकिन्छ । तर, आम तीर्थयात्रीका लागि यो धेरै महँगो पर्न जान्छ । यो रुटबाट यात्रा गर्दा प्रतिव्यक्ति दुईदेखि साढे तीन लाख रुपैयाँभन्दा बढी खर्च लाग्न सक्छ । यद्यपि, अहिले यो रुटबाट मानसरोवर जाने यात्रुहरू पनि छन् ।
अहिले सबैभन्दा चल्तीको बाटो भनेको काठमाडौं–नेपालगन्ज हुँदै सिमकोट अनि हिल्सा हुँदै मानसरोवर पुग्ने हो । जसका लागि भारतबाट काठमाडौं हुँदै आउने यात्रुहरू पनि यही बाटो भएर पुग्ने गरेका छन् भने भारतबाट सीधै नेपालगन्ज आएर सिमकोटसम्म जहाजमा र त्यसपछि हिल्सासम्म हेलिकोप्टरबाट पुग्नुपर्छ । त्यसपछि पैदलयात्रा गरेर मानसरोवर पुग्न सकिन्छ ।

थेग्न सकेन विमानस्थलले

नेपालगन्जस्थित राँझाको विमानस्थल । विमानस्थलको मूलगेटदेखि नै राता–नीला ठूल्ठूला झोलाहरूको थुप्रो देखिन्छ । यात्रु भवनको काउन्टर हलभरि मानिसहरू खचाखच छन् । कोही बाहिर बसेर, ‘हरे शिव’ भजन गाइरहेका देखिन्छन् । कोही बाहिर खुला ठाउँमा ‘योगा’ गरिरहेका हुन्छन् । कोही पेटीमै निदाएका हुन्छन् । कोही रुद्राक्ष माला गन्दै यताउता टहलिइरहेका देखिन्छन् । केही दिनदेखि भारतीय तीर्थयात्रीहरूले खचाखच भइरहेको नेपालगन्ज विमानस्थलको दृश्य आजभोलि यस्तै छ ।

mansarovar3

मानसरोवर यात्राका लागि आएका भारतीय तीर्थयात्रीहरू एक सातासम्म नेपालगन्जमै थुप्रिन्छन् । मौसममा आइरहने खराबीका कारण जहाज उड्न नसकेपछि उनीहरू यहीँ बस्न बाध्य हुन्छन् । सिमकोट विमानस्थलमा बिहानको समय मात्रै केही समय मौसम सफा हुन्छ । सिमकोटका लागि बिहान ११ बजेसम्मको समयमा उडान भर्न उपयुक्त मानिन्छ । त्यसपछि ठूलो हावा लाग्न थाल्दा धेरै जहाजले उडान भर्न सक्दैनन् । बिहान र साँझपख हावा थामिएपछि विमानस्थलको मौसम केही ठीक हुन्छ, त्यहीबेला हो, उडान भर्ने समय । यात्रुहरूको चाप बढेपछि सबैजसो एयरलाइन्सले हुम्लामा जान मिल्नेजति जहाज नेपालगन्ज विमानस्थलमै तयारी अवस्थामा राखेका छन् ।

तर, मौसमले साथ दिइरहेको छैन । गोमा, सीता, तारा, सिम्रिक एयरलाइन्सले आफ्ना सबैजसो जहाजहरू नेपालगन्ज विमानस्थलमै राखेका छन् । ‘मौसममा सुधार हुनासाथ धमाधम उडान भर्ने तयारी अवस्थामै सबै जहाज छन्,’ नागरिक उड्यन प्राधिकरणका नेपालगन्ज प्रमुख प्रतापबाबु तिवारीले भने ‘दैनिक करिब एक हजारभन्दा धेरै यात्रुलाई हामीलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’

सिम्रिक एयरले पनि नेपालगन्जबाट सिमकोटका लागि दैनिक उडान भर्न थालेको छ । दैनिकजसो नेपालगन्जका लागि १० वटा उडान भर्दै आएको सिम्रिक एयर नेपालगन्जका मार्केटिङ चिफ प्रज्ज्वल थापाले जानकारी गराए । ‘यात्रुहरूको चाप अत्यधिक छ, मौसममा खराबी नआए त उडान अझै थप्नुपर्ने देखिन्छ तर, सिमकोटमा अत्यधिक हावा चल्ने भएका कारण उडान भर्न सकिन्न,’ उनले भने ।

यद्यपि, यो रुटमा सधैं यात्रुहरूको चाप उत्तिकै हुन्थ्यो तर, विगत तीन वर्षदेखि थेगिनसक्नु चाप बढेको नेपालगन्ज विमानस्थलले जनाएको छ । ‘मौसममा कतिबेला सुधार हुन्छ अनि उडान हुन्छ केही थाहा हुँदैन, कुरेरै बस्नुपर्छ,’ तिवारीले भने ‘त्यसैले पनि जहाज कुर्नकै लागि यात्रुको भीड यहाँ जम्मा हुन्छ ।’ एक साता नेपालगन्जमै बिताएर मानसरोवर पुगेका भारत मध्यप्रदेश इन्द्रोरका ज्योति गर्ग र उनका श्रीमान् यसै साता मात्रै फर्किएका छन् । त्यस बेला उडानको समस्याले गर्दा यात्रा भनेजस्तो सहज भएन ।

mansarobar5

त्यसमा पनि सिमकोटको साँघुरो विमानस्थल अनि मौसममा आइरहने खराबीले गर्दा हजारौँ यात्रुहरू त्यहाँ पनि अलपत्र हुन्छन् । ‘सिमकोटमा पनि बस्ने त्यत्ति राम्रो ठाउँ छैन, जहाज पनि बेलामा उड्दैन,’ उनले भनिन्, ‘कैलाशधाम पुगेर फर्किनु भनेको त युद्धै जितेजस्तो हो । तर, पुगेर आइयो, त्यही ठूलो
कुरा हो ।’ मानसरोवर जाने यात्रु बढ्न थालेपछि नेपालगन्जमा ‘राम्रा’ होटेलहरूको अभावमा ‘काम चलाउ’ होटेलमा समेत रात बिताउनुपर्ने बाध्यता छ । कतिपय ट्राभल एजेन्सीहरूले आफ्ना यात्रुलाई कोहलपुर तथा बर्दियाको ठाकुरद्वारासम्म लगेर बसालेका छन् ।

अहिले नेपालगन्जमात्रै होइन, कोहलपुरका होटेलहरूसमेत सबै भरिएका छन् । कतिपय होटेलहरूले एउटै कोठामा चार–पाँच जनासम्म यात्रु राखिरहेका छन् । यात्रुको चाप अनि उडानको समस्याले गर्दा धेरै दिन एकै ठाउँ बस्नुपर्ने बाध्यताले तीर्थयात्रीहरूलाई खर्चको समेत समस्या उस्तै छ । भारतबाट ट्राभल एजेन्सीमार्फत् आएका तीर्थयात्रीहरूले एकमुष्ट रकम एजेन्सीलाई दिन्छन् । खर्चका लागि निश्चित रकमबाहेक धेरै रकम बोक्न पाइँदैन । रुटअनुसार कहाँ कति दिन बस्ने भन्ने आकलन पहिला नै एजेन्सीले सुनाएको हुन्छ ।

त्यसैको आधारमा निश्चित रकम बोकेर आएकाहरूको यहाँ धेरै दिन बस्नुपर्दा रकम अभावले सताउँछ । चार दिनदेखि एयरपोर्टमै दिन बिताइरहेकी शोभा भुतडा भन्छिन्, ‘धेरै पैसा पनि ल्याउन पाइँदैन, यहाँ यति धेरै दिन बस्नुपर्छ भन्ने नै सोचिएन, अब प्रकृतिले यस्तो गर्छ भन्ने के थाहा र ?’ भारतीय यात्रु भित्र्याउन मानसरोवरझैं अन्य स्थलको पनि खोजी गरिनुपर्ने यहाँका व्यावसायीहरू बताउँछन् ।

 

प्रतिकृया दिनुहोस