MENU

अर्थ/बाणिज्य

635x90

‘नीतिले नै उद्योग नखोल भन्छ’ : डा.रुपज्योति

श्रीधर खनाल सोमवार, आषाढ १२, २०७४

नेपाली अर्थतन्त्रको विभिन्न आरोह/अवरोहलाई नजिकबाट नियालेका डा. रूपज्योति कंसाकार ज्योति समूहका उपाध्यक्ष हुन्। उद्योगको क्षेत्रमा मात्र होइन ट्रेडिङको क्षेत्रमा समेत अब्बल ज्योति समूह पछिल्लो समय स्वास्थ्य क्षेत्रमा लगानीका कारण चर्चाका आयो । उत्‍तम समूहले ५० करोडको लगानीमा काठमाडौंंको कान्तिपथमा अत्याधुनिक उपकरणसहितको २४ बेडको ग्रान्डी सिटी अस्पताल सञ्चालन गर्दैआएको छ। अर्थमन्त्रीसमेत भइसकेका डा. रूपज्योतिसँग आर्थिक विकासका विविध विषयमा श्रीधर खनालले गरेको कुराकानी :

उद्योग सञ्चालनको वातावरण बन्दै गएको हो ?

वातावरण बनेको छैन । आज पनि उद्योग चलाउन सजिलो छैन । उद्योग सञ्चालनको वातावरण झन्–झन् बिग्रिदैँ गएको छ । यसमा व्यवसायी मात्र दोषी छैनन् । कहिले के समस्या आउने हो भन्ने अनुमान गर्न नसकिने अवस्था छ । नीति नियमहरूका कारण समस्या आएका छन् । सरकारी संयन्त्र पनि उद्योेगमैत्री छैन । करको समस्या जहाँको त्यहीँ छ । बैंकिङ व्यवस्थापनमा नयाँ–नयाँ नियमहरू बन्दै गएका छन् । यी सबै कारणले उद्योग चलाउनु भनेको आजको दिनमा तनाव निम्त्याउनु मात्र हो जस्तो भएको छ ।

त्यसो भए सरकारी नीति उद्योगमैत्री छैन त ?

राज्यले उद्योग नचलाऊ भनेको छैन । तर, हामीलाई के मतलब भन्ने सोच राज्य चलाउनेहरूमा रहेको छ । सस्तो लोकप्रियताकालाई ख्यालमा राखेर उहाँहरूले काम गर्नुहुन्छ । प्रस्ट शब्दमा भन्नुपर्दा सरकारमा बस्नेहरूलाई भोटको मात्र चिन्ता छ । देशभरिका उद्योगीहरूसँग अहिले पनि ‘थ्री डिजिट’मा मात्र भोट रहेको छ । यति सामान्य भोटले उहाँहरूको राजनीति अगाडि बढ्दैन् । हामीले कर तिर्ने मात्र हो । यसको फाइदा अर्कैले लिएको छ । कर लिने विषयबाहेक सरकार चलाउनेहरूले हाम्रा विषयमा अरू कुरा सुन्न चाहँदैनन् । उद्योग सञ्चालकको पीडा उहाँहरूले सुन्नै चाहनु हुँदैन ।

यस्तो वातावरण बनाउन केही हदसम्म तपाईंहरू पनि दोषी हुनुहुन्छ हैन ?

उद्योगलाई सुविधा दिने विषय एक हातले दिने र अर्को हातले लिनेजस्तो भएको छ । मैले तपार्इंहरूलाई सुविधा दिएको हो । मलाई पर्दा तपाईंहरूले पनि सहयोग गर्नुपर्छ भन्ने सोच राज्य चलाउनेहरूमा रहेको छ । त्यसैले उद्योग विस्तारभन्दा लेनदेनको हिसाबले मात्र सुविधाको विषय आउने गर्छ । त्यसैले सीधा तरिकाले काम गर्नेलाई निकै गाह्रो भएको छ । कसैको वास्ता नगरौं आफ्नै काममा लागौं भन्ने सोच भएकाहरू यो क्षेत्रमा टिक्न कठिन हुँदैछ । सीधा हुनु नै हाम्रो समस्या हो भने अब उद्योग बन्द गर्नुको विकल्प छैन ।

सरकारले लोडसेडिङ हटाएर उद्योगलाई राम्रो वातावरण बनायो भनिन्छ नि ?

लोडसेडिङ हटेर काठमाडौंंलाई फाइदा भएको छ । काठमाडौंंमा बसेर हेर्दा समस्या समाधान भएको छ । तर, उद्योगहरूले अहिले पनि लोडसेडिङको मार खेपेका छन् । यसमा सरकारले ‘चिटिङ’ पनि गरेको छ । हामीलाई दुई सय चालिस भोल्टको विद्युत् चाहिने अवस्थामा दुई सय भोल्टको विद्युत् दिएर काम छैन । कम गुणस्तरको विद्युत्का कारण हाम्रा मोटरहरू जल्ने गरेका छन् । पटक–पटक विद्युत् जान्छ । उद्योगमा रहेका उपकरणलाई यसले पनि असर गरेको छ । विद्युत् आएर मात्र हुँदैन उद्योगलाई विद्युत्को गुणस्तर पनि आवश्यक पर्छ । कमसल गुणस्तरको विद्युत्ले उद्योग सञ्चालन हुन सक्दैन । हामीले त्यसतर्फ ध्यान दिन सकेका छैनौं । यही विद्युत् पनि कहिलेसम्म आउने हो भन्ने ठेगान छैन ।

बैंकमा कर्जाको ब्याजदर बढ्दा उद्यमीलाई के समस्या भएको छ ?

उद्योग सञ्चालनका लागि बैंकको आवश्यकता पर्छ । नगदले मात्र उद्योग सञ्चालन गर्न सकिँदैन । कतिपय व्यवसायीहरूले बैंकको कर्जा हिनामिना पनि गरेका होलान् । सबैलाई एउटै डालोमा राखेर हेर्ने सोचका कारण हामी अप्ठेरोमा परेका छौँ । उद्योगले आजको भोलि लगानी फिर्ता गर्न सक्दैन । बैंकले उद्योगमा गरेको लगानी पनि आजको भोलि फिर्ता हुन्छ भन्ने सोच नै गलत छ । बैकिङ व्यवस्था र नियमहरूले काम गर्न निकै गाह्रो हुँदै गएको छ ।

rupjyoti

नीतिगत समस्याबाट बाहिर आउन सकेनौँ भन्ने तपाईंको विचार हो ?

कस्तो नीति ल्याउँदा उद्योगले फाइदा लिन्छ । निजी क्षेत्रले कस्तो नीतिमा बढीभन्दा बढी जोखिम लिएर काम गर्न सक्छ भन्ने विषयमा राजनीतिक तह अझै प्रस्ट छैन । कस्तो नीति ल्याउने हो भने देशले आर्थिक विकास गर्न सक्छ भन्ने विषयमा राजनीतिक दलहरू अनभिज्ञ छन् । उनीहरू निजी क्षेत्र र उद्योगको समस्याको विषयमा बुझ्न पनि चाहँदैनन् । उद्योगको विस्तार र विकास कसरी गर्ने भन्ने विषय उनीहरूको सोचमा छैन । त्यसैले नीतिगत रूपमै समस्या आएको छ । यस्ता समस्याबाट सजिलै पार पाउन सकिँदैन ।

दाताहरूले पनि नीतिगत रूपमा सघाइरहेका छन् । उनीहरूको बुझाइ के हो ?

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका मानिसहरू यहाँ आउँछन् । उनीहरूले सुझाव दिन्छन् । हामीले त्यही कुरा लागु गर्छाैँ । नेपालमा विश्व बैंक र कोषले राम्रा मानिसहरू पठाउँदैनन् । उनीहरूले आफ्नो देशमा जस्तो अर्थतन्त्र छ त्यस्तै नेपालमा ल्याउन खोज्छन्, जसले गर्दा नीतिगत समस्या झन्झन् थपिने गरेको छ । भारतको नागरिक आए भने त्यहीँको जस्तो आर्थिक नीति बनाउन खोज्छन् । भारतमा ‘कम्प्लेक्स’ नीति छ । नेपालमा पनि त्यही कुरा लागु गर्न खोज्ने हो भने समस्या आउँछ । तर, अहिले त्यही भएको छ । आयकर ऐनमा दफा ५७ राखिएको छ । यो दफाको विषयमा हरेकका फरक–फरक परिभाषा छन् । एउटा दफाको विषयमा अनेकांै अर्थ लगाउनु करदातालाई अप्ठेरोमा पार्नु हो । हामी अहिले पनि त्यही बाटोमा अगाडि बढेका छौँ ।

हामीले त नीतिगत रूपमा बजारमुखी अर्थतन्त्रलाई आत्मसाथ गरेका छौँ, हैन र ?

यो पनि नामका लागि मात्र भयो । बजार अर्थतन्त्रमा माग र आपूर्तिले मूल्य निर्धारण गर्छ । प्रतिस्पर्धाले निजी क्षेत्रलाई नियन्त्रणमा राख्न सक्छ । अर्थतन्त्र एकतर्फी छ, बैंकहरूलाई अर्कोतिर काम गर्न दिएका छौँ । अहिले ‘कन्सोटियम’ ल्याउनुपर्छ भनिएको छ । ‘कन्सोटियम’ भनेको ‘सिन्डिकेट’ हो । हामीले ट्रकको ‘सिन्डिकेट’ हटाउनुपर्छ भनेर विरोध गर्‍यौँ । तर, बैंकलाई सिन्डिकेट गर्न दिएका छौँ । त्यसको प्रभाव उद्योग व्यवसायमा परेको छ । यसले जोखिम लिने क्षमतामा कमी आएको छ ।

बैंकका कारण उद्योग समस्यामा परेका हुन् त ?

हामी काम गर्दा योजना बनाउँछौँ । कति लगानी गर्ने भन्ने मापदण्ड तय गर्छाैँ ? कस्ता जोखिम आउँछन् भनेर अनुमान गर्छाैं ? यी सबै सकेपछि गरेपछि लगानी गर्छाैँ । हामीले बनाएको योजनामा बैंकले पनि लगानी गर्छन् । उनीहरूले भने जोखिम लिँदैनन् । भन्छन्, ‘तपाईं काम गर्नुस् । नराम्रो भए हामी जोखिम लिँदैनौं । बैंक पनि व्यवसाय भएका कारण राम्रो भनेर लगानी गरेको जोखिम लिनुपर्छ । उद्यमीले मात्र जोखिम लिनुपर्ने भएपछि किन उद्योगको क्षेत्रमा लगानी गर्ने ? आज बेचेर आम्दानी हुने क्षेत्रमा मात्र लगानी गर्दा भइहाल्यो । यसका लागि ‘ट्रेडिङ’ एउटा विकल्प हो । नीतिले नै हामीलाई ट्रेडिङमा जाऊ भनिरहेको छ । अर्कोतर्फ उद्योगमा श्रमको पनि समस्या छ । काम नपाउँदासम्म खुट्टा ढोग्छन् । काम लगाए पछि उनीहरूको खुट्टा ढोग्नुपर्छ ।

यस्तो अवस्थामा पनि तपाईंहरूले किन उद्योग चलाउनुभएको छ त ?

उद्योग सञ्चालन गर्नु भनेको ठूलो लगानी गर्नु हो । उद्योगमा भएको लगानी आजको भोलि फिर्ता हुँदैन । चाहेर पनि उद्योग आजको भोलि बन्द गर्न सकिँदैन । त्यसको संरचनामा ठूलो लगानी भएको हुन्छ । हामीले फाइदा भएर उद्योग चलाएका छैनौँ । बन्द गर्न नसकेर मात्र उद्योग चलाएका हौँ । ट्रेडिङ नभएको भए हामीले उद्योग चलाउन सक्ने थिएनौँ । यताबाट कमाएको नाफा उता लगेर मात्र उद्योग चलेका हुन् । रोलिङ मिल बन्द गर्न मिलेन । त्यहाँका कामदार निकाल्न मिलेन । स्पिनिङ मिलको अवस्था पनि यही छ । अन्तबाट कमाएर त्यहाँ थपेका कारण उद्योग चलेको देखिएको हो । त्यसो गर्न नसकेको भए हाम्रा सबै उद्योग बन्द भैसकेका हुन्थे ।

उद्योग र ट्रेडिङ हुँदै अस्पतालको क्षेत्रमा आउनुको कारण के हो ?

अस्पताल चलाउन पनि सजिलो छैन । दुर्घटनाले हामी अस्पतालमा आयौं । पाँच करोड लगानी गरेर ग्रान्डी इन्टरनेसनलमा हामीलाई सहभागी बनाइयो । पैसा पुगेन भन्दै थप्दै जाँदा २० करोड लगानी भयो । अब बोर्डमा आउनुहोस् भने । बोर्डपछि अध्यक्षको रूपमा काम गर्न थाले । लगानी बढेर गयो । उहाँहरूको सोचमा अस्पताल बन्दै गयो । दिनको एक हजार बिरामी ल्याउने योजना थियो । यो हिसाबमा मात्र सीमित भयो । दुई वर्षमा दुई सय पनि बिरामी पुगेनन् । सोचेजस्तो भएन । दुई सय ५० करोड लगानी गरेको अस्पतालमा प्रमुख कार्यकारी बन्ने व्यक्ति पाइएनन् ।

‘ग्रान्डी सिटी’ अस्पताल किन चलाउनु भएको हो त ?

हामीले शहरमा सुविधा दिने हिसाबले कान्तिपथमा ग्रान्डी सिटी अस्पताल सञ्चालनमा ल्याएका हौँ । लगानीकर्ताको बीचमा विवाद भएपछि हामीले ग्रान्डी सिटी चलाउनैपर्ने भयो । यसलाई आधुनिक अस्पतालको रूपमा विकास गर्ने सोचका साथ काम गरेका छौं । यो सेवा क्षेत्र हो । यसबाट हामीलाई पैसा कमाउनु छैन । नेपालमा नभएको प्रविधि ल्याउने काममा हामीले सफलता पाएका छौँ । मिर्गौलाको स्टोन फुटाउने हामीसँग भएको उपकरण भारतमा पनि दुई वटा मात्र छन् । स्टोन फुटाएर बिरामी दुई घण्टामै हिँड्न सक्छन् । सिटीमा भएका कतिपय अत्याधुनिक उपकरण नेपालमा छैनन् । नेपालमा जोकोहीले लगानी गर्न नसक्ने खालका उपकरण हामीसँग छन् । २४ बेडको अस्पतालमा हामीले ५० करोड लगानी गरेका छौँ । नेपालीले फाइदा लिन सकून् भन्ने हिसाबले लगानी
गरेका हौं ।

यति ठूलो लगानी धान्न सकिन्छ ?

अस्पताल बिरामी नआए चल्दैन । प्रतिफलभन्दा सेवाको भावनाले ज्योति समूहले चलाएको अस्पताल भएकाले हामीले प्रतिफलको आशा गरेका छैनौँ । उपचारका लागि विदेश जाने नेपालीलाई यहीँ सुविधा दिएका छौँ । व्यवसायका हिसाबले अरू क्षेत्रमा काम गरे पनि सेवाको क्षेत्रमा अस्पताल हाम्रा लागि गतिलो विकल्प भएको छ । यस क्षेत्रमा अरू सेवा थप्ने सोचमा छौँ ।

 

 

प्रतिकृया दिनुहोस