MENU

अर्थ/बाणिज्य

635x90

पानले दिलाएको शान

मनिका झा, जनकपुर बुधवार, आषाढ ७, २०७४

जनकपुरमा थुप्रै पान पसल छन् तर कैलाश पान पसल सबैभन्दा बढी ग्राहक आउने थलो हो । जनक चोकमा अवस्थित यो पान पसल जनकपुरवासीको मात्र नभई अन्य ठाउँबाट आएका पानका पारखीहरू माझ पनि निकै प्रचलित छ । आफ्नै नामबाट पान पसल चलाएका कैलाश साहलाई पानले दामसँगै प्रसिद्धि दिएको छ । ५३ वर्षीय साह प्रत्येक दिन बिहानै ७ बजे पसल खोल्छन् । दिनभरि पान बेच्न व्यस्त उनी फुर्सद खासै पाउँदैनन् ।कर्मचारी, व्यापारी, कलाकार, पत्रकार, नेता सबै पानका सोखिनहरू साहको हातबाट बनेको पान खान उनको पसलसम्म धाउने गर्छन् । बिहे तथा विभिन्न पार्टीहरूमा समेत साहको पसलमा पानको अर्डर आइपुग्ने गर्छ ।

जनकपुर उपमहानगरपालिका २ निवासी साहले ३५ वर्षदेखि यस व्यवसाय गर्दैआएका हुन । रोजगारीको बाटो खोज्ने क्रममा जनकपुरमा राम्रो पान पसल नभएको अवस्थामा उनले यसलाई आफ्नो जीविकोपार्जनको पेसा बनाए । भन्छन्, ‘आफूसँग ठूलो व्यापार गर्न पुँजीसमेत थिएन । त्यसैले, थोरै लगानीमा सञ्चालन हुने पान पसलतर्फ ध्यान गयो ।’शुरुशुरुमा पान बेचेर परिवार पाल्न ज्यादै कठिन थियो, तर उनले आफ्नो मिहिनेतमाथि भरोसा गर्दै गए । यसै व्यापारबाट आफ्ना सन्तालाई सुनौलो भविष्य दिने निधो गरे ।

अरूभन्दा भिन्नखाले स्वाद पस्किेर ग्राहकलाई सन्तुष्ट पारेको उनले बताए । आफूले विशेष मसला र स्तरीय पातको प्रयोग गर्ने हुनाले पनि ग्राहकहरूको आकर्षण बढी हुने गरेको उनले बताए । साहले व्यापारबाट प्रभावित भई जनकपुरमा थुप्रै पान पसल खुले । तर, अरूले साहलेझैं लामो समयसम्म एउटै पेसालाई निरन्तरता दिन सकेनन् । पानको रंग कडा हुन्छ, हत्तपत्त मेटिँदैन । शिकारुले मिठ्ठा पान खोज्छन् । जीवन नै यस व्यवसायमा बिताएका साहले यसैबाट आफ्नो परिचयसँगै जीवन पनि मिठो बनाएका छन् ।

पान बेचेर कैलाश साहले जेठो छोरोलाई डाक्टर र कान्छोलाई इन्जिनियर बनाएका छन्।

साहले व्यापार शुरु गर्दा एक खिल्ली पानको मूल्य एक रुपैयाँ थियो । तर, अहिले एक खिल्ली पानको मूल्य २० देखि २५ रुपैयाँसम्म रहेको छ । पानको मूल्य बढे पनि उनले बनाएको पानको स्वाद चाख्नकै लागि प्रतिदिन पसलमा तीनदेखि पाँच सयसम्म ग्राहक आउँछन् । बिहान पसल खुलेदेखि राति करिब १० बजेसम्म ग्राहकहरू पान खान झुम्मिन्छन् ।

विनम्र स्वभाव र सहनशील बानीका कारण आफ्ना ग्राहकहलाई आकर्षित गर्न सफल भएका साहका दर्जनौं ग्राहक यस्ता, जो अर्को पसलमा नगई लगातार २०/२५ वर्षदेखि उनकै पसलको पानको पारखी छन् । उनले पान बेचेरै घर पनि ठड्याए । कर्मलाई पूजा ठान्ने साह भन्छन्, ‘यो व्यापारले मलाई नाम, दाम र शान तीन वटै दियो ।’

आफूले धेरै पढ्न नपाए पनि उनले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाएका छन् । दुई छोरामध्ये जेठो सञ्जयकुमार साह डाक्टर छन् भने कान्छा छोरा अजयकुमार साह इन्जिनियरिङ सकी पुनर्निर्माणको क्षेत्रमा कार्यरत छन् । दुई छोरीहरूलाई पनि उचित शिक्षा दिएर सक्षम बनाएर दाइजोको परम्परालाई तोड्दै उनले आदर्श विवाह गराएका छन् । छोराछोरीलाई राम्रो शिक्षा दिएर सक्षम बनाएपछि पनि साह आफ्नो पेसामा निरन्तर लागिरहेका छन् ।



प्रतिकृया दिनुहोस