MENU

अर्थ/बाणिज्य

635x90

समृद्धितर्फ कर्णाली

ललितबहादुर बुढा, सुर्खेत बुधवार, जेठ ३१, २०७४

पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता । नुनतेल सुर्खेत र नेपालगञ्जबाट ओसार्नुपथ्र्यो । हुनेखानेहरू जहाजमा यात्रा गर्थे । आर्थिक अवस्था कमजोर भएकाहरूलाई हप्ताैँ लगाएर पैदल हिँड्नुको विकल्प थिएन । केही वर्षअघिसम्म सडक नपुग्दा कर्णालीमा विकास पनि अवरुद्ध थियो । अधिकांश पुस्ताले मोटरसमेत देख्न पाएनन् । तर  वर्षाैँकाे प्रयासपछि सडक पुग्दा अहिले कर्णालीमा मोटरले विकास र समृद्धि ओसार्न थालेका छन् । कुनै बेला पैदल हिँड्न बाध्य कर्णालीवासीका लागि सडक नै ‘भाग्यमार्ग’ बनेको छ ।

सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्गका कारण यतिबेला कर्णाली आफ्नो मुहार फेर्ने अभियानमा छ । सडक खुलेपछि विकास र समृद्धिको खाका कोर्दै गरेका कर्णालीवासीले पछिल्लो समय यही कर्णाली राजमार्गलाई ‘समृद्धिको मार्ग’का रूपमा व्याख्या गर्न थालेका छन् ।सडक सञ्जालमा जोडिएपछि कर्णालीले भारी बोकेर हप्तौंसम्म पैदल हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाएको छ । ‘कर्णालीमा सडक मात्र खुलेको होइन, यहाँको विकास र चेतनाको ढोका पनि खुलेको छ,’ जुम्ला चन्दननाथका भैरवबहादुर धरला भन्छन्, ‘विकासको मुख्य जग नै सडक रहेछ, पहिला सडक नखुल्दा विकास नै ठप्प थियो ।’ २०६३ वैशाखबाट सञ्चालनमा आएको कर्णाली राजमार्गले कालिकोट, जुम्ला र मुगुलाई छोएको छ ।

कालिकोट मान्ममा व्यवसाय गर्दै आएकी बेलमति शाही भन्छिन्, ‘हेलिकोप्टरमा सामान ढुवानी गर्ने हैसियत थिएन, बोकेर ल्याउँदा महिनौं लाग्थ्यो । अहिले सबै सामान गाडीले ढोकामै ल्याउँछ, व्यापार गर्न सजिलो भयो ।’ कालिकोटवासी पर्यटन बोर्डका पूर्वसदस्य नगेन्द्र शाही भन्छन्, ‘अब कर्णालीलाई पहिले जस्तै विकटता र अभावले परिभाषित नगरौं, गाउँ–गाउँमा मोटरसँगै विकास र समृद्धि पनि पुग्दैछ ।’ राजमार्ग खुलेपछि विभिन्न स्थानमा नयाँ शहर विस्तार भएका छन् । यसले स्थानीयको आम्दानीमा समेत वृद्धि गरेको छ ।

विकास, चेतना, समृद्घि र खुशी बोकेर सडकमा गुड्दै कर्णाली पुगेका मोटरले नै कर्णालीवासीको समृद्घिको चाहना पूरा गरिरहेका छन्।

शाही थप्छन्, ‘सडक नखुलेको भए कर्णाली सधैं भोकमरीमै रहन्थ्यो, तर सडकले कर्णालीलाई विकास, समृद्धि, चेतना र सम्पन्नताको नयाँ परिचय दिलाएको छ ।’ सुर्खेत–जुम्ला जोड्ने दुई सय ३२ किलोमिटर सडक सञ्चालनमा आएपछि एकै दिनमा जुम्लाबाट सुर्खेत पुग्न सम्भव भएको छ । जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावल भन्छन्, ‘सडक खुलेपछि उत्पादनले पनि बजार पाउन थालेको छ । मजदुरीका लागि कालापहाड जानेहरू अहिले गाउँमै उत्पादनमा जुटेका छन् ।’ बजारसम्म सहज पहुँच भएकाले मान्छेहरू स्याउ तथा जडिबुटी खेतीमा जुटेको र उनीहरूको आर्थिक स्तर वृद्धि भएको उनको भनाइ छ ।

मोटर गुड्न थालेपछि निर्माण सामग्री ढुवानी गर्न सहज भएकाले भौतिक निर्माणको कामले समेत तीव्रता पाएको अध्यक्ष रावल बताउँछन् । भन्छन्, ‘पहिला जहाजबाट सामग्री ल्याउँदा बजेटजति ढुवानीमै जान्थ्यो । तर, हिजोआज गाडीमा ल्याउँदा सस्तो पर्छ, यसले विकास निर्माणमा सहज भएको छ ।’ सडक खुलेपछि कर्णालीकावासीको जीवनयापन फेरिएको छ । उत्पादन भएको स्याउ र सिमी बारीमै बिक्री हुन थालेका छन् । साना तथा लघु उद्यमहरू धमाधम सञ्चालनमा आएका छन् । यातायातको सुविधा पुग्न थालेपछि बिरामीलाई अस्पतालसम्म पु¥याउन सहज भएको छ । मोटरसँगै पर्यटक भित्रिन थालेपछि होटल र अन्य व्यवसाय फस्टाएको छ ।

अहिले सत्ताको बागडोरकेन्द्रित सिंहदरबारको अधुरो आश्वासनभन्दा विकास, चेतना, समृद्धि र खुशी बोकेर सडकमा गुड्दै कर्णाली पुगेका मोटरले कर्णालीवासीको समृद्धिको चाहना पूरा गरिरहेका छन् ।कर्णालीका तीन जिल्ला सडक सञ्जालमा जोडिए पनि हुम्ला र डोल्पामा हालसम्म सडक पुगेको छैन । कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुबाट हुम्ला सदरमुकाम सिमकोट जोड्ने एक सय ९६ किलोमिटर सडक निर्माणको काम चलिरहेको छ । यस्तै, डोल्पा सदरमुकाम दुनै जोड्ने जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किमि सडक निर्माणको काम पनि जारी छ । यी दुवै जिल्ला जोड्ने सडक निर्माणको जिम्मा सेनाले लिएको छ । सडक निर्माण कार्यदलका प्रमुख कर्णेल इन्द्रवीर गुरुङ भन्छन्, ‘थप क्याम्पहरू विस्तार गरेर तथा हेलिकोप्टरबाट निर्माण सामग्री ओसारेर भए पनि समयमै सडक खनिसक्छौँ ।’

 

प्रतिकृया दिनुहोस