MENU

अर्थ/बाणिज्य

635x90

डलर भित्र्याउँदै स्याङ्जाको कफी

भवानी अधिकारी, स्याङ्जा आइतवार, जेठ २१, २०७४

पुतलीबजार १३ का बोधराज अर्यालले ७० रोपनीमा कफी खेती गरेका छन् । उनी जिल्लाकै अगुवा कफी उत्पादक मानिन्छन् । उनी मात्र होइन, करेन्डाँडाका भूमिजंग केसी, ठूलाहिडीका मनोहरी रेग्मी, आरुखर्कका शिवप्रसाद सुवेदी, वालिङ नगरपालिकाका क्याप्टेन यामबहादुर गुरुङ, अर्जुनचौपारी गाउँपालिका थापाथोकका फणिनारायण अर्याल, आँधीखोला गाउँपालिका फापरथुकका बुद्धिसागर ढकाल जिल्लाकै उत्कृष्ट कफी व्यवसायीमा गनिन्छन् । जिल्लामा करिब दुई सय ७३ हेक्टर क्षेत्रफलमा कफी खेती हुन्छ ।

यसरी उत्पादित कफी जापान, जर्मनी, कोरिया, अस्ट्रेलिया र अमेरिकाबाट करोडौं डलर भित्र्याइरहेको छ । नेपाली बजारमा पनि स्याङ्जाको कफी खपत हुन्छ । गत र यो वर्ष मात्र यहाँको २० मेट्रिक टन कफी जापान निर्यात भयो । जसबाट करिब दुई करोड नेपाली रुपैयाँ व्यवसायीले पाए । यहाँको कफी सात वर्षदेखि जापान निर्यात हुँदैआएको छ । अर्गानिक र निकै स्वादिलो भएका कारण स्याङ्जाको कफीको माग जापानमा बढेको कफी सहकारी संस्थाका अध्यक्ष फणिनारायण अर्याल बताउँछन् । भन्छन्, ‘मागअनुसार कफी जापानलाई उपलब्ध गराउन पनि सकिएको छैन ।’

जापानमा ग्रिनबीन र पार्चमेन्ट दुईथरी कफी निर्यात हुन्छ । ग्रिनबीन कफी प्रतिकिलो नौ सय र पार्चमेन्ट प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री हुन्छ । यस वर्ष स्याङ्जामा ५२ मेट्रिक टन कफी उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष १२ मेट्रिक टन बढी उत्पादन भएको कफी व्यवसायी संघकी व्यवस्थापक माया तिवारी बताउँछिन् । कफी विदेश निर्यात हुन थालेपछि जिल्लामा कफीको उत्पादन पनि वृद्धि भएको छ । विगतको तुलना गर्दै जाँदा बर्सेनि कफीका उत्पादन बढ्दो छ । यस वर्ष पनि स्याङ्जाको कफी उत्पादनमा १२ प्रतिशतले वृद्धि भएको कफी व्यवसायी संघ स्याङ्जाले जनाएको छ । अघिल्लो वर्ष ४८ दशमलव पाँच मेट्रिक टन (४८ हजार पाँच सय किलो) कफी उत्पादन हुँदा ९२ लाख रूपैयाँबराबरको आम्दानी भएको थियो ।

गत वर्ष ५० दशमलव पाँच मेट्रिक टन (५० हजार पाँच सय किलो) कफी उत्पादन भयो । जसबाट एक करोड ६१ लाख ५० हजार रुपैयाँ आम्दानी भएको थियो । अघिल्लो वर्ष कफीको मूल्य प्रतिकिलो ६० रुपैयाँ थियो भने गत वर्ष ८० रुपैयाँ रहेको कफी व्यवसायी संघका कोषाध्यक्ष बोधराज अर्यालले जानकारी दिए । जिल्लामा ०५६ सालदेखि व्यावसायिक रूपमा कफी खेती शुरु गरिएको हो । कफी व्यवसायी संघले चिया तथा कफी विकास बोर्डले तोकेको मूल्यभन्दा बढी दिएका कारण पनि किसानको आकर्षण बढी देखिएको हो ।

बोर्डले तोकेको मूल्यभन्दा जिल्लामा २० रुपैयाँ बढी दिएर सहकारीले कफी किसानलाई हौसला बढाएको छ । मूल्य वृद्धि गरिनुका साथै तत्कालै नगद हातमा पाउन थालेपछि यहाँका किसान कफी खेतीमा आकर्षित भएका हुन् । गत वर्ष मात्र स्याङ्जाले कफीबाट एक करोड ५० लाख आम्दानी गरेको थियो भने यस वर्ष एक करोड ९० लाख रुपैयाँ कफीबाट आम्दानी हुने संघले जनाएको छ । व्यवसायी भूमिजंग केसी भन्छन्, ‘२÷३ वर्षमै फल दिएर नगदे बाली कफी खेती पाखोबारी र वनजंगलभित्र पनि उत्पादन हुने भएकाले किसानको आकर्षण बढ्दो छ ।’

 

प्रतिकृया दिनुहोस