MENU

अर्थ/बाणिज्य

635x90

अन्योलमा तातोपानी

युवराज पुरी, सिन्धुपाल्चोक आइतवार, जेठ १४, २०७४

१२ वैशाख ०७२ मा गएको महाभूकम्पको पराकम्पन थामिएको छ । तर, तातोपानी नाकासँग दैनिक रोजीरोटी जोडिएकाहरूको पराकम्पन भने थामिएको छैन । दैनिक डेढ करोडमाथि राजस्व संकलन हुने तातोपानी नाका अहिले सुनसान छ । महाभूकम्प अघिसम्म झोलामा सामान ओसारेर दैनिक दुई हजार बढी आम्दानी गर्दै आएकी लिस्तीकी जाङ्मु शेर्पा अहिले परिवारको दैनिक छाक टार्ने तनाबमा छिन् । भूकम्पअघि दैनिक खुद्रा चिनियाँ सामान ल्याएर सीमा क्षेत्र र राजमार्गका बजारमा बेचेर परिवार पाल्दै आएकी उनको अहिले रोजीरोटी खोसिएको छ ।

सीमाको लिपिङ बजारमा सेल्सम्यानको काम गर्दै आएकी दावाबुटी लामा पनि अहिले कामको खोजीमा राजधानीमा छिन् । लिपिङको चिनियाँ बजारमा नेपाली ग्राहकलाई सहजीकरण गर्दै आएकी लामाको भूकम्पसँगै रोजगारी पनि खोसिएपछि विकल्प खोज्न राजधानीमा भौंतारिँदै छिन् । उनी राहदानी बनाएर हाउस वाइफको काममा खाडी मुलुकतिर जाने ध्याउन्नमा मेनपावर कम्पनी चहार्दैछिन् ।तातोपानी नाका हुँदै स्याउ आयातको काम गरिरहेका दोर्जे लामा पछिल्लो समय क्रसर व्यवसायमा हामफालेका छन् । नेपाल–चीन ढुवानी व्यवसायमा क्रियाशील ट्रक कन्टेनर संघको अध्यक्ष छाडेका राजकुमार पौडेल क्रसर व्यवसायबाट पनि विदा लिएर राजनीतिमा लागेका छन् ।

तातोपानी नाका खुल्ने छाँट नभएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव अर्जुन सापकोटालगायत केही व्यवसायी रसुवा नाकातिर ‘डाइभर्ट’ भएका छन् । रसुवागढी नाका पनि झण्झटिलो भएकाले केही कोलकाता बन्दरगाहबाट कारोबार गर्छन् भने केही व्यवसाय नै छाडेर बसेका छन् । तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा ठूला–साना व्यवसायी, मजदुर र अन्यसमेत गरी तीन हजारभन्दा बढी प्रत्यक्ष मारमा परेका छन् । व्यवसायी र स्थानीयवासीले नाका खुलाउन सबै निकायमा पहल गरे पनि चीन जोड्ने छोटो र सजिलो तातोपानीको भविष्य अझै अन्योलमा छ । दुवै मुलुकको सरकारी निकायबीच हुने आवधिक बैठक र छलफलपछि नाका सञ्चालन हुने आशा गरिए पनि पहल नहुँदा निराशामा परिणत भएको छ । बन्द नाका खुलाउन चिनियाँ पक्षले दिएको आश्वासन दुई वर्ष बितिसक्दा पनि पूरा भएको छैन ।

चिनियाँ अधिकारीहरूले खासामा रहेका संरचनामा भूकम्पले ठूलो क्षति पुगेको बताउँदै नाका खोल्न आनाकानी गरिरहेका छन् । यसको साटो रसुवागढी नाका उनीहरूको प्राथमिकतामा देखिन्छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ भन्छन्, ‘हामीले यहाँका कुनै पनि निकायमा ज्ञापनपत्र बुझाउन बाँकी राखेका छैनौँ । तर, चिनियाँ र नेपाली दुवै पक्षले कूटनीतिक पहल नगर्दा नाका सञ्चालन हुन सकेको छैन ।’ श्रेष्ठका अनुसार नाकासम्बद्ध व्यावसायिक संस्थाले चिनियाँ दूतावासमा समेत नाका छिट्टै सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

दैनिक डेढ करोडमाथि राजस्व संकलन हुने नाका दुई वर्षदेखि बन्द हुँदा पनि सरकारी निकायले कूटनीतिक पहल गरेर सुचारु गराउने प्रयास नगरेकोमा व्यवसायी चकित परेका छन् । किन सरकारले नाका सञ्चालनमा ल्याउन प्रयास गरेन भन्ने बुझ्न नसकेको अध्यक्ष श्रेष्ठ बताउँछन् । चीनसँगको अन्य नाकाको तुलनामा तातोपानी छोटो र सहज भए पनि दुवै मुलुकका सरकारले चासो नदिएकोमा व्यवसायीहरू चिन्तित छन् । तीन हजारभन्दा बढीको रोजीरोटी खोसिँदा पनि सरकारको ध्यान नपुगेकामा तातोपानीवासी आक्रोशित पनि छन् ।

तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा ठूला साना व्यवसायी, मजदुर र अन्यसमेत गरी तीन हजारभन्दा बढी प्रत्यक्ष मारमा परेका छन्।

तातोपानी नाकाबाट झण्डै दुई सय समूहमा व्यवसायी संलग्न थिए । प्रत्येक समूहमा १० जनाभन्दा बढीले रोजगारी पाएका थिए । नाका सञ्चालन नहुँदा ती बेरोजगार भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका मानार्थ उपाध्यक्ष दोर्जे लामा बताउँछन् । व्यवसायमा संलग्न र मजदुर तीन हजार तथा रोजगारी पाएका दुई हजार गरी पाँच हजार जनशक्ति नाका बन्दको प्रत्यक्ष मार झेलिरहेका छन् । तातोपानी भन्सारले अघिल्लो दशैंअगावै कारोबार गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिसकेको छ । जुनसुकै बेला कारोबार गर्न तयार रहेको तर चीनतर्फबाट सामान आयात नभएकाले केही गर्न नसकिएको प्रमुख भन्सार अधिकृत दिव्यराज पोखरेल बताउँछन् ।

खासामा समस्या भए पनि चीन सरकारले चाहेमा नेलामबाट सिल गरेर सामान पठाए पनि काम गर्न सकिने उनको भनाइ छ । भूकम्पपछि भएका सबै सीमा सुरक्षा बैठकमा नाका सञ्चालनमा ल्याउने छलफल भए पनि उपलब्धि हुन नसकेको एक अधिकारी बताउँछन् । ‘हरेक बैठकमा नेलामका अधिकारीसँग कुरा गर्छौँ भन्छन् तर उपलब्धि केही हुँदैन,’ ती अधिकारी भन्छन्, ‘किन चिनियाँ पक्षको चासो यो नाकामा गएन, बुझ्न सकिएन ।’ एक वर्षअघि नै नेपाल–चीन भन्सार विभागस्तरीय बैठकबाट तातोपानी नाका छिट्टै सुचारु गर्ने सहमति भए पनि त्यसको कार्यान्वयन भएन । तातोपानी सञ्चालनमा आउन नसक्नुमा कूटनीतिक पहलको कमी भएको देखिन्छ ।

भौगोलिक अवस्था र दूरीको आधारमा नेपाल–चीन व्यापारमा सबैभन्दा उपयुक्त तातोपानी नाका हो । रेलमार्ग जोडिएको चीनको सिगात्सेबाट तातोपानी चार सय ९१ किलोमिटर टाढा पर्छ । काठमाडांैबाट तातोपानी नाका हुँदै सिगात्से ६ सय ६ किमि मात्र पार गरे पुग्छ । अहिले सञ्चालनमा रहेको रसुवागढी नाका हुँदै सिगात्सेबाट काठमाडांै आइपुग्न एक सय ७० किमि बढी अर्थात् सात सय ७६ किमि पार गर्नुपर्छ ।भूकम्पपछि सिगात्से सारिएका चीनतर्फको भन्सारलगायत सरकारी कार्यालय खासामा पुनःस्थापित नगरिएकाले नाका सुचारु हुन नसकेको चिनियाँहरूले बताउने गरेको भन्सार प्रमुख पोखरेल बताउँछन् । सरकारले विकल्पका रूपमा प्रयोग गर्न खोजेको रसुवागढी नाका भौगोलिक रूपमा तातोपानीभन्दा असहज रहेको भुक्तभोगी व्यवसायीहरू बताउँछन् ।

सरकारको ध्यान तातोपानी नाकामा नपुगेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीको ठम्याइ छ । नाका सञ्चालनका लागि व्यवसायीले मन्त्री र सचिव मात्र होइन, राजनीतिक दलका प्रमुखलाई समेत बारम्बार आग्रह गरेका छन् । स्रोतका अनुसार चीन सरकारले खासा आसपास सीमा क्षेत्रमा भएका त्यहाँका स्थानीय तिब्बती मूलका नागरिकलाई अन्यत्र स्थानान्तरण गरेर चिनियाँ मूलकै व्यवसायीलाई सीमा क्षेत्रमा राख्न नाका सञ्चालनमा ढिलाइ गरेको हो । खासा आसपासका क्षेत्र ‘फ्री तिब्बत आन्दोलन’को जोखिम रहेको चिनियाँ अधिकारीहरूको बुझाइ रहँदै आएको छ ।
चीन सरकारकै सहयोगमा तातोपानीमा एक अर्ब रुपैयाँको लागतमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।

भूकम्पअघि नै ८० प्रतिशतभन्दा बढी काम भइसकेको बन्दरगाह भूकम्पले क्षति पुर्‍याएपछि तीन महिनादेखि मर्मत थालिएको छ । भूकम्प र बाढीले क्षति पुगेको अरनिको राजमार्ग पनि चीन सरकारकै सहयोगमा मर्मत भएको थियो । नाका सञ्चालनको सवाल उठ्दा चिनियाँ पक्षले पूर्वाधारको समस्या देखाउने गरेको सरकारी अधिकारी बताउँछन् । ‘सधैं सडक र भवन बन्दैछ, सम्पन्न भएपछि नाका सुचारु हुन्छ भनेर टार्छन्,’ नाका सञ्चालनको प्रयास गरिरहेका एक सरकारी अधिकारीले भने ।

 

प्रतिकृया दिनुहोस