MENU

अर्थ/बाणिज्य

635x90

हिमाल चढ्ने मापदण्ड खै ?

किरण दहाल मंगलवार, जेठ २, २०७४

राससमा कार्यरत एकराज पाठकले २३ वैशाखमा आफ्नो फेसबुक वालमा एउटा सन्देश पोस्ट गरे, ‘सगरमाथा चढ्दा पाँच वर्षअघि शैलेन्द्रकुमार उपाध्यायको ८२ र आज मीनबहादुर शेरचनको ८६ वर्षको उमेरमा निधन भयो । अब सगरमाथा चढ्न पाउने उमेर हद तोक्नुपर्ने भो सरकार ।’ उनको सन्देशप्रति टिप्पणी गर्दै केहीले उनीहरूलाई सरकारले जानाजान आत्महत्या गर्न पठाएको पनि भने । तर, यो विषयले सञ्चारमाध्यममा खासै चर्चा पाएन । अब भने यस विषयमा बहस गर्नैपर्ने बेला आएको छ ।

८६ वर्षीय शेरचन सर्वोच्च शिखरमा पाइला राखेर नयाँ कीर्तिमान बनाउने योजनामा थिए । र, २३ वैशाखमा आधारशिविर पनि पुगेका थिए । त्यहीँ हृदयघात भएर उनको निधन हुन पुग्यो । यसअघि १२ जेठ ०६५ मा ७७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर शेरचनले सबैभन्दा बढी उमेरका व्यक्तिले शिखर चुमेको कीर्तिमान राख्दै ‘गिनिज बुक’मा नाम लेखाउन सफल भएका थिए । तर, सन् २०१३ मा जापानका युचिरो मिउराले ८० वर्षको उमेरमा सफलतापूर्वक आरोहण गरी उनको कीर्तिमान भंग गरिदिए । र, सोही विन्दुबाट पलाएको थियो, शेरचनको महत्वाकांक्षा ।

कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा शेरचनले आरोहणको प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका पाएनन् भने ०१५ मा भूकम्पका कारण उनको योजना असफल भयो । मुस्ताङमा जन्मेका शेरचन १७ वर्षको उमेरमै बेलायती सैनिक बनेका थिए । उनी सन् १९६० मा पाँच हजार सात सय मिटर अग्लो धौलागिरि हिमाल चढेर आरोहणको शुरुवात गरेका थिए । यस्तै, सन् २००८ मा ७७ वर्षको उमेरमा उनले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा वृद्ध उमेरमा सगरमाथा चढेर कीर्तिमानी राख्ने धोको राख्दै विश्व शान्ति र पृथ्वी आमाको रक्षार्थ सगरमाथा चढ्न लागेको बताउँदै आएका थिए उनी ।

सगरमाथा आरोहणमा जाँदै गर्दा उनले भनेका थिए, ‘विश्व विनास गर्ने हतियार नष्ट गर्न र मानवता र धर्तीको रक्षा गर्न आह्वान गर्छु ।’उनको आरोहणको व्यवस्था ‘सुमित नेपाल ट्रेकिङ’ले मिलाएको थियो । सगरमाथा प्रदूषण नियन्त्रण समितिसँग अनुमति मागेर हिमाल आरोहणका लागि हिँडेका शेरचन अब कहिल्यै फर्केने छैनन् । दैनिक जीविकाका लागि अरूमा भर पर्नुपर्ने उमेरमा पर्यटन विभागले आरोहणको स्वीकृति दिँदा यसले आरोहीको मृत्यु हुने सम्भावना पनि उत्तिकै रहन्छ । पूर्वमन्त्री उपाध्यायको पनि सगरमाथा आरोहणकै क्रममा ८२ वर्षको उमेरमा निधन भएको थियो । राजा महेन्द्रले बीपी कोइरालालाई प्रधानमन्त्रीबाट हटाई निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि उपाध्याय मन्त्री बनेका थिए । आरोहणको क्रममा वृद्ध आरोहीको मृत्यु भइरहँदा राज्यले उमेरसम्बन्धी हदबन्दी तोकेर यसप्रति सचेत हुनुपर्ने विज्ञहरू बताउँछन् ।

तर, हिमाल चढ्ने उमेरको हद अहिलेसम्म नतोकिएको पर्यटन विभागका निर्देशक दुर्गादत्त ढकाल बताउँछन् । सक्ने जोसुकैले पनि हिमाल चढ्न पाउने उनको भनाइ छ । ‘पर्वतारोहण गर्नु व्यक्तिगत स्वतन्त्रताको कुरा हो । कसलाई चढ्न दिने÷नदिने भन्ने कुरा अहिलेसम्म निर्धारण भएको छैन,’ उनी भन्छन्, ‘म सक्छु भनेर आउने जोसुकैलाई पनि हामीले स्वीकृति दिनुपर्छ ।’ राज्य वृद्धहरूप्रति संवेदनशील हुँदाहुँदै पनि व्यक्तिगत इच्छालाई ध्यान दिएर हिमाल चढ्न पठाएको उनको भनाइ छ । परिवार र आफन्तलाई कागज गराएर मात्र हिमाल चढ्न स्वीकृत दिइएको ढकाल बताउँछन् । यस पटकको आरोहणमा सफल हुने विश्वासका साथ नौ जनाको टोलीसहित शेरचन आधार शिविरतिर लागेका थिए, जसमा पाँच जना अनुभवी गाइडसमेत रहेका सगरमाथा प्रदूषण समितिको भनाइ छ ।

उनले सगरमाथा आरोहणका लागि मुक्तिनाथ क्षेत्रमा सफलतापूर्वक तलिम पनि सम्पन्न गरेका थिए । उमेरको मापदण्ड नभएरै २६ वैशाख ०६८ मा उपाध्यायको निधन भएको थियो । राज्यसँग हिमाल चढ्न पूरा गर्नुपर्ने मापदण्डको खाका नभएसम्म उपाध्याय र शेरचनको मात्र होइन, अन्य धेरैको ज्यान जाने सम्भावनालाई नकार्न सकिँदैन । हिमाल चढ्न पाउने स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्ने कुरा सरकारले बुझ्नुपर्ने महत्वपूर्ण पाटो हो ।कानुन बनाउँदा अन्तर्राष्ट्रिय तौरतरिकालाई पनि ध्यान दिनुपर्ने र यो व्यक्तिगत स्वतन्त्रताको कुरा भएकाले कस्तालाई चढ्न दिने/नदिने भन्ने कुरा निर्धारण गर्न नसकिने ढकाल बताउँछन् । भन्छन्, ‘कानुनमा नभएका कुरा हामीले लागु गरेर पनि भएन । कानुन कसरी बनाउने भन्ने कुरा संसद्ले सोच्ला । हामीले त कार्यान्वयन गर्ने मात्र हो ।’ आफ्नो सुविधाका लागि तुरुन्तै कानुन बनाउन तात्तिने सांसदहरू के सगरमाथा चढ्न पाउने उमेर हद तोक्ने कानुन बनाउन तम्सिएलान् ?

प्रतिकृया दिनुहोस