MENU

अर्थ/बाणिज्य

635x90

ब्‍याजअन्‍तरको असर : महँगिँदै मुद्रा

श्रीधर खनाल सोमवार, जेठ १, २०७४

काठमाडौं रामकोटका राम थापाले सीतापाइलास्थित एनएमबी बैंकमा बचत खाता खोलेका थिए । हालै बचतको रकम मुद्दती खातामा सारे । बचत खातामा रहँदा जुनसुकै बेला रकम निकाल्न सक्थे, ‘फिक्स्ड डिपोजिट’मा रहँदा एक वर्ष निकाल्न पाउने छैनन् । थापाले त्यस गर्नुको कारण मुद्दतीमा पाइने ब्याजदरको आकर्षण हो । मानिसले बैंकमा पैसा राख्नुका कारणमध्ये हुन्, सुरक्षा र चाहिएको बेला निकाल्न सकिने व्यवस्था । व्यक्तिलाई सापटी दिँदा ब्याज राम्रो आए पनि सुरक्षा जोखिम रहन्छ ।

र, चाहेको समयमा आफूले प्रयोग गर्न पनि पाइँदैन । यसअघि बैंक सञ्जालमा जोडिनु भनेको बचत खाता खोल्नु भन्ने बुझिन्थ्यो । त्यसभन्दा बढी ब्याज पाइने भएकाले गत असोजयता मुद्दतीमा मानिसको आकर्षण बढेको हो ।बजारमा तरलता अभाव शुरु भएसँगै बैंकहरूले नगद व्यवस्थापन गर्न ‘फिक्स्ड डिपोजिट’को नाममा मुद्दती खातामा ब्याजदर बढाएका हुन् । अहिले यस्तो खातामा १२ प्रतिशतसम्म ब्याज दिइने गरेको छ । जबकि, बचतमा बढीमा ६ प्रतिशत मात्र ब्याज दिइने गरेको छ । यसको असर भने बैंकहरूले बेहोर्नुपरेको छ, महँगो ब्याजको गह्रुँगो बोझका कारण । यसको भारले बैंकभन्दा बढी ऋण लिएका व्यवसायीहरू थिचिएका छन् ।

मुद्दती निक्षेपको उकालो यात्रा

थापा भन्छन्, ‘ब्याज बढी आउने भएपछि पैसा चाहियो भने साथीभाइसँग सापटी लिँदा भइहाल्यो । भोलि के हुन्छ भनेर आज किन कम ब्याज आउने ठाउँमा राख्ने ।’ राष्ट्रबैंकका अनुसार फागुन ०७२ मा २८ दशमलव पाँच प्रतिशत रहेको मुद्दती बचतको आकार बढेर फागुन ०७३ सम्ममा ३८ दशमलव चार प्रतिशत पुगेको छ । यससँगै चल्ती र बचतमा रहेको निक्षेप घटेको छ । यस अवधिमा नौ प्रतिशत रहेको चल्ती ६ दशमलव नौ प्रतिशतमा झरेको छ भने ४४ दशमलव एक प्रतिशत रहेको बचत ३७ दशमलव ६ प्रतिशतमा ओर्लेको छ । चल्ती खातामा बैंकहरूले ब्याज दिँदैनन् । कारोबारका लागि खोलिने यस्तो खातामा समेत निक्षेप घट्नु राम्रो संकेत मानिँदैन ।

बचतको प्रवृत्तिमा आएको यो परिवर्तन एक वर्षयताको मात्र भने होइन । आव ०७१/७२ मा मुद्दती निक्षेप तीन दशमलव पाँच प्रतिशतबाट ह्वात्तै १५ प्रतिशतमा पुगेको थियो । उक्त आवमा चार खर्ब १९ अर्ब रुपैयाँ मुद्दती निक्षेप थियो । त्यसपछि क्रमशः मुद्दतीमा पैसा राख्नेको संख्या बढ्दै गएको छ भने चल्ती र बचतमा जम्मा गर्नेको संख्या घट्दै छ । बचत खाताका लागि रकमको सीमा छैन, मुद्दतीमा भने निश्चित विन्दु तोकिएको हुन्छ । जस्तो ः अधिकांश बैंकले रकम जति बढी भयो, ब्याज त्यति नै बढी तिर्ने गरेका छन् । बढी रकम हुनेले ब्याजमा ‘बार्गेनिङ’ गर्ने गरेका छन् । १० लाख रुपैयाँभन्दा बढी रकममा ब्याज पनि बढी दिने गर्छन् बैंकहरूले ।

असोज ०७३ देखि शुरु भएको हो, तरलता अभाव । त्यतिबेला नै बैंकहरूले ९० देखि सय दिनको मुद्दती बचतको व्यवस्था घोषणा गरेका थिए । अहिले तरलता अभाव सामान्य हुँदै जाँदा पनि बैंकहरूले बचत खातातर्फ रकम आकर्षित गर्न सकेका छैनन् । ‘क’ वर्गका बैंकहरूमा तीन सयको हाराहारीमा ठूला निक्षेपकर्ता छन् । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा कम्पनीहरू, नेपाल प्रहरीको कल्याणकारी कोष, नेपाल टेलिकम, गुठी संस्थान र नेपाली सेना संस्थागत बचतकर्तामा पर्छन् । ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र वित्तीय संस्थाहरूले समेत लगानीको झण्झटिलो प्रक्रिया छाडेर ‘क’ वर्गका बैंकमा पैसा राखेर नाफा खाने गरेका छन् ।

बजारमा तरलता अभाव शुरु भएसँगै बैंकहरूले नगद व्यवस्थापन गर्न ‘फिक्स्ड डिपोजिट’को नाममा मुद्दती खातामा ब्याजदर बढाएका हुन्। अहिले यस्तो खातामा १२ प्रतिशतसम्म ब्याज दिइने गरेको छ

यस्ता संस्थाहरूले ग्राहकसँग सस्तो मूल्यमा लिएको बचत बढी ब्याज पाइने खातामा राख्दै आएका छन् । राष्ट्रबैंकले तोकेको पाँच प्रतिशतको ब्याजअन्तर (स्प्रेड दर)मा लिएको पैसा ‘क’ वर्गका बैंकमा मुद्दतीमा राख्दा प्राप्त हुने भएकाले पनि कतिपय विकास बैंक र वित्तीय संस्थाहरूको आकर्षण मुद्दती निक्षेप बनेको हो । केही ठूला व्यापारीसमेत मुद्दती निक्षेपको ब्याजमा आकर्षित हुँदै आएका छन् । पछिल्लो समयमा चल्ती खातामा पैसा राख्नेको संख्यामा आएको कमीले समेत ब्याज आउने खातामा उनीहरूको आकर्षण देखिन्छ ।

१२ प्रतिशतको हाराहारीमा ब्याज आउने भएपछि धेरै ठूला बचतकर्तासमेत विस्तारै मुद्दतीतिर केन्द्रित हुन थालेकाले बैंकको नाफा घट्ने नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह बताउँछन् । भन्छन्, ‘बैंकको कच्चा पदार्थ नै महँगो भयो । अब उत्पादन अर्थात् ऋण सस्तो हुने सम्भावना छैन ।’ बचत खाताको पैसा विस्तारै मुद्दतीमा जान थालेकाले कर्जाको ब्याज बढ्नु स्वाभाविकै हो, जसले अर्थतन्त्रमा असर नपार्ला भन्न सकिँदैन ।

ब्याज नघट्ने संकेत

पुतलीसडकमा व्यवसाय गर्दै आएका राम सिंखडाले नौ करोड रुपैयाँ कर्जा लिएका छन् । एक वर्षअघि साढे सात प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १५ प्रतिशत पुगेको छ । अर्थात्, शुरुवाती चरणमा उनले वर्षको ब्याज मात्र ६७ लाख ५० हजार रुपैयाँ बुझाए पुग्थ्यो । ब्याजदर दोब्बर भइसकेकाले अहिले उनले थप ६७ लाख ५० हजार रुपैयाँ अर्थात् वर्षमा कुल एक करोड ३५ लाख रुपैयाँ ब्याज मात्र भुक्तानी गर्नुपर्ने अवस्था छ । त्यतिबेला सस्तो ब्याजमा पाएको ऋण उनले जग्गा कारोबारमा खन्याएका छन् ।

अहिले खरिद गरेको मूल्यमा समेत जग्गा बिक्री हुन गाह्रो छ । उनी बिलखबन्दमा छन्, सस्तोमा जग्गा बिक्री गर्दा लगानी पनि उठ्दैन । बिक्री नगरे ब्याज तिर्ने अर्को कुनै स्रोत छैन । भन्छन्, ‘बैंकले ब्याजदर घटाउने कुरा पनि सुन्न चाहँदैन । अझै तपाईंलाई महँगो लगाएका छैनौँ भन्छन् । यसरी कति दिन टिकिने हो थाहा छैन ।’आम बचतकर्ताको पहिलो रोजाइमा पर्छ, बचत खाता ।

अहिले शून्य दरमा समेत बचत खाता खोल्ने व्यवस्था बैंकहरूमा छ । सामान्य आर्थिक अवस्था भएका मानिसले बचत खाताको माध्यमबाट बैंकिङ कारोबारमा प्रवेश गर्ने गरेका छन् । राष्ट्रबैंकको तथ्यांकअनुसार अहिले नेपालमा एक करोड ८२ लाख वटा खातामा २२ खर्ब ५४ अर्ब रुपैयाँ बचत छ । तीमध्ये ‘क’ वर्गका बैंकमा मात्रै एक करोड ४२ लाख वटा खाता सञ्चालनमा छन् ।

data

मंसिर ०७३ मा बचत खातामा नौ खर्ब १४ अर्ब रुपैयाँ थियो । एक महिनापछि अर्थात् पुस मसान्तसम्म आइपुग्दा उक्त रकम घटेर नौ खर्ब नौ अर्बमा झ¥यो । एक महिनाको अवधिमा बचतमा पाँच अर्ब रुपैयाँ घटेको देखिन्छ । अर्कातर्फ यही अवधिमा ६ खर्ब ७९ अर्ब रुपैयाँ रहेको मुद्दती रकम बढेर सात खर्ब नौ अर्ब पुग्यो । अर्थात्, उक्त अवधिमा मुद्दती खातामा ३० अर्ब रुपैयाँ थपियो ।

बैंक तथा वित्तीय संस्थामा अहिले २१ खर्ब ८३ अर्ब रुपैयाँ बचत देखिन्छ । त्यसमध्ये आठ खर्ब ३८ अर्ब मुद्दती खातामा छ । फागुन मसान्तसम्मको यो तथ्यांकलाई आधार मान्दा एक खर्ब ५९ अर्ब रुपैयाँ पछिल्लो चार महिनामा मुद्दतीमा थपिएको छ । यो अवधिमा मात्रै बचत खातामा ९३ अर्ब रुपैयाँले कमी आएको देखिन्छ । यसको अर्थ हो, उपभोक्ताले बैकिङ प्रणालीमा महँगो ब्याजको बचत थपिरहेका छन् भने सस्तो ब्याजको बचत घटाउँदै गएका छन् । १२ प्रतिशतको हाराहारी ब्याज रहेको मुद्दतीमा बचत बढ्दै जाँदा बैंकले दिने कर्जाको ब्याज १७ प्रतिशतभन्दा माथि हुने गरेको देखिन्छ ।

त्यसमाथि बैंकहरूले राष्ट्रबैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातका कारण समेत बैंकहरूको बचत महँगो हुँदै गएको देखिन्छ । अध्यक्ष शाह भन्छन्, ‘नाम मात्रको ब्याजमा राष्ट्रबैंकले राख्ने पैसाले पनि हामीलाई समस्या पारेको छ ।’ बचत महँगो हुँदै गएकाले ऋणको ब्याज घट्ने सम्भावना कम रहेको उनी बताउँछन् । थप्छन्, ‘ब्याज सस्तो हुँदा पनि वस्तु तथा सेवाको मूल्य सस्तो भएन । ब्याजका कारण मात्रै आर्थिक विकास प्रभावकारी हुन्छ भन्ने छैन ।’


‘ब्याजले डुबाउँदैछ’

hari-bkakta-sharma
हरिभक्‍त शर्मा, अध्यक्ष, नेपाल उद्योग परिसंघ

बैंकको ब्याज तिर्न नसकेर साना उद्योगहरू बन्द हुन थालेका छन् । १५ प्रतिशतभन्दा माथि ब्याजमा कर्जा लिएर काम गर्न सक्ने अवस्था छैन । हामीलाई ‘क्रेडिट क्रन्च’ हुन्छ भन्ने पहिल्यै थाहा थियो । ‘लिक्विडिटी क्रन्च’ नै ‘क्रेडिट क्रन्च’को प्रस्थानविन्दु बन्यो । त्यतिबेला हामीले सरकारलाई केही सुझाव दियौँ । यो अवस्थाबाट अर्थ व्यवस्थालाई बचाउन सरकारले कुनै कदम चालेन । राम भरोसामा चल्ने भएकाले सरकारलाई अहिले पनि टाउको दुःखाएको छैन । सरकार गम्भीर नभएका कारण समस्या झन् बढ्दै गएको छ ।

मंसिर ०७३ मा बचत खातामा नौ खर्ब १४ अर्ब रुपैयाँ थियो। एक महिनापछि अर्थात् पुस मसान्तसम्म आइपुग्दा उक्‍त रकम घटेर नौ खर्ब नौ अर्बमा झर्‍यो। सरकारले तत्कालको समस्याबाट मात्र मुक्त हुने बाटो खोज्यो । पैसाको आपूर्तिभन्दा माग बढी छ । विप्रेषण आप्रवाहमा शिथिलता कायम छ । विदेशी लगानी गफमै सीमित छ । बाहिरबाट पैसा नआएका कारण हामीले स्वदेशी पुँजीमै निर्भर रहनुपर्ने अवस्था छ । यहीबीचमा हामीले ‘क’ वर्गका बैंकको चुक्ता पुँजी दुई अर्बबाट आठ अर्ब पुर्‍यायौँ । पाँच सयदेखि सात सय अर्बको सामान आयात गर्‍यौँ ।

अढाइ अर्बजति सरकारी खातामा थुपारेर राख्यौँ, जसले गर्दा बजारमा पैसाको अभाव बढ्दै गयो । र, बचतमा पनि शिथिलता आयो । त्यसपछि बैंकहरूले बचतको ब्याजदर बढाए । लगत्तै कर्जाको ब्याज पनि आकासियो । कुल गार्हस्थ उत्पादन (जीडीपी)को १० प्रतिशत सरकारले खर्च गर्न नसकेर थन्किएको छ ।यस्तो अवस्थामा उद्यमी/व्यापारीलाई मात्र समस्यामा पारेर सरकार आँखा चिम्लेर बसेको छ । बजारमा तरलता अभावसँगै अर्थतन्त्र अप्ठेरोमा पर्दै गयो ।

हामीले यो अवस्था आउनुअघि नै सरकारलाई पटक–पटक सचेत गराएका थियौँ । समस्याबाट यसरी बच्न सकिन्छ भनेर सुझाएका पनि थियौँ । हाम्रा प्रयासहरू भने सरकारी प्राथमिकतामा कहिल्यै परेनन्, जसका कारण आज उत्पादन क्षेत्र लगभग पक्षाघातको अवस्थामा पुगेको छ । उत्पादन क्षेत्रले लामो समयसम्म कर्जा लिनुपर्छ, आजको भोलि तिर्न सक्दैन । महँगो ब्याजका कारण आफूले लिएको कर्जाको ब्याज तिर्ने तनाबमा उद्योगीहरू छन् । मंसिरदेखि भोगेको यो समस्या कतिसम्म लम्बिने हो भन्ने अनुमान गर्न सक्ने अवस्था छैन । यही अवस्था रहेमा धेरै व्यवसायी टाट पल्टिने अवस्थामा पुग्नेछन् ।

प्रतिकृया दिनुहोस